असोज २०७८ | 17/09/2021

आगलागी र नागरिक बन्ने मेलो

Share:
  
- लोकञ्जन पराजुली
२००६ सालमा पोखरामा भएको आगलागीको त्यो घटना, जसले जनता रैतीबाट नागरिक बन्ने प्रक्रिया प्रारम्भ गर्‍यो।

२००६ सालमा पोखरामा भएको आगलागीको त्यो घटना, जसले जनता रैतीबाट नागरिक बन्ने प्रक्रिया प्रारम्भ गर्‍यो।

आगलागीपछिको पोखरा।
तस्विर सौजन्यः सुनिल उलक

२००६ सालको अन्तिम महीनाको अन्तिम अन्तिम दिन। अर्थात् चैत २९ गते, पूर्णिमा तिथि। पोखराको प्रमुख मन्दिर विन्ध्यवासिनीमा सदा झैं यस वर्ष पनि विशेष पूजा हुँदै थियो। शतचण्डी, रुद्री पाठ हुँदै थियो। यज्ञ गरिँदै थियो।

तिनताक विन्ध्यवासिनी मन्दिर रहेको थुम्कोमा आँपका बडा-बडा रूख थिए। एका-दुई त अद्यापि बाँकी छन्। तिनै रूखमुनि यज्ञको अग्नि बल्दै थियो। चरु हवन हुँदै थियो।

ठ्याक्कै कहिलेदेखि यो पूजा शुरू भयो कोही बताउन सक्दैन। उहिले-कहिलेदेखि विन्ध्यवासिनीमा दुवै दशैं (असोजे र चैते)को पूर्णिमामा यस्तो पूजा वर्षेनी हुँदै आएको थियो, र अद्यापि चल्दै छ। तर, यस पालि भने पूजा-प्रक्रियामा पहिले-पहिलेको रीतभन्दा केही भिन्न हुँदै थियो। यस पटक मन्दिरको पूजामा तान्त्रिक विधि समेत प्रयोगमा ल्याइएको थियो। र, बलि पनि दिइएको थियो।

यो नयाँ रीतका पछाडि राणा बडाहाकिम धनशमशेरको लहडले काम गरेको थियो। धनशमशेर तन्त्रमा विश्वास राख्थे; पछि तन्त्रका अध्येता पनि भए। पञ्चायतकालमा उनी प्रज्ञा प्रतिष्ठानमा मनोनीत भए, तन्त्रका अध्येता÷ज्ञाताकै रूपमा। उनले लेखेको तन्त्र सम्बन्धी पुस्तक प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ।

यसरी शुरू भयो आगलागी

राणाकाल आफ्नो उत्तरार्धमा थियो। तर, ढलिसकेको थिएन। त्यस्तो वेला बडाहाकिम जनरल धनशमशेरको चाहनालाई काट्ने हिम्मत कुन रैतीको हुँदो हो? तसर्थ, मन लागी-नलागी पण्डितहरू विन्ध्यवासिनीको मन्दिरमा बडाहाकिमले भने अनुरूप तान्त्रिक विधिपूर्वक पूजा-हवन गर्न लागे।

हुरीले गर्दा आँपको रूखको सुकेको एउटा
ठूलो हाँगो भाँचिएर यज्ञकुण्डको मध्यमै
खस्यो। आगोका फिलिङ्गाहरू उडे। हुरीले
उडाएर आगोलाई अलि तलपट्टि रहेको
मालअड्डा नजिकको औषधालयको छानामा
पुर्‍यायो। खरले छाएको औषधालयको
कच्ची घर क्षणभरमै ह्वारह्वार्ती बल्न थाल्यो।

यज्ञ सकिएको थिएन। दिउँसोको ‍तीन-साढे तीन बजेको हुँदो हो। अकस्मात् बेतोडले हावाहुरी चल्न लाग्यो। चैत महीना यसै खडेरी पर्ने र हावाहुरी आउने समय हो। तर, यो हावाहुरी भयङ्कर ठूलो थियो- हुरी भोगेका दुई जनाले धेरै वर्षपछि आफूले जिन्दगीमै त्यस्तो हावाहुरी नदेखेको मलाई बताएका थिए।

हुरीले गर्दा आँपको रूखको सुकेको एउटा ठूलो हाँगो भाँचिएर यज्ञकुण्डको मध्यमै खस्यो। आगोका फिलिङ्गाहरू उडे। हुरीले उडाएर आगोलाई अलि तलपट्टि रहेको मालअड्डा नजिकको औषधालयको छानामा पुर्‍यायो। खरले छाएको औषधालयको कच्ची घर क्षणभरमै ह्वारह्वार्ती बल्न थाल्यो। हुरी बेपत्तासँग चलेकै थियो; त्यहाँबाट आगो उडाएर हावाले पोखरा बजारका घर-गोठका छानामा पुर्‍यायो। र, त्यहाँबाट वरपरका बस्तीका घरका छानाहरूमा।

