नेपाल कसको?

Share:
  
- विमलकुमार शर्मा
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका शासकले २४ थरलाई ४८ बनाउने हैन सबै नेपाली समान हुने सामेली थिति बसाउने हो।

p22

२०६२–६३ को जनआन्दोलनले नेपालमा प्राचीनकालदेखि चलेको राजतन्त्र समाप्त पार्‍यो, देश धर्मनिरपेक्ष भयो, हामीले एकात्मकबाट संघात्मक शासनप्रणालीमा जाने निर्णय गर्‍यौं। तर यति भइसक्दा पनि संघीयताका नाममा टाउकोदेखि घुँडासम्म निस्किसकेको बच्चाको खुट्टो अड्काएर देशलाई प्रसव वेदनामा राखिएको छ। यो स्थिति अझै लम्बिने हो भने जच्चा–बच्चा दुवै नजोगिन सक्छन्। सडकमा एकल जातीय राज्यको माग गर्ने नेताहरू अलि तल झ्रेर 'पहिचानसहितको जातीय राज्य' मा अड्किएका छन्; तर ब्राह्मण, क्षेत्री, कायस्थ आदिका सामु चमार, डुम, हुड्क्या, बादी, पोडे आदिले 'हामी अछुत हौं' भनेर कति जन्मसम्म जप्नुपर्ने हो खुलाउन सकेका छैनन्।

केही प्राचीन जातजाति
वेद, पुराण तथा बौद्ध र जैन साहित्यमा नेपाली भूभागलाई हिमवन्त प्रदेश, सपादलक्ष्य (सवालाख चुचुरो), किरात प्रदेश, खस प्रदेश अनि नेपाल भनिएको छ। फिरन्ता जीवनयापन गर्ने नाग जातिले काठमाडौं उपत्यका र आसपासमा बसोबास गर्न थालेपछि गोपाल, आभिर र किरातीले प्रभुत्व कायम गरे। वंशावली र धार्मिक–साहित्यिक ग्रन्थका आधारमा किरातलाई काठमाडौं उपत्यका र वरपर सबैभन्दा लामो समय शासन गर्ने जाति भन्न सकिन्छ, तर तिनको पतनको कारण भने खुल्न सकेको छैन।

काठमाडौं उपत्यकामा बसोबास शुरू हुँदा भारत र चीनमा मानव सभ्यताको विकास भइसकेको थियो। त्यो समयमा द्रविड, आर्य, हुँण र मंगोलहरूको उत्तर–दक्षिण चल्तीफिर्तीको प्रभाव एवं संसर्गबाट नेपालका रैथाने नाग, यक्ष, गन्धर्व, किरात, खस र थारूमा अनेक जातिको विकास भएको इतिहासकारहरूको मत छ। जातीय विकासको प्रभाव र विस्तार धर्म–संस्कृतिमा पनि पर्‍यो। काठमाडौं उपत्यकावासीहरू किरात र दक्षिण भारतका द्रविडहरूका आदिदेव रुद्र/महादेव/पशुपतिलाई मान्छन्। विष्णुभक्तले भागवत वा शिवभक्तले पुराण/रुद्री लगाउँदा एकअर्काका देउताको पूजा गर्छन्। बुद्ध जन्मिंदा उनलाई हेर्न ब्रह्मा, इन्द्र आदि आएको बौद्ध धर्मग्रन्थहरू बताउँछन्। हिन्दू धर्मावलम्बीहरू बुद्धलाई विष्णुको नवौं अवतार मान्छन्, शैव धर्मावलम्बीहरू शिवलिङ्गमा बुद्धको मुकुट राखेर पूजा गर्छन्। नेपालमा यस्तो धार्मिक सामञ्जस्यको जग कहिलेदेखि बस्यो विद्वान्हरूले नखुलाए पनि प्राचीनकालदेखिको मिश्रित बसोबासकै कारण सम्भव भएको सहज अनुमान गर्न सकिन्छ।

