चिकित्सकीय विज्ञानका अनुसार, शरीरमा एस्ट्रोजिन हर्मोनको कमी हुँदै गएपछि सामान्यतः ४५ देखि ५० वर्षको उमेरमा महिलामा रजोनिवृत्ति हुने गर्दछ । “यो उमेर समूहका कुनै पनि महिलामा एक वर्षसम्म महीनावारी भएन भने मात्र त्यसलाई रजोनिवृत्ति भनिन्छ”, काठमाडौं, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक स्त्रीरोग विशेषज्ञ डा.जागेश्वर गौतम भन्छन् ।
त्यसो त महीनावारी बन्द हुने प्रक्रिया एकैपटकमा हुँदैन । रजोनिवृत्तिका लक्षणहरू दुई/तीन वर्षअघिदेखि नै शुरू हुन थाल्छ । शुरूआती चरणमा एक महीना/तीन महीना/६ महीनामा गरी महीनावारी अनियमित हुने गर्दछ । यो समयमा कसैलाई अत्यधिक रक्तस्राव पनि हुने गर्दछ । अधिकांशलाई महीनावारी बन्द हुँदा विभिन्न जटिलता देखापर्दछ ।
हरेक महिलाको शरीरमा हुने यो जैविक चक्र सुन्दा जति सामान्य लाग्छ, बुझ्न उत्ति नै जटिल । रजोनिवृत्तिलाई लिएर अरू त अरू महिला स्वयंमा पनि थुप्रै अज्ञानता र भ्रम व्याप्त देखिन्छ । कतिसम्म भने उमेर अनुसारको यो शारीरिक विकासलाई सहज नठान्दा महिलामा शारीरिक, मानसिक समस्या मात्र होइन, श्रीमान्–श्रीमतीमा अविश्वास र परिवार विखण्डनसम्मको जोखिम बढेको छ ।
स्त्रीरोग विशेषज्ञ डा. गौतम नेपाली समाजमा रजोनिवृत्ति बारेका यस्ता अनेकन् भ्रम भत्काउन जरूरी भइसकेको बताउँछन् । “जसरी महीनावारी शुरू हुन्छ, ठीक त्यसरी नै महीनावारी बन्द हुन्छ, यो एक प्राकृतिक प्रक्रिया हो, कुनै रोग वा समस्या होइन भनेर बुझउन ढिलो भइरहेको छ”, उनी भन्छन् । अधिकारकर्मी डा. चन्द्रा भद्रा यस्तो रजोनिवृत्तिपछि महिला अस्तित्व सकिएको भन्ने कतिपयको मानसिकता हटाउन जरूरी भइसकेको बताउँछिन् । “रजोनिवृत्तिलाई महिला जीवनको अन्त्य होइन, स्वतन्त्र र कर्मशील जीवनको शुरूआतको रूपमा हेरिनुपर्छ”, उनको सुझाव छ ।
•••
एकाएक झ्र्को लाग्ने, चिडचिडाहट हुने, आत्तिने, शरीर एकैछिनमा तातो र चिसो हुन थालेपछि नियमित रूपमा वार्षिक स्वास्थ्य परीक्षण गराउँदै आएकी कलङ्की, ट्याङ्लाफाँटकी ४९ वर्षीया सङ्गीता श्रेष्ठ आफैं आश्चर्यमा परिन् । तर थापाथलीस्थित नर्भिक अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. अचला वैद्यका लागि भने यो कुनै नौलो लक्षण थिएन । उनले श्रेष्ठलाई सबैभन्दा पहिले महीनावारी नियमित भए/नभए बारे सोधिन् । नभन्दै विगत तीन महीनादेखि श्रेष्ठको महीनावारी अनियमित भएको थियो । र, उनमा महीनावारी बन्द हुने लक्षण देखिएको थियो । “यस्तो वेला महीनावारी अनियमित हुनुका साथै केही असामान्य जैविक एवम् मनोवैज्ञानिक समस्या देखिने गर्छ”, डा. वैद्य बताउँछिन् ।
