३ कात्तिक २०७० | 20 October 2013

अलखोरको मिराज

Share:
  
- शकुन्तला जोशी

“हामी जस्ता गरीबको जिन्दगी भन्नु त्यो अक्करे भीर जस्तै त हो नि ! सधैं अप्ठ्यारो, जहिल्यै दुःख । तर, तिनै भीरमा हाम्रो पूर्खाको नाभी गाडिएको छ । त्यही भीरका गुराँसमा उनीहरूको रगत फुलिरहेको छ । दुःख भयो भन्दैमा हरेश खानुहुँदैन ।”

दुःखहरूको संग्रह जस्तो अनुहार लिएर सुरुङखिम पारिको अक्करे भीरतिर औंल्याउँदै बोजुले ऊवेला भनेका कुरा अहिले पनि मेरो कानमा ताजै छन् । सदियौंदेखि बगिरहेको इवाखोला जस्तै दुःखको एकोहोरो गतिमा चलेकै थियो हाम्रो जिन्दगी । त्यो परिवेशसँग कसैको गुनासो हुँदैनथ्यो । पुस्तौंदेखि त्यहाँ मान्छेको जीवन त्यसरी नै चल्दै आएको थियो । हाम्रा बाउले पनि विद्रोहको गीत गाएको थाहा छैन । कहिलेकाहीं दुःखले अलल्याएको वेला आमा भने भाग्यसँग बेस्मारी झवाँकिन्थिन् । र, कपाल बाँधिराखेको बर्कोको फेरले आँशु पुछ्थिन् ।

गाउँमा हाम्रो जग्गा खासै थिएन । भीरको डिलमा उभिएको घरछेउको पाखोबारीमा कति नै उब्जनी हुन्थ्यो ! के खुवाएर लालाबाला हुर्काउने भन्ने चिन्ताले बाउआमाको निधार खुम्चिएकै हुन्थ्यो । फक्तालुङदेखि कञ्चनजंघासम्मको सेरोफेरोमा बस्ने धेरैको दुःख उस्तै थियो । हुर्केका हिम्मतिला छोरा भोट पस्थे । नसक्नेहरूका लागि भेडी, चौंरी गोठ नै भोट वा मुग्लान हुन्थ्यो । मैले पनि इवा नागीको चौंरीगोठ रोजें । याम्फुदिन, ओलाङ्चुङ्गोला, घुन्सा क्षेत्रका हुन् या पारि पाँचथरको तिम्बुङ, फालोट डाँडा, हिवाँकोठीतिरका, स्कूल छाडेर शिद्धीमा गोठालो बनेका म जस्ता थुप्रै थिए ।

समयले कोल्टे फेरिरह्यो । पश्चिम नेपालबाट राजाको विरोधमा गरीबहरू बन्दूक बोकेर लडाईंमा उठे रे भन्थे । मलाई लाग्थ्यो, पाथीभरा मेलाको हुलदङ्गा जस्तै हुनुपर्छ त्यो लडाईं । बुझदै जाँदा त्यो त एक दिनभरिमा सेलाउने कचिङ्गल हैन रहेछ । बिस्तारै त्यसको लहर हाम्रो गाउँसम्म आइपुग्यो । युगौंदेखि दुःखको बरफजस्तो जमेर बसेको गाउँवस्तीमा डढेलो झैँ सल्कियो त्यो लडाईं । मान्छेहरू थर्कमान थिए । केही नौजवानका लागि बन्दूक बोक्न पाउनु गर्व र उत्तेजनाको कुरा थियो । त्यही लालसाबाट कतिले आफैं बन्दूक समाए, कतिलाई बाध्य पारियो ।

कुनै परदेशी बास माग्न आइनपुग्ने त्यो गाउँमा नयाँ अनुहारहरूको आउजाउ बाक्लिन थाल्यो । तिनीहरू नै युद्ध गर्ने माओवादी हुन् भन्ने थाहा भयो । बिस्तारै गाउँ शाही सेना र माओवादीको चेपुवामा प¥यो । सोझसीधा गाउँलेले अनाहकमा दुःख पाउन थाले । माओवादी दबाउने नाममा सेनाले र सुराकीका नाममा माओवादीले ताण्डव मच्चाएको समाचार बाक्लिन थाल्यो । गाउँमा सानातिना भनावैरी र रीसराग पनि बन्दूके द्वन्द्वमा रूपान्तरण हुँदैगयो । छरछिमेकी वा कसैसँग रीसइवी साँध्नु परे माओवादीसँग नजिकिन्थे । त्यस्तो काममा प्रायः धूर्त र टाठाबाठा नै अघि देखिन्थे ।