अहिले जस्तो फैलिएको थिएन पोखरा तिनताक। यो एउटा स-सानो बजार मात्रै थियो। पोखराका अलि हुनेखानेहरूका घर मात्र ढुङ्गाले छाइएका थिए। कर्कट पाताको चलन खासै शुरू भइसकेको थिएन। बजारकै पनि धेरै घर खरले छाइएका थिए। उसो त चैत-वैशाखको सुक्खा र उखुम गर्मी, त्यसमाथि खर, फुसका छाना भएका घर, धन्सार र गोठ। आगोलाई अरू के चाहिन्थ्यो? एकै छिनमा दावानल मच्चियो। बजार सबैजसो निमेषभरमै स्वाहा भयो।

नदीपुर, तल्लो मिरुवा, अधिकारी टोल, दमै गाउँ, अर्चलबोट, ठकुरी गाउँ, कसाइँ टोल, कोइराला गाउँ जताततैबाट धूवैँधूवाँको मुस्लो उठिरहेको थियो। धेरै घरका लत्ता-कपडा, अन्न, कागजपत्र सबै जले। ‘गाई, घोडा, बाख्रा, जीवजन्तु यति परे भन्ने लेखो’ भएन। बजारको एउटै घरका पाँच जनाले र अरूले पनि ज्यान गुमाए। नदीपुरपट्टि तीन जनाको मृत्यु भयो, जसमध्ये हाम्री हजुरआमा पनि एक हुनुहुन्थ्यो।


पोखरामा भयङ्कर आगलागी

पोखरा, चैत्र २९ गते। आज दिनको अन्दाजी ३।। बजेको समयमा श्री विन्दवासिनी माईको स्थानमा ब्राह्मणहरूबाट सतरुद्री, चण्डी होम पाठ भएको थियो, त्यस अवस्थामा अकस्मात हुरी चलेछ। केही वेरपछि नजीकको आयुर्वेदीय औषधालय कच्चीघर जल्न लागेको देखिएछ, सो घर जल्न लागेको देखी वरपर सबै मानिसले आगो निभाउने प्रयत्नमा लागेछन्। केही मिनटबाद बजारकै बीच (?) कच्ची र पक्की घरहरू त्यस भयङ्कर हुरीले आगाको फिलिङ्गा (?) जल्न थालेको देखिएछ। १५।२० मिनटभित्र अंदाजी २२।२५ सय घर जलेछन्। यस अग्निकाण्डमा एउटा समरबहादुर नेवारका जम्मा ५ जना जहान जलेर खरानी भएछन्। नदीपुर पट्टिको लाइनमा ३ जना परेछन्। गाई, घोडा, बाख्रा, जीवजन्तु यति परे भन्ने लेखो छैन। आँधी बेहरीमा घर जलेकाले लत्ताकपडा अनाज कसैले झ्क्नि पाएनन्। हुलाकको पनि केही कागजात ५७। परेछन् (?)। सारा बजारका कच्ची पक्की घर र दमै गाउँ, ठकुरी गाउँ, पोडे गाउँ, कोइराला गाउँ सबै जली खाक भएकोले पोखरा बजार उजाड भएको भन्ने खबर छ।

(गोरखापत्र, वैशाख ९, २००७, पृ. १)

भूलसुधार

संख्या ४ गो.प. मा छापिएको “पोखरामा भयङ्कर आगलागी” शीर्षक खबरमा ४ सय ७५ घर हुनुपर्नेमा सं.दा.को भूलबाट अन्दाजी २२-२५ सय घर भन्ने छापिएछ। सच्याई पढ्नु होला।

(गोरखापत्र, वैशाख १२, २००७, पृ. १)


पोखरा खाक भयो, उजाड भयो, सरकारी मुखपत्र गोरखापत्रले घटना भएको १० दिनपछि (वैशाख ९, २००७) लेख्यो। गोरखापत्रको पहिलो पृष्ठमा छापिएको समाचारमा ‘अन्दाजी १५।२० मिनेटमा २२।२५ सय घर खरानी’ भए भनिएको छ (हेर्नुहोस् बक्स)। खासमा, पोखरा बजारमा उवेला त्यति धेरै घर छँदै थिएनन्। त्यसैले, लगत्तैको अर्को अङ्कमा गोरखापत्रले आफूलाई सच्याउँदै लेख्यो- ‘४ सय ७५ घर हुनुपर्नेमा सं.दा.को भूलबाट अन्दाजी २२-२५ सय घर भन्ने छापिएछ। सच्याई पढ्नु होला।’

