३ कात्तिक २०७० | 20 October 2013

नियति

Share:
  
- सरिता अर्याल

रजस्वला नभई विवाह गरिदिए स्वर्ग पुगिने विश्वासमा हजूरबुबाले १३ वर्ष नलाग्दै मेरो लगनगाँठो कसिदिनुभयो । त्यस वेला मेरो काया बढीमा चालीस किलोको थियो होला । कोही नभएको केटालाई दिएकोले मेरो सुहागरात डेरामै भयो । घर पनि नभएको केटालाई किन दिएका होलान् ! बिर्तावालकी नातिनी पो थिएँ म त ! यस्तै गम्दै भित्रिएपछि कोठामा नजर दौडाएँ । एउटा सानो खाट, एउटा टेबुल, एउटा कुर्सी र भित्तामा झुन्ड्याईएका केही सर्ट–पाइन्ट । बस यत्ति !

एउटा प्लेटमा मासु र चिउरा लिएर आएकी दिदीले भनेकी थिइन्, “भोलिदेखि आफैं व्यवस्था गर्नू, आजलाई यही खाऊ ।”

कोठामा कोही थिएन, साँझ् प¥यो भोक पनि लाग्यो । खान कसलाई सोध्ने ? दिएको मलाई नै हो भनेर भकाभक खान थालें । मासु–चिउरा खाएपछि झ्म्म निन्द्रा लाग्यो । भुईंमा सुत्ने विस्तरा थिएन, खाटैमा पल्टिएँ । ढोका खोलेको आवाजले बिउँझ्एिँ । एउटा मोटोघाटो मान्छेले ढोका लगाउँदै गरेको देखें । बिहेमा उति ध्यान दिएकी थिइनँ, मेरा बेहुला त्यस्ता रहेछन् । डरले निदाए झैँ गरिरहें । श्रीमान्ले लुगा फेर्नुभयो । अनि छेउमा आएर पल्टियो एउटा अजंगको शरीर । म उहाँको पाखुरामा च्यापिन त पुगें, तर थाकेर निदाएको देखेर होला, कुमारी नै रहें म ।

बिहान उठ्दा एक्लै थिएँ, बिस्तरामा । बिहानको खाना श्रीमान्ले टिफिन बक्समा ल्याउनुभयो । बेलुका माइत गइयो । भोलिपल्ट आमाले दिएको खाना पकाउने सामान बोकेर फर्किएँ । बेलुका मासु–चिउरा लिएर आएका मातेका श्रीमान् देख्दा म आतंकित भएकी थिएँ । रक्सी नखाई नसुत्ने बानी रहेछ । चार खण्ड ठूलो शरीरले रक्सीको मातमा मलाई आइमाई बनायो । बिहान, दिउँसो, राति जुनसुकै वेला म बासनाको शिकार हुन्थें । यसरी चौध वर्षमै छोरी भई । यौवन नआई नै वर्षेनि तीन सन्तान भए । खाने मेलोको लागि चोकमा भातको सानो होटल चलाएँ । श्रीमान् त्यहीं सघाइटोपल्ने बाहेक केही गर्दैनथे ।

यस बीचमा मैले हजूरबुबा, हजुरआमा र आमा गुमाएँ । बुबाले आमा बितेको ६ महीनामै दोस्रो विवाह गर्नुभयो । अब माइत गएर आँशु पुछ्ने ठाउँ पनि रहेन । लोग्नेको रक्सीको लत बढ्दै गयो । केही बोल्यो कि ग्राहककै सामुन्ने पिट्थ्यो । महीनामारी खाने सबैलाई ममाथिको अत्याचार थाहा थियो । एक दिन ‘तिम्री बहिनी’ भन्दै एउटी केटी लिएर आए श्रीमान्ले । त्यो साँझ्देखि मेरै कोठामा उनीहरूको रासलीलाको मूकदर्शक बन्न बाध्य भएँ म ।

