३ कात्तिक २०७० | 20 October 2013

गजल

Share:
  

शीतल कादम्बिनी

देख्ने वित्तिकै मेरो मुटु ढुकढुक हुन्छ

मसँग घाउ छ, तिमीसँग नुनचुक हुन्छ

नखेल न मेरो मनसँग मनपरी तिमी

नानी यो त, शिशा भन्दा पनि नाजुक हुन्छ ।

बनाउनेले कस्तो बनायो तिमीलाई

देखेर मान्छे के, ढुंगा पनि भावुक हुन्छ

मेरो त हृदयको बनोट नै यस्तै छ

जसमा तिमी हुन्छौ, र मेरो मुलुक हुन्छ ।

ईश्वरले माया मात्र कहाँ गर्छ र सधैं

ऊसँग रीस पनि छ, र हातमा चाबुक हुन्छ

उही हो संसारको सबभन्दा धनी मान्छे

जसको मनमा, मनहरु राख्ने सन्दूक हुन्छ ।

comments powered by Disqus

रमझम