रजोनिवृत्तिकालको शारीरिक र मानसिक लक्षण बुझन नसक्दा तीन वर्षअघि काठमाडौं, चाबहिलकी ४३ वर्षीया महिलाले झ्ण्डै आत्महत्या गर्न पुगेकी थिइन् । पासो लगाएर आत्महत्याको प्रयास गरिरहँदा छिमेकका युवकले झयालबाट देखेपछि उनलाई तत्काल उद्धार गरिएको थियो । उद्धारपश्चात् मनोपरामर्शदाता समक्ष पुर्याइएकी ती महिलाले ‘एकाएक शरीर भारी हुने, अकारण डर लाग्ने, पुरुष देख्यो कि झ्र्को लाग्ने मात्र होइन, यौनसम्पर्क गर्दा पनि योनी दुख्ने, पोल्ने बताउँदा श्रीमान्ले भने अर्को केटासँग लागेको भन्दै दिनहुँ टोकसो गर्न थालेपछि सहन नसकेको’ बताएकी थिइन् ।
तीन महीनादेखि यौनाङ्ग दुखेको भन्दै यौनसम्पर्क गर्न नदिएपछि काठमाडौं, बानेश्वरका ४५ वर्षीया पुरुषले श्रीमतीलाई अस्पताल गई जचाउन अनुरोध गरे । तर, समस्या यौनसम्पर्कका वेला मात्र नभएर अन्य समयमा पनि बढ्न थाल्यो । विवाद चर्किन थाल्यो । सधैं यसरी सँगै बस्न नसकिने निष्कर्ष निकाल्दै दम्पती सम्बन्धविच्छेदको मनस्थितिमा पुगे ।
बुवाआमाको सम्बन्धविच्छेदको कुरा सुनेपछि चिन्तित १७ वर्षीया छोरीले दुवैलाई धेरै कर गरी मनोविद्कहाँ पुर्याइन् । मनोविद् गंगा पाठकले श्रीमान्–श्रीमतीसँग बेग्लाबेग्लै कुरा गरिन् । कुराकानीकै क्रममा श्रीमान्ले घुँक्कघुँक्क रुँदै ‘शारीरिक सम्बन्ध राख्न खोज्दा श्रीमती सधैं हिंस्रक हुने, झ्र्किने, हातखुट्टा फाल्ने’ गरेको बताए ।
श्रीमतीसँगको परामर्शमा उनमा शीघ्र रजोनिवृत्तिको लक्षण देखियो । त्यसपछि दम्पतीलाई सँगै राखेर यस्तो वेला हुने शारीरिक र मानसिक समस्याबारे पाठकले राम्ररी बुझइन् । “रजोनिवृत्तिबारे सही जानकारी पाएपछि परिवार नै विघटन हुने जोखिम टर्यो, अहिले उनीहरूको जीवन सहज भएको छ”, उनी भन्छिन् ।
चिन्ताजनक तथ्याङ्क
नेपाली समाजमा अझ्सम्म पनि महीनावारीलाई धर्मसँग जोडेर हेर्ने प्रचलन छ । ‘महीनावारी नबारे देउता रिसाउँछन्’ भन्नेसम्मको कुप्रथा कायम कतिपय ग्रामीण भेगमा महीनावारीका वेला महिला घरबाट छुट्टै, गोठमा बस्न बाध्य छन् । यसरी बस्दा थुप्रै महिलाको उचित सरसफाइ र खानपिनको अभाव, अत्यधिक चिसोले सताएर, सर्पले टोकेर, जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु समेत हुने गरेको छ ।
नेपाल मेडिकल एशोसिएसनले सन् २०१७ मा ४० वर्ष नाघेका दुई हजार महिलामा गरेको अध्ययनमा ५९.२ प्रतिशतलाई रजोनिवृत्तिका लक्षण र जटिलताबारे केही पनि थाहा नभएको पाइएको थियो । केही थाहा पाएका बाँकी महिलामध्ये १७ प्रतिशतलाई अत्यधिक रक्तस्राव, १५ प्रतिशतमा खलखली पसिना आउने र १५ प्रतिशतमा चिडचिडापन देखिएको बताइएको छ । जर्नल अफ नेपाल मेडिकल एशोसिएसन (जेएनएमए) मा प्रकाशित ‘मेनोपजल हेल्थ स्टेट्स अफ द नेप्लिज वुमन’ शीर्षकको यो अध्ययनमा नेपाली महिलाको रजोनिवृत्तिको औसत उमेर ४८ वर्ष देखिएको उल्लेख छ ।
