यी मंगल मूर्तिहरूको दृष्टि अथवा दर्शनले भक्तजनहरूको जीवनमा मात्रै होइन, ऋतु सम्बन्धी प्राकृतिक वातावरणमा समेत प्रभाव पार्छ र सुवृष्टि हुन्छ भन्ने विचार थियो । मन्दिरभित्र स्थापना गरिएका मुख्य प्रतिमाको पूजा र दर्शनले त यो जुनीमा मात्रै होइन, अर्को जुनीमा समेत असर पार्छ भन्ने दृढ विश्वास थियो ।
पुरानो मन्दिर भत्कियो भने जीर्णोद्धार गर्ने तथा मन्दिरभित्र र बाहिर राखिएका प्रतिमा फुटे, भाँचिए विधिपूर्वक पूजा गरी अर्को नयाँ मूर्ति राख्ने चलन थियो । यस्तो कुराको उल्लेख प्राचीन संस्कृत ग्रन्थहरूमा र लिच्छविकालका अभिलेखहरूमा पनि अंशतः उल्लेख भएको पाइन्छ । यी मूर्तिहरू कसैले जानाजान फुटाइदेला अथवा चोरेर लैजाला भने डर प्राचीन कालमा कसैलाई थिएन ।
मध्यकाल (सन् ८७९–१७६९)मा भने परिस्थिति फरक भयो । भारतमा यही समयावधिको मध्यतिर मुस्लिम आक्रमकहरूको जगजगी थियो । यी मुस्लिम आक्रमकहरूको शासनमा नेपाल कहिल्यै परेन, तापनि सन् १३४९ मा काठमाडौं उपत्यकाले मुस्लिमहरूको भयंकर आक्रमण सहनुपर्यो । उनीहरूले पशुपतिको मूर्तिलाई समेत तीन टुक्रा पारे । भेटिए जति मूर्तिलाई पूर्णतया फुटाउन नसके तापनि विभिन्न मूर्तिहरूमा कुँदिएका देवीदेवताको नाक भाँचिदिए । फेरि यस्तो आक्रमण होला भन्ने त्रास पछिसम्म पनि थियो । त्यसैले प्रताप मल्ल (सन् १६४१–१६७४) आदि मल्लकालका राजाहरूले मूर्ति तथा कीर्तिस्तम्भ स्थापना गर्दा ती कृतिहरूसँग सम्बन्ध राख्ने शिलापत्रमा मैले स्थापना गरेका यी कृतिहरूलाई कसैले तोडफोड गरे भने पञ्च महापातक लागोस् भनेर लेख्न लगाए । तर, त्यसअघि प्राचीन काल र मध्यकालका कुनै पनि अभिलेखमा मूर्ति चोरे पाप लागोस् भनेर लेखिएको कतै देखिँदैन । चोरेर लैजानुपर्ने कुनै ठूलो कारण पनि नहुँदो हो ।
चोरीको थालनी
मैले अहिलेसम्ममा देखेको मूर्ति चोरीको सबैभन्दा पुरानो उल्लेख १८औं शताब्दीको ठ्यासफुमा लेखिएको वर्णनमा पाइएको छ । (वज्राचार्य, हनुमान्ढोका राजदरबार, पृष्ठ ५८) त्यो वर्णन अनुसार, सन् १७६५ मा हिजोआज भगवतीको मन्दिर भनिने हनुमान्ढोकामा रहेको सम्भवतः जगज्जय मल्लले बनाएको तीन तल्ले मन्दिरमा स्थापना गरिएको नारायणको मूर्ति चोरी भएको थियो । चोरीको कारण के थियो ? मैले अहिलेसम्म बुझ्न सकेको छैन, किनभने मूर्ति चोरीको शुरूवात अंगे्रजहरूले भारतमा रजाइँ गर्दाखेरि मात्रै भएको हो ।
प्राचीन वस्तुहरू अमूल्य हुन्छन्, तिनको सुरक्षा र अध्ययन हुनुपर्छ भन्ने पाश्चात्य बुद्धिजीवीहरूको विचार थियो र छ । यही विचार अनुसार, विभिन्न म्यूजियमहरूको स्थापना भए, देशविदेशका प्राचीन वस्तुहरूको संकलन शुरू भयो । यही प्रसंगमा धनी मान्छेहरूको व्यक्तिगत संग्रहालय पनि बन्न थाल्यो । बिस्तारै अध्ययनको दृष्टिकोणले मात्रै होइन कि, आर्थिक दृष्टिकोणले पनि प्राचीन वस्तुहरू सुनचाँदी जस्तै बहुमूल्य वस्तु बन्न पुगे ।
