बुद्धत्व प्राप्तिका लागि श्रमण परम्परा अनुसार कपिलवस्तुस्थित घरबार छाडेका श्रमण गौतम (गृहस्थ नाम त्याग गरिसकेको अवस्था) ६ वर्षसम्म आलारकालम, उद्दकराम पुत्र लगायतका प्रख्यात गुरुहरूसँग विद्याध्यायान र साधना गर्दै हिंडेका थिए । उनी घोर तपश्चार्यमा पनि बसे, जसलाई बौद्ध ग्रन्थहरूमा ‘दुष्कर चर्या’ नाम दिइएको छ । तर, यी तमाम साधनाहरूबाट केही फल प्राप्त भएन, एक हिसाबले समयको बर्बादी मात्रै भयो । त्यसपछि साधनाका पद्धतिमाथि मतभेद हुँदा पाँच साथीले श्रमण गौतमलाई पथभ्रष्ट भएको भन्दै छाडेर हिंडेका थिए ।
प्रथम ध्यान लाभ
त्यसरी अनेकौं विधिका साधना गरिरहेका बेला गौतमलाई अकस्मात आफू सानै छँदा कपिलवस्तुमा गरेको ध्यान भावना वा ध्यानलाभको सम्झ्ना भयो । बुद्ध जीवनी सम्बन्धी चर्चामा कपिलवस्तुको तत्कालीन कृषि महोत्सवको प्रसङ्ग छुट्दैन । त्यस दिन सबै रोपाइँमा सहभागी हुन्थे । मानिसहरू हर्षोल्लासका साथ कृषिमा सरिक भइराख्दा कुमार सिद्धार्थ त्यहाँ रमाउन सकेका थिएनन् । उनी चुपचाप अलि पर जामुनको रुखमुनि ध्यानमा बसे । यसबाट उनले पहिल्यै ध्यानविधि सिकिसकेको थाहा हुन्छ । त्यही बेला उनलाई प्रथम चरणको ध्यानलाभ भएको थियो, जसबाट वातावरणमा परेको अनौठो प्रभाव अरुले पनि प्रत्यक्ष अनुभव गरेका थिए । सर्वसाधारणका लागि यो आश्चर्यको कुरा थियो । यो देखेर बाबु शुद्धोधनले दोस्रो पटक पुत्रवन्दना गरेका थिए । बौद्ध ग्रन्थहरूले यो असाधारण घटनालाई प्रथम ध्यान लाभ मानेका छन् ।
बुद्धत्व प्राप्तिको यात्रामा श्रमण गौतमले बोधगयामा अपनाएको विधि र त्यसबाट प्राप्त गरेको बोधी (ज्ञान) लाभ कपिलवस्तुको प्रथम ध्यानकै निरन्तरता थियो । अर्थात्, बोधगयामा गरेको ध्यानको अंकूर कपिलवस्तुमै पलाएको थियो । बोधगयामा दोस्रो तहको ध्यानबाट बुद्धत्व प्राप्त गरेका थिए । बुद्धले प्रथम ध्यान लाभ गरेको स्थल अर्थात् जामुनको रुख कहाँ रहेछ भन्ने प्रसङ्ग आफैंमा एउटा खोजीको विषय हो । त्यो वृक्ष नजिकै रहेको बौद्ध वाङमयमा स्पष्ट छ । शुद्धोधनको दरबारबाट खेत पनि टाढा थिएन । लुम्बिनी र कपिलवस्तुको खोजी गर्ने जर्मन पुरातत्वविद् डा.ए. फूहररको ध्यान यसतर्फ पनि गएको थियो । एउटा स्तुपको भग्नावशेषलाई यस घटनासँग सम्बन्धित गर्न खोजेका उनले थप अध्ययन गर्न पाएनन् । उनका अनुसार सो स्थल कपिलवस्तु नगरबाट उत्तर–पूर्वमा पर्छ । डा. फूहररले अनुमान गरेको त्यो स्थल अहिले हराइसकेको अवस्था छ ।