१० कात्तिक २०७० | 27 October 2013

मायाले पढाऔं

Share:
  
दण्डको डर नराखी पढ्दा विद्यार्थीको मानसिक र शारीरिक विकास हुन्छ भनेर शिक्षकहरूले पठनपाठनको शैलीमा सुधार गरेका छन् ।

अमृत हरिजन ।
सेभ द चिल्ड्रेनको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले तयार पारेको टेलिभिजन कार्यक्रम मैले जे भोगें को छैटौं र सातौं शृंखलामा कलाकार हरिवंश आचार्यले नेपालका गाउँगाउँमा पुगेर बालबालिकालाई दिइने सजाय र कुपोषणको असर खोतल्ने प्रयास गरेका छन् । (हे. http://www.youtube.com/antennafoundation) ।

रूपन्देही मदनगञ्जका अमृत हरिजनलाई गृहकार्य नगरेको भन्दै शिक्षकले कक्षा कोठामै निर्घात पिटे । उनलाई हजार पटक उठबस गर्न लगाइयो । अमृतले यो कुरा स्कूलबाट घर फर्केपछि पनि कसैलाई भनेनन् । भोलिपल्ट उनको शरीरभरि नशा सुन्निएको थियो । त्यो घटनापछि स्कूल जान नमानेका उनलाई बाबु बुद्धिरामले फकाइफुल्याइ पठाए । उनका बाबु भन्छन्, “त्यसपछि मैले उसलाई पिट्न पनि छाडें ।”

गृहकार्य नगरी स्कूल जाँदा लठ्ठी भाँच्चिने गरी पिटाइ खानु परेको सुर्खेतका विद्यार्थीहरूले बताए । गृहकार्य नगरेको निहुँमा शिक्षकले लात्तीले हान्दा एकजना बालिका धनमायाको दाँत नै भाँचिएको थियो । बाल मनोविश्लेषक डा. गंगा पाठकका अनुसार, बालबालिकाले आफूमाथि भएका दुव्र्यवहारको तत्काल प्रतिकार गर्न नसके पनि पछि उनीहरूमा बदलाको भावना बढ्न जान्छ । शिक्षकको यातनाबारे कलाकार आचार्यसँग विद्यार्थीहरूले भनेका छन्, “अब हामी सरहरूलाई यातना दिनुहुँदैन भनेर सिकाउँछौं ।”

कतिपय बालबालिकाले घरमै पनि सजाय पाएका छन् । ६ कक्षामा पढ्दै गरेकी तनहुँ ढोरफिर्दीकी सुस्मिता गाहा मगर (१३) सौतेनी आमाले बारम्बार यातना दिएपछि भागेर मामाघर गइन् । बाग्लुङका वीरबहादुर घर्ती अहिले छोरा कुटेर मारेको अभियोगमा जेलमा छन् । “रातमा निद्रा लाग्दैन”, अहिले साह्रै पछुताएका उनी भन्छन्, “के गर्ने, रीस थाम्न नसक्दा बुढेशकालमा यस्तो भयो ।”

बदलिंदो सोच

केही वर्षअघिसम्म कमै शिक्षक लठ्ठी नलिई कक्षाकोठमा पस्थे । उनीहरूले कतिपय विद्यार्थीको कानको जाली नै फुटाएका घटनाहरू छन् । हिजोआज भने शैली फेरिएको छ, विद्यार्थीलाई दण्ड दिएर होइन, मायाले पढाउनुपर्छ भन्ने मान्यता विकास भएको छ । सामुदायिक विद्यालयहरूमा बालमैत्री पढाइ शुरु गरिएको छ ।

त्यसो त, राष्ट्रिय–अन्तर्राष्ट्रिय कानूनहरूले बालबालिका माथिको दण्डलाई निषेध गरेका छन् । बालबालिका सम्बन्धी ऐन २०४८ ले बालबालिकालाई घर या विद्यालयमा यातना दिन नपाइने व्यवस्था गरेको छ । ‘मैले जे भोगें’ का प्रस्तोता आचार्य, यस्ता कानूनी व्यवस्थालाई पनि हेरेर बालबालिकालाई मानोवैज्ञानिक शिक्षा दिनुपर्ने बताउँछन् ।

कुपोषणको शिकार

प्रकाश थापा मगर ।
बरबोटे धनकुटाकी तुलामाया राईका चार सन्तान कुपोषणकै कारण जन्मेको केही समयपछि मरे । ती बच्चाहरू जन्मँदा तुलामायाको आँखाको ज्योति कमजोर हुँदै गयो । पाँचौं सन्तान मनकुमार जन्मेपछि त उनी पूरै नदेख्ने भइन् । मनकुमार पनि जन्मंदै कुपोषित थिए । पोषण पुनस्र्थापना गृह सुनाकोठीकी प्रवन्धक सुनिता रिमाल गर्भवती महिलामा भिटामिन ‘ए’ को कमी हुँदा यस्ता समस्या आउने बताउँछिन् ।

स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख राजकुमार पोखरेलका अनुसार उमेर पुगेर उचाइ र तौल नपुगेको तथा उचाइ पुगेर तौल नपुगेकाहरू कुपोषणका बिरामी हुन् । सही किसिमको पोषण नपाउँदा बालबालिकामा यस्ता समस्या देखिन्छ । कुपोषणबाट नेपालमा वर्षेनि ५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । नेपालमा पाँच वर्ष मुनिका ९१ हजार बालबालिकामा कुपोषण छ । नेपाल अति कुपोषण प्रभावित मुलुकको सूचीमा अन्तिमबाट छैटौंमा छ ।

उपचार हुन्छ

स्याङ्जा चुच्चे भञ्ज्याङका प्रकाश थापा मगरको शरीरभन्दा टाउको ठूलो थियो । बाहिरबाटै करङ देखिने उनी बाँच्छन् भनेर कसैले सोचेका थिएनन् । दुई महिनाको हुँदा आमाको मृत्यु भएपछि उनलाई छिमेकीहरूले कुपोषण पुनस्र्थापना केन्द्र पोखरा पु¥याए । एक वर्षमा फेरिएका प्रकाश अहिले पोखराको एसओएसमा पढ्दै छन् । पोषण शाखा प्रमुख पोखरेल ८० प्रतिशत कुपोषण घरपरिवारबाटै नियन्त्रण गर्न सकिने बताउँछन् । यसका लागि दूध, दही, कलेजो, माछा–मासु र हरियो सागपातलाई दैनिक खानामा समावेश गर्नुपर्छ ।

comments powered by Disqus

रमझम