३ कात्तिक २०७० | 20 October 2013

न्याउली रोयो निरमाया

Share:
  

विप्लव ढकाल

निधारको पसिना र आँखाको आँसु पुछिदिने

मायालु बताससँग कुरा गर्दागर्दै,

डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर

कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै,

टिनिनि ... टिनिनि ...

पोल्टोभित्र बज्न थाल्यो रिङटोन !

ए निर्मली !

झिक मोबाइल, क्याच्च थिच र ‘हेलो’ भन—

मनमा यसरी काउकुती लाग्ने गरी

फेरि यति चाँडै कसले ग¥यो होला यो फोन ?

कि फेरि कुबेतको तेलखानीबाट

‘सञ्चै छ्यौ मेरी रानी ?’ भन्नलाई

आफ्नै मनको राजाले गरेको हुनुपर्छ यो कल !

कि त चौकीबाट अन्तरे हल्दारले मिस कल दिएको हुनुपर्छ !

कि काँसको फूल जस्ती आमाले माइती गाउँबाट

‘के खाइस् छोरी ?’ भन्नलाई गरेको हुनुपर्छ !

कि त्यही मोरो डाँडाघरे झिल्केले

‘निर्मली भाउजू, बाख्रा कता लाने ?’ भन्नलाई गरेको हुनुपर्छ !

टिनिनि ... टिनिनि...

न्याउली रोयो निरमाया !

नत्र किन यसरी बढ्छ यो मुटुको ढुकढुकी

र घरीघरी बजिरहन्छ यति उराठ लाग्दो धुन ?

लौ न ए निर्मली !

आधा बाटो हिंड्न त अझै बाँकी छ !

घरमा काल कुरेर एक्लै बसेकी छिन् बूढी बज्यै

उनलाई च्याँख्ला पकाएर खुवाउन बाँकी छ !

टाट्नामा बाख्राहरु सिलोक भनिरहेका होलान्

तिनलाई खनिउँको डाली र पानी खुवाउन बाँकी छ !

खोरमा संगिनी गाइरहेका कुखुराहरुलाई चारो दिन बाँकी छ !

गोठमा बालुन खेलिरहेको भैंसीलाई कुँडो दिन बाँकी छ !

पँधेरा जान बाँकी छ ! जाँतो घुमाउन बाँकी छ !

सिन्दुर लाएको सत्ताइस दिनमै छोडी जाने निर्मोहीलाई

पर्खी पर्खी बाँच्न अब सत्ताइस जुनी बाँकी छ !

सपनाहरु सम्झिएर सास फेर्न बाँकी छ !

मोबाइलको ब्यालेन्स त सकिन्छ चाँडै—

तर कति लामो हो यो जिन्दगी ? कति लामो हो ?

रात कहिल्यै सकिंदैन ! दिन कहिल्यै सकिंदैन ! !

सपनामा आफ्नै गोठको भैंसी फुकेर जीउभरि नाचिरहन्छ !

झ्यालमा हल्दार जस्तो बिरालो आउँछ र मिस कल हानिरहन्छ !

यो दशैंमा लुङ्गी किन्छ्यौ कि सारी ?

इस्कुसको झ्याङमा लुकेर त्यही पापी झिल्केले बारम्बार सोधिरहन्छ !

आफ्नै हाँगाको लौरो टेकेर टुकुटुकु हिंड्छन् रुखहरु !

सुनाखरीले आफ्नो चुल्ठोमा आफैं सिउरिन्छ फूल !

आफू नाच्नका लागि आफैं गीत गाउँछ मालीचरो !

तर निर्मली ! कहाँ हरायो इन्द्रेणीको आधा चक्का ?

रात कहिल्यै सकिंदैन ! दिन कहिल्यै सकिंदैन ! !

टिनिनि ... टिनिनि ...

न्याउली रोयो निरमाया !

झिक मोबाइल, क्याच्च थिच र ‘हेलो’ भन—

मनमा यसरी डढेलो लाग्ने गरी

फेरि यति चाँडै कसले ग¥यो होला यो फोन ?

comments powered by Disqus

रमझम