उद्धार र सहयोग

पोखरा बजारमा आगलागी भएको यो पहिलो पटक थिएन। तर, सम्पूर्ण बजार र छेउछाउका बस्ती नै ध्वस्त पार्ने गरी आगलागी चाहिं यसअघि भएको थिएन। बडाहाकिम धनशमशेरले २००६ सालका अग्निपीडितहरूलाई ‘सम्बोधन’ गर्ने क्रममा त्यसअघि पोखरामा ६-६ पटक आगलागी भइसकेको बताएको पाइन्छ। यद्यपि, ती आगलागीको ‘स्केल’ वा तिनले गरेको खतिबारे सो भाषणमा केही बोलिएको छैन। प्रश्न गरिएको छ- ‘यसदेखि अघि यो पोखरामा छ चोटि अग्निकाण्ड भइसक्यो तिमीहरूले के पाएका थियौ?’

यो प्रश्नबाट के पनि बुझ्न्छि भने, त्यसअघि सरकारले वा शासकले त्यस्ता ‘दैवी विपत्ति’ पर्दा रैतीलाई खासै सहयोग गर्दैनथे। आजकाल जस्तो ‘क्षतिपूर्ति’ को भाषा त्यति वेला प्रचलनमा आइसकेको थिएन। यद्यपि, १९९० सालको महाभूकम्पमा परी घर भत्किएकाहरूलाई आफ्ना थातबास पुनर्निर्माण गर्न तात्कालिक सरकारले ऋण उपलब्ध गराएको थियो र पछि सो ऋण ‘माफी’ गरिएको थियो भन्ने पढ्न पाइन्छ। यस्तो ऋण/पुनर्निर्माणमा करीब २९ लाख रुपियाँ खर्च भएको बुझ्न्छि।

‘फाल्गुन ३० गतेका दिन पोखरा बजारमा
जलेको १५ घरमध्ये ३ घरका मानिस साह्रै
गरीव हुनाले घरबास गरी खान बस्न नसक्ने
बेहोरा बडाहाकिम श्री मे.ज. धनशमशेर
जङ्गबहादुर राणाबाट सरकारमा जाहेर हुँदा
नीज गरीवहरूलाई खानाखर्च मो.रु. २०। र
घर बनाउन मो.रु. ५०। जम्मा मो.रु.
७०-७० का दरले दिनू भन्ने खड्गनिसाना
सनद भैआएको हुनाले पोखरा तहसिल
मार्फत हातहातै बाँडियो।’

त्यस्तै, पोखरा बजारमा २००६ सालको अग्निकाण्डअघि अलि ठूलो आगलागी १९९८ सालको फागुन ३० गते भएको थियो, जसमा १५ घर सखाप भएका थिए। र, सो आगलागीमा परेकामध्ये केहीलाई सानो रकम सरकारले सहायता उपलब्ध गराएको देखिन्छ। १९९९ जेठ ९ को गोरखापत्रको समाचारमा भनिएको छ:

‘फाल्गुन ३० गतेका दिन पोखरा बजारमा जलेको १५ घरमध्ये ३ घरका मानिस साह्रै गरीव हुनाले घरबास गरी खान बस्न नसक्ने बेहोरा बडाहाकिम श्री मे.ज. धनशमशेर जङ्गबहादुर राणाबाट सरकारमा जाहेर हुँदा नीज गरीवहरूलाई खानाखर्च मो.रु. २०। र घर बनाउन मो.रु. ५०। जम्मा मो.रु. ७०-७० का दरले दिनू भन्ने खड्गनिसाना सनद भैआएको हुनाले पोखरा तहसिल मार्फत हातहातै बाँडियो।’

माथिका दुई उदाहरणले शासकले केही रैती (गरीबतम)लाई आपत्-विपत्मा कहिलेकाहीं केही सहयोग गरेको जस्तो देखिन्छ। पोखरा बजारको पछिल्लो (२००६ सालको) आगलागीमा पनि प्रारम्भमा खासै सहयोग गर्ने इच्छा नदेखाए पनि अन्ततः राज्य केही सहयोग गर्न बाध्य भयो। वैशाख महीनामा स्थानीय बडाहाकिमले ‘आगोमा घरद्वार परेका, कम हैसियतवाला अर्थात् विपन्नहरूलाई खाने अन्न तथा बस्ने आश्रय दिनलाई’ मो.रु. ३,००० खर्च गरेको उल्लेख गरेका छन्। त्यस्तै, ‘घरद्वार नभएका ज्यालावनी गरी खानेहरूलाई सहायताका रूपमा मो.रु. १,३९५ र सहायतार्थीहरूलाई २०० मन चामल आधा मोलमा वितरण गर्दा भएको नोक्सानी र ढुवानी खर्च’ मो.रु. १०,२७२ खर्च गरेको सरकारी दाबी पाइन्छ।

