९–१५ चैत २०७६ | 22-28 Mar 2020

सधैंको महामारी सडक दुर्घटना

Share:
  
- सुरेन्द्र फुयाल, स्टकहोम
स्वाभाविक हो, संसारको ध्यान यतिवेला कोभिड–१९ महामारीमा छ। तर यो पनि बिर्सनुहुन्न कि विश्वमा सडक दुर्घटनाबाट दैनिक ३५०० मानिसको अकाल मृत्यु भइरहेको छ।

विक्रम राई
गएको १४ फागुनमा नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सीपी मैनाली र उनको परिवारका सदस्य बर्दिबास नजिकै कार दुर्घटनामा घाइते भए । त्यसअघि २९ माघमा अभिनेत्री तथा मोडल महिमा सिलवाल र उनकी बहिनी शर्मिला चढेको स्कुटरलाई चितवनमा तीव्र गतिमा हुइँकिरहेको बसले ठक्कर दियो । नजिकैको क्लिनिक नपुर्‍याउँदै महिमाको निधन भयो भने बहिनीको उपचारका क्रममा काठमाडौंमा निधन भयो ।

अघिल्लो वर्ष मात्र नेपालका सडकहरूमा करीब २८०० मानिसको मृत्यु भयो, अर्थात् सरदर दैनिक ७ जनाको सडक दुर्घटनाकै कारण मृत्यु भइरहेको छ । सडक दुर्घटनाकै कारण कति जनसंख्या पीडित छन् यसको यकिन तथ्याङ्क उपलब्ध छैन तर हजारौं नागरिक गम्भीर चोटपटकबाट आजीवन अपाङ्ग जीवन बिताउन बाध्य छन् ।

जति धेरै तथ्याङ्कमा घोत्लियो, उति भयावह दृश्य देखिन्छ, सडक दुर्घटनाको । विगत १० वर्षमा हाम्रा सडकमा १७ हजार भन्दा बढीको मृत्यु भएको छ, जुन माओवादी सशस्त्र द्वन्द्वको दशकमा मारिएका भन्दा बढी हो । नेपालमा ५ देखि १४ वर्ष उमेर समूहका बालबालिकाको मृत्युको मुख्य कारणमध्ये सडक दुर्घटना पनि मानिएको छ ।

स्वीडेनको स्टकहोममा गएको ७–८ फागुनमा सडक सुरक्षा सम्बन्धी तेस्रो विश्व मन्त्रीस्तरीय सम्मेलन भयो । सम्मेलनमा नेपालबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहभागी भए । मन्त्री भएको छोटो समय भए पनि नेम्वाङमा सडक सुरक्षाको समझ देखियो । “हामीकहाँ धेरै नयाँ सडक विस्तार भएका छन् तर राजमार्गमा हुनुपर्ने पूर्वाधारको कमी र सडक अनुशासनको कार्यान्वयन नहुनु विडम्बना बनेको छ । हामीले असाध्यै गम्भीर भएर काम गर्नुपर्ने भएको छ”, मन्त्री नेम्वाङले पंक्तिकारसँग भने ।

संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को आयोजनामा सम्पन्न उक्त सम्मेलनमा सहभागी १४० देशसँगै नेपालले पनि सन् २०३० सम्ममा सडक दुर्घटनाको संख्या आधा घटाउने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धतालाई स्टकहोम घोषणापत्र नाम दिइएको छ ।

ओखतीको खोजी

स्टकहोम सम्मेलन चलिरहेका वेला चीन हुँदै विश्वमा फैलिरहेको कोभिड–१९ को त्रास चलिरहेको थियो । डब्लुएचओले दुईदिने सम्मेलनको अवधिमै मात्र विश्वमा सडक दुर्घटनाबाट झ्ण्डै ७ हजार मानिसको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गर्‍यो । जबकि पछिल्लो झ्ण्डै तीन महीनायता ६ चैतसम्म कोभिड–१९ बाट योभन्दा बढी ८ हजार ९७० जनाको ज्यान गएको छ ।

चिकित्सा विज्ञानको परिभाषामा सडक दुर्घटनालाई महामारी भन्न मिल्दैन । तर, मानवीय क्षतिको हिसाब गर्ने हो भने विश्वमा अकाल मृत्युको सबैभन्दा ठूलो कारक सडक दुर्घटना नै हो । त्यसकारण पनि सडक दुर्घटना सबैभन्दा ठूलो ‘महामारी’ हो । तर, कोभिड–१९ विश्वका लागि नयाँ र रहस्यमय महामारी भएकाले पनि हुनसक्छ, सडक सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको खासै चर्चा भएन ।

डब्लुएचओका अनुसार, सडक दुर्घटनामा विश्वभर वर्षमा १३ लाख ५० हजार व्यक्तिको मृत्यु र ५० लाखसम्म घाइते हुने गरेका छन् । “प्रत्येक दिन विश्वका सडकहरूमा मानिसहरू भकाभक मरिरहेका छन्, यो भनेको अति हो”, सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हनम गेहब्रेयसस्ले भने, “जबकि अधिकांश सडक दुर्घटना भइरहेकै विधि र रणनीति मार्फत धेरै हदसम्म रोक्न सकिन्छ ।”

