भदौ २०७८ | 17/08/2021

स्वैरकाल्पनिक ठेली

Share:
  
- गणेश खनिया
नेपाली साहित्यमा किताबको सेलिब्रेसन बनेर आएको कल्प–ग्रन्थभित्रका कथाहरूमा पूर्ववत् नगरकोटी शैली त छ, तर प्रयोगको भुमरीमा आख्यानको प्रभाव भने बिलाइजाने जोखिम छ ।

नाइजेरियाली मूलका अमेरिकी लेखक तेजु कोल लेखनमा बहुविधाको प्रयोगका लागि विख्यात छन् । शब्दसँगै फोटोग्राफी र चित्रकलाको अपूर्व संगम छ, उनका आख्यान र गैरआख्यानमा । उपन्यास वा निबन्ध पढ्दा घटनाको सचित्र वर्णनानन्द मिल्छ । हान कांग र खालिद हुसैनीका पछिल्ला कवितासंग्रहमा शब्द र तस्वीरको एकसाथ प्रयोगले पाठकको एकाग्रता तान्छ ।

आजभोलि दुई वा दुईभन्दा बढी विधाको मिश्रण कला बाक्लै देखिन्छ । आफ्नो रचनामा अन्य किताबबाट कुनै सन्दर्भ उल्लेख गर्ने पद्धति त धेरै सामान्य भइसक्यो । कुमार नगरकोटीको लेखनमा पनि विधाहरूको खप्ट्याइ, भञ्जन र बहुप्रयोग व्यापक हुन्छ । विगत दुई दशकदेखि लेखनरत नगरकोटीले स्वैरकल्पनामा अलग पहिचान बनाएका मात्र छैनन्, प्रयोगको अर्को नाम बनिसकेका छन् । उनको पछिल्लो किताब कल्प–ग्रन्थ पनि अनेकौं प्रयोगले भरिएको छ । प्रयोग अनुसार कथाहरूलाई इन्स्टलेसन स्टोरिज, परास्टोरिज, पोस्टकार्ड स्टोरिज, टाइपोग्राफिक स्टोरिज जस्ता विभिन्न खण्डमा बाँडिएको छ ।

ग्रन्थको पहिलो कथामा कथावाचक अल्जाइमर्सको बिरामी छ, जहाँ सम्पादकको टिप्पणी र प्रतिक्रिया सामेल गरिएको छ । यसमा स्कूले विद्यार्थीको उत्तरपुस्तिकामा शिक्षकले कोरे जस्तो पारामा हस्तलिपिमा सुझाव दिइएको पाण्डुलिपि कथा पढ्न सकिन्छ । यो नगरकोटीको कथा लेखनको बिल्कुलै नयाँ प्रयोग हो । तर, अर्को कोणबाट हेर्दा लेखकले पाठकलाई कल्पना गर्ने ठाउँ नै नराखेको प्रतीत हुन्छ । सम्पादन कलाको प्रयोगबाट पठनलाई निर्देशित र अतिरिक्त बोझिलो बनाइदिए जस्तो लाग्छ ।

सिर्जनामा टाइपोग्राफीको प्रयोग धेरै पहिलेदेखिकै हो । यो एस्थेटिक्स् अर्थात् सौन्दर्यबोधको पाटो पनि हो । टाइपोग्राफीमा लेखाइको ढाँचा, पृष्ठ संयोजन, रङको छनोट, अक्षरका आकार, अवस्थिति लगायत धेरै पक्ष प्रयोग हुन्छन् । बीसौं शताब्दीको शुरूआतमै अमेरिकी कवि इ.इ. कमिङ्स र विलियम कार्लोस विलियम्सले आफ्ना कवितामा टाइपोग्राफीको सघन प्रयोग गरेका थिए । त्यसैले यस्ता कवितालाई हेर्ने कविता पनि भनियो ।

नगरकोटीको ‘खग्रास’ कथामा भने टाइपोग्राफीको प्रयोग भरमार छ । पुस्तकको झन्डै एक चौथाइ भाग यही कथाका पानाले ओगटेका छन् । तर, टाइपोग्राफीले बोक्ने अर्थ कम देखिन्छ । उल्टापाल्टा, ठाडा–तेर्सा, मोटा–मसिना अक्षर संयोजनको उपादेयता झल्किँदैन । यति धेरै पाना केका लागि खर्च भए भन्ने प्रश्न उब्जिन्छ । किताब पाउन मोटो रकम अग्रिम भुक्तानी गरेका पाठकका लागि यो ‘पृष्ठ विलास’ बोझिलो भारी मात्रै बन्ने जोखिम छ ।

