वुहान शहरस्थित एउटा माछाबजार (सी फूड मार्केट) बाट संक्रमण शुरू भएको वैज्ञानिकहरूको आशङ्का छ । उक्त बजारमा माछा मात्र नभई सर्प, दुम्सी जस्ता वन्यजन्तु पिंजडामा राखेर बेचिन्छ । भाइरस फैलिएपछि उक्त बजार बन्द गरिएको छ ।
क्वाङ्चौ विश्वविद्यालयबाट चमेरोमा विद्यावारिधि गरिरहेका सन्जन थापा चमेरोमा ४० देखि २०० किसिमका भाइरस पाइने बताउँछन् । मानिसले जीवजन्तुको मासु प्रयोग गर्दा र उनीहरूको संसर्गबाट त्यस्ता भाइरस सर्छ ।
वन्यजन्तु तथा तिनका अङ्गहरूको कारोबार हुने चीन विश्वकै ठूलो बजार हो । कोरोना भाइरसले महामारीको रूप लिएपछि चीनले वन्यजन्तुको व्यापारमा अस्थायी प्रतिबन्ध लगाएको छ । तर, विश्वभरका संरक्षणकर्मीले चीनमा हुने वन्यजन्तुको व्यापारमा स्थायी प्रतिबन्ध नै लगाउनुपर्ने माग गरेका छन् । बीबीसीका पर्यावरण संवाददाता नवीनसिंह खड्का वन्यजन्तुको अवैध व्यापारलाई रोक्न चीनमाथि विश्वभरका संरक्षणकर्मीले पहिलेदेखि दबाब बढाएको बताउँछन् । उनी भन्छन्, “यदि वन्यजन्तुकै कारण कोरोना भाइरस फैलिएको पुष्टि भए चीनमाथि यस्तो कारोबार रोक्न विश्वव्यापी रूपमा झनै ठूलो दबाब बढ्छ । यो घटना वन्यजन्तुका लागि वरदान हुनसक्छ ।”
कोरोना भाइरसका कारण अर्थतन्त्र नराम्ररी प्रभावित भएकाले वन्यजन्तुको अवैध व्यापार जारी राख्नु चीनका लागि आत्मघाती कदम हुने संरक्षणकर्मीहरूको भनाइ छ । चमेरोमा विद्यावारिधि गरिरहेका थापाका अनुसार चीनमा वन्यजन्तुका अङ्गहरूलाई परम्परागत औषधिका रूपमा प्रयोग गरिन्छ । त्यही कारण वन्यजन्तुको व्यापार बढी हुने गरेको छ । तत्कालका लागि चीनले व्यापारमा प्रतिबन्ध लगाए पनि त्यसलाई जारी राख्नेमा उनी शङ्का व्यक्त गर्छन् । अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन चीनले पहिल्यैदेखि वन्यजन्तुको व्यापार रोक्ने बताउँदै आए पनि रोकिएको छैन । थापा भन्छन्, “कोरोना भन्दा घातक इबोला भाइरसको प्रमुख स्रोत वन्यजन्तु नै भए पनि व्यापार घटेन । चीनको प्रतिबन्ध पनि केही समयलाई मात्र हुनसक्छ ।”
नेपालमा प्रभाव
कोरोना भाइरसका कारण भविष्यमा नेपालबाट हुने वन्यजन्तुको चोरीशिकारमा कमी आउन सक्ने विज्ञहरू बताउँछन् । ‘न्याशनल पिन्तुङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’ ताइवानबाट सालकमा विद्यावारिधि गरिरहेकी तुलसीलक्ष्मी सुवाल चीनमा वन्यजन्तुका अङ्गहरूको खपत कम हुने वित्तिकै नेपालमा चोरीशिकार कम हुने बताउँछिन् । “अहिलेसम्मका अध्ययन अनुसन्धानले वन्यजन्तुका अङ्गहरूको प्रमुख बजार चीन भएको देखिएको छ, त्यहाँ स्थायी रूपमा प्रतिबन्ध लगाउने हो भने नेपालमा वन्यजन्तु संरक्षणमा टेवा पुग्छ ।”
अफ्रिका र एशियाका अन्य देशबाट पनि वन्यजन्तुका अङ्ग नेपाल हुँदै चीन तस्करी हुने वन्यजन्तुविज्ञ थापा बताउँछन् । उनी भन्छन्, “व्यापारीहरूले नेपाललाई वन्यजन्तुका अङ्गहरूको व्यापारका लागि ट्रान्जिट पोइन्ट बनाएका छन् ।”
डिभिजन वन कार्यालय काठमाडौंका अनुसार आर्थिक वर्ष २०५६/५७ देखि २०७४/७५ सम्म १० वन्यजन्तुका १,७९८ आखेटोपहार बरामद गरिएको थियो । सबैभन्दा बढी चराचुरुङ्गीको १,४६८ थियो । त्यसैगरी चितुवाको ९२, रेडपाण्डाको ९४, सालकको ४० आखेटोपहार बरामद गरिएको थियो । (हे.इन्फो)
१८ वर्षको अवधिमा काठमाडौं जिल्लामा मात्र वन्यजन्तुको अङ्गको व्यापारमा संलग्न वार्षिक औसत ४८ जना पक्राउ परेका छन् । यो अवधिमा प्रहरीले ८८० जना विरुद्ध मुद्दा दायर गरेको थियो ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धु ढुङ्गाना वन्यजन्तुका अङ्गहरूको तस्करी रोक्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयको आवश्यक पर्ने बताउँछन् । नेपालले भारत र चीनसँग समन्वय नगरी तस्करी रोक्न नसकिने उनी बताउँछन् ।
७० वर्षअघि विश्वमा एक लाखको संख्यामा रहेको पाटेबाघ सन् २०१० सम्ममा तीन हजारमा झरेको थियो । सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा बाघ पाइने देशहरूको सम्मेलनले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने निर्णय गरेको थियो । सन् २०१३ को सर्वेक्षण अनुसार नेपालमा १९८ वटा पाटेबाघ थिए । सन् २०१८ मा भएको गणनामा यो संख्या २३५ पुगेको छ ।