डब्लुएचओका अनुसार नेपाल, बाङ्लादेश, भारत, पाकिस्तान र श्रीलङ्का जस्ता दक्षिण एशियाली तथा मध्यम आय भएका देशहरूमा सडक दुर्घटनाबाट हुने मृत्युदर सबैभन्दा बढी छ । राजमार्गमा हुने मृत्युहरूमध्ये ९३ प्रतिशत गरीब देशमा हुने गरेका छन् । मूलतः क्षमताभन्दा बढी यात्रु लिएर कमजोर पहाडी सडकमा गुड्ने जीप र ट्राफिक सङ्केत जस्ता आधारभूत सुरक्षा सुविधाको अभाव रहेका राजमार्गमा तीव्र गतिमा हुइँकिने बस दुर्घटनाका मुख्य कारण हुन् । शहरहरूमा ९० प्रतिशतभन्दा बढी मृत्यु मोटरसाइकल चालक र पैदल यात्रीको हुन्छ । नेपालका सडकहरूमा अहिले लगभग २४ लाख सवारी साधन छन् । तीमध्ये धेरै दुईचक्के छन् । काठमाडौं उपत्यकामा मात्रै ८ लाख मोटरसाइकल छन् ।

संयुक्त राष्ट्रसंघले सडक यातायात सम्बन्धी दुर्घटनाबाट हुने मृत्यु र चोटपटक बढ्न नदिने प्रस्ताव गर्दै २०११–२०२० लाई ‘सडक सुरक्षाको विश्वव्यापी दशक’को रूपमा मनायो । यस अवधिमा प्रभावकारी कानून; सुरक्षित सडक र सवारी साधन; हेलमेट र सिट बेल्टको अनिवार्य प्रयोग, गति नियन्त्रण आदि सुनिश्चित गर्न आंशिक सफलता प्राप्त भएको राष्ट्रसंघको ठहर छ ।

इन्टरनेशनल रोड एसेस्मेन्ट प्रोग्रामले आफूसँग भएको सुरक्षा अभिलेख विश्लेषण गरी सडक मूल्याङ्कन गरेर चेतना जगाउने प्रयत्न गरिरहेको छ । यसका लागि ‘भ्याक्सिन फर रोड्स’ कार्यक्रम पनि चलाइरहेको छ, जसमा ‘तीन तारा गुणस्तर’ अर्थात् कम्तीमा सडकमा तीन वा त्योभन्दा बढी लेन, पैदलयात्रु हिंड्ने बाटो लगायतको व्यवस्था गरिएको हुन्छ । नेपालमा यस्ता सडक असाध्यै कम छन् । यहाँका अधिकांश सडकहरूले पाँचमध्ये एउटा तारा मात्र पाएका छन् । अघिल्लो एक दशकमा जथाभावी बनाइएका सडकले भू–स्खलन मात्र होइन सडक दुर्घटना पनि बढेका छन् ।

बेलायतको ब्रिस्टोलस्थित वेस्ट अफ इङ्गल्याण्ड विश्वविद्यालयमा कार्यरत नेपाली अनुसन्धानकर्ता पुष्पराज पन्त पैदल यात्रुहरूका लागि जेब्राक्रसिङ, साइकल लेन र ट्राफिक चिह्नको कमी, पहाडका घुमाउरा सडकमा बत्ती र दुर्घटना हुन रोक्ने रेलिङहरू नभएकोमा चिन्ता व्यक्त गर्छन् । “हामीसँग जटिल रोगहरूसँग लड्न खोप छ तर सडक दुर्घटना कम गर्ने औषधि नभए जस्तो देखिन्छ”, उनी भन्छन् । उनका अनुसार; शिक्षा, सुधारिएको पूर्वाधार र सुरक्षित सवारी साधन सडक सुरक्षा सुधारका लागि महत्वपूर्ण छन् ।

सम्मेलनको उद्घाटनमा स्वीडेनका राजा कार्ल सोह्रौं गुस्ताफले बडो रोचक तथ्य सुनाए । उनले सन् १९७० को दशकमा स्वीडेनका सडकहरूमा हरेक वर्ष २०० भन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको तर अहिले यो संख्या १५ मा झ्रेको बताए । “दुर्घटनाबाट मानिसको जीवन बचाउन धेरै विधि प्रयोग गर्न सकिन्छ, हाम्रा आफ्नै अनुभव पनि संसारलाई काम लाग्न सक्छ”, उनले भने । उनको भनाइमा पनि, क्षतिलाई आकलन गरी अब सडक सुरक्षालाई पनि विश्वका अन्य स्थायी चुनौती स्वास्थ्य, जलवायु परिवर्तन, समानता, गरीबी र मानवअधिकार जस्तै हेर्नुपर्ने वेला भइसकेको छ ।

comments powered by Disqus

रमझम