त्यसवेला सडकछेउमा स्थापित देवस्थलहरू अहिले सडक विस्तारका क्रममा बीच सडकमा आइपुगेका छन् । पुराना सडक विस्तारले मात्रै होइन निर्माणाधीन सडकहरूले पनि सांस्कृतिक सम्पदामा क्षति पुर्याइरहेका छन् । सडक डिजाइनको क्रममै कला, संस्कृति तथा ऐतिहासिक सम्पदा जोगाउने दृष्टिकोणको अभाव हुँदा त्यस्तो अवस्था आएको छ ।
अन्यत्र सार्न मिल्ने वा सकिने कतिपय सांस्कृतिक सम्पदाहरूलाई चलाउनै नहुने जडताले पनि विकास निर्माणका काम प्रभावित छन् । नेवार समुदायले घरबाहिर राख्ने कुल देवता ‘दिगुद्यः’ यस्तै सम्पदा हुन् । वर्षको एक पटक पूजा गरिने दिगुद्यः रहेको ठाउँ पायक परेन भने निश्चित परिवार वा सदस्य मिलेर अन्यत्र सार्ने चलन पुरानै हो । नारायणहिटी दरबार बनाउँदा प्रभावित दिगुद्यः स्थलहरू स्थानान्तरण गरेर दरबारभित्रै अर्को ठाउँमा राखिएका छन् ।
केही त्यस्ता सम्पदा हुन्छन्, जसलाई यथास्थितिमा राख्दा मात्रै महत्व रहन्छ । यस्तो अवस्थामा भने विकासका योजनै फेरबदल गर्नु उचित हुन्छ । माथिल्लो मुस्ताङस्थित ‘लोमन्थाङ’ पर्खालले घेरिएको प्राचीन शहर हो । तत्कालीन ‘लो’ राज्यको राजधानी ‘मन्थाङ’ नै लोमन्थाङ नामबाट चिनिन्छ । पूरै बस्ती पर्खालभित्र पारेर निर्माण गरिएको यो शहरको सम्पूर्ण निर्माण सामग्री माटो हो । चारतले राजदरबार, सर्वसाधारणको घर र पर्खाल सबै माटोबाटै बनाइएका छन् । विदेशीहरूले यसलाई ‘मड सिटी’ भन्छन् । यही विशेषतालाई महत्व दिएर विश्वसम्पदा सूचीमा राख्न सकिने चर्चा भइरहेकै वेला उक्त प्राचीन पर्खालको छेउछेउहुँदै सडक निर्माण गरिएको छ । त्यसले सम्पदालाई असर पार्ने भन्दै गरिएका विरोध र आपत्ति पनि वास्ता गरिएन । सडकको नक्शा बनिसकेको र लागत इष्टिमेट पनि भइसकेका कारण फेरबदल गर्दा महँगो पर्ने तर्क गरियो ।
प्राचीन सम्पदाको महत्व बुझ्ेको भए अनेकौं विकल्प देखिन्थे किनभने अहिले पनि प्राचीन बस्ती वरिपरि जग्गा खाली नै छ । दुल्लु, दैलेख लगायतका क्षेत्रमा बनेका सडक पनि सम्पदा जोगाउने शैलीमा छैनन् ।
काठमाडौं उपत्यकामै पनि नयाँ बस्तीहरूलाई परिमार्जन गर्न सकिन्छ तर प्राचीन बस्ती वा सम्पदालाई धक्का पर्ने गरी नयाँ संरचना बनाइनु हुँदैन । विकास निर्माण र सांस्कृतिक सम्पदा सम्बद्ध निकायहरू बीच समन्वयको अभाव हुँदा पनि द्वन्द्व सिर्जना भइरहेको छ । कतिपय अवस्थामा संस्कृतिसम्बद्ध निकायहरूको ध्यान पछि मात्रै पुग्ने गरेकाले पनि समस्या हुने गरेको छ ।