गोरखापत्रमा ‘नेपाल प्रचार विभाग’ का तर्फबाट छापिएको खर्चको फाँटवारी हेर्ने हो भने सरकारले सो आगलागीमा परेकालाई मद्दत गर्ने क्रममा (अन्न, ढुवानी खर्चदेखि निर्ब्याजी ऋणसम्म) करीब अढाई लाख रुपियाँ (मो.रु. २,५४,४८३) खर्च गरेको देखिन्छ। यो सहयोगमध्ये ठूलो हिस्सा (दुई-तिहाइ जति) अग्निपीडितहरूलाई घर निर्माण गर्न दिइएको निब्र्याजी ऋण छ। जम्मा २१९ परिवारले यस्तो निर्ब्याजी ऋण पाउने भएका थिए, जसमध्ये २२ जनाको ‘मूलघर’ थिएन। अर्थात् उनीहरू एउटै घरमा छुट्ट-भिन्न भएर छुट्टै भात-भान्सा गरेर बसिरहेका थिए। भूकम्पपीडितले जस्तै यी निब्र्याजी ऋण पाउनेहरूले सो ऋण रकम फिर्ता दिनु पर्‍यो-परेन, यसै भन्न सकिन्न।

२००७ सालको जनक्रान्तिमा आन्दोलनकारीसँग
माफी माग्दै बडाहाकीम धनशमशेर।

सरकारी खजानाबाट छुट्याइएको जम्मा रकमलाई नष्ट भएका भनिएका ४७५ घरसँग हिसाब गर्दा सालाखाला रु. पाँच सय प्रति परिवार सरकारले खर्च गरेको देखिन्छ, जुन एक दशक अगाडि तीन परिवारलाई दिएको ७०-७० रुपियाँको लेखा ठूलो रकम हो। यद्यपि, यसमध्येको ठूलो हिस्सा निब्र्याजी ऋणका रूपमा दिइएको थियो। यसरी प्रारम्भिक अरुचिका बावजूद पोखराका आगलागी पीडितलाई सहयोग गर्नुपर्ने राज्यको बाध्यता पछाडि दुई कारण प्रमुख रूपमा जिम्मेवार छन्- एक, आगलागीमा शासक स्वयंको ‘संलग्नता’ र दुई, बदलिँदो राजनीतिक परिस्थिति। यी दुई कारणबारे अब चर्चा गरौं।

‘क्षतिपूर्ति’ को मागदाबी र राजनीतिक बाछिटा

२००६ सालको अग्निकाण्डपछि पोखरामा एक खाले असन्तुष्टि भित्रभित्रै मच्चियो। सरकारी र सामान्यजनका तर्फबाट यसलाई दैवी विपत्ति भनिएको थियो। तर, यो दैवी विपत्ति आउनु अर्थात् बोलीचालीको भाषामा ‘देवी रिसाउनु’ मा परम्परागत पूजा-विधिमा गरिएको छेडखानी कारक रहेको आमजनको बुझइ थियो।

उहिले-कहिलेदेखि चलिआएको पूजा-विधि छाडेर तान्त्रिक विधि अपनाउनु र बलि दिनुमा पण्डितहरूको दोष देखे केहीले। अर्को समूहको बुझइमा भने पण्डितहरूलाई परम्परागत विधि छाड्न बाध्य तुल्याउने मूल नाइके त बडाहाकिम धनशमशेर थिए। तर, राणा-कालमा राणा जनरल विरुद्ध खुल्लमखुल्ला आवाज उठाउने ल्याकत अग्निपीडितको थिएन।

त्यसैले, उनीहरूको आक्रोशको तारो पण्डितहरूतर्फ सोझ्यिो। यहाँसम्म कि, उनीहरूले यज्ञमा सरिक पण्डितहरूको घर लुट्ने तयारी गरेको समेत हल्ला फैलियो। यस्तो हल्ला फैलिएपछि पोखराका व्यापारी र चल्तापुर्जा युवा प्रेमराज मुल्मीले आफ्ना बाटुलेचौरका साथी मुक्तिनाथ शर्मालाई खबर गरे।

