२०-२६ पुस २०७६ | 5-11 Jan 2020

शक्ति स्वार्थले बन्धक

Share:
  
- सइन्द्र राई
पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएपछि नेकपाभित्र समानान्तर शत्तिकेन्द्रको अभ्यास हुँदा प्रतिनिधिसभाको सभामुख चयन मात्र नभई राष्ट्रिय राजनीति नै प्रभावित भएको छ।

१७ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल १३ पुसको सचिवालय बैठकमा समान हैसियतमा बसे । ५ मंसीरको सचिवालय बैठकले दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेपछि पहिलोपटक दुवै अध्यक्ष बैठकमा समान हैसियतमा थिए ।

सचिवालय बैठकमा दाहालको कुर्सी सारिएसँगै नेकपामा समानान्तर दुई शक्तिकेन्द्र स्थापित भएको प्रष्ट सन्देश गएको छ । र, यसको असर राष्ट्रिय राजनीतिमा देखिएको छ । संसदमा नेकपाको दुई तिहाइ मत गुम्नु र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे बहस चर्किनु दुई शक्तिकेन्द्रबीच भागबण्डा नमिल्दाको परिणाम ठानिएको छ ।

नेकपाभित्रका शक्तिकेन्द्रबीचको द्वन्द्वको सबैभन्दा ठूलो असर संसदमा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ पुसबाटै यो वर्षको हिउँदे अधिवेशन शुरू गर्न पत्र पठाए पनि तीन सातासम्म प्रतिनिधिसभा बैठक अवरुद्ध छ । प्रतिनिधिसभा बैठक २७ पुससम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठक आह्वान भएको ४ पुस बिहान संसदीय कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकमा अध्यक्षद्वयसँगको सल्लाहबमोजिम नेकपाका प्रमुख सचेतक देव गुरुङले बैठक एकैपटक ११ पुसमा राख्ने र त्यही दिनबाट सभामुख चयन प्रक्रिया अगाडि बढाउने प्रस्ताव गरे । अन्य दलका प्रमुख सचेतक पनि सहमत भएपछि दिउँसो १ बजे बसेको बैठकमा राष्ट्रपतिले पठाएको पत्र पढेर उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसद स्थगित गरिन् । तर, प्रमुख सचेतक गुरुङले बैठकमा प्रस्तुत गरेको मार्गचित्र अनुसार संसद अगाडि बढ्न नसक्दा प्रतिनिधिसभा बैठक झ्ण्डै एक महीना पछि सरेको छ ।

तत्कालीन एमाले पक्षका केही नेता अध्यक्ष दाहाल सहमतिबाट पछाडि हट्दा सभामुख चयन प्रक्रिया अवरुद्ध भएको दाबी गर्छन् । ओली निकट एक नेताका अनुसार दाहाललाई कार्यकारी अध्यक्ष दिने बेलै रिक्त सभामुख पदबारे सहमति जुटेको थियो । तर, पूर्वमाओवादी नेताले दाहाललाई पार्टी एकीकरणका वेला तत्कालीन माओवादीको भागमा परेको सभामुख पद नछोड्न दबाब दिएपछि संसद बैठक नै प्रभावित भएको हो ।

स्रोतका अनुसार ३० मंसीर बिहान दाहाल निवास खुमलटार पुगेका नेताहरूले सभामुख पद पनि छोडिदिए संवैधानिक शक्ति जति पूर्वएमालेतिर थुप्रिने भन्दै दाहाललाई सचेत गराएका थिए । विश्लेषक झ्लक सुवेदी पूर्वमाओवादी पक्षमा यस्तो आशङ्का हुनु अस्वाभाविक नभएको बताउँछन् । उनी भन्छन्, “मनोवैज्ञानिक एकीकरण भइनसकेको नेकपामा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख जस्ता पदमा हुने भागबण्डाले महŒवपूर्ण अर्थ राख्छ ।”

