२०-२६ पुस २०७६ | 5-11 Jan 2020

जयवागीश्वरीभित्र अर्को मन्दिर

Share:
  
- वसन्त महर्जन
मन्दिर र मन्दिर पुनर्निर्माण गर्न भत्काउने क्रममा भेटिएको पुरानो भित्तोचित्रको संरक्षण गरेर ऐतिहासिक तथ्य पुष्टि गर्ने अवसर खेर फाल्नुहुँदैन।

तस्वीरः एकराम सिं
१२ वैशाख, २०७२ को भूकम्पले पशुपति क्षेत्रस्थित जयवागीश्वरी मन्दिरको माथिल्लो भागमा क्षति पुर्‍यायो । पुनर्निर्माण गर्न भत्काउने क्रममा मन्दिरभित्र अर्को पुरानो मन्दिर र त्यसको भित्तामा चित्रकला समेत भेटियो । यो जानी–नजानी भएको ठूलै खोज हो । सम्बद्ध निकायले भने यो खोजलाई उपलब्धि मान्नुको साटो मन्दिर भत्काउने र पुनर्निर्माण सम्पन्न गर्ने काममा बाधकको रूपमा बुझेको पाइयो ।

भूकम्पले क्षतिग्रस्त मन्दिर लगायतका सम्पदाहरू अध्ययन–अनुसन्धान गर्ने अवसरका रूपमा प्रयोग गर्न सकिने भए पनि सम्बन्धित निकाय त्यसप्रति उदासीन हुँदा धेरै नोक्सानी बेहोर्नु परेको छ । यो अज्ञात वा किंवदन्तीमा आधारित कतिपय ऐतिहासिक तथ्य पुष्टि गर्ने ठूलो अवसर पनि हो । यसलाई बेवास्ता गरिएको पछिल्लो उदाहरण हो, पशुपतिनाथ क्षेत्रको प्रसिद्ध जयवागीश्वरी मन्दिर ।

तस्वीरहरूः नरेन्द्र मानन्धरको फेसबूकबाट साभार
मन्दिरको वर्तमान स्वरुप राजा नृपेन्द्र मल्ल (वि.सं. १७३१–१७३७) का पालामा तयार भएको हो । तर इतिहासकार धनवज्र वज्राचार्यका अनुसार मन्दिरको गर्भगृहभित्रको मुख्य मूर्तिको पादपीठमा रहेको एक हरफको अभिलेख सातौं शताब्दी अर्थात् लिच्छविकालको हो । लिपिको आधारमा यो अभिलेख लिच्छविकालका राजा अंशुवर्माकालीन हो भनेर उनले आफ्नो पुस्तक ‘लिच्छविकालका अभिलेख’ (पृष्ठ ५८३) मा लेखेका छन् । वंशावली लगायत अन्य स्रोतले पनि यो मन्दिर लिच्छविकालीन नै हो भन्ने देखिन्छ ।

धर्मचक्रको दायाँ–बायाँ मृग ।
केही समयअघि मन्दिर भत्काउँदा त्यहाँभित्र अर्को पुरानो मन्दिरको तीन वटा गजुर भेटिएका थिए । पछिल्लो पटक पर्खालमा कलात्मक चित्र र बुट्टेदार आँखीझयाल भेटिएका छन् । भित्तेचित्र माटो निर्मित गारोमा लिउन लगाएर कोरिएका छन् । भित्तेचित्र भएको गारो निकै कमजोर रहेको बताइन्छ, जसलाई सुरक्षित राखेर संरक्षण गर्ने ‘प्रविधि’ प्रयोग गर्न सकिन्छ ।