अग्निकाण्डपछिका गतिविधि पीडितहरूको
क्षणिक आवेगको उपज मात्र हुँदो हो त
यसलाई एउटा ‘आइसोलेटेड इन्सिडेन्ट’ का
रूपमा पनि व्याख्या गर्न सकिन्थ्यो। तर,
यसअघि पोखरामा नजानिँदो हिसाबले
अलि चल्तापुर्जा युवाहरूले सङ्गठित
गतिविधि गर्न थालिसकेका थिए। आवरण
सामाजिकै थियो, तर भित्रभित्रै राजनीति
गहिरो गरी ‘घुसिसकेको’ थियो।

पोखराका गिनेचुनेका विद्वान्‌ र चल्तापुर्जामध्ये गनिन्थे मुक्तिनाथ शर्मा (उनी २०१५ सालमा माथिल्लो सदन महासभामा मनोनीत भएका थिए)। पहिले नेपाली भाषा प्रकाशिनी समितिमा पण्डित रहिसकेका उनी पछि आधार शिक्षाको तालीम लिएर पोखरा फर्की २००५ सालदेखि बाटुलेचौरमा आधार स्कूल खोलेर बसेका थिए।

अर्को वर्ष सोही तालीम लिएका लमजुङका श्रीकान्त अधिकारी (जो पछि २०१५ सालमा प्रतिनिधि सभाको सांसद चुनिए) पनि सोही स्कूलमा शिक्षक बनेर आएका थिए। मुक्तिनाथ, श्रीकान्त, ऋषिकेशव पराजुली, अनगारिका धर्मशीला, प्रेमराज लगायत पोखराका अलि पढेलेखेका र सामाजिक कार्यमा संलग्नहरू भित्रभित्रै नेपाली कांग्रेस पार्टीमा जोडिइसकेका थिए।

मुक्तिनाथ लेख्छन्ः ‘आगो विन्ध्यवासिनीमा होम गर्दा निस्किएको थियो र त्यहाँ होम गर्ने पण्डितहरूप्रति क्षुब्ध जनता एक दिन पण्डितहरूको घर लुट्ने तरखरमा थिए। भेला पनि भइसकेका थिए; त्यो देखेर प्रेमराज मुल्मीले मलाई अति जरुरी छ भनेर मानिस लिन पठाए, म गएँ। सम्मिलित मानिसहरूलाई मैले राम्रोसँग सम्झएको थिएँ। तिमीहरू पीडित छौ, नोक्सानमा छौ, तर दुई चार जना पण्डितको घर लुटेर २-४ सय ल्याएर यो सबैको क्षतिपूर्ति हुँदैन। बरु उल्टो लुटेरा भनेर बदनाम मात्र हुन्छ। त्यसैले सरकारसँग माग गर्नुपर्छ भनेर ९० सालको काठमाडौंको भूकम्प र सरकारी सहायताको कुरा सम्झएँ, सबैले माने।’

यसपछि अग्निपीडितहरूका तर्फबाट प्रधानमन्त्रीकहाँ क्षतिपूर्तिका लागि निवेदन लेखियो। त्यस बाहेक, सरकार विरुद्ध पर्चाबाजी पनि भयो। यस्तो हस्तलिखित पर्चाबाजी गर्नेमध्येका एक यज्ञप्रतापजङ्ग राणा थिए। यसरी एकतर्फ सरकार विरुद्ध पर्चाबाजी, अर्कोतर्फ नाराजुलूस र लुटपाटको तयारी एवं क्षतिपूर्तिका दाबी सहितको फिरादपत्रले पोखरामा अर्कै वातावरण तयार भयो। राजनीतिक माहोल गर्मायो। स्थानीयदेखि केन्द्रदेखिका शासकलाई यसले अलि झ्स्कायो।

यो अग्निकाण्डपछिका गतिविधि पीडितहरूको क्षणिक आवेगको उपज मात्र हुँदो हो त यसलाई एउटा ‘आइसोलेटेड इन्सिडेन्ट’ का रूपमा पनि व्याख्या गर्न सकिन्थ्यो। तर, यसअघि पोखरामा नजानिँदो हिसाबले अलि चल्तापुर्जा युवाहरूले सङ्गठित गतिविधि गर्न थालिसकेका थिए। आवरण सामाजिकै थियो, तर भित्रभित्रै राजनीति गहिरो गरी ‘घुसिसकेको’ थियो। खास गरी उत्तर भारतीय शहरहरूमा सक्रिय नेपालीहरूले नेपालमा राजनीतिक परिवर्तनका लागि नेपाली राष्ट्रिय कांग्रेस (स्थापना विसं. २००३) र नेपाल प्रजातन्त्र कांग्रेस (स्थापना विसं २००४) नामक दलहरू खोलेर सङ्गठन विस्तार गर्न थालेका थिए।

