२६ माघ–३ फागुन २०७६ | 9-15 Feb 2020

मल्लेईमा अमर

Share:
  
- कमल मादेन
‘मल्लेई’ सम्मानले नै पुष्टि गर्छ, लगातार १८ वर्ष वनस्पति विभागका महानिर्देशक बनेका डा. समरबहादुर मल्लले प्रशासन मात्र चलाएनन्, वनस्पति विज्ञानमा अविस्मरणीय योगदान पनि गरे।

वरिष्ठ वनस्पतिविद् त्रय क्रमशः डा. समरबहादुर मल्ल (दायाँबाट दोस्रो) डा. तीर्थबहादुर श्रेष्ठ र डा. केशवराज राजभण्डारीलाई ‘इम्पाटियन्स मल्लेई’ को तस्वीर उपहारस्वरुप प्रदान गर्दै फोटोग्राफर ला दोर्ची शेर्पा (दायाँ) । तस्वीर सौजन्य : ला दोर्ची शेर्पा
सन् १९८८ को एक दिन नेपाली र जापानी वनस्पतिविद् सम्मिलित टोली संखुवासभाको टासी गाउँ पुग्छ । वनस्पति विभागका विज्ञ एम.एन. सुवेदीसँगै दुई जापानी विज्ञ शिनोबु एकियामा र हिदेकी ओह्बासहितको त्यो टोली निरन्तरको खोज मार्फत नयाँ–नयाँ वनस्पति पत्ता लगाउने उद्देश्यमै त्यहाँ पुगेको थियो ।

नभन्दै टासी गाउँमा सड्ढलित एक वनस्पतिको नमूना– विश्वकै लागि नयाँ भएको ठहर विज्ञहरूले गरे । प्राप्त नयाँ वनस्पतिको नाम सामान्यतः खोजकर्ताकै नाममा राखिने प्रचलन विपरीत सुवेदी, एकियामा र ओह्बाले, यसको नाम जुराए– इम्पाटियन्स मल्लेई । यो जानकारीसहितको वैज्ञानिक आलेख सन् १९९२ को ‘जर्नल अफ जापानिज बोटनी’ को भाग ६७ मा छापियो ।

इम्पाटियन्स मल्लेईका मल्लेई कोही नभई डा.समरबहादुर मल्ल थिए । नेपालको वनस्पति विज्ञानका शुरुआतकालीन वैज्ञानिक मल्लको सम्मानमा विज्ञहरूको यस्तो न्वारान गरेका थिए ।

जापानको उही जर्नलको सन् २०१७ को भाग ९२ मा उनै शिनोबु एकियामा लिखित ‘अ न्यू रेकर्ड फर द फ्लोरा अफ नेपाल एण्ड द फ्लोरा अफ म्यान्मार’ शीर्षकको लेख प्रकाशित भयो । जसमा ‘इम्पाटियन्स मल्लेई र इम्पाटियन्स पे्रईनी’ लाई एकै प्रजाति भनिएको थियो । इम्पाटियन्स पे्रईनी भने सन् १९०५ मै जे.डी. हूकरले सिक्किमको लाचुङमा फेला पारेर वर्णन गरिसकेका थिए । एकियामा र ओह्बाले इम्पाटियन्स पे्रईनीलाई नै भूलवश इम्पाटियन्स मल्लेई नामकरण गरेका रहेछन् । स्वयं लेखकमध्येका एक एकियामाले नै आफ्नो भूल स्वीकार गरे ।

इम्पाटियन्स मल्लेईबाट पुरानै परिचय इम्पाटियन्स पे्रईनीमा फर्किए पनि नेपालबाट विश्वकै लागि नयाँ अन्य चार प्रजातिमा भने मल्लकै नाम छ, जसमा क्यारेक्स मल्लेई, चमेसियम मल्लेईनम, पक्किसनियम मल्लेई र सेक्सिफ्रागा मल्लेई हुन् । यसमध्ये ढुसी वर्गको वनस्पतिको प्रजातिलाई क्यारेक्स मल्लेईलाई नाम भने वनस्पतिविद् डा.केशवराज राजभण्डारीले दिएका हुन् ।

इम्पाटियन्स पे्रईनी स्वयंमा भने अत्यन्त दुर्लभ मानिन्छ । किनकि यसको तस्वीरसम्म पनि अहिलेसम्म छापिएको थिएन । तर हालै वनस्पति फोटोग्राफीमा रुचि राख्ने ला दोर्ची शेर्पाले उक्त वनस्पतिको तस्वीर हामीमाझ ल्याइदिएका छन् । शेर्पाले यो तस्वीर ६ सेप्टेम्बर २०१८ मा संखुवासभाको मकालु वरुण गाउँपालिका अन्तर्गत टासी गाउँ नजिक बोलुङ खोलामा, समुद्री सतहबाट २२७५ मिटर उँचाइमा फेला पारेका थिए ।

