४–१० फागुन २०७६ | 16-22 Feb 2020

साहसिक लगानी

Share:
  
- विष्णुकान्त घिमिरे
सन् १९७५ मा व्यावसायिक र्‍याफ्टिङ शुरू हुँदा नेपालमा साहसीहरूका लागि यही खेल मात्र थियो। अहिले पाराग्लाइडिङ, बञ्जी, क्यानोनिङ, जिपलाइन लगायतबाट पर्यटन प्रवद्र्घन भइरहेको छ।

भोटेकोशीमा बञ्जी गर्दै । तस्वीरहर : विष्णुकान्त घिमिरे
सन् १९७५ मा अमेरिकी माइक एगरले त्रिशूली नदीबाट र्‍याफ्टिङ व्यवसाय नेपाल भित्याए । अहिले जलविद्युत् आयोजना र नदी दोहनले चपेटामा परे पनि र्‍याफ्टिङप्रतिको आकर्षण बढ्दो छ । त्रिशूलीपछि कर्णाली र भोटेकोशीमा पनि व्यावसायिक र्‍याफ्टिङ शुरू भएको छ ।

सन् १९९६ मा बीरु बमजन र बेलायती एडम हिलले पोखरामा पाराग्लाइडिङ भित्याए । न्यूजिल्याण्डका डेबिड एलडाइस र विष्णु न्यौपानेले भोटेकोशीमा बञ्जी शुरू गरेको पनि दुई दशक भइसकेको छ ।

भोटेकोशीमा र्‍याफ्टिङ ।
र्‍याफ्टिङ, पाराग्लाइडिङ र बञ्जीले नेपालीमा बढाएको ‘एड्भेन्चर क्रेज’ मा अहिले क्यानोनिङ पनि थपिएको छ । डोरीमा झुन्डिएर झरनाको फोहोरासँग खेल्दै झर्ने खेल हो, क्यानोनिङ । अहिले सिन्धुपाल्चोकको पाङलाङ खोला, चितवनको जलबिरे झरना र कास्कीको ल्वाङ घलेलमा व्यावसायिक रूपमा क्यानोनिङ गराइन्छ । बझाङको थलारा गाउँपालिका र तनहुँको भिमाद नगरपालिका–९ को इलुङ झरनामा पनि क्यानोनिङ शुरू हुँदैछ ।

फैलँदै बञ्जी

पर्वत र बागलुङ अग्ला झोलुङ्गे पुल भएका जिल्ला भनेर चिनिन्छन् । सीमा भएर बग्ने कालीगण्डकी नदीले पर्वतको कुश्मा र बागलुङको बलेवा बीचमा गहिरो खोंच बनाएको छ । यही ठाउँमा बनेको कालीगण्डकीको झोलुङ्गे पुलबाट अब बञ्जी हान्न पाइने भएको छ ।

पर्वत, कुश्माको पुलमा बञ्जी शुरु हुँदैछ ।
यो बञ्जी विश्वकै दोस्रो अग्लो हुनेछ । खोलादेखि पुलको उँचाइ २२८ मिटर अर्थात् ७४८ फिट छ । परीक्षण समेत भइसकेको यो बञ्जीको लागत रु.२० करोड रहेको निर्माणकर्ता द क्लिफ प्रालिका अध्यक्ष राजु कार्की बताउँछन् । हाल विश्वकै अग्लो बञ्जी मकाउमा ७६४ फिट अग्लो छ । यो बञ्जी भने स्विट्जरल्याण्डको भरजस्का बाँधस्थित विश्वकै दोस्रो अग्लो ७२० फिट उँचाइको बञ्जीभन्दा अग्लो हुनेछ ।

पोखरामा बन्दै गरेको बञ्जी ।
पोखरामा पनि नयाँ बञ्जी बन्दैछ । यो बञ्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा–१७, रातोपैरामा रु.८ करोडमा निर्माण गरिरहेको अध्यक्ष सन्तोष भट्टराई बताउँछन् । सेतीको खोंचमा बनिरहेको बञ्जीको दुई वटा प्लेटफर्म छन् । साधारण बञ्जी १२१ मिटर र साइकल जम्प, बकेट जम्प लगायत विशेष जम्प १२५ मिटर अग्लो प्लेटफर्मबाट गराइने भट्टराई बताउँछन् ।

जिपलाइनमा सरर

‘एड्भेन्चर’ मन पराउनेका लागि क्यानोपी जिपलाइन पनि धमाधम बन्दैछन् । चोभारको मञ्जुश्री पार्कमा वानहर्न एड्भेन्चर्स प्रालिले बनाइरहेको जिपलाइन तीन चरणको हुनेछ । जिपलाइनको पहिलो चरण १०० मिटर, दोस्रो १७० मिटर र तेस्रो ११० मिटरको हुनेछ ।

बनेपाको गौतम भिलेज रिसोर्टले पनि यही वर्षबाट क्यानोपी जिपलाइन शुरू गर्दैछ । कंक्रिट टावर बनाई रिसोर्टको छतमा जोडेर तीन चरणको जिपलाइन बनाइएको छ । प्रदर्शनीका लागि २५ मिटरको जिपलाइन पनि छ, जहाँ सुरक्षा सावधानी सिकाइन्छ । त्यसपछि पहिलो चरण ११०, दोस्रो ९५ र तेस्रो ९० मिटरको हुने रिसोर्ट संचालक विश्व बजगाईं बताउँछन् ।

मकवानपुर गढीको निर्माणाधीन जिपलाइन ।
ऐतिहासिक मकवानपुर गढीमा पनि जिपलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । यहाँ गढी भ्यू रिसोर्ट प्रालिले जिपलाइन र स्वीमिङ पुलसहितको सुविधाजनक रिसोर्ट बनाइरहेको छ । जिपलाइनमा ‘टेस्ट फ्लाइट’ भइरहेको संचालक गोविन्द घिमिरे बताउँछन् ।

पूर्वको भेडेटारमा पनि वल्र्ड वाइड एड्भेन्चर ग्रुपले ६५० मिटर लामो जिपलाइन संचालन गर्दैछ । दुई वटा रुट बनाइएको जिपलाइन फागुनभित्रै संचालन गर्ने लक्ष्य राखिएको संचालक केदार थापा बताउँछन् । उक्त जिपलाइन भेडेटारको थुम्काबाट शुरू भएर देवीस्थानसम्म पुग्नेछ । त्यस्तै वल्र्ड वाइड ग्रुपकै समन्वयमा भक्तपुरको घ्याम्पे डाँडामा योयो ग्रुपले ११०० मिटर लामो जिपलाइन बनाउँदैछ ।

व्यापारिक घराना गोल्छा समूहको हाइ ग्राउण्ड एड्भेन्चर प्रालिले पोखरामा जिप फ्लायर र बञ्जी शुरू गरेको एक दशक भइसकेको छ । कम्पनीले क्याटपुल, हाइ रोप कोर्स, स्विङ जस्ता खेल पनि केही महीनाभित्रै शुरू गर्ने चिफ अपरेटिङ अफिसर दिनेश महर्जन बताउँछन् ।

comments powered by Disqus

रमझम