इतिहासकारहरू हिमालय दक्षिणको भू–भागमा काशी, कोशल, मिथिला आदि १६ वटा ठूला जनपदलाई मानव सभ्यता विकासको पहिलो चरण मान्दछन्। सोही क्रममा इक्ष्वाकु वंशका क्षेत्रीले मिथिलामा आफूलाई विदेह र कपिलवस्तुमा शाक्य भन्न थाले। नवलपरासीको रामग्राम क्षेत्रमा शाक्य कन्या र काशीका क्षेत्री राजकुमारबाट कोलिय वंश स्थापना भयो। प्राचीनकालमा हालको झ्ापा, मोरङ, सुनसरीको बराहक्षेत्र, मिथिला (तिरहुत), सिरहाको चुरेक्षेत्र, नवलपरासीको वाल्मीकि आश्रम, तनहूँको देवघाट र अर्घाखाँची तथा पूरै सप्तगण्डकी क्षेत्रमा बस्ती बसेको पौराणिक प्रमाण छन्। तर त्यहाँका जातजातिको सोधखोज हुन बाँकी नै छ। शालिग्राम र कैलाश पर्वतले उतिबेलै भारतको दक्षिणी भेगसम्म धार्मिक मान्यता पाएको हो। मुस्ताङका रैथानेहरूको अनुवंशिक अध्ययन गर्ने हो भने त्यसबेला गण्डकी र कर्णालीको तीरैतीर उत्तर–दक्षिण गर्ने फिरन्तामध्ये नेपाललाई आश्रयस्थल बनाउने जातिहरूको पहिचान हुनसक्छ।

गौतम बुद्ध जन्मनु अगाडि गण्डकी पश्चिममा बसोबास गरेका अवैदिक कपिल, क्रकुच्छन्द र कनकमुनिलाई बाहुन–क्षेत्री भनिएको छ। सिद्धार्थलाई बुद्ध हुने भविष्यवाणी गर्न सोही क्षेत्रका देवल, कृष्ण र ऋष्यश्रृङ्ग चाहिं वैदिक ब्राह्मण मानिन्छन्। कपिलवस्तुको वैदिक ब्राह्मण गाउँमा बास बसेको बेला बुद्धले शाक्य वंशका क्षेत्रीहरूलाई भन्दा पहिला सँगै आएका हजामलाई दीक्षित गरेको वर्णन जातक कथामा छ। त्यसअघि घुम्न निस्केका सिद्धार्थलाई पहाडबाट हेर्न आउने कुबडा, वामन, किरात आदि जातिको खोजखबर भएको छैन।

विडुढवको आक्रमणबाट जोगिन कपिलवस्तुका शाक्यसँगै काठमाडौं छिरेका कोलियहरूको केलटोल अझै छँदैछ। त्यसबेला केही ब्राह्मण, क्षेत्री र अन्य जात पनि पहाड पसेको विश्वास गरिन्छ। यसरी ई.पू. ६०० तिरै नेपालमा यक्ष, गन्धर्व, किन्नर, नाग, किरात, खस, मंगोल, द्रविड, आर्य आदि मूलबाट विविध जातिको विकास भएको देखिन्छ। बारम्बारको आक्रमणबाट कपिलवस्तुकै नियति व्यहोरेका मिथिलावासी (तिरहुतिया), उत्तर भारतका लिच्छवि, मल्ल, गुप्त, वर्मन आदि पनि उपत्यकामा शरणागत भए। सन् ११०० ताका दक्षिण भारतबाट आई सिम्रौनगढलाई राजधानी बनाएर कोशी–नारायणी क्षेत्रमा करीब ४०० वर्ष शासन गरेको जमात पनि मुसलमान आक्रमण झ्ेल्न नसकेर उपत्यका छिर्‍यो। मल्लहरूसँग वैवाहिक सम्बन्ध भएका तिरहुतियाले उपत्यकालाई नै स्थायी थलो बनाए। त्यो समयमा तिरहुतिया राजघरानासँगै जोशी, कर्माचार्य, राजभण्डारी, वैद्य, मिश्र, झ्ा, क्षेत्रकार आदि उपत्यका प्रवेश गरेका थिए।

