१० कात्तिक २०७० | 27 October 2013

कमजोर आदर्श

Share:
  

गेस्टापो

लेखकः कृष्ण धरावासी

प्रकाशकः पैरवी बुक हाउस

मूल्यः रु.३७५, पृष्ठः ३०८

दोस्रो विश्वयुद्धले ध्वस्त पारेको जर्मनी लगायतका युरोपेली मुलुक अहिले समृद्धिको शिखरमा छन् । युद्धोपरान्त विकास पथमा लम्कन ती मुलुकका दलहरु राजनीतिक पद्धति, वाक स्वतन्त्रता, अर्थतन्त्रको ढाँचा जस्ता मूलभूत मुद्दाहरुमा एकमत रहे । यसै कारण ती मुलुकहरुमा आर्थिक क्रान्ति सम्भव भयो । द्वन्द्वपछिको अवस्थामा तिनले अंगिकार गरेको राज्य सञ्चालन पद्धति युगानुकूल रहेका कारण नै आज ती देशहरु विकासको चूलीमा पुगेका हुन् । कुनै पनि मुलुकलाई अन्ध राष्ट्रवादले अग्रगामी बाटोमा हिंडाउँदैन । समयानुकूल राष्ट्रवाद मात्रै व्यावहारिक हुन्छ । कृष्ण धरावासीको उपन्यास गेस्टापो को मूल सन्देश यही हो ।

उल्लिखित सन्देश दिन उपन्यासकारले विश्व इतिहास र त्यसमा पनि खासगरी दोस्रो विश्वयुद्धबाट ध्वस्त जर्मनी बारेको अध्ययनमा थुप्रै समय खर्चेका छन् । त्यसैले यो उपन्यासलाई धरावासीको अध्ययनको उपज पनि मान्न सकिन्छ । यद्यपि, यो उपन्यास इतिहासले बढी थिचिएको छ । जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीटीजेड)ले उनी लगायत केही नेपाली लेखकलाई जर्मनी भ्रमण गराएपछि धरावासीको लेखक मनभित्र यो उपन्यासको विजारोपण भएको हो । त्यस क्रममा उनले गेस्टापो बाहेक अरु दुई किताब लेखिसकेको उपन्यासको भूमिकामा खुलाएका छन् ।

यहाँ दुईवटा प्रश्न उठ्छ– १२ दिनको घुमाइबाट त्यो विशाल देशको जनजीवन, त्यसले व्यहोरेको लामो युद्ध, त्यसले पारेको गहिरो प्रभाव र समग्र जर्मन संस्कृति बुझ्न सकिन्छ ? उपन्यासको निर्माण रुचिकर अध्ययनबाट हुन्छ कि विषयगत ज्ञानबाट ? खासमा गेस्टापो को कथा लेखिएको पुस्तक पढ्दै गर्दा रन्थनिएको लेखकको अनुभूतिलाई यो उपन्यासमा ‘ट्रिकी’ ढंगमा उतारिएको छ । ‘वादी’ बन्न रुचि राख्ने धरावासीले यसमा पनि केही प्रयोग त गरेका छन्, तर त्यो पाठकका लागि रुचिकर बन्न सकेको छैन ।

हिटलरकालीन जर्मनीको गुप्तचर प्रहरी नै गेस्टापो हो । इतिहासले क्रूर खलनायक ठहर गरेको जर्मन तानशाह हिटलरप्रति लेखक कतिपय ठाउँमा सहानुभूतिशील हुन्छन् । इतिहासमा आतंकको पर्यायको रुपमा वर्णित गेस्टापो को पनि लेखकले असल र भावुक छवि देखाउने प्रयत्न गरेका छन् । युद्धकथाको पृष्ठभूमिमा लेखिएका उपन्यासमा पाठकले मूल रुपमा विष्मय, आश्चर्य तथा घटनामा अधिक उतारचढाव खोज्छ । यस्तो कृतिले पाठकलाई उद्वेलित पार्न सक्नुपर्छ । तर, इतिहास चित्रणले थिचिएको यो उपन्यासमा यस्ता सन्दर्भहरु ज्यादै न्यून छन् । बरु, अनावश्यक ठाउँमा पूर्णविराम, अर्धविराम तथा विष्मयादीवोधक चिह्नले उपन्यासलाई बोझिलो बनाइदिएको छ ।

अपरिचित परिवारमा आश्रय पाएको मूल पात्र हैम्बर्ग नै गेस्टापो हो । हैम्बर्गले एउटा अखबारमा कार्यालय सहायकको काम गर्दागर्दै संवाददाता बन्ने अवसर पाएको छ । युद्धकालमा अखबारले पालना गर्नुपर्ने संहिताबारे पनि ऊ सचेत छ । लेखकले उपन्यासमा मानवता र प्रेमको वकालत गर्न खोजेका छन् । मानवतालाई कुनै पनि युद्धले जित्न नसक्ने उनको ठहर छ । त्यसैले उनले उपन्यासमा नायक–नायिका बनाएर तिनका बीचमा प्रेम उमारिदिएका छन् । तर, हैम्बर्ग र नायिकाका रुपमा उभ्याइएकी मान्काबीचको मिलन अति नाटकीय लाग्छ । धरावासी निःशन्देह रुपमा एक शक्तिशाली लेखक हुन् । उनले राधा उपन्यासका निम्ति ‘मदन पुरस्कार’ जितेपछि नेपाली पाठक धरावासीप्रति झनै विश्वस्त भएका हुन् । पाठकहरु उनको लेखनले गुणात्मक फड्को मारेको हेर्न चाहन्छन् । गेस्टापो जस्तो ‘आदर्शवादी’ उपन्यासले त्यस्ता पाठकको चित्त बुझाउन सक्ने देखिंदैन ।

राजेन्द्र पराजुली


**महँगी, भोक र सार्वभौमसत्ता **

लेखकः नारायण तिवारी

प्रकाशकः रत्न पुस्तक भण्डार

पृष्ठः १३० मूल्यः १७६

समसामयिक विषयवस्तुहरुलाई टिपेर उनिएको ६६ वटा लघुकथाको संग्रह । प्रायः सबै लघुकथाले समकालीन बेथितिमाथि सटिक व्यंग्य गरेको छ ।


जीवनको पाठशाला

लेखकः डा. राजेन्द्र केसी

प्रकाशकः सौजन्य मिडिया प्रालि

पृष्ठः १९३ मूल्यः ३२५

सफल मानिसहरु दैनिक के काम गर्छन् ? असफल मानिसहरु के–केमा दिन बिताउँछन् ? तुलनात्मक विश्लेषण गरिएको पुस्तक ।


लिम्बू–गोर्खा युद्ध

अनुवादकः कमल तिगेला लिम्बू, भरत तुङघङ र भैरब आङ्ला

प्रकाशकः छ थरे समाज, धरान

पृष्ठः १३०+२०

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानताका पूर्वमा लिम्बूहरुसँग भएको युद्ध सम्बन्धी बेलायती हज्सनको पाण्डुलिपीको अनुवाद ।

comments powered by Disqus

रमझम