सन् २०१६ मा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा आएका रजोनिवृत्ति उमेरसमूहका १०० जना महिलामा गरिएको अध्ययनमा ९४ प्रतिशतमा रजोनिवृत्तिका लक्षण देखिएको थियो, जसमध्ये ८० प्रतिशतले चिडचिडापन र मनस्थितिमा एकाएक परिवर्तन आएको बताएका थिए । सर्वेक्षणमा रजोनिवृत्ति लक्षणका कारण २८ प्रतिशतमा यौन र ३२ प्रतिशतमा सामाजिक जीवनमा उतारचढाव आएको उल्लेख गरिएको छ । अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. नीरा सिंह श्रेष्ठ र डा. अस्मिता पाण्डेले सो अध्ययन गरेका थिए ।
काठमाडौं उपत्यकाको तुलनामा उपत्यका बाहिर, शहरको तुलनामा ग्रामीण भेगमा रजोनिवृत्तिका लक्षण र असरबारे जानकारी झ्नै कम छ । सन् २०१६ मा काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सले काभ्रेपलाञ्चोकको माझीफेदी गाउँका ११६ रजोनिवृत्ति महिलामा गरेको अध्ययनमा ८१ प्रतिशतमा चिडचिडापन, ७३ प्रतिशतमा राति पसिना आउने, ८० प्रतिशतमा बिर्सने, ५५ प्रतिशतमा एक्लै बस्न मन लाग्ने र प्रायजसो सबै ९४ प्रतिशतले शारीरिक रूपमा कमजोर भएको जवाफ दिएका थिए ।
यसैगरी, सन् २०१५ मा काठमाडौं मोडल अस्पतालको प्रसूति विभागले कपिलवस्तु जिल्लाका ९२४ महिलामा गरेको अध्ययनमा ८१ प्रतिशतले रजोनिवृत्तिका कारण यौन जीवनमा समस्या उत्पन्न भएको र ७६ प्रतिशतले शारीरिक एवम् मानसिक थकान महसूस गरेको बताएका थिए ।
सन् २००८ मा नीना छुनी र चन्द्रशेखर श्रीरामारेड्डीको टोलीले कास्की जिल्लाको भेडेटार र बाटुलेचौरमा सञ्चालित स्वास्थ्य शिविरहरूमा उपस्थित ७२९ महिलामा गरेको सर्वेक्षणमा ७८.७ प्रतिशतमा अनिंदोपन, ७३.५ प्रतिशतमा मानसिक थकान, ६९.७ प्रतिशतमा चिडचिडापन, ६८ प्रतिशतमा हाडजोर्नी दुख्ने र ६१ प्रतिशतमा योनी सुक्खा हुने लक्षण पाइएको थियो । रजोनिवृत्तिको औसत उमेर ४९.९ वर्ष पाइएको उक्त अध्ययन सन् २०११ को बायोमेड सेन्ट्रल (बीएमसी) वुमन्स हेल्थ अनलाइन जर्नलमा छ ।
बन्द महीनावारीः मन्द सचेतना
रजोनिवृत्ति पछि अधिकांश महिला महीनावारीका वेला हुने रक्तस्रावका कारण गर्नुपर्ने थप सरसफाइ, महीनावारी पूर्वका शारीरिक र मानसिक उतारचढावबाट मुक्त हुन्छन् । महीनावारीमा ‘नछुने’ बार्नेहरूका लागि त यो धार्मिक एवं सांस्कृतिक कर्ममा हुने छोइछिटोबाट स्वतन्त्र हुनु पनि हो । तर, महीनावारी बन्द हुने प्रक्रिया र बन्द भइसकेपछिको शारीरिक परिवर्तनबारे भने अधिकांश महिला सचेत देखिंदैनन् ।
कतिसम्म भने छाउ बार्ने कुरीतिको पीडाबाट छुटकारा पाउन सुदूरपश्चिम, अछामका कतिपय महिला शिलाजित समेत खाने गर्छन् । शिलाजितले छाउ बन्द हुने भ्रम बोकेका उनीहरू मिर्गौला, पाचनप्रणाली लगायतका समस्या लिएर आउने अछामस्थित बयलपाटा प्राथमिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. विकास गौचन बताउँछन् ।
