भदौ २०७८ | 17/08/2021

अंग्रेजीबाट लतारिएको नेपाली भाषा

Share:
  
- वसन्त थापा
शब्द निर्माण गर्दा हुन्छ र निर्माण गर्नु पनि पर्छ, आफ्नो भाषाको भण्डारलाई भरिपूर्ण बनाउने हो भने । नत्र अर्काको भाषाको भरौटे र लाचार छाया मात्र रहन जान्छौं ।

चिया कालो हुँदैन । यो बरु रातो हुन्छ, सुन्तले हुन्छ, गेरुवा हुन्छ, कलेजी हुन्छ र कागती निचोरेर हालेमा बरु हल्का पहेंलो रंगको देखिन सक्छ । यो ह्वीस्की जस्तो पनि देखिन सक्छ, पेट्रोल जस्तो पनि देखिन सक्छ । तर, कालो किमार्थ हुँदैन ।

साँच्चै कालो त दूध नहालेको कफी हुन्छ । तर, अचेलभरि दूध नहालेको चियालाई मानिसहरूले कालो चिया भन्न थालेका छन् । यसो भन्ने कारण के हो भने अंग्रेजीमा दूध नहालेको चियालाई ‘ब्लाक टी’ भन्ने गरिन्छ । पढालेखाहरूले त्यसलाई नेपालीमा कालो चिया भने अनि त्यही सिको गरेर मानिसहरूले कालो चिया भन्न थाले ।

दूध नहालेको चियालाई ‘फिक्का चिया’ भन्थ्यौं हामी केटाकेटीमा । अरूले पनि त्यही भन्थे । हो, यसले चिनी नहालेको अर्थ पनि दिन सक्छ, तर आमरूपमा फिक्का भन्नाले दूध नहालेको नै बुझिन्थ्यो । व्यवहारमा आइसकेको ‘फिक्का चिया’ छँदाछँदै त्यसलाई पन्छाएर त्यसको सट्टा ‘कालो चिया’ भन्नु आफ्नो छँदाखाँदाको भाषालाई बिगार्नु हो ।

खानाको हकमा पनि यस्तै भएको छ । कुनै रेस्टुराँ वा भोजनालयमा खाना खान गएमा ‘भेज’ कि ‘ननभेज’ भनेर सोधिन्छ । नेपालीले मन फुकाएर खाने मासुभात अचेल बोलीचालीमा ‘ननभेज’ भएको छ । मासु नभएको खाना ‘सादा’ हो । तर, त्यो ‘भेज’ भएको छ । कुनै सुरोले अंग्रेजीको ‘बफेलो’ शब्दलाई काटेर ‘बफ’ शब्द चलाइदियो, राँगाको मासुको ठाउँमा वा ठूलो खसीको मासुको सट्टा । यद्यपि अंग्रेजीभाषीले यसको माने बुझ्न सक्दैन । किनभने राँगाको मासु भनेर बुझाउने यो सही अंग्रेजी शब्द होइन । तर, त्यसलाई नेपाली जिब्रोले टिपिदियो र अहिले यो आम प्रचलनमा छ । त्यो त भयो भयो, अब कुखुराको मासु, खसीको मासु वा सुँगुरको मासु पनि कोही भन्दैनन् । तिनको ठाउँ चिकेन, मटन र पोर्कले लिएको छ । दालभात, खाजा, चमेना, कलेवाको कसले कुरा गर्ने ब्रेकफास्ट, लन्च, डिनरलाई छाडेर ?

काठमाडौंको पुरानोभन्सारमा एक व्यवसायीले बाहिरबाट बरफमा चिस्याइएको मासु, माछा र अन्य परिकार झिकाएर बेच्न ‘फ्रेस हाउस’ भन्ने पसल खोलेको थियो, केही नभए पनि ५५–६० वर्ष अगाडि । विदेशी ग्राहकलाई लक्षित गरेर खोलिएको त्यस प्रकारको पसलमा सम्भवतः सबैभन्दा पुरानोमध्ये त्यो पर्दछ । कालान्तरमा फ्रेस हाउस भनेकै मासु बेच्ने पसल भन्ने आम बुझाइ हुन गयो । फलतः हिजोआज काठमाडौं बाहिरका सबै शहर बजारमा फ्रेस हाउस नामका मासु बेच्ने पसल पाइन्छन् ।

