३ कात्तिक २०७० | 20 October 2013

चिनियाँ पर्यटन

Share:
  
- फुर्पा तामाङ
नेपालले विदेशी पर्यटक बढाउन नारामाथि नारा थपिरहँदा चीनले आन्तरिक पर्यटक संख्या ९० प्रतिशत पुर्याएको रहेछ ।

आदिवासी ली समुदाय ।

चीनको हेनान प्रान्तको सान्यामा आयोजित विकासशील राष्ट्रहरूको पर्यटन विकास सम्बन्धी सम्मेलनमा सहभागी हुने क्रममा चीनको पर्यटनबारे चाख लाग्दा जानकारी पाइयो । चिनियाँ शिक्षा मन्त्रालय र क्विङजोउ विश्वविद्यालयले आयोजना गरेको सम्मेलनको मेसोमा १६–३१ भदौसम्म त्यस क्षेत्रमा रहँदा चीनबारे केही भ्रमहरू पनि हटे । कम्युनिष्ट मुलुक चीनको पर्यटन प्रवद्र्धनमा गरिएको जातीय, धार्मिक र सांस्कृतिक सम्पदाहरूको सदुपयोग मेरा लागि सर्वथा नौलो रह्यो ।

सम्मेलनमा नेपाल, दक्षिण अफ्रिका, तान्जानिया, इजिप्ट, माल्दिभ्स, भियतनाम र इन्डोनेशियाबाट सहभागी थिए । क्विङजोउ, जेजियाङ, बेइजिङ, नानकाइ, जोङशान र सांघाई नर्मल विश्वविद्यालयका प्राध्यापकहरूका साथै हेनान प्रान्तका पर्यटन विकास समितिका निर्देशक प्राध्यापक चेन याओले सम्मेलनमा चीनको पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

ब्यूटिफूल चाइना

हामी नेपालीको बुझाइमा सामान्यतः पर्यटक भनेका विदेशीहरू हुन्, त्यसमा पनि पश्चिमका । तर चीनको ‘ब्यूटिफूल चाइना’ भन्ने नाराले आन्तरिक पर्यटनलाई बढी महŒव दिएको रहेछ । आन्तरिक पर्यटकले धानेको चीनको पर्यटन विकासमा विदेशी पर्यटकको संख्या १० प्रतिशत मात्र रहेछ । मेरो लागि यो निकै चाखलाग्दो कुरा भयो, किनभने नेपालका होटल–लजहरूले स्वदेशी पाहुनालाई भरसक परहेज गरेको मेरो अनुभव थियो ।

चिनियाँहरू अन्य मुलुकमा घुम्न निस्कन थालेको पनि धेरै भएको रहेनछ । यसमा राजनीतिक कारणहरू हुनसक्छन्, तर यही कारण आन्तरिक पर्यटनको उदाहरणीय विकास भयो । चीनमा पर्यटनबाट उठेको राजस्वको ८० प्रतिशत स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारको सहमतिमा पर्यटन क्षेत्रमै लगानी गर्ने नियम रहेछ । बाँकी २० प्रतिशत अनिवार्य रूपमा विमानस्थल निर्माणमा खर्च गरिंदो रहेछ ।

देश विकासमा चीनले अवलम्बन गरेको शैली प्रशंसनीय रहेछ । सरकारले पर्यटनको होस् कि अरू क्षेत्रको विकास, योजनावद्ध रूपमा अगाडि बढाएको देखियो । राजधानी बेइजिङलाई प्रशासकीय केन्द्र बनाएर सांघाई, गान्जाओ लगायतका शहरलाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रको रूपमा अगाडि बढाएको छ । गुवाङदोङकै सेन्जेनलाई कलकारखानाको केन्द्र र दक्षिणका हेनान लगायतका प्रान्तलाई पर्यटकीय केन्द्रको रूपमा विकास गरिएको रहेछ । राष्ट्रिय नीति बनाएर स्थानीय तहसम्म लागू गर्ने चिनियाँ काइदा निकै परिणाममुखी देखियो । केन्द्रदेखि स्थानीय तहसम्म हेर्ने पर्यटन ब्यूरो रहेछ । चिनियाँहरू कुनै पनि ठाउँलाई पर्यटकीय गन्तव्य घोषणा गरेर त्यसै छोड्दा रहेनछन् । जस्तो, ली आदिवासी समुदायको बसोबास रहेको हेनानको बिङलाङ उपत्यकालाई पर्यटकीय स्थल घोषणा गरेर विकासको लहर चलाइएको रहेछ । पर्यटन विकासले लोपोन्मुख ली समुदायको पहिचान (धर्म, संस्कृति, कला, भेषभुषा, जीवनशैली आदि) को दरिलो संरक्षण गरिएको रहेछ । ली समुदायका युवादेखि वृद्धवृद्धासम्मलाई पर्यटन प्रवद्र्धनमै संलग्न गरिएको रहेछ । हेनानकै यानोदालाई ‘ट्रपिकल रेन फरेष्ट पार्क’ भनेर पर्यटक गन्तव्य बनाइएको रहेछ । संरक्षणको उदाहरण बनाइएको त्यो पार्कमा कतिपय फूल र वनस्पति नेपालमा पाइने पनि थिए ।

