२६ माघ–३ फागुन २०७६ | 9-15 Feb 2020

ग्याँस गिजरको जोखिम

Share:
  

बन्द कोठामा लामो समयसम्म हीटर वा ग्याँस गिजर चलाउनुहुँदैन, चलाइहाले पनि झ्यालढोका खुलै राख्नुपर्छ।
काठमाडौंको मिलनचोकस्थित रुमिज गल्र्स होस्टलमा बस्ने स्वशिका लिम्बू पुस अन्तिम साता नुहाउन बाथरुम छिरेकी थिइन् । धेरैबेरसम्म ननिस्किएपछि साथीहरूले भेन्टिलेसन फोडेर हेर्दा उनी अचेत थिइन् । तत्कालै अस्पताल पुर्‍याइएकी उनी बाँच्न भने सकिनन् ।

वीरगञ्जकी १९ वर्षीया जेनिथ चौहानको पनि बाथरुममा निसास्सिएर मृत्यु भयो । ललितपुरस्थित सुरिवा गल्र्स होस्टलमा बस्ने चौहान पनि पुस अन्तिम साता नुहाउनै बाथरुम पसेकी थिइन् । दुवैको मृत्युको कारण थियो, ग्याँस गिजर ।

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ६ माघमा बास बसेका आठ भारतीय पर्यटकले कोठामा ग्याँस हीटर बालेर सुतेका थिए । आठै जनाको निसास्सिएर मृत्यु भयो । नेपाल प्रहरीको तथ्यांक अनुसार २०७४ देखि १६ माघ २०७७ सम्ममा देशभरि २० वटा यस्ता दुर्घटना भएको छ, जसमा ३१ जनाको मृत्यु नै भयो भने १५ जना घाइते भए । प्रहरीले यो तथ्यांकमा गत ६ माघमा मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा मृत्यु भएका आठ जना भारतीयलाई पनि समेटेको छ । कोठा बाहिर प्रयोग गरिने ग्याँस हीटर चलाएर सुतेकै कारण उनीहरुको मृत्यु भएको थियो । जाडो मौसममा जीवनशैलीको महत्वपूर्ण पाटो बन्दै ग्याँस गिजर पछिल्लो समय दुर्घटनाको कारक बनिरहेको छ ।

बजारमा विद्युतीय र ग्याँस गरी दुई किसिमका गिजर पाइन्छन् । पछिल्लो समय लोडसेडिङ हुन छाडेकाले विद्युतीय गिजरको प्रयोग पनि बढेको छ । सस्तो पनि हुने र पानी पनि छिटो तात्ने भएकाले ग्याँस गिजर चलाउनेको संख्या धेरै छ ।

बजारमा दैनिक १५ देखि २५ जना ग्राहक गिजर खोज्न आउने गरेको महाबौद्धस्थित व्यापारी रविन भुजु बताउँछन् । क्षमता र डिजाइनले गिजरको मूल्य निर्धारण गर्छ । उनी भन्छन्, “बजारमा रु.२५०० देखि रु.८ हजारसम्मका गिजर बढी बिक्री भइरहेका छन् । गुणस्तर र कम ऊर्जा खपत गर्ने हीटर वा गिजर खोज्ने ग्राहक धेरै हुन्छन् ।” चिनियाँ र भारतीय कम्पनीका गिजर बढी बिक्री हुने उनी बताउँछन् ।

यसरी हुनसक्छ मृत्यु

भक्तपुर, लोकन्थलीकी झुमा पोखरेलले पाँच वर्षदेखि घरमा ग्याँस गिजर चलाइरहेकी छन् । उनी ग्याँस गिजर चलाउँदा वाथरुमको झ्याल खुला छ÷छैन विचार गर्छिन् । उनी भन्छिन्, “वृद्धवृद्धा र बालबालिका नुहाउन जाँदा बाहिर रुँगेरै बस्नुपर्छ । उनीहरू धेरै समय लगाएर नुहाउने गर्छन् । झ्याल खुला भए÷नभएको पनि विचार गर्दैनन् ।”

ग्याँस गिजर प्रयोग गर्ने कोठामा भेन्टिलेसन राख्न ध्यान नदिंदा दुर्घटना हुने गर्छ । गिजर वा हीटर बाल्दा आगोले कार्बन–मोनोअक्साइड र कार्बन–डाइअक्साइड जस्ता विषाक्त ग्याँस उत्सर्जन गर्छ । जनस्वास्थ्यविज्ञ डा.खेम कार्कीका अनुसार भेन्टिलेसनको उपयुक्त प्रबन्ध नभएका कोठाबाट यी ग्याँस निस्कन पाउँदैन । अनि ती ग्याँसलाई शरीरले श्वास–प्रश्वासका माध्यमबाट फोक्सोमा पुर्‍याउँछ । कार्बन–मोनोअक्साइड फोक्सोमा आउने रगतको हेमोग्लोबिनसँग मिसिएर कार्बोक्सी–हेमोग्लोबिन बन्छ र रगतका माध्यमबाट शरीरभरि फैलिन्छ । “हेमोग्लोबिनको काम अक्सिजन लिएर जाने हो तर, कार्बन–मोनोअक्साइड बोकेर गएको रगत शरीरमा फैलिएपछि अक्सिजनको कमी हुन्छ । त्यसपछि बन्द कोठामा बसेका मानिस झुम्म भएर निदाउन थाल्छन्, सहयोग माग्न सक्ने अवस्था नै रहँदैन”, उनी भन्छन् ।

मुटुरोग विशेषज्ञ डा.प्रकाश रेग्मी त ग्याँस गिजर नै प्रयोग नगर्न सुझाउँछन् । “यदि ग्याँस गिजर प्रयोग गर्नैपर्छ भने झ्यालको पल्ला खोलेर छेस्किनीले अड्काइदिनुपर्छ र तातोपानीको पाइप मात्र वाथरुममा लैजानुपर्छ”, उनी भन्छन् । गुणस्तरीय गिजर मात्र प्रयोग गर्नुपर्ने र ग्याँस सिलिण्डरदेखि गिजरसम्मका जोर्नीहरू वेला–वेला जाँच गर्नुपर्ने उनी बताउँछन् ।

टीएन घिमिरे

comments powered by Disqus

रमझम