पोखराको प्रमुख औषधालय, २००६ साल।

ती दुवै दलका सङ्गठक (श्रीभद्र शर्मा, हरिप्रसाद शर्मा, आदि) गुप्त रूपमा पोखरा आइवरी सङ्गठन बनाइसकेका थिए- केही युवाहरू रगतले हस्ताक्षर गरेर सदस्य बनिसकेका थिए। र, तीमध्ये साधुको भेषमा भित्रिएका एक सङ्गठक (हरिप्रसाद शर्मा उर्फ काना बाबा)लाई स्थानीय सरकारले पक्रन खोजेको सुइँको पाएर उनलाई रातारात पोखराबाट कार्यकर्ताहरूले भगाए। उनलाई बीच बाटैमा पक्रन सरकार सफल भयो। उनको डायरीमा भएका नाउँका कारण केही स्थानीयले पनि पक्राउ खाए।

त्यस बाहेक, तिनै चल्तापुर्जा युवाहरू एकगठ भएर पोखराको नदीपुर, नारायणस्थानमा अंग्रेजी पढाउने आधुनिक विद्यालय (पोखरा पब्लिक मिडिल स्कूल) खोल्न सफल भएका थिए- २००६ सालको मंसीरमा। त्यसअघि उनीहरूले फेवातालमा गएर सामूहिक रूपमा हलो जोतिसकेका थिए, जसले गाउँशहरभरि हल्ला मच्चायो। जात-भात-पानी हटक गर्ने-नगर्ने कुरा भए। विभिन्न जातका यी युवाले एक-अर्कासँग शेयर नगर्ने तमाखु-हुक्का शेयर गर्न थालेका थिए।

फत्येबहादुरहरू दलबल सहित पोखरा
आइसकेपछि अग्निकाण्डको जाँच भयो।
‘कम हैसियतवाला’ अर्थात् विपन्नहरूलाई
अन्नपात आदि सहयोग दिइयो। पुलिसको
गस्ती बढाएर ‘शान्ति-सुरक्षा’ सम्बल
पारियो, ताकि आगलागी मच्चिँदामच्चिँदै
गर्दा निकालेका थोरबहुत सम्पत्ति,
सरसामान, अन्नपात चोरी नहोस्।

उनीहरूको लवाइ पनि नजानिँदो हिसाबले परिवर्तन हुँदै गएको थियो- उनीहरूमध्ये कतिपयले घरबुना खद्दरका कपडा लाउन, अनि केही ‘जुवारीकोट’ समेत भिर्न थालेका थिए। यिनै सामाजिक रूपमा सक्रिय र सङ्गठित जोधाहाहरूको समूह अब अग्निकाण्डबाट पीडितजनहरूलाई नेतृत्व गर्दै थियो। पण्डितहरूतर्फ सोझ्एिको आक्रोश उनीहरूले शासक र सरकारतर्फ सोझ्याइदिएका थिए।

यसले केन्द्रीय सरकारलाई सशङ्कित तुल्यायो। ऊ फगत बडाहाकिमलाई परिस्थिति सम्हाल्ने जिम्मा दिएर निःशङ्क रहने परिस्थिति थिएन, किनभने बडाहाकिम धनशमशेर स्वयं शङ्काको घेरामा थिए। धनशमशेरका बाबु रुद्रशमशेर पाल्पाका बडाहाकिम थिए (प्रमको रोलक्रममा भए पनि केन्द्रबाट धपाइएका)। र, बाबु रुद्रशमशेर, भाइ गोपालशमशेर लगायतले कांग्रेससँग एक हिसाबले मतो मिलाइसकेका थिए। त्यसैले, केन्द्रबाट प्रधानमन्त्री मोहनशमशेरले अग्निपीडितका लागि केही सहायता त पठाए नै, त्यससँगै उनले आफ्ना विश्वासपात्र अफिसर स. फत्येबहादुर पाँडे र कप. दिव्यशमशेर थापालाई अग्निकाण्डको जाँच गर्ने निहुँमा पोखराको परिस्थिति सम्हाल्न सदरबाट खटाए।

