‘हिमाल चिनौं’ स्तम्भ अन्तर्गत हामी नेपालका हिमाल, हिमाली क्षेत्र, जनजीवन अनि यस क्षेत्रमा खास योगदान गरेका व्यक्तिहरूको चर्चा र सम्झना गर्नेछौं। स्तम्भको शुरूआत कर्णेल जिमी रोबर्टस्बाट गरेका छौं, जसले नेपालमा पर्वतीय पर्यटनको औपचारिक शुरूआत गरे।
रोबर्टस्ले सन् १९६५ मा ‘माउन्टेन ट्राभल’ कम्पनी खोले, जुन नेपाल मात्र होइन एशियाकै पहिलो ट्रेकिङ व्यवसाय सञ्चालन गर्ने कम्पनी थियो। यस क्रममा उनले थुप्रै यस्ता पदमार्गको खोज गरे। र, अविवाहित रोबर्टस् ‘नेपाली पदयात्रा पर्यटनका पिता’ बने। सत्तरीको दशकमा सँगै काम गरेका पर्यटन व्यवसायी दिनेश गुरुङले यस पटक उनको सम्झना गरेका छन्।
पर्वतीय पर्यटनको कुरा गर्दा नबिर्सिइने नाम हो- लेफ्टिनेन्ट कर्णेल जेम्स ओवेन मेरिअन् रोबर्टस् अर्थात् जिमी रोबर्टस्। उनको जन्म ब्रिटिश शासित भारतको गुजरातमा २१ सेप्टेम्बर १९१६ मा भएको थियो। उनका बुबा स्कूलका हेडमास्टर थिए।
सन् १९३६ मा रोबर्टस् ब्रिटिश सेनाको कमिसन्ड अफिसर भए। उनको रेजिमेन्ट गोर्खा राइफल्स थियो। दोस्रो विश्वयुद्धताका बर्मामा देखाएको बहादुरीका कारण उनले सन् १९४२ मा मिलिटरी क्रस (एमसी) तक्मा पाए। सन् १९५४ मा रोबर्टस् मलाया खटिए।
त्यहीं कार्यरत रहँदा उनले ओबीई (अर्डर अफ ब्रिटिश इम्पाएर) तक्मा पाए। १९५८ मा सैनिक सहचारीका रूपमा काठमाडौंस्थित बेलायती दूतावास आएका रोबर्टस्ले १९६१ मा मेम्बर अफ भिक्टोरियन अर्डर (एमभीओ) सम्मान पनि पाए। र, त्यसको एक वर्षपछि लेफ्टिनेन्ट कर्णेलको ओहोदामा हुँदा सेवानिवृत्त भए।
युवाकालदेखि नै जिमी रोबर्टस्मा पर्वतारोहणप्रति रुचि थियो। त्यही भएर सन् १९३८ मै उनले काराकोरम पर्वतमालाको ७,८९० मिटर अग्लो म्यासरब्रुम चढेका थिए। उनी सन् १९५० मा बिल टिलम्यानको अन्नपूर्ण आरोहण अभियान दलमा पनि सामेल भएका थिए।
‘माछापुच्छ्रे रहस्य’
जिमी रोबर्टस् सन् १९५७ मा विलफ्रीड नोयससित माछापुच्छ्रे (६,९९३ मि.) चढ्न गए। तर, उनको टोली माछापुच्छ्रेको शिखरमा नटेकी त्यसको ५० मिटर तलबाटै फर्कियो। माछापुच्छ्रेलाई स्थानीय गुरुङ समुदायले ईश्वरको बास मानेर पूजा गर्ने भएकाले उनको टोलीले सो चुली नचढेको भनिन्छ। त्यस वेलादेखि अहिलेसम्म माछापुच्छ्रे कसैले चढेको छैन, सरकारले अनुमति पनि दिएको छैन।
रोबर्टस् सन् १९६० मा अन्नपूर्ण दोस्रो (७,९३७ मि.) र सन् १९६२ मा धौलागिरि चौथो (७,६६० मि.) आरोहण दलमा नेता थिए। पछि फेरि १९६५ मा सहनेताका रूपमा धौलागिरि चौथो आरोहण गर्न गए। सन् १९७१ मा सगरमाथा चढ्न गएको इन्टरनेशनल एभरेष्ट एक्सपिडिसनको उनी सहनेता थिए। त्यस टोलीको अर्का सहनेता नोर्मन डाइरनफर्थ थिए।
रोबर्टस् पर्वतारोहण दल सकेसम्म सानो र छरितो हुनुपर्छ भन्ने मान्यता राख्थे। सबै जना एभरेष्टमा खनिएको पनि उनलाई मन पर्दैनथ्यो। सानै भए पनि पहिले नचढेका हिमशिखरहरू चढ्नुपर्छ भन्ने उनको विचार थियो।
