२६ माघ–३ फागुन २०७६ | 9-15 Feb 2020

खै घरेलु प्रतियोगिता ?

Share:
  
- प्रकाश गुरागाईं
चार वर्षदेखि एक–दिवसीय राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका खेलाडी टी–२० फ्रेन्चाइजबाट छानिएर एकैपटक ओडीआई खेलिरहेका छन्।

क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २२ माघमा ओमान विरुद्ध भएको खेलमा बलिङ गर्दै करण केसी । तस्वीरहरूः क्यान
झण्डै दुई वर्षअघि १ चैत २०७४ मा नेपालले एक–दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) राष्ट्रको मान्यता पाएको थियो । त्यसयता नेपाली टोलीले २२ माघदेखि कीर्तिपुरमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता अघि जम्मा ६ वटा ओडीआई खेल खेल्यो । जसमध्ये, तीनमा जित र तीनमा हारको नतिजा निकाल्यो । गत मंसीरमा बाङ्लादेशमा भएको यू–२३ एशिया कपमा तीन वटा ‘लिष्ट ए’ खेल्दा एउटामा मात्र जित हासिल गर्‍यो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को तालिका अनुसार, आगामी अढाइ वर्षमा लिग–२ मा मात्र नेपालले ३६ वटा ओडीआई खेल्दैछ, जसको नतिजाकै आधारमा नेपालको ओडीआई मान्यता निरन्तरताको निक्र्योल हुनेछ । तर, नेपाली घरेलु क्रिकेट भने अझै पनि गहिरो निद्राबाट ब्युँझन नसके झैं देखिन्छ । खेलाडीका लागि लगातारको अभ्यास, ‘फिटनेश’, नयाँ प्रतिभाको खोजी लगभग शून्य बराबर छ ।

यसको पछिल्लो प्रमाण हो, जारी लिग–२ प्रतियोगितामा नेपाली टोलीको छनोट । मुलुकमा कुनै पनि एक–दिवसीय राष्ट्रिय प्रतियोगिता नहुँदा गत मंसीर र पुसमा भएको टी–२० स्वरुपको पोखरा प्रिमियर लिग (पीपीएल) कै आधारमा ओडीआईका लागि खेलाडी छानिएको थियो । स्थिति कतिसम्म दयनीय छ भने, नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि ५० ओभरको राष्ट्रिय प्रतियोगिता नगरेको चार वर्ष भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने तीन वर्षदेखि हरेक वर्ष प्रधानमन्त्री कप एक–दिवसीय क्रिकेट प्रतियोगिता गरिरहेको छ । गत पुसमा मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मनमोहन मेमोरियल (एमएम) कप एक–दिवसीय क्रिकेट प्रतियोगिता पनि आयोजना गरेको थियो । तर, यो प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, भेट्रान खेलाडी वसन्त रेग्मी, शरद भेषवाकर लगायतले खेलेनन् ।

पीपीएलकै प्रदर्शनका आधारमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका कुशल मल्लले यसैबीच एमएम कपमा नेपाल आर्मीबाट खेल्दै एपीएफ विरुद्ध शतक बनाए । चार इनिङमा १९६ रन बनाउँदै ‘टप स्कोरर’ भएपछि उनका लागि राष्ट्रिय टोलीको ढोका खुल्यो । सोही प्रतियोगितामा चार इनिङमा १५ विकेट लिएका सुसन भारीले राष्ट्रिय टोलीमा पुनरागमन मात्र गरेनन्, २२ माघको ओमान विरुद्ध ओडीआईमा ‘डेब्यू’ गर्दै तीन विकेट समेत लिए । तर, एकाध खेलाडीकै प्रदर्शनका आधारमा टिमले राम्रो परिणाम ल्याउन नसक्ने ओमानसँगको पछिल्लो खेलबाटै प्रमाणित भयो । परिपक्व र धैर्यपूर्वक ब्याटिङ गर्न नसक्दा नेपालले १९८ रनको सामान्य लक्ष्य समेत भेट्टाउन सकेन ।

