१० कात्तिक २०७० | 27 October 2013

महबाट मालामाल

Share:
  
- जीवनप्रसाद राई
नेपालको मौरी सम्भावनाले घार र गोलामा अनुदान तथा चरन विकासमा सरकारी नीति पर्खिरहेको छ ।

जीवन राई
कृषिबाट नेपालको समृद्धि सम्भव छ भन्ने विश्वासका साथ जनस्तरबाट भइरहेका पहलहरू हेर्न ४२औं जिल्लाको रूपमा २१ चैत २०६९ मा नवलपरासीको प्रस्तावित नगरपालिका–३ पुग्दा दुर्गा पौडेल (४२) ले गरेको मौरी उद्यम देखेर आनन्दित हुन पाइयो । उनी गाउँमा बसेर पनि उत्पादन क्षेत्रमा राम्रो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् । १०० घार मौरी पालेकी उनले वार्षिक तीन टन मह उत्पादन गरेर सरदर रु.१० लाख आम्दानी गरिरहेकी छन् । दुर्गाले २०५८ सालमा धादिङ नलाङका ‘मौरी बाजे’ केशव अर्यालबाट तालीम लिएर पारिवारिक समृद्धिको ढोका खोलेकी हुन् । उनी अहिले मौरीको चरन व्यवस्था, गोला निर्माण लगायत सबै कामको विज्ञ बनेकी छन् ।

सजिला–अप्ठ्यारा

मौरीपालन केन्द्रीय सहकारी संस्थाका अध्यक्ष गणेश बस्नेतका अनुसार नेपालमा वार्षिक १५ हजार टन मह उत्पादन हुने चरन छ । आवश्यकता र समय हेरेर फापर, रुदिलो, चिउरी, तोरी, तोरा लगायतको व्यावसायिक खेती गरे मौरीको चरनलाई अझ् राम्रो पार्न सकिन्छ । मौरीपालक महालक्ष्मी श्रेष्ठ नेपालमा असार, साउन र भदौमा मौरीलाई चरनको निकै समस्या हुने बताउँछिन् । “बाँकी नौ महीना मौरीहरूलाई मजाले व्यस्त बनाउन सकिन्छ”, तीन दशकको अनुभवको आधारमा महालक्ष्मी श्रेष्ठ भन्छिन्, “यो अवधिमा चाहेजति व्यावसायिक बिस्तार गर्न वा मौरीको संख्या बढाउन पनि सकिन्छ ।”

कृषिमा मौरीपालन सजिलो व्यवसाय हुँदाहुँदै पनि यसका अनेकौं समस्या छन् । परिणाम, प्रतिकिलो ५०० अमेरिकी डलरसम्म पाइने नेपाली मह अन्तर्राष्ट्रिय बजारमा पु¥याउनै नसकिएको सहकारीका अध्यक्ष बस्नेत बताउँछन् । देशका मह किसानले आफ्नो ठाउँबाट काम गरे पनि सरकारले मौरीलाई अरू कीटपतंगको रूपमा मात्र बुझिदिंदा यसबाट पाइने जति लाभ लिन नसकिएको उनको भनाइ छ ।

त्यस बाहेक लामो समयसम्म मह उधारोमा दिनुपर्ने, चरनको लागि धेरै टाढा पु¥याउनुपर्ने लगायतका समस्या छन् । र पनि, लगानीको तुलनामा धेरै फाइदा हुने र काम गर्न पनि सहज हुने भएकोले नेपालमा मौरी व्यवसाय उत्साहजनक छ । मौरी पालनलाई ‘पार्ट टाइम’ व्यवसाय भन्दा फरक पर्दैन । यसलाई बंगुर, बाख्रा, कुखुरा वा गाई–भैंसीलाई जस्तो चौबीसै घण्टा टहल गर्नुपर्दैन । मह बनाउन आफैं कठिन परिश्रम गर्ने मौरी पालनलाई पशुपालक र फलफूल किसानले मात्र हैन, शिक्षक, वकील, नर्स, गायक, नायक सबैले ‘पार्ट टाइम जब’ बनाउन सक्छन् ।

मौरीले फलफूल र अरू बालीहरूमा परागसेचन प्रक्रिया चलाइरहेका हुन्छन् । यसबाट फलफूल तथा बीउ उत्पादन वृद्धिका साथै वातावरण सन्तुलनमा सघाउ पुगिरहेको हुन्छ । मौरीको कुटबाट बन्ने मैनबत्ती सुगन्धित र स्वस्थकर हुन्छ । नेपालमा मेलिफेरा र सेरेना प्रजातिका मौरी पाल्ने गरिएको छ । मह उत्पादनको हिसाबले बढी फाइदाजनक मानिने मेलिफेरा मौरी सेरेनाभन्दा अलि ठूलो र कालो हुन्छ ।

महको अर्थशास्त्र

एक घार मौरीबाट वार्षिक ४० किलोसम्म मह उत्पादन हुन्छ । यो अनुपातमा एक सय घार मौरीबाट मोटामोटी रु.१२ लाख आम्दानी हुन्छ । अर्को कुरा मह ५० वर्षसम्म पनि बिग्रिंदैन । पुरानो महमा औषधीय गुण बढी हुने मानिन्छ ।

अहिलेको अव्यवस्थित चरनबाटै पनि वर्षेनि १५ हजार टन मह उत्पादन गर्न सकिने विज्ञहरू बताउँछन् । त्यो परिमाणलाई प्रतिकिलो रु.३०० ले गुणन गर्दा रु.४ अर्ब ५० करोड हुन्छ । ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुग्दा नेपाली महले वार्षिक खर्बौं आर्जन गर्न सक्छ । चरन विकास गर्दा नेपालले मौरीबाटै वार्षिक १० लाख टन मह उत्पादन गर्न सक्ने विज्ञहरूको भनाइ छ । महको अन्तर्राष्ट्रिय बजार जति पनि छ । शर्त एउटै छ– पेस्टिसाइडमुक्त मह उत्पादन ।

श्रमको पर्याय मौरीको कुरा गर्दा नेपालीहरूको कामप्रतिको लगाव र मिहिनेतलाई पनि सम्झ्नुपर्छ । अहिले २० लाखभन्दा बढी नेपाली युवा विदेशमा श्रम बेचिरहेका छन् । सरकारले यो पक्षलाई हेरेर पनि मौरी पालन सम्बन्धी व्यावहारिक नीति बनाउनुपर्ने देखिन्छ ।

comments powered by Disqus

रमझम