रैतीलाई मालिकको निगाह

फत्येबहादुरहरू दलबल सहित पोखरा आइसकेपछि अग्निकाण्डको जाँच भयो। ‘कम हैसियतवाला’ अर्थात् विपन्नहरूलाई अन्नपात आदि सहयोग दिइयो। पुलिसको गस्ती बढाएर ‘शान्ति-सुरक्षा’ सम्बल पारियो, ताकि आगलागी मच्चिँदामच्चिँदै गर्दा निकालेका थोरबहुत सम्पत्ति, सरसामान, अन्नपात चोरी नहोस्। घरबास क्षति भएकाहरूको नापजाँच, सर्जमिन गरेर निब्र्याजी ऋण पाउने सीमा तोकियो। सँगसँगै गुप्तचरी चुस्त बनाइयो र ‘राजनीतिक’ गतिविधिमा पनि रोक लगाइयो।

पक्राउको जोखिम भएपछि मुक्तिनाथ, रामबहादुर बडगामी, भक्तराज मुल्मी आदि विभिन्न बहानामा पोखराबाट भागेर बनारस पुगेर कांग्रेसमा मिसिए। श्रीकान्त, धर्मशीला, सुन्दरप्रसाद मर्सानी, मीनबहादुर गुरुङ (पछि बीपी कोइराला मन्त्रिपरिषद्‍मा रक्षा उपमन्त्री), होमनाथ बराल, विष्णुहरि, श्रीप्रसाद उपाध्याय, खडानन्द शर्मा, माधवप्रसाद घिमिरे (पछि राष्ट्रकवि) आदि पक्राउ गरेर खोरमा राखिए। राजनीतिक मात्र होइन शैक्षिक गतिविधिमा पनि अलि शैथिल्य आयो। भर्खर खुलेको आधुनिक स्कूलको ‘चन्दा’ मा आगलागीको असर देखियो।

‘जस्तो श्री ३ महाराज बुवाज्यूबाट यत्रो निगाह राखिबक्स्यो उस्तै यसको बदलामा
हामीले उहाँको पाउमा विशेष बढ्ता भक्ति चढाउन र ईश्वरसित मौसूफ बुवाज्यूको
दीर्घायुको पुकार गर्नु नितान्त आवश्यक छ। तिमी पोखरालीहरू अघिदेखि राजभक्त
भइरहेको हुनाले श्री ३ महाराज बुवाज्यूको यो निगाह पायौ। फेरि दोहोरो रोटी पाक्छ,
एकोहोरो रोटी पाक्तैन भन्ने कुरा तिमीहरूलाई थाहै होला।’

यसबीच २००७ साल भदौको ३० गते शुक्रबारका दिन प्रधानमन्त्रीले ‘पोखराका अग्निपीडित रैती दुनियाँ उपर आकाशवाणीद्वारा भाषण बक्सने प्रबन्ध’ गरिएको थियो, अर्थात् अहिलेको भाषामा लाइभ ब्रोडकास्ट/स्ट्रिम। गोरखापत्रका अनुसार ‘उक्त दिन गोश्वाराका बडा हाकीम श्री.मे.ज. धनशमशेर ज.ब.राणा र सदरबाट खटिईआएका अफिसरहरू अड्डाखानाका कर्मचारीहरू र पीडित रैती दुनियांहरू समेत करीब पच्चिस सय जति मानिस जम्मा भएका थिए।’

अन्दाजी ४ बजेको टायममा प्रधानमन्त्रीले ‘उत्साही भाषण’ दिए अनि ‘त्यसपछि उक्त भाषणको मजमून सबै श्री बडाहाकिम जनरल साहेब’ ले दुनियाँदारलाई सम्झए। ‘हामीले घर बनाउन रुपियाँ बक्स पाउने भयौं भनी ‘दुनियाँदारहरू’ खुशीले गदगद भई बजारमा नाच्दै हिंडे’ र रातमा दीपावली समेत गरे भनेर गोरखापत्रले छाप्यो। यद्यपि, दीपावली र नाचगान भएको आफूले थाहा नपाएको र त्यस्तो खबर प्रोपागान्डा मात्र हुनसक्ने सो अग्निकाण्डका देखे-भोगेका केशवराज पराजुली (तात्कालिक उमेर १४ वर्ष)को भनाइ छ।

भदौ अन्त्यमा प्रधानमन्त्रीले अग्निपीडितलाई सहयोग गर्ने आश्वासन दिए अनुरूप कार्तिक ७ (?) गते पीडित रैतीलाई रुपियाँ बाँडिएको समाचार मंसीर २ गतेको गोरखापत्रमा छापिएको छ। त्यसक्रममा बडाहाकिम धनशमशेरले ‘प्रजा वर्ग’ लाई दिएको रोचक ‘सन्देश’ पनि हुबहु गोरखापत्रको एउटा पानाभरि उतारिएको छ।