राष्ट्रिय टिमका पूर्वसदस्य शक्ति गौचन टी–२० प्रतियोगिताबाट ५० ओभरका लागि खेलाडी छान्नु नै गलत भएको बताउँछन् । “यस्तो छनोटले खेलाडीको वास्तविक क्षमता र खेल्ने शैली नै थाहा हुँदैन, सोझो असर प्रतियोगितामा पर्छ”, उनी भन्छन् । उनी यसका लागि प्रदेशस्तरीय र राष्ट्रिय गरी वर्षमा कम्तीमा १० वटा ५० ओभरको प्रतियोगिता गराउनुपर्ने बताउँछन् ।

कागजमा सीमित संरचना

गएको ११ असोजमा निर्वाचित क्यानको नयाँ कार्यसमितिलाई आईसीसीले ब्याङ्क खाता सञ्चालनका लागि घरेलु क्रिकेट संरचनाको खाका र वार्षिक क्यालेण्डर पठाउन निर्देशन दिएको थियो । यसका लागि ३ कात्तिकको क्यानको पहिलो बैठकले प्रशान्तविक्रम मल्लको संयोजकत्वमा प्रतियोगिता समिति पनि बनाएको थियो । समितिका संयोजक मल्ल आफूले वार्षिक क्यालेण्डर क्यानमा बुझाइसकेको तर, आईसीसीलाई पठाउन भने बाँकी रहेको बताउँछन् ।

मल्लको क्यालेण्डरमा क्यानले तत्काल जिल्ला, प्रदेश र राष्ट्रियस्तरको एक–दिवसीय प्रतियोगिता गर्ने उल्लेख छ । तर, राष्ट्रिय प्रतियोगिता भने राखेपले गरिरहेको प्रधानमन्त्री कपलाई उपयोग गर्ने योजना छ । “एकै स्वरुपको दुई प्रतियोगिता आवश्यक छैन । त्यसैले प्रधानमन्त्री कपलाई नै राष्ट्रिय प्रतियोगिता मानेर थप व्यवस्थित र व्यापक बनाउने योजना छ”, मल्ल भन्छन् । प्रधानमन्त्री कप ‘राउन्ड रोबिन’का आधारमा खेलाउनेबारे छलफल भइरहेको उनी बताउँछन् । त्यसरी खेलाउँदा जम्मा ४५ खेल हुने र प्रतियोगिताका लागि कीर्तिपुर, मूलपानी, पोखरा वा भैरहवाको मैदान उपयोग गर्न सकिने मल्लको भनाइ छ । यसबाहेक क्यानले पुरुषको १६ वर्ष र १९ वर्षमुनि तथा महिलाको १९ वर्षमुनि र सिनियर एक–दिवसीय प्रतियोगिता पनि आयोजना गर्नेछ ।

क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी गरिरहेको छ । छुट्टै टी–२० राष्ट्रिय प्रतियोगिता पनि गर्ने क्यानको योजना छ । तर, टी–२० जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता गर्ने योजना छैन । “टी–२० ले खेलाडीको धैर्य बिगारिदिएको छ । यसले खेलाडीको क्षमता विकास हुँदैन । त्यसैले पनि हामीले कम महत्व दिएका हौं”, क्यानका कार्यसमिति सदस्य समेत रहेका मल्ल भन्छन् ।

आईसीसीबाट १३ वैशाख २०७३ मा क्यान निलम्बन हुनुअघि भने महिला र पुरुषको ‘राष्ट्रिय लिग क्रिकेट’ प्रतियोगिता हुन्थ्यो । १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता पनि गरिन्थ्यो । तर, यी प्रतियोगिता दुई सातामै सकिएपछि खेलाडी वर्षभरि फुर्सदमा हुन्थे । त्यसकारण पनि घरेलु क्रिकेट संरचना कहिल्यै बलियो भएन । नयाँ बन्दै गरेको संरचनामा पनि एक–दिवसीयलाई मात्र महत्व दिइएकाले तत्काल बहु–दिवसीय प्रतियोगिता नहुने भएको छ ।

कहिले खेल्ने तीन–दिवसीय ?

