३ कात्तिक २०७० | 20 October 2013

कहालिलाग्दो तस्वीर

Share:
  
महीनावारीको वेला महिलाले पुरुषको अनुहार हेर्न वा भगवानको पूजा गर्न नहुने भनेर शास्त्रमा कतै उल्लेख छैन ।

छाउगोठमा बस्दै अछामका दुई महिला ।
मैले जे भोगें टेलिश्रृंखला मार्फत महिलाहरुले छाउपडी प्रथा विरुद्ध जोडदार आवाज उठाएका छन् ।

सेभ द चिल्ड्रेनको सहयोगमा एन्टेना फाउन्डेसन नेपालले तयार पारेको टेलिभिजन कार्यक्रम मैले जे भोगें को पाँचौं श्रृंखलामा कलाकार हरिवंश आचार्यले मध्य र सुदूरपश्चिम पहाडमा व्याप्त छाउपडी प्रथाबारे कहालिलाग्दो तस्वीर उतारेका छन् (हे. http://www.youtube.com/antennafoundation) ।

  • ढकरी–४ अछाममा छाउपडी बसेकी लक्ष्मीकुमारी बुढा भोलिपल्ट मृत अवस्थामा फेला परिन् । छाउगोठमा बालेको आगोको धूवाँमा निसास्सिएर उनको मृत्यु भएको थियो ।

  • छाउगोठमा बस्दा पहिरोमा परी जाजरकोटकी कुमारी बस्नेतले ज्यान गुमाउनु प¥यो । ड्ड छाउपडी बसेका बाजुराका दुई किशोरी बलात्कारको शिकार भए ।

महीनावारी हुँदा छोरीबुहारीलाई घरदेखि टाढा गोठमा राख्ने चलन सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका कतिपय गाउँमा अझै कायम छ । यो वेला गाईभैंसीको दूध खानु र मन्दिर जानु अपराध हुने अन्धविश्वास छ । स्नातक दोस्रो वर्षमा अध्ययनरत अछामकी एक महिलाका अनुसार परालमा सुत्न बाध्य उनीहरु पानी पर्दा एकान्तमा उपायविहीन हुन्छन् । “कुनै वेला त मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ” पीडा सम्झँदै उनले भनिन्, “महिलाको जुनी कुन भगवानले दिए होलान् ।”

छ–सात दिनसम्म सर्प र जंगली जनावरको डरमा बस्नुपर्ने उनीहरुमाथि उल्टै देवीदेवताको डर थोपरिन्छ । अन्धविश्वासको यो बाध्यता हटाउन सकिए अनाहकमा ज्यान गुमाउन बाध्य नानीहरुलाई जोगाउन सकिने कार्यक्रम प्रस्तोता आचार्य बताउँछन् ।

शहरमा लुकेको समस्या

शहरियाहरु यसलाई अछाम, बाजुरा, डडेल्धुरा जस्ता दुर्गम ठाउँको मात्र समस्या ठान्छन् । जबकि शहरका बस्तीमा अर्कै नामको छाउपडी प्रथा छ । काठमाडौंकी रिजु श्रेष्ठले पर सरेको वेला कोठाभित्र थुनिएर बस्नुपर्ने बाध्यता सुनाइन् । यस्तो वेला अरुलाई छुनुहुँदैन भन्दै आमाले छुट्टै ठाउँमा खाना दिंदा रिजुलाई आफ्नो अस्तित्व नै अस्वीकृत भए जस्तो लाग्छ । अरु वेला खासै समस्या नभए पनि परीक्षाको वेला टेन्सन हुने गरेको उनले बताइन् । तर पनि पहिलेको तुलनामा आफूप्रतिको व्यवहार फरक भएको उनको बुझाइ छ ।

काठमाडौंकै सविना फुयाल पनि महीनावारी भएको वेला बाबु र दाइलाई हेर्न नहुने भनेर कोठामा थन्किन बाध्य हुन्छिन् । तर, उनका बाबु सुदन परम्परा बिगार्न नहुने ठान्छन् । बौद्ध धर्म मान्ने कतिपय समुदायमा भने यस्तो चलन हराइसकेको छ । १३ वर्षको उमेरमा आनी बनेकी जिग्मी लामा (४३) ले महीनावारीको वेला महिलाले पुरुषको अनुहार हेर्न वा भगवानको पूजा गर्न नहुने भनेर शास्त्रमा कतै उल्लेख नभएको बताइन् ।

जिग्मे लामा
उनी ऋतुमती भएका वेला महिलालाई अलग पार्ने चलनलाई भगवान खुशी नहुने काम भन्छिन् । अधिकारकर्मी रेखा श्रेष्ठ यस्ता कुप्रथा विरुद्ध कठोर कानून आवश्यक भएको बताउँछिन् । हिन्दू विद्यापीठका प्राचार्य डा. चिन्तामणि योगीले परसरेका नारीमाथि हुने व्यवहार आपत्तिजनक रहेको बताएका छन् । रजस्वला हुनुलाई मातृत्वको परिचायक मान्ने योगीले ‘यस्तो सुन्दर परम्परालाई छाउपडीमा जोड्नु नहुने’ आचार्यसँग बताएका छन् ।

अछामका महिलाहरुले गोठहरु भत्काएर केही गाउँलाई छाउपडी मुक्त गाविस घोषणा पनि गरेका छन् । कलाकार आचार्य भन्छन्, “महिलाहरुले सामूहिक रुपमा मैदानमा उत्रिएर कुप्रथाको जरोमै प्रहार गर्ने साहस गरेका छन् ।”

comments powered by Disqus

रमझम