अध्ययनहरूले महीनावारी बन्द भएपछि कतिपयमा पाठेघर खस्ने, हड्डी खिइने, रक्तचाप घटबढ हुने, दृष्टि कमजोर हुने, सम्झ्ना शक्तिमा ह्रास आउने, पिसाब रोक्न गाह्रो हुने, पिसाबमा सङ्क्रमण हुने, पाठेघर तथा स्तन क्यान्सरको समेत जोखिम औंल्याएका छन् । धूमपान र मद्यपानले समस्यालाई झनै बढाउँछ । त्यसकारण महीनावारी बन्द भएपछिका शारीरिक परिवर्तनहरूलाई बेवास्ता गर्न नहुने चिकित्सकहरूको सल्लाह छ ।
हिंडडुल गर्न गाह्रो भएपछि लमजुङकी ५२ वर्षीया जगमाया गुरुङ गएको असारमा काठमाडौं आइपुगिन् । उपचारका क्रममा उनको ढाडको हड्डी पाँच ठाउँमा भाँचिएको देखियो । “महीनावारी बन्द भएपछि हड्डीको घनत्व कम हुन थाल्छ” क्रोनिक दुखाइ विशेषज्ञ डा. सुनिल पौडेल भन्छन्, “त्यसैले महीनावारी बन्द भएका महिलाले हड्डी बलियो बनाउन बिहानको घाम ताप्न थप अनिवार्य छ ।”
मनोचिकित्सक डा. विश्वबन्धु शर्मा रजोनिवृत्तिपछि एस्ट्रोजिन हर्मोन कम हुनाले महिलामा डिप्रेसनको जोखिम हुने बताउँछन् । “रजोनिवृत्तिकै कारण डिप्रेसन नभए पनि त्यसपछिका जीवनशैलीले यो जोखिम बढाउँछ, त्यसैले रजोनिवृत्तिपछि पनि महिला सामाजिक क्रियाकलापमा सक्रिय भइराख्नुपर्छ, यसो गर्न परिवारका सबैले सघाउनुपर्छ”, उनी भन्छन् ।
रजोनिवृत्तिका क्रममा शारीरिक, मानसिक एवम् मनोवैज्ञानिक समस्या बढ्दै गएमा हर्मोन रिप्लेसमेन्ट थेरापीको पनि प्रयोग गर्न सकिने चिकित्सकहरू बताउँछन् । यो थेरापी अन्तर्गत अवस्था हेरी चिकित्सकले एस्ट्रोजिन वा प्रोजेस्टेरोन या दुवै हर्मोनको संयुक्त मात्रा दिने गर्दछन् । यी हर्मोन हाल चक्की, जल एवम् योनीमा प्रयोग गरिने मल्हमका रूपमा बजारमा उपलब्ध छन् ।
स्त्रीरोग विशेषज्ञ डा. अचला वैद्य खासगरी ४० वर्षअगावै महीनावारी सुक्ने (शीघ्र रजोनिवृत्ति) र रजोनिवृत्ति लक्षणका कारण हुने अत्यधिक जटिलता कम गर्न मात्रै हर्मोनको प्रयोग गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, “हर्मोन प्रयोगले रजोनिवृत्तिका बखत महिलाको हड्डी, मुटुको समस्याले निम्तिने जोखिमलाई कम गर्दछ ।” ५५ वर्षसम्म पनि महीनावारी बन्द नभएमा भने उपचार गराउनुपर्ने उनको सुझव छ ।
चिकित्साशास्त्र अध्ययन संस्थाका जनस्वास्थ्यविद् डा. खेम कार्की भने रजोनिवृत्तिका समस्यासँग जुध्न हर्मोनको प्रयोग गर्नुभन्दा कार्बोहाइड्रेट कम र प्रोटिनजन्य माछा, मासु, दूध, सागपात र क्याल्सियमयुक्त खानेकुरामा जोड दिनुपर्ने बताउँछन् । “प्रोटिन र लौहतत्व भएको भटमासमा ‘फाइटोएस्ट्रोजिन’ पाइने हुनाले एस्ट्रोजिन हर्मोन परिपूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्छ जसले मुटु रोगबाट बचाउन मद्दत गर्छ ।” महीनावारी रोकिएपछि हुने समस्याको समाधानमा भन्दा रोकथामका लागि पहिल्यैदेखि उपयुक्त खानपान र व्यायाम गर्न उनी सुझउँछन् ।
त्यसो त यी हर्मोनको प्रयोगले महिलामा क्यान्सरको जोखिम बढाउन सक्ने आकलनहरूबारे अध्ययन–अनुसन्धान पनि भइरहेका छन् । त्यसैले यस्ता हर्मोनको प्रयोग न्यून र छोटो समयावधिका लागि गर्नुपर्नेमा भने विज्ञहरूको एकमत छ ।
