१० कात्तिक २०७० | 27 October 2013

‘परोपकारमै खर्च गर्छु’

Share:
  
हेम–सरिता पाठक एकेडेमीबाट २४ असोजमा टंकप्रसाद—रमादेवी पाठक पत्रकारिता पुरस्कार पाएका पत्रकार रवीन्द्र मिश्र भन्छन्, ““शिक्षा र स्वास्थ्यमा सहयोग र आपतकालीन राहत दिन रु.१० करोडको परोपकारी कोष बनाउन लागेका छौं ।””

यो पुरस्कार तपार्इंले किन पाउनु भएको होला ?

परोपकारी पत्रकारिता र सदाचारी समाज प्रर्वद्धनका लागि मैले गरेको प्रयासका लागि पुरस्कृत गरिएको जस्तो लाग्छ ।

पुरस्कार वापत पाउने दुई हजार डलर के गर्नुहुन्छ ?

लेखन र पुरस्कारबाट पाउने सबै रकम परोपकारी काममा खर्च गर्ने गरेको छु । यो रकम पनि म त्यस्तै काममा खर्च गर्नेछु ।

१० करोड रुपैयाँको परोपकारी कोष केका लागि हो, अहिलेसम्म कति जम्मा भयो ?

यो कोष शिक्षा, स्वास्थ्य र आपतकालीन राहतमा सहयोग गर्न बनाइएको हो । छानो चुहिएर वर्षमा ३ महिना पढ्न नपाएका विद्यार्थीलाई सहयोग गर्न एक–डेढ वर्ष लाग्ने भएपछि अक्षय कोष निर्माण गर्ने अवधारणा ल्याएका हौं । कक्षा कोठा, छानो, ब्ल्याक बोर्ड निर्माणमा सहयोग गरिरहेका छौं । मोतिविन्दुको अपरेशन नपाएर आँखाको ज्योति गुमाउने अवस्थामा रहेका र सिटामोल खान नपाएका दुर्गमका बिरामीलाई सहयोग गर्ने र अपाङ्गता भएकालाई ह्विलचेयर लगायत सामग्री पनि वितरण गर्ने योजना छ । कोषमा अहिलेसम्म रु. चार करोड जम्मा भइसकेको छ ।

रकम संकलनमा फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालको योगदान कस्तो छ ?

यो अभियानका लागि फेसबुक वरदान सावित भयो । सामाजिक सञ्जालले एकै पटकमा धेरै मानिसमा जानकारी पु¥यायो ।

हेल्प नेपालले १२ वर्षमा देखिने गरी के–के काम गरेको छ ?

५० भन्दा बढी विद्यालयलाई सहयोग गयौं । ४० वटा पुस्तकालय खोल्यौं । धुलिखेलमा ४० जना बालबालिका बस्न सक्ने बाल आश्रम ६–७ महिनाभित्र सञ्चालनमा ल्याउँदैछौं । दुर्गम क्षेत्रमा हेल्थ पोष्ट चलाएका छौं, अग्निपीडित, शीत लहर पीडितलाई सहयोग गरेका छौं ।

comments powered by Disqus

रमझम