राजा महेन्द्रको पालामा र त्योभन्दा केही दशक अघिदेखि नै चीन, जापान आदि अरू देशका कलाकृतिहरू जस्तै नेपालका कलाकृति पनि विभिन्न अन्तर्राष्ट्रिय संग्रहालयमा सम्मानपूर्वक प्रदर्शित हुन थालिसकेका थिए । तात्कालिक दृष्टिकोण अनुसार, नेपालका लागि यो गौरवको कुरा थियो ।
महेन्द्रको मनसाय
नेपाल स्वतन्त्र देशका रूपमा मात्र होइन, आफ्नै कलाकृतिले भरिएको हिमालयको काखमा रहेको सुन्दर देशका रूपमा देशदेशावरमा प्रसिद्ध होस् भन्नर्रेाजा महेन्द्रको मनसाय थियो । त्यसैले फिलाडेल्फिया म्यूजियम अफ आर्टका सिनियर क्युरेटर स्टेला क्राम्रिशले नेपाली कलाको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजनाको प्रस्ताव राख्दा राजा महेन्द्र धे रै खुशी भए । देश बाहिर हुने प्रदर्शनीका लागि नेपालका कलाकृतिहरू केही समयका लागि मुलुक बाहिर लैजाने अनुमति पाउन केही गाह्रो भएन ।
सोथ्बी’ज भन्ने बहुराष्ट्रिय निगमको क्याटलगको बयान अनुसार, कुनै वेला राजा महेन्द्रले नेपालका लागि क्यानडाका राजदूत चेस्टर रोनिङलाई बाह्रौं शताब्दीको उठानमा बनेको एउटा महत्वपूर्ण धातुको मूर्ति उपहारका रूपमा दिएका रहेछन् । अहिले यो मूर्ति अमेरिकाको न्यूयोर्कस्थित म्यूजियम अफ आर्टमा रहेको छ ।
राजाले चिताए जस्तो नेपालको कलाकृतिले अन्तर्राष्ट्रिय सम्मान त पायो, तर नेपाली कलाको पहिलो प्रदर्शनी भएदेखिनै नेपालमा मूर्ति चोरी बढ्दै गयो । अवश्य पनि यस्तो भने चिताएका थिएनन् ।
त्यसै वेला नेपालमा भूमिसुधार भयो । यसले किसानहरूलाई निकै सुबिस्ता भयो । नेवारहरूको गुठीगानालाई भने ठूलो आघात पुर्यायो । जग्गाजमीनको आयस्रोत सुक्दै गएकाले धेरै शताब्दी अघिदेखि चलेर आइरहेका गुठीहरू राम्रोसँग चल्न सकेनन् । गुठीसँग सम्बन्ध भएका देवदेवताका मूर्तिहरू र चित्रपटहरूको दैनिक र वार्षिक पूजा बन्द हुँद गए र गुठियारहरूले चालै नपाउने गरी हराउन थाले । देवताको तस्वीर खिच्नु हुँदैन भन्ने विचारले जरो गाडेको हुनाल हराएका ती कलाकृतिहरूको दसी कोहीसँग पनि थिएन । त्यसैले ती कलाकृति विदेश पुग्दा फिर्ता ल्याउन नितान्त गाह्रो भएको छ ।
राजा महेन्द्रको पालामा भएको नेपाली कलाको अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रभाव विद्याको क्षेत्रमा पनि परेको थियो । कलाकृतिको इतिहासमा रुचि लिने विद्वान्हरूले यसै वेलादेखि नेपाली कलाको गम्भीरतापूर्वक अध्ययन गर्न थाले । हरेक वर्ष जस्तै नेपाली कला सम्बन्धी नयाँ लेखहरू तथा सचित्र ग्रन्थहरू प्रकाशित हुन थाले ।
दुःखको कुरा के छ भने, यी ग्रन्थमा प्रकाशित अनेकन् महत्वपूर्ण नेपाली कला अहिले हराउँदै गएका छन् । काठमाडौंको चाबहिलमा रहेको बुद्ध मूर्ति, मुम्बईको छत्रपति शिवाजी वास्तुकला संग्रहालयमा तस्वीर खिचिएको विष्णुको धातु मूर्ति, पाटनस्थित सौगल टोलको सूर्यको प्रस्तर मूर्ति, इटुम्बहालबाट चोरिएका पटचित्र नेपाली कलाकृतिको अध्ययन गर्न अति महत्वपूर्ण मानिएका छन् । हराएका यी चारै मूर्ति शैली र अभिलेखको आधारमा समय निर्धारण गर्न अत्यन्त उपयोगी सिद्ध भएका छन् । अभिलेखसँग सम्बन्ध जोडिएका यस्ता मूर्तिहरू धेरै छैनन् ।