माइत थिएन, छोराछोरी छोडेर मर्न सकिएन । दिन कटिरहेका थिए । त्यही बीचमा नजिकै बस्ने प्रहरीले ममाथि माया देखाउन थाल्यो । हेपिएकी मैले राजनको मायामा सर्वस्व नै पाएँ । म कहिले उसकी भएँ पत्तै भएन । घर–संसार दुःखमा डुबेको भए पनि मन–संसारले सुख पाउन थाल्यो ।

राजनको सरुवा भयो नुवाकोट । उसले मलाई नछोड्ने भयो । तर केटाकेटी ? तीन–तीन जना केटाकेटी सम्हाल्न ऊ तयार भएन । तीनवर्षे कान्छो सहित दुई छोरालाई सौताको भरमा छोडेर म राजनको पछिलागें । आमाको मनलाई पुरुषको मायाले जित्यो ।

राजनको घर चरिकोट रहेछ । उसले मलाई दुई महीना मात्र सँगै राखेर घरमा छोड्यो । उसको त घरमा दुई छोराकी आमा रहिछ– सासूससुरा र अरू सबैको मन जितेकी जेठी बुहारी । अनि अर्काकी छोरी सहित आएकी मलाई गोठालासित बात लगाएर घरबाट निकालिदिए । राजन पनि घरबार सम्हालिदिने श्रीमती छोडेर मसित किन बस्थ्यो ? उसले उतैको होमा हो मिलायो । म छोरी च्यापेर काठमाडौं आएँ । अनि महीनाको तीन सयमा बागबजारको एउटा होटलमा भाँडा माझन थालें ।

असनमा तरकारी बेच्ने गीता दिदीसित चिनजान भयो । उनले मलाई त्यै काम सिकाइन् । तिलहरी बेचेर रानीपौवाको मुला ल्याई असनमा बेच्न थालें । बसाइँ पनि गीता दिदीसँगै भयो । हामी आमाछोरीलाई पाँच सयमा बस्न र दुईछाक खान दिन्थिन्, गीता दिदीले । छोरी पनि मसँगै तरकारी बेच्न जान्ने हुँदै गएकी थिई ।

रानीपौवाबाट तरकारी ल्याइदिने गोपाल दाइकी श्रीमती १६ दिनको सुत्केरी हुँदा मरेको सुनेकी थिएँ । त्यो छोरी हुर्काउन मुश्किल परेकोले गोपालले गीता दिदी मार्फत विवाह गर्ने दबाब दिन थाल्यो । बिहे गरे मेरो छोरीको पनि बाबु बन्ने खबर पठायो । छोरीले पढ्न पाउँछे कि भनेर मैले पनि हुन्छ भनें । म गीता दिदीको कोठाबाट गोपालकी नयाँ श्रीमती बनेर बालाजू पुगें । गोपालको नाम लिएको एक हप्तामा छोरीले पनि स्कूलको मुख देखी । म दुई महीना पनि नपुगेकी अर्काकी छोरीको आमा बनें । गोपालको नामबाट मैले अर्को नागरिकता पनि बनाएँ । दिन राम्रैसित चल्दैथियो । मैले दुई तोला जति सुन पनि जोडिसकेकी थिएँ । अब मलाई छोराहरूको सम्झ्नाले सताउन थाल्यो । गोपाललाई माइती पुगेर आउँछु ल भन्दै कान्छी छोरी मात्र लिएर तराई झ्रें । ठाउँमा त पुगें, तर उनीहरू त्यहाँबाट नेपालगञ्ज बसाइँ सरेछन् । म त्यसै फर्किएँ काठमाडौं ।

गोपाल कालीमाटीमा दैनिक तीन–चार ट्रक तरकारीको व्यापार गर्ने भइसकेको थियो । एक दिन मुला ल्याएको मिनी ट्रक पल्टियो, गोपाललाई अस्पताल पु¥याउन पनि सकिएन । दुई तोला जति सुन र दुई छोरी सहित म फेरि आइपुगें दोबाटोमा । छोरीहरू पाल्न घर बनाउने ठाउँमा ज्यामी काम गर्न थालें । पाँच कक्षामा पुगेकी छोरी मसँगै ज्यामी बनी । हामी चाबहिलमा बस्न थाल्यौं । कान्छीलाई पढाउने शर्तमा अरूको घरमा काम गर्न राखिदिएँ । जेठीले पनि पढाइदिने रे भन्दै नक्सालको एउटा घरमा काम थाली । म फेरि एक्लै भएँ कोठामा ।

