१० कात्तिक २०७० | 27 October 2013

फर्माइसका वादशाह

Share:
  
- बिम्मी शर्मा, वीरगञ्ज

बिम्मी शर्मा
टेलिभिजन र एफएमको बहार आउनुभन्दा अगाडिको रेडियोमा वीरगञ्जको गहवाटोल र त्यहाँका कुर्बान हवारीको नाम छाएको थियो ।

‘वीरगञ्ज गहवाटोलका कुर्बान हवारी तथा उनका साथीहरू... ।’ एक दशक अघिसम्म विभिन्न देशी–विदेशी रेडियो स्टेशनको फर्माइसी गीत कार्यक्रममा सबैभन्दा बढी यो वाक्य बज्थ्यो । कुर्बान हवारीले यसरी लगातार ४० वर्षसम्म नेपाल, भारत, पाकिस्तान र श्रीलंकाका रेडियो स्टेशनहरूमा फर्माइसी गीत पठाएर इतिहास रचे ।

अहिले वीरगञ्जको ठाकुरराम वहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुख रहेका ५३ वर्षीय हवारीको फर्माइसी सोख निकै चाखलाग्दो छ । दाजु सुलेमानले रेडियोका गीति कार्यक्रहरूमा फर्माइस पठाउन थाल्दा १२ वर्षका हवारी कक्षा ७ मा पढ्थे । दाजुले फर्माइस गर्दा भाइको पनि नाम हालिदिन्थे । यसरी रेडियोमा आफ्नो नाम सुन्न थालेका हवारीले अलि पछि छुट्टै पोष्टकार्ड र हवाइपत्र पठाउन थाले । त्यसरी अगाडि बढेको उनको फर्माइसी सोख कालान्तरमा नशा बन्न पुग्यो ।

उनले कुनै बेला रेडियो नेपाल, रेडियो खर्साङ, आकाशवाणी पटना, आकाशवाणी गोरखपुर, आकाशवाणी लखनउ, विविध भारती, अल इण्डिया रेडियो, रेडियो पाकिस्तान र रेडियो सिलोनमा दैनिक ५० वटासम्म गीतको फर्माइस पठाए । यस क्रममा उनले एक लाख भन्दा बढी पोष्टकार्ड पठाए, दुई दर्जनभन्दा बढी कलम खियाए । धेरै लेख्दा हात दुख्न थालेपछि हवारीले आफ्नो नामको पोष्टकार्ड नै छपाए, जसमा मिति र गीतको शीर्षक लेख्दा पुग्ने भयो । त्यो समयमा उनी एकैपटक तीन वटा रेडियो सुन्थे । अहिलेसम्म उनले २० वटा भन्दा बढी रेडियो किने ।

गीत–संगीत प्रतिको लगावका कारण हवारीले नेपाली र हिन्दीका प्रख्यात गायक–गायिकासँग भेटघाटको अवसर पाए । गायक–गायिकाहरू हवारीले नयाँ गीतलाई हिट बनाउन मद्दत गर्ने भएकोले उनीप्रति सद्भाव राख्थे । वीरगञ्जमै जन्मिएका प्रकाश श्रेष्ठ र मधु क्षेत्रीका गीतहरूलाई हिट बनाउने उद्देश्यले पनि बढी फर्माइस गरेको कुरा उनी लुकाउँदैनन् । रेडियो जगतको कहलिएको स्रोता भएकोले उनलाई जुनसुकै स्रोता सम्मेलनमा बोलाइन्थ्यो । गीत–संगीत र फर्माइसको चस्कामा हवारीले कतिसम्म गरे भने ३२ वर्षअघि आमाको निधन हुँदा पूरै परिवार शोकमा डुब्दा पनि उनले कोठाको एउटा कुनामा बसेर रेडियो सुनिरहे । “त्यो नै मेरा शोखको सबभन्दा नराम्रो क्षण रह्यो”, हवारी भन्छन् ।

हुन पनि, ४० वर्षको फर्माइसी यात्रामा उनले थुप्रै प्रशंसक र सम्मान पाए । उनको कोठामा विभिन्न स्टेशनहरूले उपहार दिएका रेडियो, गीतका सीडी र किताबहरू छन् । “पछाडि फर्केर हेर्दा मलाई सन्तोष केमा लाग्छ भने”, हवारी भन्छन्, “वीरगञ्जको वडा नम्बर– ११ मा पर्ने एउटा सानो गहवाटोललाई प्रशिद्ध बनाउनु मेरो उपलब्धि हो ।”

comments powered by Disqus

रमझम