‘श्रीमान्को कुटाइबाट श्रीमती घाइते’ वा ‘श्रीमती जागीरे श्रीमान् पसले’ भन्ने जस्ता समाचार बरोबर आइरहन्छन् । श्रीमान्–श्रीमतीको यो जोर शब्द अंग्रेजीको मिस्टर–मिसेजबाट तानिएको हो । मिस्टर–मिसेज शब्दमा आदरार्थी र औपचारिक दुवै भाव मिसिएको छ । त्यसैले अंग्रेजीमा मिस्टर मिसेजसित नाम जोडिएको हुन्छ, जस्तै मिस्टर मिसेज स्मीथ या मिस्टर फलाना वा मिसेज फलाना । तर, हामीकहाँ श्रीमान् श्रीमतीलाई पतिपत्नीको विकल्प वा पर्यायका रूपमा प्रयोग गर्न थालिएको छ । खासमा श्रीमान् भनेको श्रीयुत भने जस्तो हो । यसर्थ श्रीमान् पछाडि व्यक्तिको नामथर जोडिनु स्वाभाविक हुन जान्छ, जस्तै श्रीमान् शर्मा वा श्रीमती शर्मा । तर, अचेलभरि श्रीमान् भनेको पति र श्रीमती भनेको पत्नी भन्ने बुझाइ बन्न गएको छ । ठीकै छ, यस्तै चलन बस्यो । ‘बाइरोडको बाटो’ जस्तो, के पो गर्न सकिन्छ र ! हो, श्रीमान् घरको कि अदालतको भन्ने कहिलेकाहीं अन्योल हुन जान्छ, त्यो बेग्लै कुरा हो । तर, यसको एउटा परिणाम चाहिं के भयो भने लोग्ने–स्वास्नी, जोई–पोइ, पति–पत्नी, दम्पती, बूढा–बूढी जस्ता पहिले मनग्गे चलनचल्तीमा रहेका शब्दहरू ओझेल पर्दै गएका छन् । वास्तवमा लोग्ने वा स्वास्नी बुझाउनलाई जहान भन्ने गरिन्थ्यो जो अचेल अलप झैं भएको छ । अंग्रेजीको प्रताप !

माओवादी द्वन्द्वकालमा अखबारहरूमा ‘स्कर्टिङ’ भन्ने शब्द खुबै पढ्न पाइन्थ्यो । सेनाले वा प्रहरीले ‘स्कर्टिङ’ गरेर बस चलायो वा खाद्यान्न ढुवानी गरायो वा यस्तै प्रकृतिका समाचारहरू हुन्थे । त्यसको शाब्दिक अर्थ कहिल्यै खुलाइएन पनि र त्यसको जरूरत किन पर्‍र्‍यो, त्यो पनि थाहा भएन । तर, त्यसको चलन हदैसम्म भयो । यदि अंग्रेजीको भकअयचतष्लन भन्न खोजिएको थियो भने त्यसलाई सेना वा प्रहरीको पहरामा, निगरानीमा, सुरक्षामा भनी लेख्न सकिन्थ्यो अथवा अघि–पछि सेना वा प्रहरी लगाएर ल्याएको भन्न सकिन्थ्यो । त्यसरी मूल शब्दको उच्चारण एस्कोर्टिङलाई अशुद्ध पारेर ‘स्कर्टिङ‘९कपष्चतष्लन० लेख्नु बिल्कुल जरूरी थिएन । ‘स्कर्टिङ’ को अर्थ त अंग्रेजीमा अर्कै लाग्छ । कुनै बन्द, हडताल वा लामो आन्दोलन होस्, फेरि देखा पर्नेछ ‘स्कर्टिङ’ ।

खोजतलास वा खोजी भन्नु सट्टा अंग्रेजीको ‘सर्च’ लेखेको पनि पाइन्छ पत्रपत्रिकामा । हराएको वस्तु वा मानिस खोज्ने काम खोजतलास वा खोजी हो । कुनै गैरकानूनी वस्तु फेला पर्छ कि भनेर गरिने खोज खानतलास हो । जस्तो, प्रहरीले कसैको घरमा खानतलासी गर्छ । यी दुइटै अवस्था बुझाउनलाई ‘सर्च’ भन्ने गरेको पाइन्छ, मानौं हामीसित भएका शब्दहरू हराइसके ।

