३ कात्तिक २०७० | 20 October 2013

सीमान्तकृतका लेखक

Share:
  
- सन्त गाहा मगर

तस्वीरहरुःमीनरत्न बज्राचार्य
२०३१ सालमा भोजपुरको दिल्पामा जन्मेका राजन मुकारुङ २०५१ सालतिर खोटाङको लामाखुमा शिक्षक हुन पुगे । मावली गाउँमा करीब दुई साल पढाएपछि फुत्त उठेर हिंडेका उनी त्यसपछि न दिल्पामा अडिए, न त सदरमुकाम भोजपुर र धरानमा । साहित्यिक लगाव र सिर्जनाको हुटहुटीले अँचेट्दै–घचेट्दै उनलाई काठमाडौं ‘केन्द्र’ मै ल्याइपु¥यायो । त्यसरी राजधानीमा बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएका राजन अहिले सफलताको एउटा तहमा चर्चित र आनन्दित छन् । उनको यो चर्चा र आनन्द मदन पुरस्कारले लिएर आएको हो ।

५ असोजमा मदन पुरस्कार गुठीले राजनको दोस्रो उपन्यास दमिनी भीर लाई २०६९ सालको मदन पुरस्कार दिने निर्णय गरेयता उनी रमाइलोसँग ‘डिस्टर्व’ पनि भएका छन् । त्यसयता फोन, इमेल र अन्तर्वार्तामा व्यस्त उनले साहित्य सिर्जनामा एक हरफ पनि लेख्न नपाएको बताए । “दशैं अगाडि नै निकाल्ने भनेको उपन्यास ‘अयोग्य’ पनि अब एक वर्षपछि आउने भयो”, राजनले भने, “ठूलो पुरस्कार पाएपछि थपिएको जिम्मेवारीका कारण हतारमा कीर्ति ननिकाल्ने भएँ ।”

२०६० देखि पूर्णकालीन लेखक बनेका राजन शुरूमा कविका रूपमा चिनिए । उनका सेतो आरोहण (२०५६), प्रारम्भ प्रक्षेपण (२०५८), जिकिरको गद्दी (२०५९) र मिथक माया (२०६१) कविता संग्रह प्रकाशित छन् । उनको संस्कृति सम्बन्धी किरात संस्कार पुस्तक पनि प्रकाशित छ । निबन्ध र नाटक विधामा पनि कलम चलाउने उनी पाँच वर्षअघि हेत्छाकुप्पा मार्फत आख्यानमा उदाएका हुन् । नेपालको जातीय सीमान्तीकरण राजनको लेखनको आधारभूमि हो । उनको दमिनी भीर ले पनि ‘सीमान्तकृत नेपाली जनजीवनको जीवन्त चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पु¥याएबापत’ मदन पुरस्कार पाएको हो ।

‘सिर्जनशील अराजकता’ नामको साहित्यिक आन्दोलनमा समेत संलग्न राजनले मदन पुरस्कार पाउनुलाई नेपाली साहित्यमा सीमान्तकृतहरुको सौन्दर्यचेत स्वीकृत भएको रूपमा बुझेको बताए । दमिनी भीर मा नेपाल प्रज्ञा–प्रतिष्ठानको बृहत् नेपाली शब्दकोशमा नअटाएका ३०० वटा ‘सीमान्तकृत’ शब्द रहेको उनी बताउँछन् । ‘मदन पुरस्कार पाउनेको लेखन ओरालो लाग्छ’ भन्ने बजार हल्लालाई चुनौती दिने तयारीमा जुटेका राजन भन्छन्, “पुरस्कारले थिच्दा जिम्मेवारी बढ्दो रहेछ ।”


गीतका रत्न

कविताकै अंग भए पनि

गीतको आफ्नै छन्द हुन्छ

गीतको आफ्नै गन्ध हुन्छ ।

प्रशिद्ध गीतकार रत्नशमशेर थापाको गीतप्रतिको अवधारणा हो यो । वि.सं. १९९६ मा काठमाडौंको कमलपोखरीमा जन्मेका थापा त्यस्ता गीतकारमा पर्छन्, जसले अहिलेसम्म तीन हजारजति गीत लेखे, तीन सय जति रेकर्ड गराए अनि कालजयी सर्जकमा दरिए । २०१८ सालमा ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो...’, ‘विछोडको पीडा नसकी खप्न...’, ‘स्वर्गकी रानी...’ ‘आँखाको भाका...’ लगायत ६ वटा गीत रेकर्ड भएर रेडियो नेपालबाट बजेपछि उनी गीतकारको रूपमा स्थापित भएका थिए ।

गद्य र पद्य दुवैमा उत्तिकै सशक्त कलम चल्ने थापाको ओभानो सिउँदो (२०२०), रुझेका परेला (२०२६), चकलाभरीको घाम (२०३६) उत्कृष्ट कृति हुन् । यीमध्ये चकलाभरीको घाम कविता संग्रह हो । थापाले २०४२ सालमा गीति अल्बम दोभान र २०६० मा अर्को कविता संग्रह ताराका काँचा रङ प्रकाशित गरे । ‘जाग लम्क चम्क हे नौ जवान हो...’, ‘पन्छीमा राम्रो डाँफे...’ जस्ता राष्ट्रिय गीतका रचनाकार पनि थापा नै हुन् । उनलाई ‘पाँच दशक भन्दा बढी समयदेखि नेपाली गीत–संगीत र कविता लेखनमा निरन्तर लागेर नेपाली भाषाको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत’ मदन पुरस्कार गुठीले दुई लाख रुपैयाँ राशीको ‘जगदम्बाश्री पुरस्कार–२०६९’ प्रदान गरेको छ ।

२००९ सालदेखि लेख्न थालेका थापाले २०१४ मा राष्ट्रिय पुस्तकालयले आयोजना गरेको कार्यक्रममा ‘दुनियाँ बैगुनी...’ गीत गाएर स्वर्ण पदक जितेका थिए । कालान्तरमा उनी नारायणगोपाल, नातिकाजी, अम्बर गुरुङ, फत्तेमान, तारादेवी, प्रेमध्वज प्रधान, योगेश वैद्य, दीप श्रेष्ठ जस्ता गायक/संगीतकारहरूको गीतकार बने । बनिसकेको ट्यूनमा गीत लेख्न सक्ने उनी समान शक्तिको शब्द, गला र साज संयोजनबाट कालजयी गीत जन्मने बताउँछन् । अंग्रेजी साहित्यका स्नातकोत्तर थापाका अनुसार, गीतको ‘कोहोरेन्स’ मा ध्यान नदिंदा धेरै गीतकारका राम्रा गीतहरू पनि प्रभावहीन बनेका छन् । “अधिकांश युवा गीतकार दोस्रो लाइनमा पुग्दा संगति गुमाएर अर्कै सन्दर्भ भन्न थाल्छन्”, थापा भन्छन्, “तरेली र परेली मिलाए पनि भावभूमि फरक पर्दा गीतको कथा नै टुटिसकेको हुन्छ ।”

comments powered by Disqus

रमझम