भित्तेचित्र प्रचलित चित्रकलाभन्दा फरक देखिनु र धेरै बिग्रेको अवस्थामा भए पनि पाइनु नै महत्वपूर्ण कुरा हो । यसलाई लिच्छविकालीन भित्तेचित्र हो भन्ने अनुमान गरिएकाले हालसम्म त्यो वेलाको चित्रकला नपाइएको सन्दर्भमा यो अझ् महत्वपूर्ण हुन्छ । यसबारे गहन अध्ययन हुनु आवश्यक छ । लिच्छविकालीन नै नभए पनि यही भित्तेचित्रको आधारमा अन्य ऐतिहासिक पाटो उजागर हुने संभावना छ ।

मौलिकता नष्ट नगरी थप सुधार गर्न पुरानो सम्पदालाई सुरक्षित तवरले छोपेर त्यसैमाथि अर्को बनाउने प्रचलन पुरानै हो । लुम्बिनी क्षेत्रको निग्लिहवास्थित अशोक स्तम्भमा रहेको अभिलेख अनुसार कनकमुनि बुद्धको जन्मस्थल मानिएको उक्त ठाउँमा पहिल्यैदेखि एउटा स्तूप रहेको र त्यसलाई छोपेर मौर्य सम्राट अशोकले आफ्नो राज्याभिषेकको बीसौं वर्षको अवसरमा पहिलेभन्दा ठूलो स्तूप बनाएको उल्लेख पाइन्छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी मात्रै नभएर रामग्राम लगायत अन्य सबै संरचनाहरू यसरी नै पुरानोलाई संरक्षण गरी छोपेर नयाँ निर्माण गरेको पाइन्छ । यो परम्परा जयवागीश्वरीमा कायम नै रहेको पाइए पनि हाल पुनर्निर्माणका क्रममा त्यसलाई बेवास्ता गरेको पाइयो ।

तस्वीरः एकराम सिं
पश्चिमाभिमुख जयवागीश्वरी मन्दिर अन्यभन्दा धेरै दृष्टिले फरक छ । देवी सरस्वतीको अर्को नाम वागीश्वरी पनि हो र यसलाई स्थानीय जनता ‘श्वेतसरस्वती’ का रूपमा पनि पूजा गर्छन् । मन्दिरको गर्भगृहमा तीन वटा मूर्ति छन् र बीचमा उभिएकी जयवागीश्वरीको चार हातमा सिन्हःमू, ज्वालान्हायकं, चक्र र खड्ग छन् । सामान्यतः सरस्वतीका हातमा वीणा र पुस्तक हुन्छन् । सरस्वतीको दायाँतर्फ भैरव र बायाँतर्फ गणेशको मूर्ति छ । यहाँ गणेशको स्वरुपमा विघ्नेश्वर पनि छन् । गणेशको हात्तीको टाउको हुनुभन्दा अगाडिको रूप नै विघ्नेश्वर हो । यी तीनै वटा मूर्ति सेतो रङका छन् ।

मन्दिरको उत्तरतर्फको गर्भगृहको बाहिरी भित्तामा भैरवको आकृति तथा सामाजिक विषयवस्तुका चित्रकला अंकित छ । दक्षिणतर्फको गर्भगृहमा मातृकाका प्राचीन मूर्तिहरू छन् । यसरी नै बौद्ध स्थलमा प्रयोग हुने धर्मचक्र र त्यसको दायाँबायाँ मृग आकृति रहेको शिलाखण्ड यहाँ खुड्किलाका रूपमा प्रयुक्त भएका छन् । ऐतिहासिक तथा पुरातात्विक स्थलमा कुनै नयाँ कुरा फेला पर्दा त्यसलाई उपलब्धिका रूपमा लिई विशेष अध्ययन थाल्नुपर्ने हुन्छ । एउटा बौद्ध स्तूपको उत्खनन हुँदै गर्दा स्तूपभन्दा मुनि अर्को संरचना देखिएको र त्यसको अध्ययनबाट नै सम्पूर्ण इतिहास बदल्ने सिन्धु घाटीको सभ्यता उजागर भएको घटना यहाँ स्मरणीय छ ।

comments powered by Disqus

रमझम