१६-३१ भदौ २०६९ | 1-16 September 2012

शीतयुद्धपछिका कम्युनिष्ट र एमाओवादी

Share:
  
- लेखनाथ पौड्याल
उग्रवामपन्थी भाषणवाजी र उग्रदक्षिणपन्थी व्यवहारवाद प्रयोग गरिरहेको एमाओवादी पतनोन्मुख छ।
p20

नेपालमा विकसित पछिल्ला घटनाक्रममा शीतयुद्धको अन्तिम चरण र त्यसपछिको अवधिमा पूर्व–सोभियत गणराज्य तथा तेस्रो विश्वका केही मुलुकमा छाएको राजनीतिक संक्रमणको झ्ल्को पाइन्छ। शीतयुद्धको अन्त्यले बहुध्रुवीय अन्तर्राष्ट्रिय राजनीतिको चरित्र बदल्नुका साथै सोभियत खेमा र तेस्रो विश्वका मुलुकहरूमा राजनीतिक उथलपुथल ल्यायो। अन्तर्राष्ट्रिय द्वन्द्व– क्षेत्रीय र आन्तरिक द्वन्द्वमा रूपान्तरण भए, वर्गीय आन्दोलन कमजोर र पहिचानको राजनीति बलियो बन्दै गयो। मध्यपूर्व, उत्तर अफ्रिका र इस्लामिक–एशिया (पाकिस्तान, इण्डोनेशिया, अफगानिस्तान आदि)मा धार्मिक कट्टरताले प्रश्रय पायो, राज्य अधीनस्थ हिंसाका साधनहरू गैर–राज्यीय कर्ताहरूको पहुँचमा पुग्यो। सोभियत समर्थित सत्ताहरू बाह्य सहयोगको अभावमा क्रमशः ढल्दै, कमजोर हुँदै जाँदा तिनको वैचारिक, राजनीतिक तथा साङ्गठनिक प्रवृत्तिहरू फेरिंदै गए। सोभियत संघ र पूर्वी युरोपमा 'कम्युनिज्म'को असफलतापश्चात् सैद्धान्तिक आधार संकटमा परेको महसूस गरेका विश्वका कम्युनिष्ट पार्टीहरू चार वटा धारमार्फत आफ्नो औचित्य पुष्टिमा लागे।


परिस्थिति अनुरुप परिष्कृत हुन नसक्ने फिलिपिन्सका उग्र कम्युनिष्टहरू, कोलम्बियाको फार्क, पेरुको साइनिङ पाथ जस्ता पहिलो धार विश्वासिलो शक्तिकेन्द्रको सहयोगको अभावमा समाप्त हुँदै गए। पूर्वी युरोपमा अधिकांश कम्युनिष्ट पार्टीले अँगालेको दोस्रो धार केही सामाजिक सुधारसहितको पूँजीवादलाई अपनाउँदै लोकतान्त्रिक बाटोमा अघि बढेको छ। भारतका मार्क्सवादी, सीपीआई जस्ता तेस्रो धारका पार्र्टीले वामपन्थी आन्दोलनलाई परिष्कृत गर्दै विश्व कम्युनिष्ट आन्दोलनमा व्याप्त लेनिनवादी प्रभुत्वको अन्त्य र लोकतान्त्रिक व्यवस्थाका आवधिक निर्वाचन, मानवअधिकार, सुशासन जस्ता मान्यतालाई स्वीकार्दै लोकतान्त्रिक वामपन्थको बाटो अँगालेका छन्। मध्यएशिया र पूर्व युगोस्लाभियामा प्रतिनिधित्व गरेको चौथो धारले पहिचानमा आधारित मुद्दा उठाएर 'वर्गीयतामा आधारित विभेद' जस्तो वामपन्थको मौलिक मान्यतालाई १८० डिग्री विपरीत दक्षिणपन्थी कोणमा पुर्‍याएको छ। यही प्रवृत्तिका कारण युगोस्लाभियाको विघटन भयो भने मध्यएशियाका पूर्व–सोभियत मुलुकमा पहिचानमा आधारित द्वन्द्व शुरू गरायो।

पतनोन्मुख यात्रा
वामपन्थी आन्दोलन बलियो भएको नेपालमा यी सबै प्रवृत्तिलाई प्रतिनिधित्व गर्ने दलहरू छन्। मोहनविक्रम सिंहको मसाल, नवगठित नेकपा–माओवादी, नेमकिपालगायतका पार्टीले जडतामा झ्ुकाव राख्छन्। तेस्रो धारको प्रतिनिधित्व नेकपा एमालेले गरेको छ भने एकीकृत नेकपा माओवादी सबै प्रवृत्ति अँगाल्दै अवसरवाद र उपयोगितावादको राजनीतिमा आइपुगेको छ। हिंसात्मक विद्रोहको सुरुआतमा वामपन्थी जडतालाई नै वैचारिक आधार बनाएका कारण एमाओवादी पहिलो धारमै थियो। तर, त्यसको तीन–चार वर्षभित्रै पहिचान र जातीय मुक्तिका मुद्दा उठाउँदा सशस्त्र युद्धमा समर्थन बढ्ने देखेर उसले चौथो धारलाई पनि अँगाल्यो।

