३ कात्तिक २०७० | 20 October 2013

ठूलोबाको कन्तुर

Share:
  
- तुलसीहरि कोइराला

भोलि दिउँसो मधेश जानु छ, ठूलोबाको घरमा कसैको फोन लाग्दैन । ल्याण्डलाइन मरिगए उठ्दैन, सबैका मोबाइल अफ छन् । एकाबिहानै उठेर ठूलोबाको गेट ढकढक्याउन मण्डिखाटार पुगें । निकैबेर घन्टी दबाएपछि कौसीबाट एउटा टाउकोले मलाई चियायो । टाउको जसको भए पनि देखेपछि गेट खुल्छ भनेर पर्खिरहें । एक क्षणमा ‘ए तँ पो !’ भन्दै ठूलोबाले गेट खोल्नुभयो अनि म भित्र छिर्नासाथै हत्तपत्त साँचो लगाइहाल्नुभो ।

ठूलोबाको अनुहारमा हेरें– ओठ कलेटी परेका थिए । आँखा राता भएका थिए । शरीर पनि काँपिरहेको थियो । बूढोमान्छे स्याँ–स्याँ गर्दै भ¥याङमा कुदिरहेका थिए । म पछ्याउँदै तीन तला माथिको बैठक पुगें । ठूलोबा थ्याच्च सोफामा बस्नुभयो । ठूलीआमा, दाइ, भाउजू, भतिजाभतिजी त्यहीं थिए । सबैको अनुहारमा अनिद्रा र त्रास तैरिरहेको थियो ।

ठूलोबाको घरमा पक्कै पनि ठूलै विपत्तिले प्रवेश गरेको हुनुपर्छ । तर, के ? मैले अड्कलबाजी गरिरहेको बेला तल गेटमा कसैले घन्टीको स्वीच दबायो ।

“लौ, अब चाहिं उनीहरू नै हुन् !”

ठूलोबा रातोपीरो देखिनुभयो । दाइको अनुहार पनि कुचुक्क प¥यो । ठूलीआमा र भाउजू त रुनै थाले । बुझ्ेको केही हैन, तर मलाई पनि बिहानै विपत्तिमा पर्ने लेखेको रहेछ कि क्या हो भनेजस्तो लाग्न थालेको थियो ।

बरण्डामा गएर गेटतिर चियाउने साहस कसैले देखाइरहेका थिएनन् । ठूलोबाले ‘नानी, तँ गएर यसो हेर त’ भनेपछि मलाई उठ्न कर लाग्यो । दूधवाला हतार भएको संकेत गर्दै उँभो हेरिरहेको रहेछ । मैले भित्र गएर दूधवाला आएको बताउँदै भाउजूतिर हेर्दै भनें, “मै थापेर ल्याइदिऊँ कि ?”

भाउजूले ‘भइहाल्छ नि’ भन्दै भाँडो दिनुभयो । जानै लाग्दा ठूलोबाले साँचो दिदै भन्नुभयो, “चाबी मार्न नबिर्सी है !”

दूध लिएर आएपछि बूढाको छेउमै गएर बिस्तारै सोधें, “ठूलोबा, घरका सबै यहीं हुनुहुन्छ । सबै त्रसित हुनुहुन्छ, के भयो ?”

उहाँले दाजुतिर हेर्नुभयो । त्यसपछि मलाई सोध्नुभयो, “अस्ति राति राजस्वका कर्मचारीको घर–घरमा अख्तियारले छापा मारेको तैंले थाहा पाइनस् ?”

मैले थाहा पाएको जनाउँदै मुन्टो हल्लाएँ ।

“तेरो दाजु पनि त राजस्वमै हो नि ...”, निन्याउरो स्वरमा बूढाले भने, “गरेको बिराएको केही नभए पनि मध्यरातमा घरमा खानतलासी र गिरफ्तार गरेर विचराहरूलाई बिजोग बनाए । यहाँ पनि आजै आउने हुन् कि भोलि आउने हुन् भइरहेछ । तैं भन् त हामीलाई कस्तो भएको होला ?”

अस्ति राति कार्यालयबाट घर आउँदै गर्दा छिमेकी उमानाथ शर्माको विशाल घर र फराकिलो कम्पाउण्डमा अख्तियारका कर्मचारी र प्रहरीहरू भरिएका थिए । त्यो रात अख्तियारले राजस्व सेवाका दुई दर्जनभन्दा बढी कर्मचारीको घरमा छापा मारेको थियो ।

ठूलाबाका शोकाकूल लाग्ने परिवारलाई यसो हेरें, सरदर कर्मचारीका परिवारभन्दा फरक देखिनँ । बैठक कोठा पनि त्यस्तो थिएन, जसबाट भ्रष्टाचारको गन्ध आओस् । मैले एकाएक धेरै आफन्तलाई सम्झ्एिँ । त्यही समूहमा सँगै प्रवेश गर्नेमा मेरै बहिनीज्वाइँ पनि थिए । उनलाई करतिर परेकोमा अलिक खिन्न अनुभव भएथ्यो, तर त्यतिवेला भनसुन गरेको पहुँचवालाले भनेथे, “दिगो त भन्सारभन्दा कर नै हो । भन्सारमा हुनेहरूमाथि सबैका आँखा पर्छन्, करमा चूपचाप आइरहन्छ । ढुक्क भए हुन्छ ।”

