९–१५ चैत २०७६ | 22-28 Mar 2020

अब नागरिकको रानीपोखरी

Share:
  
- गौरीबहादुर कार्की
दशकौं सेनाको कब्जामा रहेको भत्ताmपुरको रानीपोखरी स्थानीय सरकारको स्वामित्वमा आएसँगै जीर्णोद्घार र संरक्षण कार्य धमाधम हुन थालेको छ।

१ चैत २०७६ मा लिइएको रानीपोखरीको तस्वीर र पुनर्निर्माण गरिनुअघि रानीपोखरी (बायाँ)।तस्वीरहरुः गौरीबहादुर कार्की
काठमाडौंको रानीपोखरी भन्दा ४० वर्ष जेठो, करीब ४०० वर्ष पुरानो भक्तपुरको रानीपोखरी छायाँमा परेको थियो । सरसफाइ त परको कुरा संरक्षण नै थिएन, झारले पुरिएको थियो ।

पोखरीसँग जोडिएको टुँडिखेल २००७ सालदेखि नै सेनाले अतिक्रमण गर्न थालेको थियो । २०४० सालपछि सेनाको विद्यालय भीमफेदीबाट यहाँ सारेपछि खुला खेलमैदानको रुपमा रहेको टुँडिखेल, पश्चिमतर्फको रानीपोखरी र सल्लाघारीको अधिकांश भाग सेनाको कब्जामा पर्‍यो ।

१२ रोपनी ९ आना क्षेत्रफलमा फैलिएको रानीपोखरी वरिपरि प्रजापति, कवाँ र शिल्पकार समुदायले अक्षयतृतीयामा र किसानहरूले त्यसको तीन दिनपछि देवाली पूजा गर्ने चलन छ । तर, देवाली पूजा गर्न पनि स्थानीयले सेनाको अनुमति लिनुपथ्र्यो । हिमाल (२३–२९ साउन २०७३) ले रानीपोखरीको बिजोग शीर्षकमा लेख छापेको थियो ।

गएको स्थानीय तहको निर्वाचनपछि भक्तपुर नगरपालिकाले पोखरीलाई सेनाको कब्जाबाट मुक्त गरायो । मेयर सुनिल प्रजापतिको पहलमा सेनाले गएको १ जेठमा नगरपालिकालाई पत्र पठाएर रानीपोखरी जीर्णोद्धार र संरक्षणको जिम्मा दियो ।

सेनासँगको सहमति अनुसार नगरपालिकाले रानीपोखरीलाई मौलिक रूपमा जीर्णोद्धार गर्ने भएको छ । नेपाल भाषामा न्हु पुखुः भनिने रानीपोखरीसम्म पुग्न सल्लाघारीको मूल सडकमा नै प्रवेशद्वार बनाउने र बिहान ६ देखि साँझ ६ बजेसम्म खुला राखिने भएको छ । भक्तपुर अस्पतालको पश्चिम र सिद्धपोखरीको उत्तरतर्पmको खेलमैदान पनि सर्वसाधारणको लागि बिहान ७:३० देखि ११:३० बजेसम्म, शनिवार दिउँसो ३ बजेसम्म र सैनिक महाविद्यालय बन्द रहेको वेला बिहान ६ देखि साँझ ५ बजेसम्म खुला रहने सेनासँग सहमति भएको छ ।

नगरपालिकाले पोखरी सफा बनाएपछि प्राकृतिक रूपमा नै पानी जम्मा हुन थालेको छ । जम्मा भएको पानी अड्याउन पोखरीभित्र कालो माटो राखिएको छ । पोखरी सफा गरेर कालो माटो राख्न रु.२५ लाख ६७ हजार लाग्ने अनुमान गरिए पनि रु.१७ लाखमै सकिएको नगरपालिकाले जनाएको छ । त्यस्तै सांसद् विकास कोषको रु.१ करोडले वरिपरि पर्खाल लगाएर पर्खालको टाउकोमा चुना प्लाष्टर गरिएको छ । पोखरीलाई पूर्णरुपमा जीर्णोद्धार गर्न रु.२ करोड ६३ लाख लाग्ने अनुमान छ । अब पर्खाल जीर्णोद्धार गर्न, नागको स्तम्भ राख्न र शिवालय बनाउन बाँकी छ ।

भक्तपुरका राजा जगज्योति मल्लले १६८७ सालमा सिद्धपोखरी पश्चिमतर्फ टुँडिखेल नजिक रानीपोखरी बनाएका थिए । सोही वर्ष पौष कृष्णद्वादशीमा पोखरीमा शिवलिङ्ग स्थापना गरी मन्दिरको गारोमा शिलापत्र पनि राखेका थिए । १७२७ सालमा प्रताप मल्ल आफैंले कान्तिपुरमा रानीपोखरी बनाउन लगाए ।

कान्तिपुरका राजा प्रताप मल्लले १७२० सालमा भक्तपुरमा हमला गरे । त्यतिवेला भक्तपुरका राजा जगतप्रकाश मल्ल थिए । प्रताप मल्लले सुनको नागको मूर्ति, छत्र लगायत गहना लुटे । लुटेको नागको मूर्ति हनुमानढोकाको भण्डारखालस्थित नागपोखरीको बीचमा राखे । रानीपोखरीको मन्दिर पनि भत्काइदिए । अहिले पोखरीको बीचमा काठको खम्बाको ठूटो र नागको दक्षिणतर्फ शिलाका चार खम्बामाथि बनाइएको शिवालयको भग्नावशेष बाँकी छन् ।

comments powered by Disqus

रमझम