सरकारलाई वास्ता छैन
विश्वका बेलायत, आयरल्यान्ड लगायतका विकसित देशहरूले रजोनिवृत्तिका समस्या सम्बोधन गर्न नीति नै बनाएका छन् । बेलायतको निजी टेलिभिजन ‘च्यानल फोर’ ले गत वर्षको अक्टोबर १७ (विश्व मेनोपज दिवस)का अवसरमा मेनोपज नीति सार्वजनिक गर्दै यस्ता अवस्था भोगिरहेका कर्मचारीलाई तलबी बिदा दिने निर्णय गरेको छ । नेपालमा भने सरकारी स्तरबाट कुनै नीति तथा कार्यक्रम त परको कुरा यसबारे सामान्य चासो समेत राखेको पाइँदैन ।
रजोनिवृत्तिबारे सही जानकारीको अभावमा नेपाली महिलाले भोग्नुपरेको शारीरिक, मानसिक एवं सामाजिक समस्या समाधानमा सघाउ पुर्याउन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. कान्ति गिरीको नेतृत्वमा सन् २०१२ मा मेनोपज सोसाइटी अफ नेपाल (मेसन) गठन गरिएको थियो । १५० भन्दा बढी स्त्रीरोग विशेषज्ञको सञ्जाल मेसनले सार्वजनिक वृत्तमा रजोनिवृत्तिबारे सचेतना फैलाउँदै आएको छ । संस्थाले जावलाखेलस्थित नेशनल अस्पताल एण्ड क्यान्सर रिसर्च सेन्टरमा प्रत्येक महीनाका दुई शनिवार निःशुल्क मेनोपज क्लिनिक सञ्चालन गरिरहेको छ । रजोनिवृत्ति निर्देशिका पनि जारी गरेको छ । मेसनकी अध्यक्ष डा. अचला वैद्य मातृ स्वास्थ्य, किशोरी स्वास्थ्य केही हदसम्म सरकारी प्राथमिकतामा परे पनि प्रजनन्पछिको महिलाको स्वास्थ्यप्रति भने पूरै बेवास्ता गरिएको बताउँछिन् । “हामी केही चिकित्सक र केही व्यक्तिमात्रको प्रयासले यति व्यापक र गम्भीर समस्या समाधान हुन सक्तैन” डा. वैद्य भन्छिन्, “सरकारले नै नीति बनाई यसबारे विशेष पहल गर्नुपर्छ ।”
संयुक्त राष्ट्रसंघको महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि (सिडअ) अन्तर्गत गैरसरकारी संस्थाको तर्फबाट नागरिक समाजले सन् २०११ मै सरकारलाई महिलाको औसत आयु बढेसँगै रजोनिवृत्तिपछिको जीवनयापनलाई सम्बोधन हुने छुट्टै नीति लागू गर्नुपर्ने सुझव दिएको थियो । तर सरकारले अहिलेसम्म पनि सुझव मान्न आवश्यक ठानेको देखिन्न ।
मनोविद् डा. गंगा पाठक रजोनिवृत्तिबारे जनचेतना र सरकारी पहल थाल्न ढिला भइसकेको बताउँछिन् । “यसका लागि सरकारले तत्काल छुट्टै नीति तथा कार्यक्रम ल्याउनुपर्छ”, उनी भन्छिन् ।
रजोनिवृत्तिा डायरी
आफ्नै शरीर बुझिएन
२०७४ वैशाखमा हो, महीनावारी बन्द भएको तीन दिनपछि एकाएक रक्तस्राव हुन थाल्यो । म आत्तिंदै अस्पताल पुगें, डाक्टरलाई जचाउँदा पूरै बेड नै रगताम्य भयो । क्यान्सर हो कि भन्ने शंका लागेर बायोस्पी टेष्ट गरें । अल्ट्रासाउण्ड गरें । तर सबै रिपोर्ट सामान्य नै आयो । रक्तस्राव कम गराउन तीन महीनाका लागि औषधि खान थालें । तर, रक्तस्राव र दुखाइ ‘बीसको उन्नाइस’ भएन ।