अर्का अध्यक्ष ओली खेमामा पनि दाहाल खेमामा जस्तै डर र आशङ्का छ । पार्टी कार्यकारी अध्यक्ष, सभामुख र प्रमुख सचेतक सबै पूर्वमाओवादीलाई नै सुम्पिए सरकार सञ्चालनमा असहज हुने भएकाले ओली पक्ष सभामुख नछोड्ने अडानमा छ । उनीहरूले पूर्वसभामुख सुवास नेम्वाङको नाम सार्वजनिक बहसमा लगेर दबाब सिर्जना गरेका छन् । तर, यी दुवै तर्कसँग असहमति जनाउँदै प्रमुख सचेतक गुरुङ संसद गतिरोधको बाधक उपसभामुख तुम्बाहाङ्फे भएको बताउँछन् । उपसभामुखले राजीनामा नबुझउँदा संसदले नयाँ सभामुख चयन गर्ने बाटो रोकिएको उनको दाबी छ ।

नेकपा नेतृ पम्फा भुषाल भने उपसभामुखको राजीनामाका कारण नभई सभामुख को हुने भन्ने विषयले संसद अवरोध भएको बताउँछिन् । उनी भन्छिन्, “बलात्कार अभियोगपछि कृष्णबहादुर महराले दिएको राजीनामा १५ असोजमै स्वीकृत भएको हो । त्यसयता कुनै सहमति नगरी अहिले उपसभामुखकै कारण संसद अवरोध भएको भन्न मिल्दैन ।”

४ पुसमा संसद बैठक शुरू हुँदा नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो । तर, बैठकमा सभामुख चयन अजेण्डा थिएन । बैठकमा छलफल नहुने तर, नेताको सार्वजनिक टिप्पणी आउने क्रम बढेपछि नेकपाका कतिपय नेता असन्तुष्ट हुन थालेका छन् । प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल दुई अध्यक्षका कारण पार्टी र सरकारबारे नकारात्मक सन्देश गएको बताउँछन् । उनी भन्छन्, “खुमलटार र बालुवाटारको स्वार्थले धुम्बाराही अप्ठ्यारोमा पर्नुहुन्न । नेकपाकै कारण संसद अवरुद्ध भइरहनुले राम्रो सन्देश गएको छैन ।”

प्रतिनिधिसभासँगै त्यही दिन शुरू भएको राष्ट्रिय सभा बैठक १७ पुससम्ममा ६ दिन बसिसकेको छ । यो अवधिमा दुईवटा विधेयक र एक सार्वजनिक महŒवको प्रस्ताव छलफल सहित पारित भइसकेको छ भने काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण सम्बन्धी विधेयक पारित हुने चरणमा छ । यसबाहेक सार्वजनिक सरोकारका विषयमा राष्ट्रिय सभाका सांसदहरूले प्रश्न उठाउने अवसर पनि पाएका छन् ।

प्रतिनिधिसभा बैठक बस्न नसक्दा राष्ट्रिय सभाबाट आएका तीन विधेयक अगाडि बढ्न सकेका छैनन् । प्रतिनिधिसभामा पहिलेबाटै थाती लागेका विधेयकको पनि चाङ छ । पाँचौं अधिवेशनसम्म आइपुग्दा प्रतिनिधिसभाले छलफल गरी टुङ्गो लगाउने विधेयकको संख्या २६ वटा पुगिसकेको छ । विधेयकबारे पर्याप्त छलफल र सहमतिको प्रयास नभएकै कारण दोस्रो अधिवेशनमै दर्ता भएको नेपालको नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक अझ्ै पारित हुनसकेको छैन ।


‘उपसभामुखको अवरोध’

देव गुरूङ, प्रमुख सचेतक, नेकपा

एउटै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखलाई ह्वीप नलाग्ने भए पनि दल परित्याग गरेको नमानिने कारण अहिले नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुख हुनुहुन्छ । हाम्रो पार्टीले सभामुख नछोड्ने निर्णय गरेकाले उपसभामुखले राजीनामा दिनुपर्ने हो । उहाँले ४ पुस अगाडि नै राजीनामा दिनुभएको भए सभामुख चयनको बाटो खुलिसक्थ्यो ।

पार्टीले धेरैपटक आग्रह गरे पनि उहाँले राजीनामा नदिनुभएकाले संसद अवरुद्ध हुँदै आएको छ । नेकपाले आग्रह गर्ने हो, ह्वीप लाग्दैन । उहाँले राजीनामा दिएपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बैठकमा नेकपाले सभामुखमा उम्मेदवारी दिने र उपसभामुखमा अन्य कुनै दललाई समर्थन गर्ने निर्णय भएको छ ।

comments powered by Disqus

रमझम