कुहिरो, हुस्सु, बादल, वर्षा वा हिउँले गर्दा दृष्टि क्षेत्र सीमित भएको वा राम्रोसित देख्न नसकिने भएको अवस्थालाई बुझाउन अंग्रेजीकै ‘भिजिबिलिटी’ शब्द चलाउने गरेको देखिएको छ । अनि नेपाल बाहिर विभिन्न मुलुकमा पुगेर बसेका नेपालीहरूलाई प्रवासी भनिँदैन, उनीहरूलाई ‘डायोस्पोरा’ भनिन्छ । कुनै अभियोग लागेको व्यक्ति वा बेवारिसे लास चिन्ने काम सनाखत गर्नु हो । चिन्न नसकिएकोलाई सनाखत हुन नसकेको भनिन्छ । तर, त्यसो नभनी ‘पहिचान नखुलेको’ भन्ने गरेको पाइन्छ, जो सरासर अंग्रेजी ‘आइडेन्टिटी’ को नक्कल हो ।

खेल सम्बन्धी समाचार, लेख, टिप्पणी आदिमा त अंग्रेजी शब्दको उपयोग छ्यासछ्यास्ती पाइनु कुनै नौलो कुरा भएन । किनभने प्रायःजसो आधुनिक खेलहरू हामीकहाँ बाहिरबाटै भित्रिएका हुन् । हाम्रो आफ्नै भन्नु त शायद डन्डीबियो, गिर तथा बाघचाल मात्रै होलान् । डन्डीबियो पनि भारतमा गुलिडन्डाका नामले खेलिन्छ । त्यस कारण खेलहरूसित सम्बन्धित प्राविधिक शब्दावलीहरू मूलतः अंग्र्रेजी भाषाका र अन्य विदेशी भाषाका हुनु स्वाभाविक हो । तर, खेलबारेको समाचार र विवरणमा समेत ‘क्लिन स्वीप’ वा ‘वासआउट’ जस्ता शब्दावलीहरू देखा पर्छन् ।

‘क्लिन स्वीप’ केवल खेलसित सम्बन्धित शब्दावली होइन । त्यो त कुनै पक्षको जीतको प्रकृति बयान गर्दा उपयोग गरिने अभिव्यञ्जना हो । राजनीतिक चुनावमा पनि उम्मेदवारले ‘क्लिन स्वीप’ गर्छ । त्यस कुरालाई अरू धेरै तरिकाले अभिव्यक्त गर्न सकिन्छ । खेलको जीत–हार वा परिणामबारे वर्णन गर्दा वर्णनकर्ताले कल्पनाशील भएर अनेक शब्दालंकार प्रयोग गर्न सक्छ । तिनलाई जस्ताको तस्तै उठाएर नेपालीमा राख्नु कुनै सिर्जनशीलता होइन । त्यसै गरी ‘वास आउट’ अरू सन्दर्भमा पनि प्रयुक्त हुन्छ । यसले कुनै टीम फितलो प्रदर्शन, नराम्रो हार, कसैको असफल प्रस्तुति भन्ने जताउँछ र यो खेलसंसारको पेवा शब्द होइन ।

खेलकुद विषयमा मात्र होइन, सबैतिर अंग्रेजीको बिगबिगी छ । डिस्कोर्स, करिडोर, प्लान्ट, फल्टलाइन, नेटवर्क, डाइभर्सन, होम डेलिभरी, लोडसेडिङ हामीले घरीघरी छापामा देखिरहने शब्द हुन् । आइसोलेसन, क्वारेन्टिनको त कुरै नगरौं ।

यी केवल नमूना हुन् । यसको फेहरिस्त निकै लामो बन्न सक्छ । कसै कसैले नेपालीमा लेखिने स्तम्भको शीर्षकधरि अंग्रेजीमा राखेको पनि पाइएको छ । हालसालै मेरो नजरमा ‘गेमचेन्जर’ भन्ने अंग्रेजी शब्द पनि पर्‍र्‍यो जो एउटा पत्रिकामा छापिएको लेखको शीर्षकमै थियो ।

अंग्रेजी जस्तो समृद्ध र गतिशील विश्वभाषासित कदममा कदम मिलाएर हिंड्ने सामथ्र्य हाम्रो भाषामा विकसित भइसकेको छैन । कुनै अंग्रेजी शब्दको ठ्याक्क मिल्ने नेपाली शब्द नहोला वा त्यसको नेपालीकरण गर्न नमिल्ला, जस्तो कोभिड वा कोरोनाकै उदाहरण लिऊँ । तर, त्यसो भन्दैमा जे–जे नयाँ शब्द प्रचलनमा आउँछन्, तिनलाई टपक्क टिपेर जस्ताको तस्तै उतार्नु बहादुरी होइन ।