पृथ्वीनारायण शाहको एकीकरणताका नेपालको केन्द्रीय राजनीतिमा तिरहुतिया ब्राह्मणको प्रभुत्व ओझेलमा परे पनि कमजोर भएन। तिरहुतिया विधवा कान्तिमतीलाई विवाह गरेका रणबहादुर शाहका पुत्र–प्रपौत्रले २०६३ सालसम्मै शासन गरे। पृथ्वीनारायणका बराजुलाई सहयोग गर्ने पन्त, पाण्डे, अर्याल, खनाल, राना (मगर), बोहरा आदि १२ र २४ थरमा शाहकालभरि अरू थरले पनि सामेल हँुदै रजगज गरे। मैथिल ब्राह्मणले जंगबहादुर राणालाई मुलुकी ऐन बनाउन सघाए। त्यसपछि राजपूत र कायस्थ तराई क्षेत्रका सामन्तको रूपमा देखा परे। राणाकालमा १२ र २४ थर कमजोर भए पनि सेनामा उनीहरूको पकड कायमै रह्यो। तराईमा जंगल फाँडेर काठ बेच्न र आवाद जमिनमा बस्ती बसाएर कुत उठाउन दक्षिणका मानिसहरूलाई बसाइँका लागि प्रेरित गर्ने राणाहरूको नीतिले थप केही जातजातिलाई नेपाल प्रवेश गरायो।
कोशी पूर्वदेखि ब्रह्मपुत्र र दक्षिण गंगाको मैदानसम्म स्थापित पाल राज्यको पतनपछि केही पाल भाइभारदार, बौद्धमार्गी बज्राचार्यहरूसँगै काठमाडौं उपत्यका छिरे। धनवज्र बज्राचार्यद्वारा लिखित लिच्छविकालीन अभिलेख अनुसार, यो आप्रवासन अंशुवर्मा भन्दा केही पहिला भएको थियो। त्यहीताका पूर्वी तराईमा राजवंशी, सतार आदि आए। छैटौं शताब्दीतिर विशाल हुँण सेनाले उत्तर भारतसम्म आधिपत्य जमाए। उत्तर भारतमा लामो समय टिक्न नसकेर फर्किने क्रममा नेपालको पश्चिम पहाड छिरेको हुँणहरूको एउटा डफ्फाले कालान्तरमा मगरको अलग पहिचान बनाएको केही इतिहासकारको मत छ। डा. हर्षबहादुर बुढामगरले आफ्नो पुस्तक मगर र मग्यारः पुर्ख्यौलीको खोज मा मगरको मूलथलो युरोपको मग्यार (हंगेरी) भनेका छन्। मगर जातिको उत्पत्ति नेपालमै भएको र शाहलाई मगरकै सन्तान मान्ने मत पनि छ। तामाङलाई आठौं र दशौं शताब्दीका बीच भोटबाट आक्रमणकारी सैनिकसँगै नेपाल प्रवेश गरेको जाति मानिन्छ। गाइनेहरू आफूलाई गन्धर्वका सन्तान मान्छन्। कुवडा र वामन जस्तै यी जातिको पनि आनुवंशिकता खोज्न बाँकी छ।

प्राचीन भारतमा हिसाबकिताबमा सिपालुहरूलाई कायस्थ भनिन्थ्यो, जुन पछि जात बन्यो। अभिलेख, लेखोट र हिसाबकिताबको विज्ञका रूपमा उनीहरू उत्तर भारतहँुदै नेपालको प्राचीन राज्य व्यवस्थामा आइपुगे। एकीकरणअघिको गोर्खा राज्यको एउटा मैथिल लेखोटमा कायस्थहरूको छाप देखिनु कायस्थहरूले मैथिल ब्राह्मणसँगै पहाडी राज्यहरूमा पहुँच बनाएको प्रमाण हो। काठमाडौंका कायस्थ र दोलखाका क्षेत्रकारको आनुवंशिक अध्ययनबाट उनीहरू कहिले पहाड पसे भन्ने निर्क्याेल हुनसक्छ।

