भदौ २०७८ | 17/08/2021

मैले देखेको देश

Share:
  
- सिसन बानियाँ
अर्को जीवन बाँच्न घुम्छु

घुमफिरलाई नै काम र प्यासन बनाएको म जस्तो व्यक्तिलाई कोरोनाभाइरस महामारी र लकडाउनका कारण घरबाट निस्किन नपाउँदा असहज हुने नै भयो । म अहिलेसम्म कति ठाउँ पुगेँ, हिसाबकिताब गरेको छैन । तर, पूर्वदेखि पश्चिमका थुप्रै ठाउँ पुगेको छु । म हरेक चोटि नयाँ–नयाँ ठाउँ जानेभन्दा पनि एउटै ठाउँभित्रको अनएक्स्प्लोर्ड (अज्ञात) ठाउँ वा माइक्रो डेस्टिनेसन (स–साना ठाउँ) मा जान मन पराउँछु । त्यही भएर एकै ठाउँ पनि धेरै चोटि पुगिरहेको हुन्छु । मुस्ताङ नै मोटरसाइकल चलाएर ५–६ चोटि गइसकेँ । त्यहाँका विभिन्न गाउँहरू टन्नै घुमेको छु । सबैतिर पुगिरहनुभन्दा एउटै ठाउँलाई अलि बढी समय दिनु राम्रो लाग्छ ताकि त्यहाँका मान्छेहरू चिन्न सकूँ, ठाउँलाई राम्ररी बुझ्न सकूँ । एउटै ठाउँमा फेरि–फेरि जाँदा एकदम द्रुत गतिमा बदलिरहेको अनुभव गर्छु । यहाँको परिदृश्यमा निकै परिवर्तन देख्न पाउँछु । जस्तोः कुनै वेला झरना थियो, अहिले छैन । यस्तो खालको परिवर्तन आफ्नै आँखाले देख्न पाएको छु । एकै ठाउँका फरक–फरक घरमा बस्दा फरक–फरक चालचलन बुझ्न र संस्कृतिमा भिज्न पाएको छु । जस्तै– विभिन्न प्रयोजनले म चार–पाँच चोटि मनाङ पुग्दा हरेक पल्ट बेग्लाबेग्लै घरमा बसेको थिएँ । बस्दाबस्दै तिनै परिवारको सदस्य जस्तो भएँ । त्यहाँको रीतिथिति र जीवनशैली नियाल्न पाएँ । मान्छे विभिन्न प्रयोजनले घुम्छन् । म अर्को जिन्दगी बाँच्न घुम्छु । घुम्नु भनेको फरक जिन्दगी बाँच्नु हो । अरूको जिन्दगी बाँच्दा वा हेर्दा आफ्नो दिमाग बढ्छ । जस्तै– भारतको कालिङपोङ गएर त्यहाँको कुनै संगीतकर्मीसँग घुम्यो भने उसले कसरी संगीत बनाउँछ, त्यहाँको रहनसहन कस्तो छ भन्ने अनुभव गर्न सकिन्छ । घुम्ने बानी बसाल्दा जिन्दगीलाई अलि बृहत् तरिकाले हेर्न सिकिन्छ । फरक ठाउँ र फरक परिस्थितिबाट जिन्दगीलाई हेर्न जानिन्छ । भ्रमणका क्रममा मैले नेपाल प्रति गुनासो गर्नेभन्दा गौरव गर्नेहरू धेरै भेटेको छु । सबैले नेपाल एकदम सुन्दर छ भन्छन् । कतिले त विश्वमा नेपाल मात्रै सुन्दर देश हो पनि भन्छन् । नेपाल धेरै कुरामा एकदमै पछाडि छ । तर, यही कुराले नेपाललाई बनाउँछ पनि । नेपालमा स–साना गाउँहरू छन्, चिटिक्क परेका घरहरू छन्, सानो परिवार अनि गोठमा थोरै गाईबस्तु हुन्छन् । नेपालको पहिचान नै थोरैमा पनि खुशी हुनु हो । अरू देशसँग दाँज्दा हामी विकसित नहोऔँला, तर हाम्रो छुट्टै बाँच्ने शैली, सरलता, आफ्नोपन छ । हो, हाम्रा गाउँठाउँ भौगोलिक रूपमा विकट छन् । एक किसिमले हेर्ने हो भने विकट हुनु पनि हाम्रा लागि वरदान हो । यही भएर त पर्यटकहरू आउँछन् । हाम्रा घुम्ने ठाउँ भनेका आधार शिविरहरू हुन् । उबर लिएर आइफेल टावर पुगे जस्तो सजिलो छैन । त्यहाँ पुगेर फर्कनु नै ठूलो कुरा हुन्छ ।