हिजोसम्म ‘रोडसेस’ शब्द नेपाली समाजमा चल्तीमा थियो । विराटनगरमा त एउटा चालू चौबाटो नै ‘रोडसेस चोक’ भनेर चिनिन्छ । ‘सेस’ भनेको कर भन्ने बोध भएपछि त्यसलाई ‘सडक कर’ भन्न थालियो जुन कर देशका विभिन्न सडकहरूमा अहिले उठाउने गरिन्छ । अधिकृतलाई केही अघिसम्म अफिसर भनिन्थ्यो भने प्रहरीलाई पुलिस र सेनालाई आर्मी वा मिलिटरी । शब्द निर्माण गर्दा हुन्छ र निर्माण गर्नु पनि पर्छ, आफ्नो भाषाको भण्डारलाई भरिपूर्ण बनाउने हो भने । नत्र अर्काको भाषाको भरौटे र लाचार छाया मात्र रहन जान्छौं ।

अंग्रेजीको ठाडो नक्कलबाट अचेलभरि चलनचल्तीमा आएको अर्काे शब्द हो ‘लय’ । उदाहरणका लागि ‘पुरानो लयमा फर्कंदै’ जस्ता शब्दावली मनग्गे देख्न पाइन्छ पत्रपत्रिकामा । यो अंग्रेजीको रिद्म९चजथतजm० बाट तानिएको हो भनेर बुझ्नलाई धेरै दिमाग खटाइराख्न पर्दैन । तर, रिद्मलाई लय भनेर लेख्नेहरूले के बुझ्नपर्छ भने, रिद्मको वास्तविक अर्थ ताल हो, लय होइन ।

संगीतको मोटामोटी ज्ञान राख्नेहरूले पनि भन्न सक्छन्– ताल, सुर र लय संगीतका तीन आधारभूत कुराहरू हुन् । ताल रिद्म हो, सुर स्केल र लय भनेको ट्युन हुन्छ, अंग्रेजीमा रिद्म होइन । त्यसैले हामी भन्छौं– लय हालेर गायो, लय हालेर कविता वाचन गर्‍र्‍यो । तर, यहाँ हामी देख्छौं, ताललाई लय बनाइएको छ । नक्कलको परिणाम !

अंग्रेजीले पूरै धकेलेर विस्थापित गरिदिएको चलनचल्तीमा रहेका पहिलेका लवजहरूमा एउटा शब्दको चाहिं मलाई विशेष माया लाग्छ । त्यो हो, संगमरमर । हामी पर्‍र्‍यौं संगमरमर सा तराशा हुवा बदन’ भन्ने गजल पढ्ने पुस्ताका । अहिलेका पुस्ताले त संगमरमर भनेको के हो भनेर सोध्नेछन् । उनीहरूले केवल मार्बल भनेर जानेका छन् । हामीले जानेको ताजमहल संगमरमरले बनेको हो । अहिलेका पुस्ता भन्छन्, मार्बलले बनेको हो ताजमहल । ‘बूढा मरै, भाषा सरै’ भनेको यही होला ।

नेपाली शब्द हुँदै नभएको अवस्थामा अंग्र्रेजी शब्दको उपयोग गर्नु एउटा कुरा हो । तर, नेपाली शब्द हुँदाहुँदै जानाजान अंग्र्रेजी शब्द चलाउनु भने अर्काे कुरा हो । कुनै एउटा गैससले एकताका चलाउने गरेको रेडियो कार्यक्रममा ‘टोल फ्री’ फोन गर्नोस् भन्ने सन्देश आउँथ्यो । नेपालीमा त टोल मानवबस्तीको एउटा एकाइ हो । त्यसैले त्यसरी ‘टोल फ्री’ भनेको पटक्कै चित्त नबुझेर यस पंक्तिकारले फोनैमा शिकायत गर्दै त्यसको साटो ‘निःशुल्क’, ‘पैसा नलाग्ने’, ‘पैसा तिर्नु नपर्ने’ वा ‘सित्तैमा’ भन्न सकिन्छ भनेर सुझाएको थियो । नतीजा राम्रै भयो, त्यस्तो सन्देश प्रसार हुन छाड्यो ।

यस प्रकार शब्दहरूलाई विस्थापित गर्नु बाहेक अंग्रेजीले नेपालीको वाक्य गठन र संरचनामा समेत धक्का दिएर हामीलाई लतारिरहेको छ । भाषाविज्ञ शरच्चन्द्र वस्ती त्यसको उदाहरण दिंदै ‘म धन्यवाद दिन चाहन्छु’ भन्ने वाक्यलाई प्रस्तुत गर्छन् । उनी भन्छन्, यो अंग्रेजीको अभिव्यक्ति ‘आइ उड लाइक टु थ्यांक’ को सोझो र ठाडो अनुकरण हो । भन्नु पर्ने त ‘म धन्यवाद दिन्छु’ हो ।

