पृथ्वीमा दिनसँगै रात पनि हुन्छ । दिन जस्तै रातको पनि उत्तिकै महत्व हुन्छ । मानव लगायत कतिपय प्राणी छन्, जो दिनमा काम गर्छन् र रातमा आराम । निशाचर जीव भने दिनमा सुत्छन् र राति सक्रिय हुन्छन् । तर, आज हामी मनुष्यले आफ्नो स्वार्थ पूरा गर्न कृत्रिम उज्यालोले अँधेरी रातलाई चुनौती दिंदै पृथ्वीको यो सन्तुलनलाई असर पुर्याउन थालेका छौं ।
१०० वर्ष अघिसम्म त हामी खगोलीय पिण्ड, उल्कापिण्ड, आकाशगङ्गा, ताराहरूको पुञ्ज, नक्षत्र सबै रातिको समयमा हेरेर मज्जा लिन सकिन्थ्यो, तर अहिले विश्वका ठूला शहरहरूमा यो असम्भव हुन थालेको छ । शहरीकरण, औद्योगिकीकरण, प्रविधि, विलासिता, मनोरञ्जन, यातायात क्षेत्रको वृद्धिले हाम्रो दैनिकीमा मात्र होइन वातावरण नै परिवर्तन हुन थालेको छ । अचेल हामी आकाशमा उल्कापिण्ड, तारापुञ्ज मात्र होइन, जूनकिरीको झ्लििमिली, चराहरूका आवाज, विस्तारै देख्न र सुन्न छाडेका छौं । यो सबै औद्योगिक क्रान्तिपछिको असर हो ।
अँधेरी रात प्रदूषणरहित वातावरण, स्वच्छ हावापानी र शान्त वातावरण जस्तै प्राकृतिक सम्पदा हो । हाम्रा कथा किंवदन्तीहरूमा खगोल बारे धेरै रोचक वयान गरिएका छन् । एकान्तमय अँधेरी रात कला सिर्जना र संस्कृतिको प्रेरणास्रोत पनि मानिन्छ ।
तर, पृथ्वीमा वायु, पानी, माटो, ध्वनि, उष्मीय, रेडियोधर्मी प्रदूषण, भू–उपग्रह प्रदूषणसँगै प्रकाश प्रदूषण पनि थपिएको छ । हामीले विस्तारै अँधेरी रातहरूलाई उज्यालोमा परिणत गर्न थालेका छौं । यो अप्राकृतिक कुकामले खगोल विज्ञान, मानवीय स्वास्थ्य, वनस्पति, पारिस्थितिकीय प्रणालीलाई असर पार्न थालेको छ ।
प्रकाश प्रदूषणको असर
प्रकाश प्रदूषण भनेको राति बालिने कृत्रिम बत्तीको अत्यधिक प्रयोग हो, जसले प्रत्यक्ष रूपमा मानवीय स्वास्थ्य, वातावरण जोखिम र वन्यजन्तुमा असर पार्दछ । हामीले घर बाहिर, बाटोमा बाल्ने बिजुली अनावश्यक पनि हुनसक्छन्, जसले हाम्रो दृष्टिमा मात्र होइन, आकाशलाई समेत प्रदूषित बनाउँछ । एशियाका विभिन्न देशमा धार्मिक, रीतिरिवाज, चाडबाडमा प्रत्येक घरमा बालिने अत्यधिक बिजुली पनि प्रकाश प्रदूषणका स्रोत हुन् । प्रकाश प्रदूषण औद्योगिक क्रान्तिपछिको असर हो ।
ऊर्जाको अत्यधिक दोहन आफ्नै घरमा हेरे पुग्छ । हाम्रा घरहरूमा बत्ती, टीभी, रेडियो, ल्यापटप, डेस्कटप कम्प्युटर, एअरकन्डिसनर आदि मध्ये कुनै एक उपकरण रातभर खुलै हुन्छ । यसले ऊर्जा खेर मात्र गएको छैन, आकाश अत्यधिक चम्किलो बनाउन पनि भूमिका खेलेको छ । अमेरिकामा करीब १३ प्रतिशत बिजुली आवासीय क्षेत्रमा घर बाहिर बालेर खेर गइरहेको छ । यसबाट वायुमण्डलमा करीब १५ मिलियन टन कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ । यसलाई हिसाब गर्ने हो भने प्रति वर्ष करीब ३ अर्ब डलर बराबरको ऊर्जा खेर गइरहेको छ ।
मानवीय जीवनचर्या उज्यालो (दिन) र रात (अँध्यारो) को आधारमा हामी बिहान उठ्छौं दिनभरि कम गर्छौं र राति सुत्छौं । तर, आजकल धेरै मानिस अत्यधिक उज्यालोका कारण सुत्नै सक्दैनन् । विकसित देशका ठूला शहरमा बसोबास गर्ने मानिसहरूलाई निष्पट्ट अँध्यारो अनुभव गर्नै गाह्रो पर्न थालेको छ । वैज्ञानिक अनुसन्धानले रातको कृत्रिम उज्यालोले मानवीय स्वास्थ्यमा समेत प्रतिकूल अनि गम्भीर समस्या पुर्याउन सक्ने अनुमान गरेको छ । अत्यधिक उज्यालोले मेलाटोनिन उत्पादनमा कमी ल्याउँछ । मेलाटोनिनले मानवलाई रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्दछ । यसको कमीले कोलेस्ट्रोल बढाउनुका साथै थाइराइड, प्यान्क्रियाज, एड्रेनल ग्रन्थीको उत्पादनमा प्रत्यक्ष असर पार्दछ ।