राज्य नियन्त्रित अर्थतन्त्रको पक्षपाती एमाओवादीले सरकारमा पुगेपछि उग्र सर्वहारावादी भाषणको आवरणमा खुला वैदेशिक लगानी र निजीकरणदेखि मुलुकको सुरक्षा संवेदनशीलतासँग गाँसिएका अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा विदेशीलाई दिनसक्नेसम्मको उदार पूँजीवाद अँगालेको छ। एमाओवादीले आफू मुलुकको सार्वभौमिकताको सच्चा पहरेदार भएको भ्रम छर्दै भारत विरुद्ध सुरुङ युद्ध लड्ने भनेर राष्ट्रियताको भावनालाई पनि प्रयोग गर्‍यो। तर, भारतको संस्थापन तथा गुप्तचर संस्था 'रअ' मा विन्तीपत्र हालेको पछिल्लो खुलासासँगै उसको राष्ट्रवादी भ्रम भत्किएको छ।

एमाओवादीले मार्क्सवाद वा अन्य कुनै बलियो सैद्धान्तिक आधारमा टेकेर घटना, समाज र राजनीतिक परिवेशको विश्लेषण र तदनुरुप कार्यक्रम तय गर्ने भन्दा पनि तत्कालीन स्वार्थलाई सैद्धान्तीकृत गर्दै आएको छ। उसको अवसरवाद र सैद्धान्तिक सारसंग्रहरूपी वैचारिक धरातलको दार्शनिक स्रोत मार्क्सवाद नभएर मेक्यावेलीको पुस्तक प्रिन्स मा भेटिने दैनिक उपलब्धिमा आधारित व्यवहारवादी राजनीतिबाट निर्देशित छ। सिद्धान्तको कसीमा परीक्षण भएको एमाओवादी नेतृत्वलाई व्यावहारिक कसीमा हेर्दा पुष्पकमल दाहालको अवसरवादी रुझान र कार्यशैली पूर्व युगोस्लाभ गृहयुद्धका प्रमुख खलपात्र सर्वियाली युद्धसरदार स्लोभोदान मिलोसेविचसँग मिल्छ।

मिलोसेविच–प्रचण्ड समानता
मार्शल जोसेफ ब्रज टिटोले सन् १९४५ मा युद्ध जितेर राजतन्त्रको अन्त्य गरी समाजवादी गणतन्त्र स्थापना गर्नुअघि खण्डित राष्ट्रवादलाई एकीकृत गरेर युगोस्लाभ एकता तथा समाजवादी भाइचारामा आधारित राष्ट्रियता निर्माण गरेका थिए। टिटोको मृत्युपश्चात् भने मुलुकका भिन्नाभिन्नै पहिचानहरूलाई राजनीतिमा प्रयोग गरियो र अन्ततः मुलुक नै विघटित हुन पुग्यो।

१९८० को दशकमा युगोस्लाभियामा बढ्दो आर्थिक र पहिचानको संकट टार्न एक करिष्मादार नेतृत्वको आवश्यकता खट्किएको बेला युगोस्लाभ कम्युनिष्ट पार्टी (युसीपी)मा स्लोभोदान मिलोसेविचको उदय भयो। मिलोसेविचले सर्व–अर्थोडक्स पहिचानमा आधारित जनसंवेदनालाई उकास्दै राष्ट्रप्रमुखको शक्ति हत्याउन सर्वियाली कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा तत्कालीन पार्टी प्रमुख इभान स्टाम्बोविचलाई पराजित गरेका थिए। अन्य गणराज्यहरू कब्जा गर्न उनले स्थानीय पार्टी नेतृत्व विरुद्ध आन्दोलन चर्काएर भोइभोदिना र मोन्टेनेग्रोमा आफूप्रति वफादार नेतृत्व स्थापित गरे। कोसोभोलाई सर्वियाली केन्द्रीय शासनमा ल्याउन पार्टी राष्ट्रिय परिषद्को बैठकमा सहमति नजुट्ने देखेपछि बेलग्रेडमा सर्वियालीलाई प्रदर्शन गर्न उक्साए, सर्वियाली नेता तथा सुरक्षा संयन्त्रलाई प्रदर्शनमा सहयोग गर्न निर्देशन दिए। यसरी राष्ट्रपतिलाई घुँडा टेकाएर पार्टीको राष्ट्रिय परिषद्बाट कोसोभोमा संकटकाल घोषणा र सेना परिचालन गरेपछि शक्तिशाली बनेका मिलोसेविचको पूरा भएको व्यक्तिगत महत्वाकांक्षाको ठूलो मूल्य युगोस्लाभियाले चुकाउनुपर्‍यो।

