३ कात्तिक २०७० | 20 October 2013

हाईटेक दशैं

Share:
  
- गणेश आचार्य
दशैंको किनमेलमा लत्ताकपडा मात्र हैन, ग्याजेट र डिजिटल डिभाइसको लिष्ट समेत थपिन थालेका छन् ।

बालकुमारी, ललितपुरमा बस्ने स्याङ्जाका ज्ञानेन्द्र पौडेल पत्रकारिताका विद्यार्थी हुन् । अष्ट्रेलियामा रहेका दाइले दशैंका लागि के चाहिन्छ भनेर सोध्दा उनले अरू केही नसोचेरै जवाफ दिए, “डीएसएलआर क्यामेरा पठाइदिनु न !” ज्ञानेन्द्र भन्छन्, “आफ्नो रुचिको विषय भएकाले पनि क्यामेराको माग गरें । यसपालि दशैंमा गजबका फोटो खिचिन्छ ।”

दशैं अब नयाँ लुगाफाटो मात्र हैन, आफूले चाहेको ग्याजेट र अन्य डिजिटल डिभाइस समेत किन्ने राम्रो बहाना बनेको छ । त्यसैले पनि दशैंको आसपासमा नयाँ नयाँ ग्याजेट भित्र्याउन व्यापारीहरूलाई भ्याईनभ्याई हुन्छ । चाडपर्वलाई ध्यानमा राखेर अनेक अफरका साथ ग्याजेट र अरू घरायसी डिभाइसहरू बजारमा बिक्री भइरहेका छन् । अनलाइन सपिङ्ग साइट www.rojeko.com का भरत अधिकारी भन्छन्, “अनलाइनबाट पनि अरू वेलाभन्दा दशैंमा मोबाइल फोन, ल्यापटप जस्ता ग्याजेटहरूको माग बढेको छ ।” हुन पनि दशैंको सपिङ्ग लिष्टमा यस्ता सामान थपिंदैछन् । नेपाली बजारमा दशैंकै मौका छोपेर यस्ता ग्याजेट आएका छन् र केहीमा फेष्टिबल अफर पनि लागू गरिएका छन् ।

मोबाइल फोन र ट्याब

स्मार्टफोनको बजार तातिएपछि अन्य मोबाइल कम्पनीले समेत रु.६–७ हजारदेखि करीब रु.१ लाखसम्मका स्मार्टफोन बजारमा ल्याएका छन् । सामसङ, नोकिया, कलर्स लगायत ब्रान्डले स्थानीय बजारमा भित्र्याएका केही मोबाइल फोन दशैंतिहार लक्षित छन् । यी प्रतिस्पर्धी मोबाइल फोनमा कम्तीमा एन्ड्रोइडको ४.० आइसक्रिम स्यान्डविच भर्सन, ८ जीबी स्टोरेज, १ जीबी र्याम, ४ इन्चभन्दा बढीको टच स्क्रिन र ५ मेगापिक्सेलको क्यामेरा हुन्छन् । ग्याजेट फ्रिकहरूले यिनै विशेषतालाई खरीदको न्यूनतम मापदण्ड बनाएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा अन्य मोबाइललाई पछि पार्दै सबैभन्दा धेरै बिक्री भएको सामसङले दशैं नजिकै नेपालमा लन्च गर्न लागेको ग्यालेक्सी नोट–थ्री तिर धेरैको नजर छ । पहिले नोट–टु चलाएकाहरू नोट–थ्रीको व्यग्र प्रतीक्षामा छन् । इन्टरनेशनल मार्केटिङ्ग सर्भिसले घटस्थापना अघिसम्म नोट–थ्री र त्यसको गियर नामक स्मार्टवाच अर्थात् मोबाइलसँग कनेक्सन गरेर चलाउने घडी सार्वजनिक गर्ने बताएको छ । करीब रु.९१,५०० मूल्य तोकिएको नोट–थ्रीमा १३ मेगापिक्सेलको क्यामेरा, ५.७ इन्चको स्क्रिन, ३ जीबी र्याम र ६४ जीबीसम्मको इन्टर्नल मेमोरी छ ।

विश्वभर सर्वाधिक बिक्री भएको गुगलको ट्याब्लेट नेक्सस् सेभेनसँग प्रतिस्पर्धा गर्न सामसङले निकालेको ग्यालेक्सी ट्याबको पछिल्लो संस्करण ट्याब–थ्री पनि आइसकेको छ । दशैंको वेला फोटो खिच्न, गेम र भिडियोको मजासँगै ट्याबलेटका अरू फाइदाहरू लिन ट्याब–थ्रीका तीन वटा मोडल उपलब्ध छन् । सीम लाग्ने, नलाग्ने, ८ इन्च र ७ इन्चको स्क्रिन, ८ र १६ जीबी मेमोरी भएको ट्याब थ्रीका तीन मोडलहरूको मूल्य रु.२६ हजार ९०० देखि रु.५० हजार ८०० सम्म छ ।

एन्ड्रोइड अपरेटिङ्ग सिस्टम प्रयोग नगर्दा पछिपरेको भनिएको नोकियाले पछिल्लो समय विन्डोज फोनमा आफ्नो अग्रता कायम गर्ने प्रयास गरिरहेको छ । दशैंकै वेला नोकियाको लुमिया सिरिजको ६२५ र ९२५ मोडलका विन्डोज फोनहरू नेपालमा उपलब्ध छन्, जसको मूल्य क्रमशः रु.३२ हजार १०० र रु.५७ हजार ९०० रहेको छ ।

