३ कात्तिक २०७० | 20 October 2013

पद्मश्री शारदा

Share:
  

नेपाली नारी स्रष्टाहरूको भीडमा टाढैबाट देखिने कद बनाएकी शारदा शर्माले पछिल्लो औपन्यासिक कृति ताप का लागि पद्मश्री साहित्य सम्मान– २०६९ पाएकी छन् । नयाँ कृति प्रकाशित गरेको वर्ष स्वतः ठूला साहित्यिक पुरस्कारहरूसँग जोडिएर चर्चामा आउने हैसियत बनाएकी स्रष्टा शर्मा भन्छिन्, “पुरस्कृत हुँदा खुशी नहुने कुरै आएन, तर पुरस्कार नपाउँदा पनि लेखिरहने चरणमा छु म ।”

नयाँ लेखकहरूलाई पुरस्कारले बढी सक्रिय बनाउने धारणा राख्ने शर्माले साढे चार दशकको लेखनयात्रामा उपन्यास, कविता, निबन्ध र कथादेखि समालोचनासम्ममा कलम चलाएकी छन् । उनका सीमान्त अनुभूति, युद्धोपरास्त र स्वर्ण सूत्र आफ्नो समयका बहुचर्चित कविता संग्रह हुन् भने आस्थाको भग्नावशेष (कथा संग्रह), भुईंफूलको देश र अग्नि स्पर्श (निबन्ध संग्रह) पनि धेरै पाठक कमाउने कृतिमा पर्छन् ।

आकांक्षा, भौतिक तृष्णा र अध्यात्मिकताको आलोकमा नारी संवेदनाका विविध पाटाहरू केलाइएको उनको उपन्यास ताप ले त पद्मश्री पुरस्कार नै पाइहाल्यो । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कारको राशी दुई लाख रुपैयाँ छ । प्रतिष्ठानले उत्ति नै राशीको पद्मश्री साधना सम्मान संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गर्ने भएको छ ।

साहित्यकार शर्मा प्रभावकारी सञ्चारमाध्यमहरूको उदय, युवाले हाँकेको प्रकाशनगृह र ठूलठूला पुरस्कार कोष स्थापनाले पछिल्लो समय नेपाली साहित्यमा अभूतपूर्व सरगर्मी आएको बताउँछिन् । नयाँ पुस्ताका सचेत पाठकका कारण साहित्यको पात्र, परिवेश र प्रवृत्तिमै नवीनता आएको उनको अनुभव छ । “अहिलेका पाठकलाई सिलिङ हेरेर वा कलम टोकेर तयार गरिएको पात्र र परिवेशले छुँदैन”, दशैं लगत्तै समयको तस्वीर निबन्ध संग्रह प्रकाशित गर्न लागेकी शर्मा भन्छिन्, “वास्तवमा लेखकका लागि यो निकै रमाइलो चुनौती हो ।”

comments powered by Disqus

रमझम