हामीले वातावरणमा कृत्रिम प्रकाश थप्ने हो भने त्यसले वन्यजन्तुको सम्भावित वासस्थानमा हानि पुर्याउन सक्छ । वैज्ञानिक तथ्यले के भन्छ भने कृत्रिम उज्यालोले उभयचर, चरा, स्तनधारी वन्यजन्तु, कीरा तथा वनस्पति विशेषगरी रातमा सक्रिय हुने जीवमा नकारात्मक प्रभाव पर्दछ । उज्यालोकै कारण राजमार्गमा कैयन् जीवजन्तु गाडीको ठक्करले मरेका छन् । राति जूनकिरीहरू कम देखिन थालेको कारण पनि उज्यालो नै हो । किनभने, जूनकिरीको प्रजनन् राति अँध्यारोमै हुने गर्दछ ।
कतिपय बसाइँ सर्ने चरा (माइग्रेटरी बर्डस्) रातको समयमै चन्द्रमा या ताराहरूको आधारमा बसाइँ सर्ने गर्दछन् । अग्लाअग्ला विद्युतीय तथा सञ्चारका टावरमा ठोक्किएर तथा अत्यधिक उज्यालोका कारणले हरेक वर्ष लाखौं चरा मरिरहेका छन् । लाटोकोसेरो पनि उज्यालोकै शिकार हुन थालेको छ । कीराहरू राति नै वनस्पतिको परागसेचनमा सक्रिय हुन्छन् । तर, उज्यालोका कारण कीराहरूको संख्या तीव्र रूपमा कमी हुँदै जाँदा खाद्यान्न उत्पादनमै ठूलो असर पर्न सक्ने देखिन्छ ।
एउटा विकल्पः डार्क स्काई पार्क
कृत्रिम उज्यालोको प्रदूषण न्यूनीकरण गर्न मध्यम उज्यालो दिने ढुङ्गाहरू (कोर ग्लो स्टोन्स) प्रयोग गर्न सकिन्छ । विकिरणको उज्यालो सोसेर बनाइएका यस्ता ढुङ्गाले ५ देखि ७ वटा मैनबत्ती बराबरको उज्यालो दिन्छ । हिंड्ने बाटो, होटलका बगैंचा, खुला ठाउँहरूमा यस्ता ढुङ्गा लगाउन सकिन्छ । आवश्यकताभन्दा बढी उज्यालो हुन नदिने अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण गरिएका बत्तीहरूको प्रयोग गर्न सकिन्छ । न्यून ऊर्जा खपत गर्ने, तोकिएको समयमा मात्र बल्ने, गति सेन्सर भएका बत्ती पनि प्रदूषण रोक्न सघाउ पुर्याउँछ । जस्तो कि, विभिन्न अध्ययनले घरभित्र या बाहिर तीनहजार किलोवाट या त्योभन्दा कम क्षमताको बत्ती बाल्नु उचित ठहर्याएको छ ।
प्रकाश प्रदूषण कम गर्न ‘डार्क स्काई पार्क’ को नयाँ अवधारणा आएको छ । यस्तो पार्कमा खुला आकाशमुनि बसेर खगोल आश्चर्यको मज्जा लिन सक्छन् । अहिले विश्वका ७७ वटा डार्क स्काई पार्कमध्ये अमेरिकामा मात्र ५६ वटा छन् । स्पेन, बेलायत, हङ्गेरी, जापान, डेनमार्क, क्रोएसिया, जर्मनी, दक्षिणकोरिया र ताइवान आदि देशले पनि यस्ता पार्क बनाएका छन् ।
भ्रमण वर्ष २०२० का अवसरमा हाम्रो सरकारले पनि खगोलमा आधारित यसखाले पर्यटन (एस्ट्रोटुरिज्म्) विकास गर्न सक्छ । कञ्चनजंघा, सगरमाथा, मनास्लु, अन्नपूर्ण, डोल्पा, खप्तड, रारा जस्ता निकुञ्ज लगायत अन्य संरक्षित क्षेत्रलाई ‘डार्क स्काई पार्क’ घोषणाको पहल गर्न सक्छ । त्यसै पनि नेपाल आउने अधिकांश पर्यटक शहरको झिलीमिली भन्दा मौलिक सांस्कृतिक र प्राकृतिक सम्पदा अनुभूत गर्न मन पराउँछन् ।
पृथ्वी मानवका लागि मात्र नभई सम्पूर्ण ८७ लाख जीवित प्रजातिको हो । तर, मानव मात्रको व्यवहारले धर्तीमा कृत्रिम प्रकाशको प्रदूषण फैलिएको छ, जसले बाँकी सारा जीवजन्तुलाई जोखिममा पारिरहेको छ । त्यसैले धर्तीलाई सन्तुलित बनाउँदै सबैको जीवन अस्तित्वमा राख्ने सबैभन्दा ठूलो जिम्मेवारी पनि हामी मानिसलाई नै छ । अतः अनावश्यक उज्यालो नबालौं, प्राणी जातिकै भविष्य सुरक्षित बनाऔं ।
(डा.न्यौपाने अमेरिकास्थित एरिजोना स्टेट युनिभर्सिटीका प्राध्यापक हुन् भने डा. गुरुङ र थापा क्रमशः डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि र वरिष्ठ अनुसन्धान वैज्ञानिक हुन् । लेखकत्रयको प्रस्तुत विचारले उनीहरू कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।)