जे जस्तो छ, हामीले नेपालको सराहना गर्नुपर्छ । हामी विकसित छैनौँ त छैनौँ । विकसित नहुनुमा पनि आफ्नै सौन्दर्यबोध छ । सडक बन्नु, ट्याक्सी गुड्नु, अन्नपूर्ण र सगरमाथा हिमालमा केबलकार चल्नु मात्रै विकास होइन । त्योसँगै प्रदूषण आउँछ, आकर्षण घट्छ । बरु शिक्षामा जोड दिँदा नेपालको वास्तविक विकास हुन्छ । हाम्रो संस्कृति र प्रकृति सुहाउँदो विकास भयो भने बल्ल नेपाल ‘एडभान्स्ड’ भएको मान्न सकिएला । नेपालमा माया लाग्दा मान्छेहरू बस्छन् । नेपाली जस्ता राम्रा मान्छे अन्त कहाँ छन् ! अरू देशतिर जाँदा मान्छेहरू फोटो खिच्दा समेत रिसाउँछन् । यहाँ त फोटो खिचेको देख्यो भने हाँस्ने, खुशी हुने गर्छन् । संस्कृति र जीवनशैलीले मात्रै नभएर भौगोलिक बनोटले पनि हामीलाई सोझो बनाएको होला । हाम्रा अधिकांश ठाउँमा डाँडाकाँडा छन्, एक घरबाट अर्को घर निकै टाढा छ, यस्तो कुराले हामीलाई आइसोलेट (अलग) गरेको छ । हामीमा अतिरिक्त कमाउने लोभ पनि छैन, बाँच्न पुगे भयो । म प्रायः एक्लै हिँड्दिनँ । तीन जना भएर घुम्नु सबैभन्दा उत्तम लाग्छ । तीन जनामा समूह विभाजित हुँदैन । चार जना भयो भने दुई–दुई जना भएर हिँड्न थालिन्छ, चार जनाभन्दा धेरै भयो भने व्यवस्थापन गर्नै गाह्रो । शुरूशुरूमा घुम्दा मसँग पैसा र तयारी हुँदैनथ्यो । जहाँ गए पनि मान्छेले चिन्छन्, स्वागत गर्छन् । कसैले नचिन्दाको संघर्ष र रोमाञ्च छुट्टै हुन्छ । चिनिने भएपछि आफ्नै पाराले बस्न, हिँड्न पाइँदैन । यसो प्रकृतिको आनन्द लिएर बसौं भन्यो, मान्छेहरू खादा लगाइदिन आउँछन् ! तर, त्यो माया हो, ठीकै छ ।
म र मेरो टीमकोे ट्राभल भिडिओ निकै रुचाइएको छ युट्युबमा । हाम्रो प्रस्तुति कलाले पनि प्रभावित गर्छ शायद । प्रायः १८ देखि ३५ उमेर समूहले हाम्रो भिडिओ धेरै हेरेको पाएको छु । त्यसो त मैले युट्युबका लागि ट्राभल भिडिओ बनाउनुभन्दा धेरै अघिदेखि नै घुम्न थालेको हुँ । म पहिला जे थिएँ, त्यसलाई बाहिर ल्याउन युट्युब एउटा माध्यम बन्यो । युट्युबले मेरो जिन्दगीलाई बाटो देखाउनुभन्दा पनि आफ्नो जिन्दगीको बाटो मैले युट्युब मार्फत अरूलाई देखाएँ ।

comments powered by Disqus

रमझम