उनको अर्को शोख भनेको शिकार थियो। उनले सन् १९५० को आरोहण अभियानको समयमा ब्रिटिश म्यूजियमका लागि नेपालमा चरा संकलनको काम पनि गरेका थिए। पछि नेपालमा बस्न थालेपछि उनले पोखरामा पन्छी फार्म खोलेर त्यहाँ कालिज, बट्टाई, हाँसहरू पालेका थिए। त्यसका लागि उनी अमेरिकाबाट तिनको अण्डा झिकाउँथे। पहिलो बट्टाईको फुल उनले नेपालका विख्यात होटेलियर बोरिस लिस्यानोविचलाई बेचेका थिए।
उनको उद्देश्य फार्ममा कालिज उत्पादन गरी तिनलाई जंगलमा छाडेर विदेशीहरूलाई तिनको शिकारमा आकर्षित गर्ने थियो। पन्छी फार्मको रेखदेख सम्बन्धी तालीम लिन उनले पोखराका झलक थापा र बबी गुरुङलाई बेलायत पनि पठाए। तर, फार्म सफल हुन सकेन।
फोटोग्राफीको शोख पनि उनलाई उत्तिकै थियो। उनले एभरेष्ट, अन्नपूर्ण, धौलागिरि र अन्य हिमाली चुचुराहरूका तस्वीरहरू पोस्टकार्ड बनाउने कामको पनि शुरूआत गरेका थिए। काठमाडौंमा रंगीन पोस्टकार्ड छाप्ने राम्रो प्रेस नभएकाले उनी पोस्टकार्ड जापानमा छपाएर ल्याउँथे। उनीबाट ती पोस्टकार्डहरू थोकमा किन्ने पहिलो ग्राहक होटल शंकरका मालिक रामशंकर श्रेष्ठ थिए। होटल सोल्टीको ब्रोसरमा राखेको फोटो पनि उनले नै खिचेका थिए।
सन् १९६५ मा उनले माउन्टेन ट्राभल नामको कम्पनी खोलेपछि ट्रेकिङ वा पदयात्रा एउटा व्यवसायका रूपमा विकसित भयो। शुरूमा त्यस कम्पनीमा काम गर्नेहरूमा ब्रिटिश नागरिक माइक चेनी, दावा नोर्बु शेर्पा, झलक थापा आदि थिए। मैले पनि सन् १९७१-७४ सम्म त्यस कम्पनीमा काम गर्ने मौका पाएँ। दीपक लामा जस्ता एक-दुई जना बाहेक त्यहाँ काम गर्ने हामी सबै जना भूतपूर्व ब्रिटिश गोर्खा थियौं।
नेपालको ट्रेकिङ व्यवसायको कुरा गर्दा बिर्सन नहुने अर्को नाम माइक चेनी पनि हो। चेनी आफैं रिटायर्ड क्याप्टेन थिए। चेनी र रोबर्टस्ले नेपालका धेरै ठाउँका पदयात्रा मार्ग पत्ता लगाएर तिनलाई विदेशी पर्यटकमाझ लोकप्रिय बनाए। पूर्वी र मध्य नेपालका धेरैजसो पदयात्रा मार्ग पत्ता लगाएर तिनलाई चिनाउने जस चेनीलाई जान्छ भने पश्चिम नेपालको पदयात्रा मार्ग तय गर्ने श्रेय रोबर्टस्लाई। त्यसैले पनि उनलाई ‘नेपालको पदयात्राका पिता (फादर अफ ट्रेकिङ)’ भनिन्छ।
पर्यटकका लागि नेपालको पदयात्राबारे गाइडबूक लेख्ने स्टेफन बेज्रुुच्स्का पदयात्रा मार्गमा विवरणहरू प्राप्त गर्न रोबर्टस्कै माउन्टेन ट्राभलको कार्यालय धाइरहन्थे।
उसवेला ट्रेकिङ भनेपछि क्याम्पिङ गर्नु अनिवार्य थियो। अहिलेको जस्तो जताततै लज र होटलहरू थिएनन्। पदयात्रा मार्ग निर्जन ठाउँहरूबाट जान्थ्यो। त्यसैले चाहिने खानेकुरादेखि क्याम्पिङका लागि चाहिने पाल आदि सबै थोक बोकेर जानुपर्थ्यो। दश जना विदेशी पर्यटक समूहका लागि ६-७ जना क्याम्पिङ स्टाफ र ३० जना जति भरिया हुन्थे। गाउँका किसानहरू नै भरियाको काम गर्थे।
ट्रेकिङ सिजन खेती गर्ने समयमा नपर्ने हुनाले उनीहरूका लागि पर्यटकको भारी बोक्ने काम अतिरिक्त आम्दानीको स्रोत हुन्थ्यो। ट्रेकिङ ग्रुपलाई चाहिने सागसब्जी, अण्डा, कुखुरा, दाउरा गाउँमै खरीद गरिन्थ्यो र क्याम्पिङ स्थलको भाडा पनि गाउँलेहरूले पाउँथे। यस प्रकार ट्रेकिङबाट हुने आम्दानीको लगभग ३० प्रतिशत रकम गाउँघरमा पुग्थ्यो।