१९८९ मा सर्वियाली गणराज्यको प्रमुख बनेका मिलोसेविचले आफ्नो व्यक्तिगत स्वार्थका लागि सर्वियाको स्वायत्त प्रान्त कोसोभोका बहुसंख्यक अल्बानियाली मुसलमान र अल्पसंख्यक सर्वियाली अर्थोडक्स इसाईहरूबीचको तनावबाट फाइदा उठाए। यसैबाट युगोस्लाभियामा पहिचानको मुद्दाको राजनीतिकरणसँगै राष्ट्र विघटनको बीजारोपण भयो। मिलोसेविच गुटले युसीपीको सैनिक नेतृत्वलाई पक्षमा लिने, सर्वियाली राष्ट्रवादको प्रयोग र पार्टी कब्जा गर्ने काम गर्दै जाँदा पहिचानमा आधारित अन्य राष्ट्रवादले पनि टाउको उठाएर स्लोभेनिया, क्रोएसिया, बोस्नियालगायत बाँकी सबैतर्फ विखण्डित राष्ट्रवाद हावी हुँदैगयो।

२० जनवरी १९९० को पार्टीको विशेष महाधिवेशनमा अन्य गणराज्यका प्रतिनिधिले 'फेडेरेशन' मोडेल असफल हुन लागेकाले 'कन्फेडेरेशन'को रूपमा युगोस्लाभियालाई निरन्तरता दिन राखेको प्रस्तावलाई मिलोसेविच पक्षले लत्याएपछि स्लोभेनिया र क्रोएसियाका प्रतिनिधिमण्डलले महाधिवेशन बहिष्कार गरे। यसले युगोस्लाभ कम्युनिष्ट पार्टीको विधिवत् अन्त्य र युरोपमा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा दुःखद् नरसंहारकारी गृहयुद्ध प्रारम्भ गर्‍यो, जसको आधारभूत सामाजिक, भूराजनीतिक र मानवशास्त्रीय कारणहरूलाई सतहमा ल्याउने काम मिलोसेविचको पहिचानको राजनीतिले गरेको थियो। मार्क्सवादीका रूपमा राजनीतिक यात्रा शुरू गरेका मिलोसेविच पहिचानको राजनीतिमा टेकेर युगोस्लाभियाको राष्ट्रपति त बने, तर त्यही टेको युद्ध सरदारका रूपमा उनको अन्त्यको कारक बन्यो। युद्ध अपराध तथा मानवता विरुद्ध अपराधको मुद्दा खेप्ने क्रममा सन् २००६ मा हेगस्थित अन्तर्राष्ट्रिय अदालतको हिरासतमा उनको मृत्यु भयो।
दाहालको साम, दाम, दण्ड, भेदको राजनीति मिलोसेविचसँग ठ्याक्कै मिल्छ। युगोस्लाभियामा मिलोसेविचले जस्तै दाहालले नेपालमा विभिन्न पहिचान समूहलाई उकास्दै सामाजिक सद्भाव खल्बल्याउने काम गरे। पहिचानमा आधारित मुद्दाका आधारमा आफूइतरका पार्टीलाई विभाजन गरी कमजोर बनाएर राष्ट्रपति बन्ने सपना दाहालले पूरा गर्लान्, तर त्यसबापत मुलुक र उनी स्वयंले चुकाउनुपर्ने मूल्यको अनुमान गर्न सकिन्न।

दाहालले आफ्नो शक्ति कायम राख्न आफ्नै दल एमाओवादीको विभाजन हुँदा समेत सैद्धान्तिक मतभेदको समन्वय भन्दा विग्रह रोजे, जुन मिलोसेविचको चरित्र हो। युरोपेली शक्तिहरूसँग वार्ता–सम्झौता गर्दै, लत्याउँदै जाने मिलोसेविच प्रवृत्तिलाई दाहालले हुबहु अपनाएका छन्। दुवैले स्वतन्त्र प्रेसलाई बल प्रयोग र आर्थिक लगानीबाट कब्जा गर्दै आफ्नो देवत्वकरण गराउन खोजे। समाजमा विभाजन ल्याउन मिलोसेविचले सर्वियाली सञ्चारमाध्यमहरूमा सर्वियाली अर्थोडक्स क्रिश्चियन र अल्वानियाली मुसलमानबीचको १३औं शताब्दीको युद्धमा सर्वियाली माथि भएको अत्याचारका गाथाको टेलिश्रृंखला नै प्रसारण गर्न लगाएका थिए। नेपालमा पनि 'प्रचण्ड'को देवत्वकरण, स्थापित सञ्चारमाध्यममा भइरहेको विभाजन र त्यहाँ भइरहेको माओवादी लगानीका प्रसंगहरू संयोग मात्र होइनन्।