चोरिएका यी मूर्तिहरू सबै अन्तर्राष्ट्रिय म्यूजियमहरूमा पुग्दैनन्, पुग्दा हुन् त कुनै दिन फिर्ता ल्याउन सकिन्थ्यो । तर, धे रैजसो दुर्लभ मूर्तिहरू चोरीचकारीको अन्धकारमा विलुप्त हुन्छन् । यो नै सबभन्दा ठूलो समस्या हो ।
सबभन्दा बढी चित्त दुखाइ त चाबहिलको बुद्ध मूर्ति हराएकोमा छ । धेरै वर्षअघि हराएको यो बुद्ध मूर्तिको अगाडि १५–२० फिट जति उत्तरमा लिच्छविकालको एक खण्डित शिलालेख पाइएका थियो । यो शिलालेख वास्तवमा कमलको आकारमा बनाइएको पादपीठको एक टुक्रा थियो । त्यसैले यस अभिलेखको सम्बन्ध अहिले हराएको बुद्ध मूर्तिसँग हुनसक्छ भन्ने अनुमान गर्न सकिन्थ्यो; तर कुनै प्रामाणिक आधार पाउन सकिएको थिएन । हालसालै उपर्युक्त पादपीठको अर्को टुक्रा भेट्टाइएको छ । (महेशराज पन्त, ‘जो शान्त पदमा जानुभयो’, नेपाल, राष्ट्रिय साप्ताहिक, वैशाख १५, २०७६) ।
यी दुवै टुक्रामा कुँदिएको अभिलेख पढेर हेर्दा राजा मानदेवको पालामा बुद्ध धर्ममा विश्वास गर्ने एक नारीले बुद्धको मूर्ति स्थापना गरी यस मूर्तिका लागि बनाइएको पादपीठमा सो अभिलेख कुँदिएको रहेछ भन्ने बुझिन्छ । अभिलेखमा उल्लिखित बुद्ध मूर्ति अहिले हराएको बुद्ध मूर्ति नै हुनुपर्छ भन्ने कुरा सजिलैसँग अन्दाज गन सकिन्छ । किनभने कलात्मक शैलीको हिसाबले त्यो मूर्ति र अभिलेखको समय एउटै देखिएको छ । त्यो मूर्ति नहराएको भए अहिले पाइएको दुवै टुक्रा पादपीठ जोडेर पादपीठको खाल्टोमा बुद्धमूर्तिलाई उभ्याएर हेर्न सकिन्थ्यो र मूर्तिको समय निश्चित गर्न सकिन्थ्यो ।
अगुवाको खाँचो
राजा मानदेवको पालामा बनेका नेपाली प्रस्तर मूर्तिहरूको सूक्ष्म अध्ययन भएको छैन । समयको हिसाबले यी प्रस्तर मूर्तिहरू भारतमा गुप्तकालका उत्कृष्ट मूर्तिहरू बन्नुभन्दा अघिका हुन् । त्यसैले उपर्युक्त चाबहिलको बुद्ध मूर्ति, चाँगुको गरुडको मूर्ति, लाजिम्पाट र तिलगंगाको त्रिविक्रम विष्णुका मूर्तिहरू नेपालको मात्र होइन, भारतको कलाको इतिहास अध्ययन गर्न पनि अमूल्य ठहरिएका छन् ।
बढ्दै गएको मूर्ति चोरी रोक्न केही त गर्नैपरेको छ । यो नेपालको मात्रै होइन, ठूलो अन्तर्राष्ट्रिय समस्या हो । आफ्नो देशको सम्पदाको संरक्षण हुनुपर्छ भन्ने कुरा अहिले नेपाली युवाले बुझ्न थालेका छन् । तर, यो समस्या कति जटिल छ भन्ने सबैले बुझेका छैनन् । त्यसैले हामी सबैलाई, कलाकृति सम्बन्धी अन्तर्राष्ट्रिय नीति र प रिस्थितिसँग परिचित देशका अगुवाहरूको सक्रिय नेतृत्वको आवश्यकता छ ।
संशोधन–मण्डलका पूर्व सदस्य वज्राचार्य संस्कृतज्ञ र कलैतिहासिक हुन् । अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट दक्षिण एशियाली भाषा र साहित्यमा विद्यावारिधि गरेका उनका फ्रग हिम एन्ड रेन बेबिज्ः मनसुन कल्चर एन्ड द आर्ट अफ एन्सेन्ट साउथ एशिया, नेप्लिज् सिजन्स्ः रेन एन्ड रिचुअल् लगायत थुप्रै पुस्तक प्रकाशित छन् ।