भारतीय गीतकार तथा लेखक गुलजारका अनुसार, लेखनमा व्यापकता ल्याउन र मानवीयता घोल्न कम्तीमा ४/५ भाषामाथि राम्रो पकड हुन आवश्यक छ । गुलजारको यो प्रस्तावनामा नगरकोटी खरो उत्रेका छन् । कथाहरूमा अंग्रेजी, हिन्दी, उर्दू, मैथिली, डोट्याली भाषाका अंशहरू नियमित अन्तरालमा भेटिन्छन् । उनै गुलजारको एउटा कथाको ट्रान्सक्रियसन समेत गरेका छन्, तर अलग अन्दाजमा । क्वार्टर साइजका पोस्टकार्ड कथाहरूले दुई दशकअघिसम्मको समय सम्झाउँछन् । ‘रेडियो’, ‘चप्पल’ जस्ता सशक्त कथा भएका ग्रन्थभित्र केही अति सामान्य कथा पनि छन् ।

सधैं झैं नगरकोटीको पात्र चयन पृथक् छ । पात्रहरू ओझेल पर्ने, गायब हुने भइरहन्छन् उनका कथामा । पात्रको नाम र प्रवृत्ति अचम्मका छन् । तर, अनौठा यी पात्रको नाम र अन्य तामझामको सापेक्षमा भूमिका भने फितलो देखिन्छ । ग्रे–स्टोरिज खण्डमा राखिएको ‘स्मृति–ग्रहण’ कथाका मुख्य दुई पात्रको समन्वयले कथाको शीर्षक त आकर्षक बनेको छ, तर कथानक र उनीहरूको भूमिका सामान्य छ । नेतागणलाई बाल–स्वरूपमा ढालेर गरिएको चरित्र चित्रण बाहेक ‘पिकनिक’ पनि खासै ओजपूर्ण लाग्दैन ।

पुस्तकः कल्प–ग्रन्थ
विधाः आख्यान
लेखकः कुमार नगरकोटी
प्रकाशकः बुक हिल पब्लिकेसन
पछिल्लो समय नगरकोटी राजनीतिक व्यङ्ग्य कथातिर बाक्लै लहसिएका छन् । यो ग्रन्थमा पनि त्यस्ता कथा छन् । ‘विद्या नष्ट’ पाराले राजनीतिक पात्रलाई कलात्मक उपहास गर्ने साहस र शैली बेजोड छ ।

नगरकोटीका सिर्जनामा रम्न अध्ययनको फराकिलो दायरा चाहिन्छ । सिनेमा, चित्रकला, संगीत र अन्य विधाका सामग्रीमा पहुँच र ज्ञान हुनुपर्छ । अनि रात, सपना, मृत्यु, चिहानबाट गुज्रँदै स्वैरकाल्पनिक दुनियाँको हावा महलमा पनि आनन्द मान्नुपर्छ, जसले रहस्यमयी र तिलस्मी दुनियाँमा पनि पुर्याउँछन् । उनको वर्णनमा पाठक लट्ठीने सम्मोहन त छ, तर कथा कता बग्दै छ भन्ने भेउ पाइँदैन । लख काटेको छेउटुप्पो मिल्दैन । कथा कतिखेर सकियो, अत्तोपत्तो हुँदैन । अनायासै विषय परिवर्तन भइरहन्छ, कथाको प्लटभित्र सब–प्लट खप्टिरहन्छ । स्वैरकल्पनाको मियोलाई फन्को मार्दामार्दै सकिन्छन् धेरै कथा । त्यसपछि के पढेँ भनी सोची ल्याउँदा केही याद रहँदैन । कथन शैली भने कथा पिच्छे फरक र आकर्षक छ ।

नगरकोटी स्वैरकाल्पनिक कथा बुनाइमा मग्न देख्दा समसामयिक यथार्थ लोक र सामाजिकसँग वास्ता नभएको लेखक ठान्नेहरू पनि छन् । नेपाली साहित्यका विशुद्धतावादी र कतिपय ‘लालफित्ता’ धारीको नजरमा त उनको लेखनको कुनै सामाजिक महत्वपूर्ण नै छैन । त्यो सोचलाई ‘कोरागाउँका किरियापुत्रीहरू’, ‘कलब्रेकर्स’, ‘झ्यालिन्चा’, ‘बुख्याँचा’, ‘फ्याक्ट्री’, ‘भल्चरावलोकन’ आदि कथाले खण्डन गर्छन् । ‘फ्याक्ट्री’ कथा त स्वैरकाल्पनिक भन्दा पनि विज्ञान कथा निकट लाग्छ । २०७६ सालमा काठमाडौंमा मञ्चित ‘माक्र्स फर्किए’ नाटकले जन्माएको ‘कार्ल माक्र्स सोल्ड आउट’ माक्र्सवादी अभ्यासमाथिको चोटिलो सामाजिक व्यङ्ग्य हो ।