सन् १८१६ को सुगौली सन्धिले कोरेको नेपाली सीमामा १८५७ पछि राप्ती र कालीबीचको तराई भू–भाग जोडिने क्रमसँगै भारतबाट थारू र अन्य जाति पनि थपिए। भारत मूल घर भएकालाई देशवर र दाङबाट गएका थारूलाई दङ्गाली भनिए जस्तै पुरानो थातथलो जनाउने शब्दावली नेपालभरि चलनचल्तीमा छ। कार्लाइललगायत केही इतिहासकारले बुद्धलाई नेपालका रैथाने थारूका सन्तान भनेकाले उनीहरू शाक्य भन्दा पहिलेदेखि यो क्षेत्रमा बस्ने नाग, कुवडा, वामन आदिका रूपमा रहेका पो हुन् कि, पहिल्याउन बाँकी छ।

अन्य धर्मावलम्बी र जाति
काठमाडौं उपत्यकामा मल्ल र गोरखामा राम शाह राजा हुँदा नै काश्मिरतिरबाट मुसलमानहरू निम्त्याइए। नेपाल एकीकरणताका बहादुर शाहले हतियार निर्माण र सम्भारका लागि मुसलमानहरूलाई सम्मानसाथ राखेका थिए। तराईमा खेती, बन्दव्यापार, वन फँडानी र मिस्त्री–कारीगर कामका लागि भारतबाट थप मुसलमान नेपाल भित्रिए। चुरापोते लगायतका व्यापारका लागि पहाड पसेका मुसलमान हिमाली प्रदेश बाहेक सबैतिर घुलमिल गरेर बसेका छन्। भुजेल, दुरा, बराम, दराई, कुसुन्डा, चेपाङ, राउटे, सोनहा, बोटे, बादी, गाइने, राजी, कडोरिया, वनकरिया, डोम, हलखोर जस्ता आवाजविहीन जाति पनि युगौंदेखि नेपालमै छन्। चेपाङहरू गुफा, कन्दराबाट बल्ल निस्किन थालेका छन् भने राउटेहरू अझै जंगलमै छन्। डोम, हलखोरहरू आफ्ना निरक्षर सन्तानलाई अझ्ै नाङ्लो–डालो बेच्न गाउँ बाँड्छन्। कुसुन्डाहरू विलुप्त हुने अवस्थामा छन्।

शिखहरूले २००७ आसपासबाट नेपालगन्ज, वीरगन्जतिर स्थायी बसोबास थालेका देखिए पनि नेपाल र पंजाबको सम्बन्ध भीमसेन थापाकै पालादेखिको हो। माथवरसिंह थापाले त पंजाबमा शरण नै लिएका थिए। लाहुरे शब्द पंजाब (लाहोर) कै देन हो। त्रिभुवनले पंजाबी कन्याहरूसँग विवाह गरेपछि नेपालको शाह राजवंशमा पंजावी रक्त मिसिन पुग्यो। सोही सम्बन्धबाट पशुपति क्षेत्रमा गुरुनानक मन्दिर बन्यो। प्राचीनकालमा अहिर र ग्वालाहरूले काठमाडौंमा राज्य गरेका थिए। नेपालमा ब्राह्मण क्षेत्रीमध्ये को वैदिक, अवैदिक, आर्य र खस खुट्याउन मुश्किल भए जस्तै प्राचीन अहिर र ग्वालासँग अहिले तराईमा प्रमुख जातिको रूपमा रहेका यादवहरूको आनुवंशिक सम्बन्ध खुट्याउने अध्ययन भएको छैन।

