१० कात्तिक २०७० | 27 October 2013

आधाले पढ्दैनन् घोषणापत्र

Share:
  

चुनावी प्रचारप्रसारमा व्यस्त प्रमुख दलहरूले आ–आफ्ना एजेण्डा सहितका घोषणापत्र सार्वजनिक गरिरहेका छन् । राजनीतिक दर्शन, कार्यक्रम र योजना जनता समक्ष पुग्ने माध्यम घोषणापत्र हुने हुँदा यसले सर्वसाधारणको मत प्रभावित पार्न सक्ने आँकलन गरिन्छ । तर, गतसाता हिमाल ले प्रमुख ११ शहरमा गरेको सर्वेक्षणमा सहभागी ३५१ उत्तरदातामध्ये करीब आधाले दलहरूको घोषणापत्र नपढ्ने गरेको उत्तर दिए । ‘तपार्इंले राजनीतिक पार्टीहरूका चुनावी घोषणापत्र कत्तिको पढ्ने गर्नुभएको छ ?’ भनेर सोधिएको प्रश्नमा ४७.६ प्रतिशतले घोषणापत्र ‘पढ्दिन’ भन्ने जवाफ दिए । ४२.५ प्रतिशतले ‘पढ्ने गरेको छु’ र ९.४ प्रतिशतले ‘थाहा छैन’ भन्ने जवाफ दिए ।

दलहरूको घोषणापत्र पढ्नेमा सबैभन्दा धेरै मध्यपश्चिमाञ्चलका ५४ प्रतिशत भेटिए । मध्यमाञ्चलका ४६.६, सुदूरपश्चिमाञ्चलका ३६, पूर्वाञ्चलका ३२ र पश्चिमाञ्चलका २८ प्रतिशतले घोषणापत्र पढ्ने गरेको बताए । घोषणापत्र पढ्दिन भन्ने जवाफ दिनेमा सबैभन्दा धेरै पश्चिमाञ्चलका ६८ प्रतिशत भेटिए । घोषणापत्र पढ्ने गरेको जवाफ दिनेमा ५३.५ पुरुष छन् भने महिला २८.५ प्रतिशत मात्र । घोषणापत्र पढ्नेमा सबैभन्दा धेरै २५–३९ वर्ष समूहका ५६.१ प्रतिशत छन् ।

औपचारिक शिक्षाको पृष्ठभूमिका आधारमा घोषणापत्र पढ्ने फरकफरक भेटिए । स्नातकोत्तर तह वा सोभन्दा बढी पढेका ८१.६, स्नातक तहसम्म पढेका ७२.४, प्रमाणपत्र तहसम्म पढेका ३९.४ तथा एसएलसीसम्म पढेका ३३.३ प्रतिशतले घोषणापत्र पढ्ने गरेको बताए । ७५ प्रतिशत मधेशी जनजातिले घोषणापत्र नपढ्ने गरेको बताए । मधेशी दलित ६०, मुस्लिम ५०, पहाडी जनजाति ५५.४, पहाडी ४७.५, नेवार ४४.७ र पहाडी दलित ३५.७ प्रतिशतले पनि घोषणापत्र पढ्ने नगरेको जवाफ दिए ।

‘घोषणापत्र पढ्छु’ भन्नेलाई सोधिएको ‘पार्टीहरूको घोषणापत्रका लेखाइ र तिनको व्यवहारमा कत्तिको फरक पाउनुभएको छ ?’ भन्ने प्रश्नमा बहुसंख्यकले प्रतिवद्धता अनुसार काम नभएको बताए । ८२.६ प्रतिशतले ‘घोषणापत्र एकातिर व्यवहार अर्कोतिर’ भएको जवाफ दिए । १०.७ प्रतिशतले ‘घोषणापत्र अनुसार नै व्यवहार पाएको छु’ भन्ने उत्तर दिए भने ६ प्रतिशतले ‘थाहा छैन’ भने ।

चुनावी मत बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने अध्ययनले देखाएको छ । ‘तपाईंले चुनावमा भोट दिने पार्टीको बारेमा कहाँबाट वा कसबाट थाहा पाउनुहुन्छ ?’ भनेर सोधिएको प्रश्नमा २७.१ प्रतिशतले रेडियो सुनेर÷टीभी हेरेर, २३.६ प्रतिशतले पत्रपत्रिका पढेर भोट दिने पार्टीको बारेमा थाहा पाएको बताए । १९.१ प्रतिशतले सोही पार्टीका नेता कार्यकर्ताबाट, १३.४ प्रतिशतले घरमूलीबाट र १२ प्रतिशतले साथीभाइबाट भोट दिने पार्टीका बारेमा थाहा पाउने उत्तर दिए ।

बहुसंख्यक उत्तरदाताले आफैंले छानेको उम्मेदवारलाई भोट दिने बताए । ‘कुनै पनि पार्टी र उम्मेदवारलाई भोट दिंदा तपाईं कोबाट प्रेरित हुने गर्नुहुन्छ ?’ भनेर सोधिएको प्रश्नमा ४१.६ प्रतिशतले ‘कोहीबाट पनि प्रेरित हुन्न, आफैं छान्छु’ भन्ने उत्तर दिए । २१.४ प्रतिशतले ‘घरको मूलीबाट’, १९.७ प्रतिशतले ‘उक्त पार्टीका नेता वा उम्मेदवारबाट’ र १०.८ प्रतिशतले ‘साथीभाइबाट’ प्रेरित भएर भोट हाल्ने गरेको बताए ।

भोट दिंदा ‘घरको मूलीबाट प्रेरित हुन्छु’ भन्नेमा सबैभन्दा धेरै मधेशी जनजाति ३७.५ प्रतिशत छन् । पहाडी दलित २८.६, पहाडी २३.५, पहाडी जनजति २१.५, मधेसी १७.१ र नेवार १५.८ प्रतिशतले घरको मूलीबाट प्रेरित हुने उत्तर दिए । भोट दिंदा ‘कोहीबाट पनि प्रेरित हुन्न, आफैं छान्छु’ भन्ने उत्तर दिनेमा मधेशी ४८.६, पहाडी ४२.५, नेवार ४२.१, पहाडी जनजाति ४१.५, मधेसी दलित ४०, पहाडी दलित ३५.७, मुस्लिम १६.७ र मधेशी जनजाति १२.५ प्रतिशत छन् । साथीभाइबाट मत हाल्न प्रेरित हुनेमा सबैभन्दा धेरै नेवार १५.८, पहाडी जनजाति १५.४ प्रतिशत भेटिए ।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ ।

–सम्पादक

comments powered by Disqus

रमझम