३ कात्तिक २०७० | 20 October 2013

‘परिवारसँगै खुशी’

Share:
  

मानिसलाई खुशी र दुःखी तुल्याउन कारण चाहिन्छ । मनपरेको काम र इच्छा पूरा गर्न पाउँदा खुशीको ग्राफ उकालो चढ्न थाल्छ । ‘खुशीको स्रोत के ?’ हिमाल ले गत साता देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणले ‘परिवार सुख’ लाई खुशीको कारण देखायो । एक जनालाई तीन वटासम्म उत्तर छान्ने गरी सोधिएको प्रश्नमा अधिकांशले पारिवारिक सन्तुष्टिलाई नै खुशीको स्रोत माने । ‘तपाईंलाई सबैभन्दा खुशी के ले तुल्याउँछ ?’ भनेर सोधिएको प्रश्नमा सहभागी ३४९ उत्तरदातामध्ये १५६ जनाले ‘परिवारसँगै बस्दा’ खुशी हुने बताए । १४० जनाले ‘साथीभाइसँग घुम्दा’ तथा १२१ जनाले ‘परिवारसँग घुम्न जाँदा’ खुशी मिल्ने बताए । ८९ जनाले ‘छोराछोरीसँग खेल्दा’, ७८ जनाले ‘श्रीमान् श्रीमती बसेर गफिंदा’ सबैभन्दा खुशी मिल्ने उत्तर दिए ।

७४ जनाले ‘टीभी हेर्दा’, ६५ जनाले ‘अरूलाई सहयोग गर्दा’ र ‘पूजापाठ–ध्यान–धर्मकर्म गर्दा’, ५१ जनाले ‘पुस्तक पढ्न पाउँदा’, ५५ जनाले ‘सिनेमा हेर्न जाँदा’ तथा २८ जनाले ‘मर्निङ वाक् जाँदा’ खुशी मिल्ने बताए । २४ जनालाई ‘अफिसमा काम गर्दा’, २३ जनालाई ‘प्रेमी/प्रेमिका भेट्दा’, ११ जनालाई ‘यौनसम्पर्क राख्न पाउँदा’ खुशी मिल्ने भेटियो ।

उमेर अनुसार खुशीको स्रोत फरक हुने अध्ययनले देखाएको छ । ६० वर्ष वा सोभन्दा माथिका ६१.७ प्रतिशतलाई ‘पूजापाठ/ध्यान/धर्म कर्म गर्दा’ र ५९.६ प्रतिशतलाई परिवारसँग बस्दा खुशी मिल्ने भेटियो । १८–२४ उमेर समूहका ६७.१ प्रतिशतलाई ‘साथीभाइसँग घुम्दा’ तथा ४५.६ प्रतिशतलाई ‘सिनेमा हेर्दा’ खुशी मिल्ने गरेको भेटियो । २५–३९ उमेर समूहका मध्ये ४५.८ प्रतिशतलाई ‘साथीभाइसँग घुम्दा’ तथा ३५.९ प्रतिशतलाई ‘परिवारसँगै बस्दा’ खुशी मिलेको भेटियो । ४०–५९ उमेर समूहका मध्ये ५७.६ प्रतिशतलाई ‘परिवारसँगै बस्दा’ तथा ४०.२ प्रतिशतलाई ‘छोराछोरीसँग खेल्दा’ खुशी मिलेको भेटियो । स्नातकोत्तर तह वा सोभन्दा माथि पढेका ३८.७ प्रतिशतले ‘परिवारसँग घुम्न जाँदा’, ३५.५ प्रतिशतले ‘छोराछोरीसँग खेल्दा’ तथा ३२.३ प्रतिशतले ‘पुस्तक पढ्न पाउँदा’ खुशी मिल्ने उत्तर दिए । महिलामध्ये सबैभन्दा धेरै ४८.१ प्रतिशतलाई ‘परिवारसँगै बस्दा’ तथा पुरुषमध्ये सबैभन्दा धेरै ४८.४ प्रतिशतलाई ‘साथीभाइसँग घुम्दा’ खुशी मिल्ने गरेको भेटियो ।

‘बेखुशी भएको वेला खुशी हुन के गर्नुहुन्छ ?’ भनेर एक जनालाई तीन वटासम्म उत्तर छान्न दिएर सोधिएको प्रश्नमा सबैभन्दा धेरै १७३ जनाले ‘एकान्तमा बस्न रुचाउँछु’ भन्ने उत्तर दिए । १६३ जनाले ‘गीत/संगीत सुन्छु’, १२३ जनाले ‘साथीभाइ भेट्छु’ र १०५ जनाले ‘टीभी हेर्छु’ भन्ने उत्तर दिए । ८९ जनाले ‘ध्यान/पूजापाठ/धर्मकर्म गरेर’, ८४ जनाले ‘परिवारसँग रमेर’, ६४ जनाले ‘छोराछोरीसँग खेलेर’ बेखुशीबाट खुशी हुने उत्तर दिए ।

स–साना घटनाका कारण खुशी र दुःख छिटोछिटो परिवर्तन भइरहने भए पनि खास घटनाको खुशी लामो समय सम्झ्नायोग्य हुन्छ । ‘तपाईं आफ्नो जीवनमा कहिले सबैभन्दा धेरै खुशी हुनुभएको थियो ?’ भनेर सोधिएको प्रश्नमा १८२ जनाले ‘छोराछोरी जन्मँदा’ तथा १८० जनाले ‘परीक्षामा उत्तीर्ण हुँदा’ भन्ने जवाफ दिए । १३७ जनाले ‘घरजग्गा गाडी किन्दा’, ११६ जनाले ‘जागीर पाउँदा’, १०७ जनाले ‘विवाह हुँदा’ तथा ८६ जनाले ‘बाजी/खेल जित्दा’ सबैभन्दा धेरै खुशी भएको उत्तर दिए । ६३ जनाले ‘प्रेमी/प्रेमिका पाउँदा’ तथा ५८ जनाले ‘हजूरबा/हजूरआमा बन्दा’ सबैभन्दा धेरै खुशी भएको बताए । १७ जनाले भने ‘अन्य’ कारणबाट सबैभन्दा धेरै खुशी भएको उत्तर दिए ।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ ।
–सम्पादक

comments powered by Disqus

रमझम