३ कात्तिक २०७० | 20 October 2013

व्यवसायीको लाम

Share:
  
- रामजी दाहाल र प्रभात भट्टराई
व्यावसायिक हितको नारा दिने व्यवसायीहरू पार्टीको झण्डा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछाने र वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एलपी साँवा लिम्बू अहिले चुनावी चटारोमा छन् । पार्टी सभापति सुशील कोइरालाको हातबाट टीका लगाएर एक महीनाअघि नेपाली कांग्रेसमा प्रवेश गरेका लामिछानेले ४ मंसीरमा हुने संविधानसभा निर्वाचनका लागि मकवानपुर २ मा टिकट पाएका छन् भने लिम्बूले नेकपा एमालेबाट झपा ५ मा ।

जयराम लामिछाने कांग्रेस

विगतमा दलहरूलाई प्रत्यक्ष÷परोक्ष आर्थिक सहयोग गरेका लामिछाने र लिम्बू जस्ता निजी क्षेत्रका व्यवसायीहरूले यसपालि पार्टीको झ्ण्डा बोकेर राष्ट्रियसँगै वर्गीय मुद्दालाई चुनावी नारा बनाएका छन् । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भने दुई–चार जना व्यवसायी सभासद् बन्दैमा निजी क्षेत्रको उन्नति नहुने बताउँछन् । खनाल भन्छन्, “सभासद् बनेपछि उद्योगी व्यवसायीहरूले आफ्नो व्यवसायको पक्षमा मात्र लबिङ गर्न सक्छन् ।”

संसदमामा सबै क्षेत्र, पेशा र व्यवसायको प्रतिनिधित्व सम्भव नहुने भएकाले राजनीतिक दलहरूले नै समाजको समग्र हितको विषय उठाउने प्रचलन छ । प्राध्यापक खनाल व्यक्तिगत रूपमा राजनीतिमा आकर्षित हुनु अस्वाभाविक नभए पनि सबैले आफैं संसद्मा पुग्नुपर्छ भन्ने सोच बढ्ने हो भने प्रतिनिधिमूलक शासनको अर्थ नहुने बताउँछन् ।

एलपी साँवा लिम्बू एमाले

बढ्दो आकर्षण

अघिल्लो संविधानसभामा कांग्रेसको तर्फबाट समानुपातिकतर्फ सभासद् रहेका निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जीपछिरिङ लामा लामो समयदेखि पार्टी राजनीतिमा छन् । विगतमा लामा जस्तो खुला राजनीतिमा रहेका व्यवसायीहरू कमै थिए । तर, यसपटक प्रायः सबै मुख्य दलबाट व्यवसायीहरूले प्रत्यक्षतर्फको टिकट पाएका छन् ।

वीरगन्जको नेशनल मेडिकल कलेजका संचालक बसरुद्दीन अन्सारीलाई एमाओवादीले पर्सा २ बाट उम्मेदवार बनाएको छ । अन्सारी एमालेबाट टिकट पाउने संभावना क्षीण भएपछि केही समयअघि मात्र एमाओवादीमा प्रवेश गरेका थिए । यसैगरी, उद्योगपति विनोद चौधरी नवलपरासीबाट एमालेको उम्मेदवार सिफारिश भए पनि समानुपातिकमा बस्न चाहेर प्रत्यक्षबाट हटेका छन् । उनी अघिल्लो संविधानसभामा एमालेकै समानुपातिक सभासद् थिए । एमालेले रसुवामा जनार्दन ढकाल, कांग्रेसले नुवाकोट ३ मा बहादुरसिंह तामाङ र राप्रपाले चितवन २ मा विक्रम पाण्डेलाई उठाएको छ । उनीहरू तीनै जना ‘क’ वर्गका ठेकेदार हुन् ।

बसरुद्दीन अन्सारी एमाओवादी

एमालेले वैदेशिक रोजगार व्यवसायी कृष्णकुमार श्रेष्ठलाई तनहुँ २ र दानबहादुर तामाङलाई चितवन ५ बाट उम्मेदवार बनाएको छ । अर्का वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङले मनाङमा कांग्रेसको टिकट पाएका छन् । अघिल्लो पटक समानुपातिक कोटाबाट सभासद् बनेका मोती दुगड अहिले नव नेपाल निर्माण पार्टीका अध्यक्ष छन् ।

अघिल्लो संविधानसभामा १३ व्यवसायी सभासद् थिए । तीमध्ये ९ जना मारवाडी समुदायका थिए । तिनीहरूमा हेमराज तातेड मात्र प्रत्यक्षमा चुनाव जितेका थिए । कांग्रेसबाट दिवाकर गोल्छा, एमालेबाट विनोद चौधरी, मालेबाट राजेन्द्र खेतान र एमाओवादीबाट पदम ज्योति सभासद् भए । पूर्व सभासद् खेतान भन्छन्, “यसपटक अघिल्लो पटकभन्दा तीन गुणा बढी व्यवसायी सभासद् हुन्छन् भन्ने लागेको छ ।”

हुन पनि, समानुपातिकबाट सभासद् हुन चाहने व्यवसायीको सूची लामो छ । सबैजसो दलले हरेक जिल्लाबाट व्यवसायीहरूलाई समानुपातिक सूचीमा सिफारिश गरेका छन् ।

विक्रम पाण्डे राप्रपा

आर्थिक प्राथमिकता !

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारका व्यवसायीलाई संविधानसभामा अवसर दिनु स्वागतयोग्य कुरा भए पनि व्यवस्थापिकामा चाहिं उनीहरूलाई स्वतन्त्र काम गर्ने वातावरण नहुने बताउँछन् । “दलको ह्वीप लाग्ने भएकाले व्यवसायीहरू समान चासोका आर्थिक मुद्दामा समेत फरक मत राख्न बाध्य हुने अवस्था छ” मुरारका भन्छन्, “त्यो अवस्थामा व्यवसायीहरू हाउसमा पुग्नुको खासै अर्थ रहँदैन ।

पूर्व सभासद् खेतानको अनुभवमा, अघिल्लो पटक संविधानसभामा आर्थिक मुद्दाको राम्रै उठान भए पनि व्यवस्थापिका संसद्मा राजनीतिक विषयले बढी प्राथमिकता पायो । कतिपय देशमा निजी क्षेत्रको ज्ञानबाट लाभ लिन व्यवसायीहरूलाई सीधै क्याबिनेटमा लैजाने चलन रहेको बताउने नेपाल उद्योग परिसंघका उपाध्यक्ष हरिभक्त शर्मा नेपालमा संविधानसभामा पु¥याउन खोज्नुलाई सकारात्मक मान्छन् । “तर, दलहरूको गोटी मात्र बन्ने हो भने त्यहाँ पुग्नुको कुनै अर्थ रहँदैन”, शर्मा भन्छन् ।

रामजी दाहाल र प्रभात भट्टराई

comments powered by Disqus

रमझम