सस्तो मूल्यका कारण स्थानीय बजारमा पपुलर भइरहेका भारतीय र चिनियाँ स्मार्टफोनका विभिन्न मोडलहरू पनि दशैंकै वेला सार्वजनिक भएका छन् । माइक्रोम्याक्स, कार्बन, डीटीसी लगायतका कम्पनीले नयाँ मोबाइल फोनहरू ल्याएको भए पनि भर्खरै सार्वजनिक भएको कलर्सको रु.२८ हजारभन्दा बढी मूल्यका के–वान, के–टु र पर्ल ब्ल्याक मोडलका सेटको चर्चा बढी छ ।

एप्पल प्रेमीहरूले भने यो दशैंमा नयाँ मोडलको आइफोन फाइभ–एस बोक्न पाउने छैनन् । एप्पलले केही समय अघि मात्रै सार्वजनिक गरेको यो फोन तिहारपछि मात्रै नेपाल भित्रिने छ । हाल १ जीबी ¥याम, १६ वा ३२ जीबी इन्टर्नल मेमोरी, ८ मेगापिक्सेल क्यामेराको सुविधा भएको रु.८० हजार मूल्यको आइफोन फाइभ–सी चाहिं उपलब्ध रहेको एप्पलको अधिकृत बिक्रेता इभो स्टोरले जनाएको छ ।

ल्यापटप

दशैंमा नयाँ ल्यापटप किन्नेलाई एचपी, डेल र एसरका नयाँ मोडलहरू उपलब्ध छन् । एचपीको जी–सिक्स मोडलको रु.५९ हजार मूल्य भएको ल्यापटपमा आइ–फाइभ प्रोसेसर, ४ जीबी र्याम, ५०० जीबी हार्डडिस्कको सुविधा छ । एचपीकै ५५२१ मोडलको विन्डोज एटको जेन्युन सफ्टवेयरका साथ १५.६ इन्च स्क्रिन भएको र रु.६८ हजार मूल्य तोकिएको स्लिम ल्यापटपमा ८ जीबी र्याम, १ हजार जीबी हार्डडिस्क, आइ–फाइभ प्रोसेसर छ । पुतलीसडकको स्टार अफिस अटोमेसन सेन्टरका अनुसार यी ल्यापटप दशैंकै मौका पारेर बजारमा ल्याइएका हुन् । आइ–फाइभ प्रोसेसर, ४ जीबी ¥याम, ५०० जीबी हार्डडिस्क र विन्डोज–सेभेन जेन्युन राखिएको एसर टाइम लाइन मोडलको ल्यापटपलाई रु.६२ हजार पर्छ । स्लिम ल्यापटपकै प्रभुत्व चलिरहेको वेला एसरकै भी–फाइभ मोडलको ल्यापटपमा टच स्क्रिन, आइफाइभ प्रोसेसर राखिएको छ । रु.६८ हजारको यो ल्यापटपमा २० जीबी एसएसडी ड्राइभ समेत छ ।

क्यामेरा

चाडबाडको खुशी र रमाइलो तस्वीर भिडियोमा कैद गर्न कसलाई मन नलाग्ला ! त्यसैले रु.९–१० हजारदेखि लाखौं रुपैयाँसम्म पर्ने क्यामेराका पसलहरूमा ग्राहकहरूको घुइँचो बढेको देखिन्छ । बजारमा सबैभन्दा धेरै बिक्री भइरहेको क्याननका क्यामेराहरू अरूभन्दा धेरै चल्छन् । दशैंतिहारकै मौकामा क्याननका दुई वटा डीएसएलआर र एउटा कम्प्याक्ट क्यामेरा बजारमा ल्याएका छन् । कम्प्याक्टतर्फ २०–एक्स जुम भएको एसएक्स–२७० उपलब्ध रहेको स्थानीय बिक्रेता क्यानन लिंकले जनाएको छ । १२.१ मेगापिक्सेलको तस्वीर र ६० फ्रेम प्रति सेकेण्डसम्मको एचडी भिडियो खिच्न सक्ने यो क्यामेराको मूल्य रु.३७ हजार ८०० पर्छ । डीएसएलआरतर्फ १८–५५ को लेन्स सहित रु.९८ हजार ६९० को ७००–डी र रु.८६ हजार ९९० पर्ने १००–डी उपलब्ध छन् । त्यस्तै १००–डीमा पनि १८ मेगापिक्सेलको एपीएससी सेन्सर छ । दुवैमा फुल एचडी भिडियो खिच्न मिल्छ ।

७०–डी आइपुग्न भने केही समय कुर्नुपर्नेछ । रु.१ लाख ५० हजार ९०० मूल्यको यो क्यामेरामा २० मेगापिक्सेलको अपडेटेड र गुणस्तरीय सेन्सर राखिएको छ । शान्त ठाउँमा क्यामेराको क्लिकले समेत डिस्टर्ब गर्ने हुँदा ७०–डीमा साइलेन्ट सटरको अप्सन थपिएको छ । सामान्यतया सेमी प्रोफेसनल क्यामेराहरूमा ९ पोइन्टको अटो फोकस हुन्छ तर ७०–डीमा १९ पोइन्टको अटो फोकस सिस्टम राखिएको छ । टचस्क्रिन र वाइफाई पनि ७०–डीको विशेषता नै हो ।

comments powered by Disqus

रमझम