बूट बजार्दै गाउँ पस्ने सेनाको ताँती र मध्यरातमा आउने नौला मान्छेहरू देखेर आमा खूबै डराउँथिन् । “के अनिष्ट हुने हो, देब्रे आँखा फुरेको फु¥यै गर्छ”, डराएको स्वरमा आमा भन्ने गर्थिन् । गोठालो गएकी मेरी फूल जस्ती बहिनी लोदिमा एकदिन सामूहिक बलात्कारमा परिन् । अर्को दिन रेडियोले ‘भिडन्तमा एउटी माओवादी आतंककारी’ मारिएको समाचार फुक्यो । बहिनीको अन्तिम संस्कार गर्न पनि निकै सकस उठाउनु प¥यो । हामीले न्याय माग्ने ठाउँ पो कहाँ थियो र त्यो वेला । त्यसपछि रोइरहेका आमाबाउ र चौंरी गोठको जिम्मेवारी छाडेर हिंडेको थिएँ म ।

लिम्बूको छोरो, त्यसै पनि तातो खुन थियो छातीमा । बहिनीको नृशंस हत्याको घटनाले मलाई एकझ्प्को निदाउन पनि दिइरहेको थिएन । त्यसरी रात–दिन भोकनिद्रा नभनी पूर्व–पश्चिम अनगिन्ती मोर्चामा होमिएँ, धेरै सैनिकलाई निशाना बनाएँ । मलाई मृत्युसँग डर लाग्न छाडेको थियो, मोर्चाहरूमा म सधैं अग्र पंक्तिमा हुन्थें । मलाई बहिनीको हत्याको बदला लिनुथियो । सात वर्ष प्लाटुन कमाण्डर भएर लडें, तर आज यो दुःखमा पुग्नु लेखेको रहेछ ।

त्यत्तिका वर्ष युद्धमा लाग्दा आफ्ना लागि केही गर्नुपर्छ भन्ने सोचिनँ । मसँगै लडेका थुप्रै साथी माथिल्लो जिम्मेवारीमा पुगे । कैयौंले शहर–बजारमा घरघडेरी जोडे, ब्याङ्क ब्लालेन्स पनि गर्न भ्याए । मलाई त्यसमा रुचि नै भएन । थियो त केवल एक दिन दुःखी–गरीबको दिन आउँछ भन्ने प्रत्याशा । मैले यत्ति बुझ्ेको थिएँ ।

यत्तिकैमा एक दिन बन्दूक बिसाइयो । हतियार क्यान्टोन्मेन्टमा राखिएपछि भने भविष्यको अलिअलि चिन्ता लाग्न थालेको थियो । लडाइँमा हिंडेकाहरूको भविष्य सुरक्षित हुन्छ भनेर पार्टीले बाँडेको विश्वास ढोंगको आगो साबित हुन धेरै बेर लागेन । जनसेनामा लाग्दा १८ वर्ष नपुगेको भन्दै ‘अयोग्य’ को तक्मा भिराइदिएपछि हामी शिविरबाट बाहिरियौं ।

घर पुग्दा आमाबाउ मानसिक र शारीरिक दुवै रूपमा निकै कमजोर भइसकेका थिए । परिवारलाई ऋणको भारीले थिचेको थियो । आमाको बुलाकी पनि थिएन । मरुभूमि जस्तो उराठलाग्दो थियो– घरको अवस्था । धेरै दिनसम्म म घरबाट बाहिर निस्किनँ । गाउँलेमध्ये कतिले स्वाद माने, कतिले सहानुभूति देखाए ।

त्यसै कति दिन बस्नु ? एक दिन जिल्ला तहका नेता आएर गाउँमै पार्टीको काम गर्न सुझए । त्यसपछि अर्थ संकलनका लागि धरान, विराटनगरसम्म पुगियो । त्यही क्रममा एक व्यापारीले सोधेका थिए, “भाइ, कति पढ्नुभएको छ ?”

उनको प्रश्नले मेरो कन्सिरी ततायो ।

“किन सोध्नु भो मेरो पढाइ ?”