वास्तवमा उनले ठीकै भनेका रहेछन् । नत्र, बहिनीज्वाईंको पनि यही हालत हुने रहेछ अहिले । लाइन मिलुन्जेल तलदेखि माथिसम्म भागशान्ति हुन्छ, जब लाइन बिग्रन्छ, यस्ता घटना हुन्छन् । यसरी आफन्तहरू त्रसित भएको देख्दा नरमाइलो लाग्दोरहेछ ।

“आ ठूलोबा, केही पनि हुँदैन”, मैले ढाडस दिएँ, “दाइले त्यतिसारो के नै गर्नुभएको छ र डराउनुपर्ने ? अख्तियारले पनि राजस्वको कर्मचारी भन्ने बित्तिकै हचुवामा कसरी छापा मार्छ ? बेकारमा डराएर रात–रातभर नसुतेर हुन्छ । गर्नु न बिराउनु, किन डराउनु ?”

बूढाले भरोसा मानेको देखेर फेरि भनें, “छापै मारे पनि के नै हुन्छ त ? हामी पनि पुर्ख्यौलीी सम्पत्ति नभएका खानै नपाउने त होइनौं नि !”

यसरी ठूलोबा र दाइलाई साहसी बनाउने ठूलै प्रयत्न गरेर फर्किएथें म । त्यो रात भाते निद्रामा परेको वेला फोनको घन्टी बज्यो । ‘हेलो’ भन्नासाथ ठूलोबाको आत्तिएको स्वर आयो, “तल आएर ढोका खोल्, हामी आएका छौं ।”

छक्क पर्दै ढोका खोल्न ओर्लिएँ । दाइ पनि हुनुहुँदोरहछ । उहाँहरूसँग एउटा कन्तुर थियो ।

“त्यो के हो ठूलोबा ?” मैले छक्क पर्दै सोधें ।

“चूप लाग्, माथि नै गएर भनौंला”, उहाँले साउतीमा भन्नुभयो । दाजु र मैले निकै बलले कन्तुर माथि ल्यायौं । ठूलोबाले पनि एकहातले भर दिनुभयो । “लौ नानि, यति कन्तुरलाई जतनसाथ राखिदिएस् । कथंकदाचित घरमा छापा मारिहाल्यो भने त सर्वस्व नै जान्छ”, माथि आएर खत्रक्क बिसाउँदै ठूलोबाले भन्नुभयो, “तैंले थाहा पाइहालिस्, दुई रात भो झ्पक्क नगरेको । खाटमुनि घुसारिदिएस्, त्यति धेरै ठाउँ पनि लिंदैन । यसबारे कसैलाई कुरा नचुहाएस् है !”

दाजुले निन्याउरो अनुहार पारिरहनुभयो ।

आफैंले कमाएको धनले यसरी भतभती पोलेपछि यसको के अर्थ । नहुनेलाई एकै पीर, हुनेलाई दशथरी पीर ।

“ठूलोबा ... ”, मैले भने, “अब यहीं सुतौं । यो आधा रातमा ट्याक्सीलाई दोब्बर भाडा तिरेर किन हिंड्ने ?”

तर, उहाँहरू बस्न मान्नुभएन ।

“दिनभर घरमै रुँगेर बसिरहने कुरा भएन”, उहाँहरू हिंड्नासाथ श्रीमतीजी पड्किन थालिन्, “किन हुँदैन भनेनौ ?”

वास्तवमा उनी सही थिइन्, तर म उपायविहीन थिएँ ।

के होला यसमा, यति गह्रौं ? छक्क पर्थें म । दुई वर्षभन्दा बढी रह्यो मकहाँ ठूलोबाको त्यो कन्तुर । एक रात फेरि ठूलोबा र दाजु आएर पहिला जसरी ल्याएको हो, उसैगरी लिएर जानुभयो । लैजाने बेलामा एक पटक खोलेर देखाइदिएको भए पनि हुन्थ्यो जस्तो लागेको थियो, तर भन्नु कसरी ? तैपनि मलाई पिलो निचोरेजस्तो सञ्चो चाहिं भयो । “बल्ल ढुक्क भयो”, श्रीमतीले पनि लामो सास तान्दै भनिन्, “आइन्दा कसैको यस्तो चिज जिम्मा लिने काम नगर्नुस्, बेकारको टेन्सन !”

उहाँहरू पनि बेकारमा डराउनुभएको थियो । यो अख्तियार भन्ने निकायलाई पनि के भन्ने ? कतिसम्म भने, पत्रिकाले लेखेकै भरमा कर्मचारीहरूका घरमा छापा मारिएका छन् । म पनि पत्रकारै हुँ, तर किन लेखौं कर्मचारीलाई भ्रष्टाचारी भनेर ? मैले आफ्नै ठूलोबाको परिवारको यत्रो सन्त्रास हेरें ।

एक बेलुका एउटा उम्दा लेख तयार पार्ने मूडमा वेलैमा घर आएर कम्प्युटरमा बसेको थिएँ, कसैले गेट खटखटाई हाल्यो । दिक्क मान्दै श्रीमतीलाई गएर गेट खोलिदिन इशारा गरें । उनी खुट्टा बजार्दै माथि आएर भनिन्, “झट्ट आफैं झर्नु रे, बाक्सा पहिलेको भन्दा निकै गह्रौं छ ।”

comments powered by Disqus

रमझम