त्यसै गरी अंग्रेजी प्रभावका कारण ‘प्रयोग’को प्रयोग पनि नेपालीमा हदै दर्जाको हुँदै गएको छ । यो प्रयोग आएको हो– अंग्रेजीको ‘युज’९गकभ० बाट । हामीले बुझ्यौं– ‘युज’ भनेको प्रयोग गर्नु हो भनेर । त्यसैले भन्छौं, ‘मास्कको प्रयोग गर्नुहोस्’ । ‘युज नेक्स्ट डोर’लाई हामीले ‘अर्काे ढोका प्रयोग गर्नुहोस्’ भन्ने बुझ्यौं । ‘अर्काे ढोकाबाट आउनुहोस्’ भन्न जानेनौं । यसको मतलब अब हामी ‘कुन कलमले लेख्नुहुन्छ’, ‘कुन मसी चलाउनुहुन्छ’, ‘कुन चामल खानुहुन्छ’ भन्नु भएन । ‘कुन कलम, कुन मसी, कुन चामल प्रयोग गर्नुहुन्छ’ भन्ने भयौं । यो हाँसोलाग्दो वाक्य संरचना हो र हाम्रो मौलिक होइन । तर, हामी हाँस्दैनौं र गम्भीर भएर भन्छौं– ‘मास्क प्रयोग गर्नुहोस्’ । हामी भन्दैनौं– ‘मास्क लगाउनुहोस्’ ।

नेपाली भाषामा प्राविधिक र वैज्ञानिक विषयका शब्दहरूको कमी होला वा पारिभाषिक एकल शब्दको अभाव होला र चलनचल्तीमा आइसकेका अंग्रेजी शब्दहरूको विकल्प पनि नहोला, तर त्यसो भन्दैमा हामीले हरेक कुराका लागि अंग्र्रेजीमै आश्रित हुनुपर्ने अवस्था पनि छैन ।

कतिपय मानिस खोजिपस्न अल्छी मानेर अंग्रेजी शब्द नै नेपालीमा घुसाइदिन्छन् । कोही अंग्रेजी भाषामा आफ्नो दखल देखाउन पनि त्यसो गर्छन् । अंग्रेजी शब्दलाई दायाँबायाँ केही नसोची छर्ने काम मूलतः दुई थरीबाट भइरहेछ– एउटा मीडिया (विद्युतीय र छापा दुवै) र पढालेखा बौद्धिक वर्गबाट जो अंग्रेजीमा सोचेर नेपालीमा लेख्ने गर्छन् । उनीहरूको बोलाइमा आधासरो अंग्रेजी मिसिएकै पाइन्छ र त्यसैको प्रतिविम्ब लेखाइमा पनि झल्किन्छ । यसो गर्दा दुवै थरीले आफूले लेखेको कुराको सम्प्रेषणीयता कस्तो हुन्छ र त्यसले नेपाली भाषालाई कति हानि पुर्‍र्‍याइरहेको हुन्छ, त्यो बिर्सेका हुन्छन् ।

अंग्रेजी विशाल शब्दभण्डार र विकासक्रमको लामो इतिहास भएको समृद्ध भाषा हो । विश्वमै यसको दबदबा छ । यसैले यसको आकर्षणमा पर्नु र यसबाट प्रभावित हुनु अस्वाभाविक होइन । तर, आफ्नो मौलिकता र निजी सत्त्व भन्ने कुरा पनि केही हुन्छ । हरेक भाषाको आफ्नै वैशिष्ट्य हुन्छ, सौन्दर्य र शौष्ठव हुन्छ । आफ्नै स्वरूप, ध्वनि र सुगन्ध हुन्छ । हाम्रो भाषामा पनि छ । त्यस मौलिक स्वरूपलाई यही रीतले बिटुल्याउँदै जाने हो भने यो आँग्ल–नेपालीमा परिणत हुन बेर लाग्नेछैन । अंग्रेजीले हामीलाई लतारेको भन्दा पनि हामी आफैं लतारिने प्रवृत्ति प्रदर्शित गरिरहेछौं, उसको प्रभाव र शान देखेर ।

यस्तै प्रवृत्तिलाई हो महापण्डित राहुल सांकृत्यायनले ‘दिमागी गुलामी’ भनेर इंगित गरेका । यस्तो मानसिक दासतालाई शिरोपर गरेर हामी लत्रिरहने कि आफ्नो निजत्वको संवद्र्धन गर्ने, त्यो हाम्रै हातमा छ ।

comments powered by Disqus

रमझम