सूधपा समूहका पारसमणि प्रधानको एउटा कवितांश छः ‘शब्द थुपारीकन के हुन्छ कविता ? भाव भए पो हुन्छ ।’ कविताका बारेमा उनले भनेको सन्दर्भ नगरकोटीका कथाहरूमा पनि लागू हुन्छ । उनी उस्तै आशयका शब्दावलीहरू प्रशस्त घुसाउँछन्, जहाँ शब्दविन्यासले त मुग्ध पार्ला, तर शब्द र भावको तादात्म्य खोज्नु बेकार हुन्छ । एक उदाहरण: ‘हल्लेलुला–ओ–हल्लेलुला । ह्वाट द हेल । द्याट वज् अ पर्फेक्ट सुफियाना आन्सर । सो ब्यूटीफुल एण्ड एनिग्मेटिक । तौबातौबा । या खुदा, मै मर जावाँ । हल्लेलुला–ओ–हल्लेलुला ।’

टाढाका ग्याब्रियल गार्सिया मार्खेजको त के कुरा, हाम्रै छेउका बाङ्लादेशी लेखक हुमायुन अहमद पनि स्वैरकल्पना बडो जतनले चलाउँथे । अहमदका सिर्जनामा प्रचुर हास्यरस भेटिन्छ । नेपाली आख्यानमा रहेको हास्यचेतको खडेरीबाट भने नगरकोटीले हामीलाई जोगाएका छन् । गम्भीर सन्दर्भले बोझिल भएको पाठकको मनलाई हास्य सन्दर्भले हलुका बनाइदिन्छन् ।

लेखकहरूलाई अग्रजहरूको प्रभावबाट मुक्त भएर आफ्नै ढंगले लेख्न सजिलो छैन । यही पक्षलाई समीक्षक ह्यारोल्ड ब्लुमले ‘एङ्जाइटी अफ इन्फ्ल्यूअन्स’ नाम दिएका छन् । नगरकोटीका कथामा पनि खोजी पस्ने भने कतै न कतैका, कसै न कसैका, केही न केही सन्दर्भ मिल्न जान्छन् । ‘स्तन–फूल’ कथामा हांग कानको प्रभाव देखिनु, ‘होटल फ्यान्टासी’ कथामा उडी एलेनको सिनेमा ‘मिडनाइट इन प्यारिस’ को झझल्को आउँछ । बाह्य प्रभावबाट मुक्त हुन नगरकोटी अकल्पनीय प्रयोग गर्छन् । तर, अलग बन्ने कोशिशमा उनका नजमेका कथा पनि यस ग्रन्थमा छन् ।

निरन्तर लेखिरहेका इटालीवासी एलेना फेरान्तेको वासस्थान, रूपाकृति, खास नाम, लिंगबारे आम जगत् बेखबर छ । उनका किताबबारे हुने छलफलमा प्रकाशक, अनुवादक उपस्थित हुन्छन् । रोलाँ वार्थले ‘डेथ अफ अथर’ मा प्रष्ट्याए जस्तो फेरान्तेका सन्दर्भमा लेखकको अस्तित्व गौण हुन्छ, कथा नै पाठकसँग संवाद गर्छन् । तर, फेरान्ते लोपोन्मुख प्रजाति जस्तो लाग्छ यो समय । अहिले लेखकको हाजिरीमा किताबमाथि निरन्तर बहस हुन्छ, लेखकका रायविचार सुनिन्छ । आफ्नै किताबबारे सत्र ठाउँमा सत्र थरी कुरा गरिरहेका हुन्छन् स्रष्टाहरू ।

केही वर्ष अघिसम्म नगरकोटी पनि किताब बजारमा गएपछि त्यसको पछाडि लाग्दैनथे । तर, दशौं ग्रन्थको माइलस्टोन भएर होला, यस पालि उनी निरन्तर सेलिब्रेसनमा छन्, सेलिब्रेटीसँग छन्, उनकै किताबका उपहार–प्रतिका साथ । जे होस्, कल्प–ग्रन्थ भौतिक किताबको सेलिब्रेसन पनि हो । हार्ड कभरको किताबमा आकर्षक ज्याकेटदेखि भित्रका लामा–छोटा कथाहरूमा पोखिएका अक्षर र विविध आकृतिको आफ्नै महत्वपूर्ण छ । अलग कलेवरमा पाठकको र्‍याकमा ठडिएको कल्प–ग्रन्थ ले भौतिक किताबको निरन्तरताको पैरवी गरे झैं लाग्छ ।

(सिभिल इन्जिनियरिङमा स्नातक खनियाले आयसारबाट अंग्रेजी साहित्यमा एम.फिल. गरेका छन् । अफ्रिकी र अरबी साहित्यमा विशेष रुचि राख्ने उनी अनुवाद गर्ने तथा समीक्षात्मक र व्यक्तिचित्रात्मक निबन्ध पनि लेख्ने गर्छन् ।)

comments powered by Disqus

रमझम