२२-२८ मंसीर २०७६ | 8-14 Dec 2019

सीमान्त आवाज

Share:
  
- नुनुता राई
विश्वकै चलचित्रकर्मीको एउटा महत्वपूर्ण र साझा मञ्च बनिरहेको किम्फको १७औं संस्करण नयाँ कथा र विशेषता सहित यसैसाता काठमाडौंमा हुँदैछ।

‘द एसेन्ट अफ एभरेष्ट’ वृत्तचित्रको दृश्य ।
पाँच दिन, २९ देश, ६६ वटा चलचित्र, साथमा मास्टर क्लास, छलफल र प्रदर्शनी । काठमाडौंको सभागृह र नेपाल पर्यटन बोर्डमा यही २५–२९ मंसीरमा काठमाडौं पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १७औं संस्करण आयोजना हुँदैछ ।

‘सीमान्त आवाज’ नाराका साथ आयोजित यस वर्षको महोत्सवको उद्घाटन ‘द एसेन्ट अफ एभरेष्ट’ वृत्तचित्रबाट हुनेछ । इटालीका एन्टोनेलो पादोभानो निर्देशित यो वृत्तचित्रमा २९ मे १९५३ मा पहिलो पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका एडमण्ड हिलारी र तेञ्जिङ नोर्गेको आरोहण कथा समेटिएको छ । यसै वर्ष टोरन्टो फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन गरिएको यो वृत्तचित्र मार्फत अहिलेसम्म थाहा नभएका कतिपय घटना र प्रसङ्गबारे जानकारी मिल्ने निर्देशकको दाबी छ । ‘द एसेन्ट अफ एभरेष्ट’ का अतिरिक्त महोत्सवमा १७ वटा प्रतियोगी, ३२ वटा अप्रतियोगी, १४ वटा नेपाली पानोरामा र तीनवटा स्वीस चलचित्रको विशेष प्रदर्शनी गरिनेछ । परिवर्तित नेपाल विषयक तीन मिनेटको चलचित्र प्रतिस्पर्धामा १० उत्कृष्ट चलचित्र देखाइनेछ ।

महोत्सवमा हरेक संस्करणमा चलचित्रकर्मी प्रोत्साहन गर्न केही नयाँ कुरा थप्ने उद्देश्य अन्तर्गत किम्फले डक ल्याब, लाइभ पीच जस्ता कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । यस वर्ष टोनी हागन फाउन्डेशनले तीन वटा चलचित्रका लागि छात्रवृत्ति दिने भएको छ ।

“किम्फ कुरेर बसेका दर्शक, चलचित्रकर्मीका लागि यो संस्करणलाई अझ बढी उपयोगी र थप रोचक बनाउने हाम्रो उद्देश्य जारी छ, यो वर्ष पनि हामी उत्साहित छौं”, किम्फको आयोजक हिमाल एशोसिएसनका कार्यकारी निर्देशक वसन्त थापा भन्छन् ।

६९ देशबाट आवेदन

सन् २०००–२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजित किम्फ २००७ यता प्रत्येक वर्ष गरिंदै आएको छ । शुरुआतदेखि १९ वर्षसम्मको यो यात्रामा किम्फले गतिलो अन्तर्राष्ट्रिय पहिचान पनि बनाइसकेको छ । प्रख्यात म्यागेजिन टाइम ले पनि किम्फको चर्चा गरिसकेको छ ।
किम्फको ख्यातिको पछिल्लो प्रमाण हो, १७औं संस्करणका लागि परेको आवेदन । यस वर्ष किम्फमा ६९ देशका ४०० चलचित्रकर्मीले आवेदन दिएको र अहिलेसम्मकै यो सर्वाधिक आवेदन भएको आयोजक संस्थाका कार्यकारी निर्देशक थापा बताउँछन् । “किम्फले काठमाडौंको सांस्कृतिक परिदृश्यमा नयाँ आयाम थपेको छ”, थापा भन्छन् । यसबाहेक किम्फले नयाँ चलचित्रकर्मीलाई मञ्च उपलब्ध गराएर उत्प्रेरणा दिएको पनि उनको दाबी छ । “अहिले नाम चलेका थुप्रै प्रतिभावान फिल्ममेकरहरू किम्फसँगै जोडिएका छन् । गर्व लाग्ने कुरा यो पनि हो”, थापाको भनाइ छ ।

नेपाल पानोरामा

किम्फको ‘नेपाली पानोरामा’ प्रतिस्पर्धामा १४ चलचित्र प्रतियोगी छन् । जसमा, सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गुर्खाज्’, गणेश पाण्डेको ‘सह–श्रीमान्’, निपिल शर्माको ‘अतिसर्ग’, धोन्डुप छिरिङको ‘आमा खान्दो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रशिस बज्राचार्यको ‘कोक्रो’, यजश्वी राईको ‘पहिचान’, युगल पोमोको ‘फुर्वा’, परीक्षितविक्रम राणाको ‘साइलेन्स प्लिज’, नवविजय श्रेष्ठको ‘रंगहीन पुतली’, प्रणवनारायण मानन्धरको ‘पोट्रेट अफ माने’ र अनिल न्यौपानेको ‘तिर्खा’ रहेका छन् ।

‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट कथानक र गैर–कथानक चलचित्रलाई क्रमशः रु.१ लाख र रु.७५ हजार तथा प्रमाणपत्र प्रदान गरिनेछ । महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले भने क्रमशः रु.२ लाख, रु.१ लाख ५० हजार र रु.१ लाख पाउनेछन् ।

महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्वीरहरूको प्रदर्शन गरिनेछ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षण सम्बन्धी ‘स्टोरी टेलिङ’ कार्यक्रम पनि गरिनेछ– घनश्याम गुरुङ, समुद्र सुब्बा र शेरेन श्रेष्ठ वक्ताका रुपमा रहनेछन् । प्लान इन्टरनेशनलको महिला सशक्तीकरण सम्बन्धी कार्यक्रम पनि आयोजना हुनेछ । ब्रिटिश काउन्सिलको सक्रियतामा छलफल र फिल्म प्रदर्शनी, एशियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणमा माइकल डिलनले ‘मास्टर क्लास’ सञ्चालन गर्नेछन् ।

महोत्सवमा यस वर्षको निर्णायकमा बेलायतका माफिल कोट्स, दक्षिणकोरियाका जे. क्युली र पोल्याण्डका ग्राबियल कुह्न रहेका छन् । महोत्सवको सह–आयोजक काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

comments powered by Disqus

रमझम