२०-२६ पुस २०७६ | 5-11 Jan 2020

पुग्नैपर्ने ‘पिके पिक’

Share:
  
- शुष्मा बराली र मनिष पौडेल

पिके पिक । तस्वीरहरुः मनिष पौडेल
काठमाडौंबाट करीब आठ घण्टे यात्रामा सोलुखुम्बुको जन्तरधाप पुग्न सकिन्छ । पत्ताले र ठाडेको बीचमा पर्छ धाप । ‘पिके पिक’ को पैदलयात्रा यहींबाट शुरु हुन्छ ।

जन्तरधापबाट करीब चार घण्टाको हिंडाइपछि सिंगाने हुँदै झाप्रे पुगिन्छ । झाप्रेमा एकरात बिताएपछि भोलिपल्ट बिहान करीब ७ देखि ८ घण्टाको हिंडाइपछि पिके बेसक्याम्प पुग्न सकिन्छ । त्यो रात बेसक्याम्पमा बिताएपछि बिहान केही घण्टाको हिंडाइमा पिके पिक पुग्न सकिन्छ ।

सोलुको पत्ताले गाउँ ।
४,०६५ मिटर उँचाइको पिके पिकको एक होइन, अनेक विशेषता छन् । पिकबाट बिहानको उदाउँदो सूर्यसँगै सर्वोच्च शिखर सगरमाथा सहित ८००० मिटर उँचाइमाथिका आठवटा हिमशृंखला (कञ्चनजंघा, मकालु, ल्होत्से, चोयु, मनास्लु, अन्नपूर्ण प्रथम, धौलागिरि) अवलोकन गर्न सकिन्छ । राजधानीबाट यति छोटो दूरीबाट यी हिमशृंखलाको दर्शन गर्न सकिने पिके एउटै मात्र गन्तव्य हो ।

पर्यटकलाई स्वागत गर्दै स्थानीय ।
हिमशृंखलाका अतिरिक्त हिउँदमा मोती जस्तै टल्किएका हिउँ, शरदमा रङ्गीविरङ्गी लालीगुराँस, प्राचीन थुप्तेन छ्योलिङ गुम्बा, सल्लाको सुसेली पिके पिक यात्रामा मात्र सम्भव छ । सोलुखुम्बुको सबैभन्दा अग्लो पर्वत पिके सबैभन्दा सहज पैदलमार्गका रुपमा समेत परिचित छ ।

पदयात्राका क्रममा शेर्पा समुदायको स्याफ्रु, तामाङको सेलो र मगरको परम्परागत हुर्रा नृत्य पनि हेर्न सकिन्छ । नून, घ्यू र चम्बाको मिश्रणबाट तयार पारिएको चिया सू, मकै, फापर र गहुँको पीठोको सम्मिश्रण चम्बा, रिल्दुक, फल्गी, स्याक्पाका साथै होप्ला अर्थात् छ्याङको स्वाद पनि लिन सकिन्छ ।

अविस्मरणीय पदमार्ग रहेको पिके पिकको प्रवद्र्धनका लागि पिके–सोलुखुम्बु टाप्टिङ समाज सेवाले ‘पिके पिक ट्रेकिङ क्याम्पेन’ शुरु गरेको छ । संस्थाका अध्यक्ष दावा शेर्पा सगरमाथा र अन्य हिमालका लागि मात्र नभई पर्यटकीय जिल्ला सोलुखुम्बु पर्वत, विशिष्ट संस्कार र सभ्यताका लागि समेत विशेष भएकाले पिके पिकको प्रचार आवश्यक रहेको बताउँछन् । “यसका लागि हामीले सुरक्षित पदमार्ग, होम स्टे, सुविधायुक्त होटलको प्रबन्ध पनि मिलाएका छौं, खाँचो छ त बढी भन्दा बढी पदयात्रीको”, उनी भन्छन् ।

comments powered by Disqus

रमझम