जातीय विभेदको चुरो
नेपालमा जातीय विभेदको चुरोमा पुग्न जातीय व्यवस्था, शिक्षा र अवसरको अवस्था बुझनुपर्छ। उहिले पढ्ने–पढाउने ब्राह्मण गुरु हुन्थे, जुन हालसम्मै कायम छ। थारूको गुरुबा, लिम्बूको फेदाङमा, तामाङ–शेर्पाका लामा ती जातिका ब्राह्मण नै हुन्। नेपालका हुनेखानेे र जागरुकहरू पढ्नलाई भारत जान्थे। राणाकालमा शासकलाई खुशी पार्न सक्दा थोरै पढेकाले पनि जागिर पाउँथे र शासक फेरिनासाथ धेरै सास्ती पनि पाउँथे। कृषिमा रमेको नेपाली समाजले जागिरलाई उत्तम पेशा मान्दैनथ्यो। पढेकाहरू जागिरका लागि थातथलो छाडेर कमै हिंड्थे। पंक्तिकारका एक गुरु जानकीरमण लालले छात्रवृत्तिमा स्नातकोत्तर गरेर गाउँ फर्किंदा नियुक्तिपत्र पहिल्यै घर आइसकेको थियो। तर, परिवारले पहाड जान नदिएपछि उहाँले सिरहामै पढाउन थाल्नुभयो।

कुनै बेला सप्तरी र सर्लाहीका राजपूतहरू न्यायालयदेखि राजनीतिसम्म छाए। पहाड तथा तराईका ब्राह्मण–क्षेत्री र कायस्थले शैक्षिक क्षेत्रलाई ढपक्कै पारे। एकाघरका तीन कोइराला दाजुभाइ प्रधानमन्त्री बने। दुई दाजुभाइ प्रधानन्यायाधीश भएको उपाध्याय परिवारका कान्छा भाइ पनि त्यही लाइनमा छन्। सबै जिल्लाका नापी, कृषि, शिक्षा, स्वास्थ्य आदि कार्यालय तराईका ब्राह्मण, राजपूत, कायस्थ र यादव बहुल छन्। नेवारहरू निजामती सेवासँगै उद्यमी–व्यापारीका रूपमा देशभर छरिएका छन्।

पृथ्वीनारायण शाहले एकीकरण कार्यमा काँध दिने ६ थर बाहेक राई, लिम्बू, तामाङ आदिलाई पनि काखी च्याप्दा २४ थर बन्न पुग्यो। उनीहरूमध्ये केहीले अहिले पनि भारतीय र बेलायती सैनिक रोजगारीमा एकाधिकार जमाएका छन्। ब्राह्मण, क्षेत्री, कायस्थ आदिले गर्दै गरेको काम र पाउँदै आएको सुविधा उनीहरूको ल्याकतसँगै परम्परागत शासकीय संरक्षणबाट प्राप्त अवसरबाट सम्भव भएको हो। त्यो शासकीय संरक्षणको ठाउँमा सामेली प्रणाली स्थापना गर्नुपर्ने समयमा एकल जातीय नाराले समाधान दिंदैन। एकजातिको प्रान्त बन्नु पहिल्यै अरू जाति अर्को फेर्न कम्मर कसेर लाग्छन्।

लिम्बुवान, ताम्सालिङमा आ–आफ्नै जातिभित्रका अर्का थरले बढी सुविधा र नामको झ्गडा झिक्न सक्छन्। थरुहटवालाले पूर्व र पश्चिम छुट्याइसके। नेवामा हिन्दू र बौद्धको देवस्थलबाट शुरू हुने विवाद को कहिले उपत्यका आयो भन्नेसम्म पुग्न सक्छ। त्यतिबेला मल्लहरूलाई मल्लपुरी वा पावा, शाक्यहरूलाई कपिलवस्तु र अरू कतिपयलाई सिम्रौनगढ, मिथिला र कर्नाटकको बाटो देखाइयो भने के गर्ने? उता पनि तिनले आफ्नो प्राचीन बासस्थलमा 'रेड कार्पेट' पाउने हैनन्।