यति मात्र होइन, शेर्पाले यो सुन्दर तस्वीरलाई फ्रेम गराई त्यसको प्रति ललितपुर, गोदावरीस्थित राष्ट्रिय हर्बारियम तथा वनस्पति प्रयोगशाला गोदावरी, स्वयम्भूस्थित राष्ट्रिय प्राकृतिक सङ्ग्रहालय, बेलायतस्थित रोयल बोटानिकल गार्डेनमा पठाए । बाँकी तीन प्रति चाहिं वरिष्ठ वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठ र डा.केशवराज राजभण्डारी र स्वयं डा.मल्ललाई उपहार स्वरुप प्रदान गरे ।

अग्लो साख

कृषि–वनस्पतिको क्षेत्रमा परिचित नाम हो, समरबहादुर मल्ल । २ असोज १९८७ मा बागदरबारमा जन्मिएका मल्लले प्रारम्भिक शिक्षा काठमाडौंकै जेपी स्कूल र बीएससीसम्म त्रिचन्द्र क्याम्पसबाट अध्ययन गरेका हुन् । २०१४ सालमा पटना विश्वविद्यालयबाट वनस्पति शास्त्रमा एमएससी तथा २०२२ सालमा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट कृषि–वनस्पति विज्ञानमा विद्यावारिधि गरेका मल्लले शुरुआती ‘करिअर’ प्राध्यापन नै रोजेका थिए ।

२०१४ सालताका केही समय त्रिचन्द्र क्याम्पसमा अध्यापन गरेका मल्लले २०१६ सालमा सरकारको वनस्पति फाँट (आजको वनस्पति विभाग) लाई करिअरको दोस्रो तथा अन्तिम ‘इनिङ’ बनाए । २०२९ सालदेखि २०४७ सालसम्म लगातार १८ वर्ष वनस्पति विभागको महानिर्देशक रहेका मल्लले नेपाली वनस्पतिलाई संसारमा चिनाउन र विभागको साख उँचो पार्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

बसुन्धरा र हिमालय वीरविक्रमसँगै समरबहादुर अघिल्लो पङ्क्तिको रातो घेरामा ।
नेपाललाई ‘कन्जरभेसन अन इन्टरनेशनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज अफ वाइल्ड फाउना एण्ड फ्लोरा (साइटिस)’ को सदस्यता दिलाउन अग्रणी भूमिका निर्वाह गरेका मल्लका एक दर्जनभन्दा बढी अनुसन्धानमूलक लेख र रचना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

सरकारले वनस्पति अध्ययन अनुसन्धान गर्न ललितपुरको गोदावरीमा सन् १९६१ मा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला स्थापना गर्‍यो । सङ्ग्रहालयका रुपमा रहेको यस प्रयोगशालामा समरबहादुर र समनबहादुर राजभण्डारीले सन् १९६२ मा काठमाडौं उपत्यकाबाट ३२८ प्रजाति वनस्पतिको नमूना सड्ढलन गरेर राखे । सङ्ग्रहालयको निम्ति मल्ल र राजभण्डारीको उक्त सड्ढलन पहिलो थियो । वनस्पति खोज, अध्ययन अनुसन्धान तथा अभिलेखीकरण व्यवस्थापनमा मल्लले अहम् योगदान गरे ।

पारिवारिक साहित्यिक माहोलका बावजूद मल्लले कृषि–वनस्पतिको विधालाई आफ्नो करिअर बनाए । नेपालमा १९९१ सालमा छापिएको पहिलो साहित्यिक पत्रिका ‘शारदा’ मासिकका सम्पादक ऋद्धिबहादुर मल्लका भतिजा हुन् । मल्लकै पुख्यौली घरमा रहेको जोरगणेश प्रेसबाट ‘शारदा’ र दैनिक पत्रिका ‘आवाज’ प्रकाशन हुन्थ्यो ।

यी वनस्पति वैज्ञानिक कुनै वेला गीत गाउँथे वा फूटबल पनि खेल्थे भन्ने कुरा परिवार बाहेक कमैलाई मात्र थाहा छ । युगकवि सिद्धिचरण श्रेष्ठ रचित हिमगिरि–मन्डित सुगन्ध–शोभित बोलको गीत रेडियो नेपाल स्थापना भएको दिन (२१ चैत २००७) समरबहादुर मल्लले गाएका थिए । युवावयमा एक कुशल फूटबल खेलाडीसमेत रहेका मल्ल २००७ सालताका काठमाडौंको ‘खेल मण्डल’ का नामी स्ट्राइकर थिए, जुन क्लबबाट तत्कालीन राजकुमारहरू बसुन्धरा र हिमालय वीरविक्रम शाह पनि फूटबल खेल्थे ।

comments powered by Disqus

रमझम