डाक्टरकै सल्लाहबमोजिम तीन महीनापछि महीनावारीको चौथो दिन म पुनः अस्पताल गएँ । पाठेघर फोहोर भएर हो कि भन्ने पनि शंका गरियो । तर, रिपोर्टले फेरि पनि ‘नर्मल’ देखायो । डाक्टरले अन्ततः निष्कर्ष निकाले– “यो सबै महीनावारी बन्द (मेनोपज) हुने लक्षण हो । कि त पाठेघर फाल्नुस् होइन भने तीन/चार वर्षसम्म तपाईंलाई यस्तै गाह्रो हुनसक्छ ।”
“सद्दे अङ्ग किन फाल्नु ? महीनावारी बन्द हुनलाई यस्तो भएको हो भने म सहन्छु”, मैले भने ।
‘यो मेनोपज (रजोनिवृत्ति) मा मलाई मात्रै हो कि सबैलाई यस्तो हुन्छ ?’ भन्ने सोचेर इन्टरनेटमा खोज्न थालें । इन्टरनेटमा देखाइएका लगभग सबै लक्षण मिले जस्तो लग्यो । अनि बल्ल मैले श्रीमान्लाई भनें । छोराछोरीलाई पनि बताएँ ।
महीनावारी बन्द हुने लक्षण देखिएको दुई वर्षपछि अहिले पनि मलाई मासिक रक्तस्राव रोकिएको छैन । शायद अब छिट्टै महीनावारी रोकिन्छ होला । वेलावेला सोच्छु, मलाई त यति गाह्रो भएको छ, मेरी आमालाई यस्तो वेला कति पीडा भयो होला ? तर, न आमाले मलाई भन्नुभयो, न मैले नै यसबारे पहिल्यै थाहा पाएँ । कस्तो अचम्म !
छोराले भनेपछि पो थाहा पाएँ !
भोलिपल्ट मैले आफूमा आएको सबै परिवर्तन छोरालाई भनें । छोराले भन्यो, “मामु, तपाईंलाई त मेनोपज हुन लागेको रहेछ । यस्तो वेला ‘मूड स्विङ’ पनि हुनसक्छ, केयर गर्नु, केही हुँदैन ।” ओहो ! आजकालका बच्चा कति स्मार्ट !
त्यसपछि मैले धेरै साथीहरूसँग मेनोपजबारे सोधें । उनीहरूको अनुभव पनि मेरो जस्तै रहेछ । डाक्टरकहाँ पनि गएँ । सम्पूर्ण शरीर जाँचपछि पनि केही नदेखिएपछि महीनावारी बन्द हुने लक्षण देखिएकोमा कुनै सन्देह रहेन ।
एक वर्षपछि, अहिले मेरो महीनावारी पूर्ण रूपले बन्द भएको छ । यसो सोच्छु, नियमितजसो विपश्यना ध्यान गर्ने मलाई त महीनावारी सुक्ने वेला यति गाह्रो भयो भने अरूलाई झेल्न कति गाह्रो होला ?
मर्नेसम्मको सोच आयो !
मलाई एकदमै रिस उठ्न थाल्यो, विशेषगरी श्रीमान्सँग । नजिक बस्नै मन नलाग्ने । लाग्थ्यो– मलाई उसले बुझ्दैबुझ्दैन ! माया गर्दैन ! एकान्त खोज्दै कहिले पशुपतिनाथको जङ्गल, कहिले भद्रकालीको मन्दिर पुग्न थालें । काम पनि बोझ जस्तो लाग्ने ! मर्न पाए पनि हुने, बाँचेर के काम भन्नेसम्मको भाव आउँथ्यो ।
एकदिन खाना खाएपछि श्रीमान् ओछ्यानमा आउनुभयो । सुतिरहेकी म एकाएक छटपटिएछु, मुट्ठी कसेर, दाह्रा किटेर झम्टिन खोजेछु । उहाँ आत्तिनुभयो र सम्हाल्नुभयो । ममा एकाएक आएको असामान्य अवस्थाले हामी दुवैलाई स्तब्ध बनाइरह्यो ।
केही समय अफिस पनि गइनँ । एकदिन मैले ‘होम साइन्स’ की शिक्षिकालाई यसबारे भनें । कुरा सुन्नेबित्तिकै उहाँले मेरो उमेर सोध्नुभयो । र, भन्नुभयो– यी त सबै महीनावारी बन्द हुने लक्षण हुन् । तर तिम्रो उमेर त भा’छैन । त्यसपछि मैले एब्नर्मल साइकोलोजी पुस्तक पल्टाएँ । त्यहाँ मेनोपज सिन्ड्रोमबारे छुट्टै विषय नै रहेछ । पढ्दा लेखिएका लक्षणहरू सबै मिलेको अनुभव गरें ।