गएको कात्तिकमा मेरिलेबोन क्रिकेट क्लब विरुद्ध भएको प्रथम श्रेणीको क्रिकेटमा नेपाल २०८ रनको विशाल अन्तरले पराजित भयो । नेपालले १५ वर्षपछि खेलेको यो श्रेणीको प्रतियोगिता कप्तान ज्ञानेन्द्र मल्लसहित नौ खेलाडीका लागि नितान्त नौलो थियो ।

क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २२ माघमा ओमान विरुद्ध भएको खेलमा ब्याटिङ गर्दै आरिफ शेख ।
नेपालले आईसीसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत सन् २००४ मा खेलेको पहिलो तीन–दिवसीय प्रतियोगितामा मलेशियालाई पराजित गरेको थियो भने युएईसँग बराबरी खेलेको थियो । त्यस्तै सन् २००५ को इन्टरकन्टिनेन्टल कपमा युएईलाई पराजित गर्दै हङकङसँग बराबरी गरेको थियो । ती प्रतियोगिताको अनुभव भएका पारस खड्का र शरद भेषवाकर मात्र अहिले नेपाली टोलीमा छन् । दुई खेलाडीबाहेक सोमपाल कामीसँग श्रीलड्ढामा प्रथम श्रेणीको क्रिकेट खेलेको पृष्ठभूमि छ । उनले डिसेम्बर २०१५ र जनवरी २०१६ मा श्रीलड्ढाको सारासेन्स स्पोर्टस् क्लबबाट दुई वटा प्रथम श्रेणीको क्रिकेट खेलेका थिए ।

कुनै समय नेपालका चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तान र आयरल्याण्डले सन् २०१७ मा टेस्ट राष्ट्रको मान्यता पाउनुअघि चार–दिवसीय घरेलु क्रिकेट शुरु गरेका थिए । आईसीसीले ती चार–दिवसीय घरेलु संरचनालाई प्रथम श्रेणीको मान्यता दिएको थियो । तर, टेष्ट राष्ट्रको मान्यताको लक्ष्य राखेर अघि बढ्नुपर्ने क्यान अझै तीन–दिवसीय क्रिकेट गराउने योजनामा समेत छैन । क्यान अध्यक्षमा चुनिएलगत्तै हिमाल सँगको अन्तर्वार्तामा चतुरबहादुर चन्दले तीन–दिवसीय प्रतियोगिताको तयारीका लागि दुई–दिवसीय प्रतियोगिता थाल्ने बताएका थिए । तर, उनले भने जस्तो दुई–दिवसीय क्रिकेट प्रतियोगिता पनि निश्चित भएको छैन । प्रतियोगिता समिति संयोजक मल्ल अर्को वर्षदेखि दुई–दिवसीय प्रतियोगिता शुरु गर्ने बताउँछन् । “टी–२० ले गर्दा खेलाडीले ५० ओभर नै खेल्न सकिरहेका छैनन् । माथिल्लो स्तरमा पुग्न अरु केही वर्ष लाग्छ”, उनी भन्छन् ।

जति लामो स्वरुपको प्रतियोगिता भयो, उति नै ब्याट्सम्यानको ‘इनिङ बिल्डअप’ र बलरको एक रुपको प्रदर्शन गर्ने क्षमता बढाउने राष्ट्रिय टिमका पूर्व खेलाडी गौचन बताउँछन् । १६ वर्षभन्दा कम उमेरदेखि नै दुई र तीन–दिवसीय प्रतियोगिता खेलाउनुपर्ने बताउँदै उनी भन्छन्, “नहुनुभन्दा ५० ओभरकै प्रतियोगिता भए पनि हुन्छ । तर, खेलाडीलाई क्षमतावान् बनाउन लामो स्वरुपमा जानै पर्छ ।”

गौचनले आफ्नै पहलमा बुवाको स्मृतिमा १४–२३ माघमा रुपन्देहीका पाँच टिम सहभागी गराएर १६ वर्षमुनिको ‘खडगप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिता’ गराए । प्रतियोगिताको फाइनल भने दुई–दिवसीय भयो । “दुई–दिवसीय प्रतियोगिता त निजी क्षेत्रबाटै पनि हुनसक्छ । क्यानले अझ अघि बढेर तीन–दिवसीय प्रतियोगिता शुरु गर्नुपर्छ”, उनी भन्छन् ।

comments powered by Disqus

रमझम