३ कात्तिक २०७० | 20 October 2013

जन्मदिन

Share:
  

हेमन यात्री

मैले बाँचिदिएको छु

र सम्झनेलाई एउटा बहाना भएको छ आजको दिन ।

आमाको कोखमा छँदा

म कहाँ–कहाँ पुगें हुँला ?

लेकबेंसी/हाटबजार ?

पँधेरो/करेसाबारी वा गौचरन ?

त्योभन्दा टाढा पुगेको भए

घरमाथि डाँडामा निस्केर पश्चिमतिर हेर्ने

आमाको आँखाबाट पुगें हुँला

आकाश–जमीन जोडिएको ठाउँसम्म ।

म जन्मेपछि

आमाले आफ्नो अनुहार देखाउनु भो पहिलोचोटि

बलेसी, आँगन र छिमेकी देखाउनु भो

बिस्तारै लेकबेंसी, हाटबजार र जङ्गल देखाउनु भो

र घरमाथिको डाँडाबाट पश्चिमतिर फर्केर

आकाश–जमीन जोडिएको ठाउँ देखाउँदै

त्यहाँसम्म पुग्नलाई पखेटा हाल्दिनु भो ।

आमाको कोखमा छँदा

पहिलोचोटि आमाकै आँखाबाट पुगेको

आकाश–जमीन जोडिएको छेउछाउमै छु आज

र सम्झिरहेको छु

पहिलोचोटि आमाको अनुहार हेरेको आजकै दिन ।

भरिएको छु आजकै दिन

शुभकामना र सम्झनाहरूले

सम्झनेहरू त छँदैछन् सम्झनाको लहरमा

बिर्सनेहरू पनि त छन् सम्झनाकै लहरमा

यिनै सम्झनाका लहरसँगै

पूर्वतिर फर्केर हेरिरहेको छु–

आकाश–जमीन जोडिएको ठाउँ

जहाँ आजकै दिन

पहिलोचोटि मैले हेरेको भगवान बस्नुहुन्छ ।

comments powered by Disqus

रमझम