धेरै काम लथालिङ्ग भएकोले मैले ध्यान गर्न जाने योजना बनाएँ । एक महीनाका लागि भारतस्थित एक प्राकृतिक ध्यान शिविरमा गएँ । ध्यानबाहेक शिविरमा मानसिक स्वास्थ्यबारे पनि बुझाइन्थ्यो । एकदिन महीनावारी बन्द हुँदा हुने मानसिक स्वास्थ्यबारे पनि पढाइ भयो जसले गर्दा मलाई महीनावारी बन्द हुन लागेको थाहा पाएँ । दैनिक ध्यान, योग, स्वस्थ आहारले म शान्त हुँदै गएँ ।
एक महीनापछि मलाई लिन फर्किएका श्रीमान्लाई आफूमा देखिएको सबै लक्षण रजोनिवृत्तिको भएको बताएँ । उहाँले सबैभन्दा पहिले ‘आफ्नो भूमिका के हुन्छ’ भनी सोध्नुभयो । मलाई औधी खुशी लाग्यो । त्यसपछि सधैंका लागि मेरो महीनावारी बन्द भयो ।
श्रीमान्को सहयोग नै औषधि
यस्तो रिसाउने मान्छे त होइन । पक्कै केही भएको छ–एकदिन यस्तै सोचमग्न भएँ । मैले त्यसैदिन यत्तिकै हाम्रो डाक्टरलाई फोन गरें । कमलामा केही परिवर्तन भएको पनि जानकारी गराएँ । संक्रमणका कारण कमलाको पाठेघर फालेको यस्तै तीन महीना भएको थियो । डाक्टरले शल्यक्रियापछि महीनावारी बन्द भएकाले यस्तो समस्या देखिनु स्वाभाविक भएको बताएपछि म झसङ्ग भएँ ।
ओहो ! त्यसपछि पो मैले सम्झिएँ, हामी बूढाबूढीले धेरै पहिले महीनावारी बन्द हुनेबारे कतै पढेका थियौं । र, यसका लागि मानसिक रूपमा तयार पनि भएका थियौं । तर जब त्यो दिन आइपुग्यो, केही चालै पाएनौं । मलाई आत्मग्लानि भयो ।
त्यसपछि म सामान्य देखिन थालें । उनी रिसाउँदा पनि म हाँस्न थाले । समय दिन घरमा हुँदा सामाजिक सञ्जाल चलाउन बन्द गरिदिएँ । भान्सामा सघाउन थालें । उनलाई चिटचिट पसिना आउँदा आफूलाई पनि गर्मी भए झैं गर्न थालें । श्रीमतीलाई महीनावारी बन्द भएको वेला श्रीमान्ले नै नसम्हाले कसले सम्हाल्ने ? मलाई झनै जिम्मेवारीबोध भयो ।
रजोनिवृत्ति प्रजनन् क्षमताको अन्त्य हो, यौन जीवनको होइन
यसका लागि महिला र पुरुष दुवैले एकअर्कालाई बुझ्नु जरूरी छ । यौन केवल शारीरिक सम्बन्ध मात्रै पनि होइन, जीवन जिउने कला पनि हो । त्यसो त रजोनिवृत्तिपछिको यौनजीवन उसको रजोनिवृत्तिअघिको यौन जीवनमा पनि निर्भर गर्दछ । यदि दम्पती बीच पहिल्यैदेखि स्वस्थ सम्बन्ध छ भने रजोनिवृत्तिपछिको यौनजीवनमा केही असहज हुँदैन । यद्यपि प्रजनन् अङ्गमा हुने जटिलतालाई हटाउन महिलाहरूलाई तयार गर्न लामो समयसम्म पूर्वाभ्यास गर्न सक्दछन् भने शारीरिक सम्बन्धको वेला महिलाहरूले यौनाङ्गमा क्रिम प्रयोग गर्न सक्छन् । ‘पेनिट्रेट सेक्स’ बाहेक अन्य तरिका पनि अपनाउन सकिन्छ ।
नियमित स्वस्थ यौनसम्पर्कले महिलाको पेल्भिक मांसपेशी, मूत्रथैलीलाई मजबूत बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । हृदयघातको जोखिम पनि न्यूनीकरण गर्दछ । यसले एकापसको भावनात्मक सम्बन्धलाई समेत प्रगाढ बनाउँछ ।