उमेर पनि ढल्कँदै थियो । एक दिन मलाई सोध्दै आएको एउटा केटा कोठामा पर्खिरहेको रहेछ । बुझदा त मेरै जेठो छोरो रहेछ । मामाघरबाट सोध्दै आएको रे ! विदेश जान काठमाडौं धाइरहेको रहेछ । आमाछोराबीच धेरै कुरा भए । कोठामा एक्लै भेट्दा उसले आमाको अतीत देख्न पाएन । दोस्रो पटक ऊ भाइ र कान्छी आमापट्टिको भाइलाई पनि लिएर आयो । यसपल्ट दिदीभाइको पनि भेट गराइदिएँ । जेठो हिंड्यो मलेशियातिर । उसलाई विदा गर्न बूढा र सौता पनि आएका थिए । बूढाको दुब्लाएर हाडछाला मात्र बाँकी रहेछ ।

केही महीना पछाडि कान्छो छोरालाई जन्डिसले लग्यो भन्ने खबर पाएँ । आमा छोरी सोध्दै खोज्दै बूढाको घर पुग्यौं । घर के, भाडाको दुई कोठा रहेछ । मजदूरी गर्ने सबै । छोरी तीन दिनमा फर्किर्ई, म छोराको काम सकुञ्जेल बसें । त्यसको चार महीनापछि बूढा पनि बितेको खबर आयो । सौताको छोराले म नपुगी बुबाको लास नउठाउने भन्यो रे ! म के–के थरमा पुगे, त्यसको अत्तोपत्तो नपाएका सौता र छोराहरूले मलाई कुर्ने भनेपछि बाकसबाट निकालेर गोपालको नामको नागरिकता च्यातें अनि पुगें नेपालगञ्ज । बाहुनी जेठी श्रीमती बनेर सबै काम गराए ।

छोराले मलेशियाको कमाइबाटै घर किन्यो । सौताका सन्तान अलग्गै बस्ने भए । छोराले ‘बुबाले गर्दा धेरै दुःख पाउनुभयो, नयाँ घरमा गएर बस्नू, अब म सुखले पाल्छु’ भनेपछि मक्ख पर्दै गएँ नेपालगञ्ज । छोरो मलेशियाबाट आयो । बाबुको काजकिरिया ग¥यो । बिहे पनि ग¥यो अनि श्रीमतीलाई ‘आमालाई सुखले राख्नू ल’ भनेर फर्कियो । बुहारीले कसरी थाहा पाई कुन्नि, ‘सात पोइले’ भन्दै घरमा बस्न–खान नदिने भई ।

एक दिन छोराले पनि फोन गर्यो, “जन्म दिएकोले आमा भन्छु, तर आजै मेरो घरबाट निस्क । भोलिदेखि मैले सपनामा पनि आमा भन्नु नपरोस् ।”

अनि, थोत्रा लुगा पोको पारेर लागें काठमाडौं । जेठी छोरीकी मालिक्नीले ‘ऊ बिहे गरेर भागी’ भनिन् । कान्छी बसेको घरमा गएर दुई रात बिताएँ । गीता दिदीले होटल चलाएको सोह्रखुट्टेको ठाउँ थाहा थियो, त्यहीं पुगें । बूढीले “तिमी होटल चलाऊ, मलाई पनि पाल, सक्छ्यौ ?” भनिन् । मैले गाँस र बास पाएँ । बेलुका होटल बन्द गरेर फर्कंदा त उही पुरानै डेरा रहेछ जस्ताको तस्तै । खाना खाएर तन्ना मात्र फेरिएको आफ्नै बिस्तरामा पल्टिएँ । सोचें– बिस्तरामा त तन्ना मात्र फेरिएछ, मेरो जिन्दगीमा त के–के फेरियो, फेरियो । अब अरू फेरिने हिम्मत छैन ल भगवान !

comments powered by Disqus

रमझम