जातको कुरा बढ्दै जाँदा खसानका ब्राह्मण–क्षेत्री र दशनामीबाट पहिला दलित छुट्टिनेछन्। त्यसपछि दशनामी र क्षेत्रीले अलग राज्य माग्नेछन्। अनि ब्राह्मण–क्षेत्री छुट्टिने बेला कसैलाई कपिलवस्तु, कसैलाई मिथिला र कसैलाई कान्यकुव्जको बाटो देखाइएला। पूर्वका राई–लिम्बूहरू 'हाम्रा पुर्खाले आधा सहस्राब्दी भन्दा धेरै समय शासन गरेको मूल थलो' भन्दै उपत्यका कब्जा गर्न आउलान्। करीब २०० वर्ष पहिला सिक्किमबाट सुन्दर संस्कृति लिएर मेची अञ्चलका पहाडमा आएका लेप्चाहरू मूल थलो खोज्दै फेरि उतै फर्कनुपरेको स्थिति कति भयावह होला! त्यतिबेलासम्म नाग र गोपालका वंशज पनि देखा परे भने थप कचिङ्गल हुनेछ।

यस्ता कचिङ्गल निम्त्याउँदा तराईमा ब्राह्मण, राजपूत र कायस्थको जरो उखेल्न अरू सबै लाग्नेछन्। अर्को चरणमा यादव, तेली, सुडी, कानु र थारू आदिका विरुद्ध सम्पूर्ण दलित लाग्नेछन्। अल्पसंख्यक सुनुवार, थामी, मेचे आदिले मगर, गुरुङ, राई, लिम्बू आदिलाई सेनामा एकाधिकार गर्ने सुविधाभोगी देख्न थाल्नेछन्। आठपहरिया राई र तामाङहरूले पनि आफूहरू जनजातिबाटै हेपिएको ठान्न सक्छन्। नेपालमा सय भन्दा बढी जातीय राज्य बनाए पनि पुग्ने छैन। एकलको त कुरै छाडौं बहुजातीय राज्य माग्ने टाठाबाठाले समेत राउटे, चेपाङ, मेचे, माझी, खत्वे, चमार, दुसाँध आदि आवाजहीन जातिका लागि राज्यको माग गरिदिनुपर्ने होइन र?

यथार्थ चाहिं ब्राह्मण, क्षेत्री, कायस्थ, मगर, राई, लिम्बू आदि जुनसुकै जातिका पनि ८० प्रतिशत गरीब छन्। सामर्थ्य अनुसार शेर्पा हिमाल चढ्न–चढाउन सिपालु, थकाली भान्सा र विविध व्यापारमा अग्रणी होलान् तर सो व्यापार र व्यवसायमा अरूलाई छेकवार लाउन सक्ने एकाधिकार कसैलाई दिनु समय भन्दा पछि फर्किने काम हो। सम्पूर्ण नेपालीको आ–आफ्ना विशेषतासहितको भेदभावरहित नेपाल आजको आवश्यकता हो। नेपालको संघीयता बसोबास, प्राकृतिक स्रोत एवं आर्थिक सामर्थ्यको आधारमा मात्र दिगो हुनसक्छ। नेपालीहरूलाई केही जातिले विशेषाधिकार लिएर नयाँ ६ थर बन्ने र अरूलाई होच्याउने प्रणालीको साटो शिक्षा र सामर्थ्य वृद्धि गरी समान अवसर सिर्जना गर्ने संघीय व्यवस्था चाहिएको हो।

नेपाल हामी सबैको हो। सोच्ने, मिल्ने, विकास गर्ने पनि हामी सबैले हो। लड्नु नै छ भने गरीबी, जातिपात र विभेद विरुद्ध लडौं। आनुवंशिक गुण र शिक्षाले खस–आर्यहरू अगुवा भएका हुन् भने अरू जातको शिक्षा र सामर्थ्य बढाऔं, आफैं खस–आर्य बन्ने काम नगरौं– नगराऔं। 

comments powered by Disqus

रमझम