हिजोआज ठाउँ-ठाउँमा विमानस्थल बनेको र मोटरबाटो जहाँसुकै पुगेको हुनाले ट्रेक रुट छोटो हुन गएको छ। यसले गर्दा गाउँलेहरूको रोजगारीको अवसर पनि साँघुरिएको छ। तिनताका पदयात्रामा जाँदा गाउँघरमा ठूलो पैसा साट्न गाह्रो पर्थ्यो। सरदारको ज्याला दिनको रु.१५, कुकको रु.१२ र अन्य सहायक कामदारहरूको रु.११ मात्र ज्याला पाइन्थ्यो। सटही दर अमेरिकी मुद्रा १ को बराबर रु.१० पाइन्थ्यो।
अर्का ‘हिलारी’
पर्वतीय पर्यटनको विकासले गर्दा नै खुम्बु उपत्यकाको आर्थिक प्रगति भएको हो र समग्रमा शेर्पाहरूको जीवनस्तर उकासिएको हो। यसको श्रेय प्रथमतः एडमन्ड हिलारीलाई र दोस्रोमा जिमी रोबर्टस्लाई नै जान्छ। उसवेला माउन्टेन एक्सपिडिसन सञ्चालन गर्ने संस्था हिमालयन सोसाइटी थियो, त्यसपछि निजी स्तरमा खोलिएको पहिलो कम्पनी रोबर्टस्को माउन्टेन ट्राभल नै थियो।
पदयात्रा होस् या पर्वतारोहण, यी दुवै क्षेत्रमा शेर्पाहरूको भूमिका शुरूदेखि रहँदै आएको थियो। ट्रेकिङ व्यवसायका रूपमा विस्तार भएपछि उनीहरूको भूमिका पनि झनै बढ्न गयो। पछि पछि भरिया र अरू सहायक काममा तामाङ र राई समुदायका मानिस पनि संलग्न हुन थाले। उनले ट्रेकिङलाई नेपालको पर्यटनको एउटा मुख्य आकर्षण बनाए। पर्वतीय पर्यटन मार्फत गाउँलेहरूमाझ रोजगार सिर्जना गरेकोमा पनि रोबर्टस्लाई सम्झनुपर्ने हुन्छ।
उसवेला के पनि भनिन्थ्यो भने, कोही विदेशी नेपाल आएर बोरिसको रेस्टुँरामा नखाए, ऊ माउन्टेन फ्लाइटमा नउडे, टाइगर टप्समा नपुगे र माउन्टेन ट्राभल मार्फत ट्रेकिङ नगए नेपालको भ्रमण अधुरै हुनेछ!
ब्रिटिश अफिसर भईकन पनि कर्णेल रोबर्टस्को रवाफ देखाउने स्वभाव थिएन। जीवनशैली अत्यन्त साधारण थियो। उनी स्लीपिङ ब्यागमै सुत्ने गर्थे। उनको डाइनिङ, लिभिङ रुम र अफिस रुम सबै एउटै थियो। पारासुटबाट जम्प गर्दा उनको पुट्ठामा दख्खल परेको हुनाले उनी खोच्याएर हिंड्ने गर्थे। उनको एउटा बानी चाहिं अचम्मको थियो। उनी प्रायः पिठ्युँ फर्काएर बातचित गर्दथे।
रोबर्टस्ले नेपाललाई नै आफ्नो घर बनाए। यहीं ट्रेकिङको नितान्त नौलो व्यवसाय शुरू गरे, त्यसैलाई हुर्काए, बढाए। उनको पारिवारिक आफन्त कोही भए जस्तो लागेन। उनले पोखराका बबी गुरुङलाई धर्मपुत्र बनाएका थिए र पोखरामै १ नोभेम्बर, १९९७ मा आफ्नो प्राण त्यागे।
सैनिक सेवामा हुँदा उनले पाएका मेडलहरूको चर्चा माथि नै भइसक्यो। नेपालको पर्वतीय पर्यटनको थालनी र विकासमा गरेको महत्त्वपूर्ण योगदानको कदर स्वरूप उनलाई नेपाल सरकारले पनि गोरखा दक्षिण बाहु (तेस्रो)बाट पनि सम्मानित गरेको थियो।
नेपाललाई आफ्नो कर्मभूमि बनाएर यस देशलाई धेरै गुन लगाउने थोरै विदेशीमा पर्छन्, कर्णेल जिमी रोबर्टस्। आज उनलाई बिर्सनु हामी बैगुनी हुनु हो भन्दा अन्यथा नहोला।
माइक चेनी र जिमी रोबर्टस्ले त्यस वेला थालेका केही महत्त्वपूर्ण पदयात्रा मार्ग (ट्रेकिङ रुट) :