१० कात्तिक २०७० | 27 October 2013

साँच्चै खुशी लाग्यो

Share:
  

हिमाल (२० असोज) मा प्रकाशित मुलुकको अवस्था सकारात्मक नभए पनि स–साना कुरामा रमाउने नेपालीले खुशी भित्र्याउन सिकेको सम्बन्धी ‘यहाँ छ खुशी’ शीर्षकको समाचार पढेपछि संक्रमणको अन्योल र त्रासबीच पनि नेपालीले खुशी पाउने तरीका कस्ता रहेछन् भन्ने प्रष्ट हुन्छ । दशैंका बेला आम नेपालीबीच खुशी बाँड्ने सामग्री पस्केकोमा हिमाललाई धन्यवाद । खुशीका विविध पक्षलाई समेटेर यस्तै सामग्री आगामी दिनमा पनि हिमाल मा पढ्न पाइयोस् ।

टंकप्रसाद सापकोटा, पाटनढोका, ललितपुर


समाचार सन्तुलित लागेन

हिमाल (२० असोज) मा प्रकाशित अन्य निर्वाचन क्षेत्रबाट आएर चुनाव जितेकाहरूबाट मतदाताको वास्तविक प्रतिनिधित्व हुन नसक्ने सम्बन्धी टुरिष्ट उम्मेदवार समाचार एकपक्षीय भएजस्तो लाग्यो । मेरो क्षेत्रमा आएका झ्लनाथ खनाल पनि टुरिष्ट उम्मेदवार नै हुन् । विगत हेरेर मात्र होइन, वर्तमानमा के भएको छ त्यसबारे पनि कम्तीमा हिमाल जस्तो पत्रिकाले लेखाजोखा गर्नुपर्छ । हिजोको टुरिष्ट र आज टुरिष्ट हुन जानेको समेत विषयमा उल्लेख गरिएको भएको भए समाचार सन्तुलित हुने थियो कि ?

गोपीकृष्ण भट्टराई, इमेलबाट


अदालतको हालत

हिमाल (२० असोज) मा प्रकाशित धनुषा देउरालीका चन्द्रदेव मिश्रको न्यायको खोजीमा ४३ वर्ष बिताएको समाचार पढेपछि हाम्रो न्यायप्रणालीको अवस्था छर्लङ्ग हुन्छ । २०३३ सालमा उत्प्रेषणको माग गर्दै मिश्रले सर्वोच्चमा दिएको रीट निवेदन आजसम्म पनि कार्यान्वयन नहुनु दुःखद पक्ष हो । यसरी बाँचुन्जेल न्यायका लागि चन्द्रदेवले झैं आम नेपालीले कहिलेसम्म अदालत धाइरहने ?

शिवचन्द्र झा, शान्तिनगर, काठमाडौं


कारबाही होस्

हिमाल (२० असोज) मा प्रकाशित श्रीमतीलाई बोक्सीको आरोपमा राजधानीमा १४ वर्षसम्म थुनेर यातना दिएको सुनुवाइको पर्खाइ समाचार पढेपछि घरेलु हिंसाले नेपाली समाजमा कुन रूपमा जरो गाडेको रहेछ भन्ने प्रष्ट हुन्छ । अदातलतमा विचाराधीन मुद्दाको सुनुवाइ नतोकिंदा न्यायमा ढिलाइ हुने पीडित प्रमीला शाक्यको आशंका स्वभाविक हो । महिला हिंसाका पक्षमा आवाज उठाउने संघसंस्थाहरूको नजर प्रमीलातिर कहिले पर्ला ? बोक्सीको आरोपमा श्रीमतीलाई यसरी यातना दिने ठमेलका व्यापारी विश्व शाक्यमाथि सम्बन्धित निकायबाट जतिसक्दो चाँडो कारबाही होस् ।

प्रतिष्ठा डंगोल, नयाँबजार, काठमाडौं


साहित्यमा विविधता

हिमाल को दशैं अंक (२० असोज) मा प्रकाशित साहित्यिक सामग्रीहरू समग्रमा उत्कृष्ट लाग्यो । विगत वर्षजस्तै कथा, कविता र नियात्रा प्रकाशित गरे पनि यसमा विविधता भने थपिन सकेको छैन । हरेक वर्ष दशैं अंकमा छापिने रचनाहरू प्रायः उही व्यक्तिका हुने गरेका छन् । नयाँलाई ठाउँ दिने नाममा कतिपय कमसल रचना पनि प्रकाशित हुन थालेका छन् । थप र स्थापित लेखकलाई ठाउँ दिएर रचनामा पनि विविधता ल्याउन सके हिमाल साहित्य अझ परिस्कृत हुने थियो ।

प्रकाश तिमल्सिना, इमेलबाट


कालजयी सिर्जना

हिमाल (२० असोज) मा प्रकाशित ‘तीन पुस्तामा राज’ रिपोर्टले गीत–संगीतको आयू नहुने तथ्यलाई छर्लङ्ग पारेको छ । चलचित्र माइतीघरको माइतीघर.... बोलको गीत बज्न थालेको पाँच दशक पुग्नै लाग्दा पनि उत्तिकै कर्णप्रिय छन् । प्रविधि र मिडिया बिना नै गीत उत्कृष्ट बन्न सके कालजयी हुने यो ज्वलन्त उदाहरण हो । हिमाल ले बेलाबखत नेपाली गीत–संगीतका विषयमा समाचार प्रकाशन गर्दै आए पनि यस बारेका थप गहन र खोजमूलक सामग्री प्रकाशन गर्नुपर्ने आवश्यकता छ । यस्ता समाचारले नेपाली गीत–संगीतको गुणस्तर स्थापित गर्न र नयाँ पुस्ताका कलाकारलाई प्रेरित गर्न सहयोग पुर्याउँछ ।

जीवन पुडासैनी, इमेलबाट

comments powered by Disqus

रमझम