“अन्यथा नसोच्नुहोला, भाइको पनि घरपरिवार होला, कति दिन चल्छ यसरी तपाईंहरू जस्तो नौजवानको जिन्दगी ? भन्ने सामान्य चिन्ताले मात्र सोधेको हुँ... ।”

त्यस रात म निदाउन सकिनँ । सत्तामा पुगेका नेताहरूको लोभलालच र भौतिक विलास सम्झें । लाग्यो, मजस्तो सोझको पेशा होइन रहेछ राजनीति । अहँ यसरी चल्दैन जिन्दगी ।

बुहारी नहेरी नमर्ने आमाको जिद्दीका कारण घर फर्केको केही समयपछि मैले फुङ्सेलीसँग बिहे गरें । छोरी जन्मिई । छोरीको भविष्य सम्झ्ेर म अत्तालिएँ । त्यसपछि म म्यानपावर कम्पनीको एजेन्ट भएर काठमाडौं बसेको आफ्नै गाउँले रामकृष्णे मार्फत कतार उडें । उसले दोहाको डिपार्टमेन्टल स्टोरमा महीनाको ३० हजार रुपैयाँ तलब हुन्छ भनेर पठाएको थियो । तर, नेपाली एजेण्ट भीमप्रसादले एयरपोर्टबाट सीधै यो मरुभूमिमा ल्याएर छाड्यो । एक महीनामा डिपार्टमेण्टल स्टोरमा लैजाने बाचा गरेर गएको त्यो साइँदुवालाई तीन वर्ष बित्दा पनि भेट्न सकेको छैन । त्यसयता अलखोरको यो निर्जन मरुभूमिमा एक्लै सुस्केरा मार्नु परेको छ, मेरा साथी भनेका यिनै भेडा र ऊँट हुन् ।

आखिर भेडै चराउनुथियो त मेरै फक्ताङलुङ प्रदेशको इवा नागी नै काफी थियो । यो गर्मीभन्दा हिउँको खास्टो कता हो कता प्रिय थियो । ढुंगाको मन भएको अरबी मालिकभन्दा शेर्पा साहू नै आफ्नो थियो । सुखको सपनाभन्दा दुःखको गाँस नै मीठो थियो ।

यो मरुभूमिमा मेरोभन्दा बढी दुर्दान्त हविगत लिएर बाँचिरहेका नेपाली धेरै छन् । कतिले यहाँ आउँदा लागेको ऋण तिर्न सकेका छैनन् । कतिले परिवारसँग फोनमा कुरा गर्नसम्म पाएका छैनन् । मैले पनि ऋण तिर्न घर पठाउँदा साथीहरूसँग लिएको सापटी चुक्ता गर्न सकेको छैन । छोरीलाई राम्रो स्कूलमा पढाउने सपना अधूरै होला जस्तो छ । फोनमा फुङसेली सुँकसुँकाएको सुन्छु । आमालाई दम बढेको छ रे ! बाउ हाट जान पनि सक्दैनन् रे ! फुङसेलीले दुःखले गरेको पैकार (घरमा जाँडरक्सीको इलम) ले खर्च चलाएकी छ रे ! के गर्नु, यहाँ साहूले ६ महीनादेखि तलब दिएको छैन ।

अस्ति बैतडीको एक जना साथीलाई मौकाले भेटेको थिएँ । यो मरुभूमिको अर्को गोठमा झ्ण्डै १० वर्षदेखि बन्धकजस्तो बनाइएको उसको दुःखका कुरा सुन्दा मलाई झ्न् अत्यास लागेको छ । यत्तिका भेडाबाख्रा त गाउँमै चराए पनि योभन्दा सुख हुन्छ भन्ने थाहा छ । तर, आफ्नै नेपाली भनाउँदो पापीको फन्दामा परेर पासपोर्ट पनि हातमा छैन ।

उता देशमा फेरि संविधानसभाको चुनाव हुन लागेको छ रे ! राता र अरू सबै रङका पार्टीहरू चन्दा उठाउन लागिपरेका होलान् । चुनावको नाममा देशको ढुकुटी रित्याउने कत्रो तयारी होला । त्यही बहानामा अरू राष्ट्रहरूसँग झेली थापिंदै होला । अब फेरि एकै गाउँका, एकै ठाउँका कतिको पानी बाराबार र रगत मुछामुछ हुने हो । ती सबै भएर पनि के मेरी छोरीको भविष्य मेरोभन्दा उज्यालो होला ? मनले बोजु, सुरुङखिम पारिको भीर र छोरीको अनुहार एकसाथ सम्झ्रिहेछु । आँखाहरू भने अनन्त मरुभूमिको मिराजले तिर्मिराइरहेको छ ... ।

comments powered by Disqus

रमझम