सान्या बेमा विश्वकै सबभन्दा अग्लो (१०८ मीटर) बुद्ध मूर्ति रहेछ । छेवैको डाँडाभरि नेपाल र भारतबाट लगेर पीपलै पीपल हुर्काइएका थिए । चिनियाँहरू पीपललाई बुद्धवृक्ष भन्दा रहेछन् । वनको बीचबीचमा नान्सान बुद्ध मन्दिर (गुम्बा) हरू छन् । यो ठाउँको आश्चर्यजनक विकासलाई बौद्ध धर्मसँग जोडिएको रहेछ । मैले कम्युनिष्ट शासन भएको देशमा बौद्ध धर्मको यो स्तरको संरक्षणको कल्पना गरेको थिइनँ ।

चीनले कृषि र पर्यावरणीय पर्यटनमा पनि जोड दिएको देखियो । कृषि विज्ञानलाई पर्यटनसँग जोड्ने नीति केन्द्रदेखि गाउँसम्म लागू गरिएको क्विनजाओ विश्वविद्यालयकी प्राध्यापक गुओ जिआन्चुनले बताइन् । उनका अनुसार, यो नीतिले खाद्य सुरक्षाको साथै सम्बन्धित क्षेत्रका ग्रामीण जनताको आर्थिक पक्ष बलियो बनाउँदै लगेको देखियो ।

सान्याकै कुरा गरौं । सफा, हरिलो भरिलो, सुविधासम्पन्न यो महानगरमा जताततै इलेक्ट्रिक साइकल गुडेका देखिए । दुनियाँका ठूला महानगरमध्येमा पर्ने गोन्जाओ शहरलाई पनि उस्तै गरी टल्काएर राखिएको देखियो । गगनचुम्बी भवनहरूको यो शहरमा ठड्याइएको ६०० मीटर अग्लो क्यान्टोन टावर शहरको जुनसुकै भागबाट पनि देखिन्छ । पर्यटकहरूले साँझ्मा पर्ल नदीमा पानीजहाजमा बसेर क्यान्टोन टावर हेर्न पाउने रहेछन् ।
नेपालले पनि आफ्नो मौलिकपनलाई पर्यटन प्रवद्र्धनको मेसो बनाउन खोजेको धेरै भइसक्यो । लुम्बिनी क्षेत्रको विकासका लागि गुरुयोजना बनेको आधा शताब्दी भइसक्यो । त्यसपछि पशुपति लगायत थुप्रै सम्पदा र शहरको गुरुयोजना बनिसकेका छन्, तर सबै परिणाम विहीन ।

हामीसँग भएका सम्पदामा लगानी नभएसम्म प्रतिफल पाइने छैन । पूर्वाधारको विकास विना गन्तव्य क्षेत्र घोषणा गर्दाको परिणाम हामीले देखिसकेका छौं । सबै ठाउँको विकास एकैपटक सम्भव नहोला, तर प्राथमिकता त अवश्य निर्धारण गर्न सकिन्छ । प्राथमिकता निर्धारण पछि पूर्वाधार विकास गरेर चिनियाँहरूले झैं बीचमा नछोडी अगाडि बढियो भने मात्र प्रतिफल गन्न पाइन्छ ।

comments powered by Disqus

रमझम