'महान् क्रान्तिनायक' का रूपमा शान्ति प्रक्रियामा आएका दाहालले लोकतान्त्रिक गणतन्त्रको श्रेय लिन, आर्थिक समृद्धिमा अघि बढ्न, राष्ट्रिय एकता र सहकार्यको संस्कृति बसाउन खोजेका भए उनी नेल्सन मण्डेला बन्ने थिए। सत्ता, शक्ति र सुखसयलमा आसक्त उनी मिलोसेविच जस्तै सहकार्यको राजनीति तोडेर राजनीतिक चातुर्य प्रदर्शन र सेना कब्जा गर्ने ध्याउन्नमा छन्। अवसरवादी राजनीति र त्यसको सैद्धान्तीकरण, राज्यविहीनता र कानूनी शासनको अभावलाई प्रश्रय, हिंसाको राजनीति, चन्दा असुली, निकटस्थहरूलाई शक्ति र समृद्धि वितरण, छलकपट, षड्यन्त्र, सुविधाभोग, आम जनताको संवेगसँग जोडिएका पहिचान जस्ता मुद्दाहरूको गैरजिम्मेवार प्रयोग, स्वार्थका लागि जे पनि गर्ने तत्परता र राज्यको सम्पत्तिमा लूटतन्त्र युद्धसरदारका चरित्र हुन्। यी सबै विशेषताको संयोजन एमाओवादीमा छ।

राजनीतिमा हिंसा र राज्यसत्ता सञ्चालनमा नातावाद, कृपावाद, छलकपटलाई माओवादी पार्टीका गतिविधि तथा बाबुराम भट्टराई नेतृत्वको सरकारका नियुक्तिहरूले प्रष्ट पार्छन्। अदालतद्वारा अपराधी घोषित बालकृष्ण ढुंगेल र कालीबहादुर खाम राज्यविहीनतामा रमाउने प्रवृत्तिका प्रतिनिधि पात्र मात्र हुन्। पार्टीमा व्याप्त सांस्कृतिक विचलन बुझन दाहालकै परिवार हेरे पुग्छ। आवेगले निम्त्याएका सामाजिक समस्या बुझन कार्यकर्ताका असफल विवाहका घटनाहरू काफी छन्। बाबुराम सरकारले उठाएका सुकुम्बासी वस्ती र पूर्व लडाकूका विचल्लीले सर्वहारा वर्गको मुक्तिका लागि सशस्त्र संघर्ष गरेको पार्टी आफ्नै वर्गीय आधारप्रति कति प्रतिबद्ध छ भनेर बुझ्ाउँछ।

विचारले प्रष्ट संगठन भएको क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने कुरा मार्क्सवादले गर्छ। यो कसीमा परीक्षण गर्दा, उग्रवामपन्थी भाषण र उग्र्रदक्षिणपन्थी व्यवहारवादबीच पेण्डुलम बनेको एमाओवादी पतनोन्मुख छ। एमाओवादीका सामु सैद्धान्तिक प्रष्टताका लागि तीन चुनौतीपूर्ण विकल्प छन्: उग्रवामपन्थी धार, पहिचानमा आधारित दक्षिणपन्थी बाटो र लोकतान्त्रिक वामपन्थ। सत्ता र शक्तिको मोहमा लिप्त एमाओवादी न मोहनविक्रम, मोहन वैद्यहरूको उग्रवामपन्थी धार समात्न सक्छ न त दक्षिणपन्थी भएको स्वीकार्न। उसको सैद्धान्तिक अवतरणको एक मात्र विकल्प छ― लोकतान्त्रिक वामपन्थ, जुन नेपाली सन्दर्भमा मदन भण्डारीद्वारा प्रतिपादित र राजनीतिक पार्टीका रूपमा एमालेले अंगीकार गरेको 'जनताको बहुदलीय जनवाद' हो।

यो बाटो समात्दा एमाओवादीले न एमालेमा विलय नहुने उपाय भेट्टाउनेछ न त १० वर्षे हिंसात्मक विद्रोहको औचित्य पुष्टि गर्न सक्नेछ। यसले अन्ततोगत्वा एमाओवादीलाई समाप्तितर्फ लैजानेछ। यही यथार्थलाई मनन् गरेर हुनुपर्छ, दाहालले जातीय संघीयताका पक्षधरहरूको कथित 'संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा' खोलेका छन्। यो मोर्चाले निम्त्याउने जातीय मूठभेडको राजनीतिले एमाओवादीको ओरालो राजनीतिलाई अझ् वेगवान बनाउनेछ। 

comments powered by Disqus

रमझम