३ कात्तिक २०७० | 20 October 2013

देशाली सम्झना

Share:
  
त्यस्तो दशैं मनाउँदा मनाउँदै यस्तो भयो ।

२०/२५ वर्षअघिसम्म पहाड गाउँमा हामीले टेलिभिजन, इन्टरनेट त के सडक यातायातको समेत कल्पना गरेका थिएनौं । हाम्रा लागि दंग पर्ने बाहिरी कुरा एउटै थियो– रेडियो नेपालको सर्टवेभ । हाम्रो बाल्यकाल शून्य भौतिक सुविधामा बितिरहेको थियो, तर हामीलाई त्यस्तो आभास थिएन । गामबेसीको मेला–बजार र चाडबाड हाम्रा लागि खुशीको स्रोत थिए । तीमध्ये दशैंले सर्वाधिक महŒव राख्थ्यो ।

नयाँ लुगा, मीठो खाना लिएर आउने दशैंसँग अरू अनेक मादक–रुमानी अवसरहरू जोडिएर आउँथे । पातीमा चढेको बैंसले दशैं नजिकिएको सूचना दिन्थ्यो । टीकाको दिन ती पातीहरू टीका–जमरासँगै हाम्रो शिरमा आइपुग्थे । आज आधुनिक काठमाडौंमा बसेर ती दशैं सम्झ्ँदा सपना जस्तो लाग्छ । गाउँमा पनि छैन आज त्यस्तो दशैं ।

ऊ वेलाको दशैं

पातीमा चढ्दो बैंसले गाउँघरलाई धपेडीमा धकेलिदिन्थ्यो । त्यो धपेडीमा आमादिदीहरू फूल थुंगा जस्तै चंगा हुँदै राँगा, खसी, बोका र कुखुराहरूलाई आहारा बढाउन थाल्थे, चुन्ठो भरीभरी घिउ जम्मा गर्न थाल्थे । परदेश गएका तिनका छोरा, दाजुभाइ र सोल्टीहरू फर्कने मुख्य अवसर भएकोले वर्षभरिको सबभन्दा मीठो तीनपानेको फुर्तिलो तयारी दशैंमै हुन्थ्यो । कुनै लाहुरे घर नआउने चिठी आइपुग्दा गाउँमा धेरै मन खिन्न हुन्थे ।

दशैं अघि गाउँका गौंडा–गल्फा मर्मत गरिसक्ने चटारो हुन्थ्यो । यसबीचमा वारिपारिका युवक–युवती माटो खानीहरूमा भेट गर्थे । रातो र कमेरो माटोबाट घरहरूले रुपरंग फेर्न लाग्दा हामी भुराहरू सपनामा पनि धुलिखेले माइलाको कपडा पसल देख्न थाल्थ्यौं । रेडिमेडको चलन आइनसकेको त्यो वेला लमजुङको दुराडाँडास्थित चिहानपाटा बजारमा काभ्रेको धुलिखेल मूलघर भएका दीर्घराज श्रेष्ठको कपडा पसल थियो, जो माइला साहू कहलिन्थे । बाले पसलमा लगेर थानको कपडा किनिदिएपछि हामी हर्किंदै खडकबहादुर परियारको घरतिर दौडन्थ्यौं, दशैंको कपडा सिलाउन ।

नयाँ लुगा टीकाको दिन मात्र लाउन पाइने हुनाले नवमीको रात महीनौं लामो हुन्थ्यो । कहिले उज्यालो होला र नयाँ लुगा लाउँला भनेर कल्पदा कल्पँदै ढिलो निदाइन्थो र मिर्मिरे नहुँदै निन्द्राले छाड्थ्यो । नयाँ लुगा लगाएर टीका थाप्न बस्दाको उमंग शब्दमा उतार्न सकिन्न । यस्तो माहोलमा हामी पूर्णिमाको दिनसम्म दक्षिणा संकलन गरेर चिहानपाटा बजारदेखि तर्लुङकोटको चैते दशैं जात्रासम्म पीपलगेडी मिठाइदेखि नेबिको बिस्कुटसम्मको स्वाद फेथ्र्यौं । ती यति मीठा हुन्थे, भनेर साध्य छैन ।

दशैंका पीङहरू कुनै शेक्सपियर, शेली या वाइरनले बयान गर्न नभ्याएका रोमान्सका केन्द्र थिए । गाउँका लाठेहरूले पाती फुल्दाफुल्दै रोटे र लिङ्गे पीङहरू बनाइसक्थे । कन्ये केटीहरूलाई पिर्कामा राखेर धुरी कटाएपछि पीङ खुला हुन्थ्यो । त्यसवेला मलाई केटा भएकोमा बडा बेमज्जा लाग्थ्यो । पीङ खेल्न आउने देशाली (अर्को गाउँका तरुनी) हरूलाई पीङ मच्चाइदिन गाउँका लोर्केहरूको होड चल्थ्यो । पीङ घुमाएर ‘देशाली’ हरूलाई नाइँ बनाउन नसक्दा उनीहरूको बेइज्जत हुन्थ्यो । धनु नभएका लुरेहरूलाई कुन देशालीले पत्याओस् ! केटा देशालीहरूको धुन अर्कै हुन्थ्यो ।

पीङमा छुट्ने भाकामा के तरुना के बूढा सबका सब लागेका हुन्थे । संगीतमय वातावरणमा ठिटाठिटी नियाल्दै बूढापाकाहरू आफ्नो बैंस स्मरण गरिरहेका हुन्थे । ख्याल ठट्टामा पनि उनीहरू तन्नेरीहरूभन्दा कम हुँदैनथे । यसरी उनीहरू संस्कृति हस्तान्तरण गरिरहेका हुन्थे । बाह्रमारे घाटु, कृष्णचरित्र, लमजुङे भाका लगायतका विशेष नृत्य र गीतको रन्कोले गाउँघरलाई संगीतमय बनाउँथ्यो । यस्तो रंग र रेशमले कतिको घरबारको जोगमेसो मिलाइदिन्थ्यो ।

अरू वेला अर्मपर्म र जन्ती–मलामीमा चल्ने क्षेत्री–बाहुनसँगको सहकार्य दशैंमा दुराडाँडाको टीका–आशिषसम्म चल्थ्यो । नचिताएका इष्टमित्रको भेटघाट हुन्थ्यो । तुर्लुङकोट मौलामा फूलपाती भित्र्याउने र पूmलपाती सेलाउने अवसर विशेष हुन्थ्यो । यसरी पाँच दिनको दशैं सलाइको काँटी झैं मिलिक्क बलेर सकिहाल्थ्यो । तर, आज यस्तो सांस्कृतिक प्रक्रिया हराउँदै गएको छ । अघिल्लो पुस्ता क्रमशः पातलिंदै र एक्लिंदै छ । गाउँ–गाउँ पुगेका सडक, घर–घर पसेका टीभी र हात–हातमा आएका फोनले व्यक्तिगत–सामूहिक हार्दिकता, खुशी र रोमान्सको केन्द्रहरू अन्तै सारेका छन् । समयले भाका फेर्यो । आजकल म दशैं पर्खन्न, तर त्यो आडम्बर बोकेर आइहाल्छ । रहरको दशैं अबद्द बाध्यताको चाड बनेको छ । हुन त पहिला पनि बूढाहरू ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई’ भन्दै चौतारीमा खुइय काढ्थे ।

comments powered by Disqus

रमझम