भाषणमा धनशमशेरले प्रधानमन्त्री मोहनलाई घरी आफ्ना दुनियाँको उद्धार गर्ने ‘सत्ययुगका पृथु महाराज जस्तै’ भनेका छन् भने घरी ‘त्रेतायुगका रामचन्द्र’ को हाराहारी राखेका छन्। ‘मुखले मात्रै म दुनियाँको शुभेच्छुक हुँ भनेर आकाश पाताल जोड्ने कुरा गरेर दुनियाँ भड्काएर अशान्ति उठाउने काम सजिले हुने रहेछ भलो काम गरेर दुनियाँलाई सुबिस्ता गराएर शान्तिस्थापना गर्न मुश्किलै पर्दो रहेछ भन्ने कुरा स्पष्टै थाहा भयो’ भन्दै उनले पूर्ववर्ती प्रधानमन्त्री पद्मशमशेरप्रति व्यङ्ग्य र रोष समेत व्यक्त गरेका छन्।

राणा प्रधानमन्त्रीहरूमध्ये पद्मशमशेर अलि उदार मानिन्थे, र उनको शासनकालमा नै नेपालको पहिलो संविधान (२००४ साल) निर्माण भएको थियो (जुन कार्यान्वयन हुन सकेन)। पद्मशमशेरलाई धपाएर मोहनशमशेर शासनारूढ भएका थिए।

पोखरामा शासक-सिर्जित अग्निकाण्डका
पीडितहरूले थोर-बहुत क्षतिपूर्ति पाए। तर,
त्यो क्षतिपूर्ति भन्दा पनि महत्त्वपूर्ण पक्ष
चाहिं ‘बडी पोलिटिक’ मा नजानिँदो गरी
आएको परिवर्तन थियो।

सो भाषणमा दुनियाँदारलाई दायाँबायाँ नगर्न र ‘राजभक्ति’ कायम राख्न र नूनको सोझे गर्न धनशमशेरले सचेत गराएका छन्- ‘जस्तो श्री ३ महाराज बुवाज्यूबाट यत्रो निगाह राखिबक्स्यो उस्तै यसको बदलामा हामीले उहाँको पाउमा विशेष बढ्ता भक्ति चढाउन र ईश्वरसित मौसूफ बुवाज्यूको दीर्घायुको पुकार गर्नु नितान्त आवश्यक छ। तिमी पोखरालीहरू अघिदेखि राजभक्त भइरहेको हुनाले श्री ३ महाराज बुवाज्यूको यो निगाह पायौ। फेरि दोहोरो रोटी पाक्छ, एकोहोरो रोटी पाक्तैन भन्ने कुरा तिमीहरूलाई थाहै होला। हेर हामी सबै उनै ईश्वरका सन्तान हौं तापनि जसले उनको भक्ति गर्छ ऊ उत्तम गतिमा पुग्दछ, जसले उनको निन्दा र पापकर्म गर्दछ ऊ नरकमा जाकिन्छ। त्यस्तै राजा पनि देवता नै हुन्। त्यस कारणले जति उहाँको भक्ति बढायो उति आफ्नू कल्याण हुन्छ भन्ने कुरा मनमा राखौं।’

अनि रैतीसँग मालिक झुक्न बाध्य भए

पोखरामा अग्निपीडितहरूलाई दिने भनिएको निर्ब्याजी ऋण बाँड्न शुरू भएको समाचार र धनशमशेरको भाषण मंसीरको २ गतेको गोरखापत्रमा छापिएको छ, जब कि सो कार्यक्रम कार्तिक ७ गते भएको भनिएको छ। जति खेर यो समाचार र भाषण छापियो त्यति खेरसम्म नेपालमा २००७ सालको क्रान्ति शुरू भइसकेको थियो। अघिअघि साता दश दिनमा नै पोखराको समाचार छापिने गरेकोमा शासकहरूको प्रचारका लागि निकै महत्त्वको यो समाचार त्यति किन ढिलो छापियो भन्ने प्रश्न यहाँनेर उठ्छ। कार्तिकको ७ नभई २७ गतेको पो समाचार थियो कि त्यो, अहिले यसै भन्न सकिन्न।

जे होस्, पोखरामा शासक-सिर्जित अग्निकाण्डका पीडितहरूले थोर-बहुत क्षतिपूर्ति पाए। तर, त्यो क्षतिपूर्ति भन्दा पनि महत्त्वपूर्ण पक्ष चाहिं ‘बडी पोलिटिक’ मा नजानिँदो गरी आएको परिवर्तन थियो। हिजोसम्म रैतीहरू शासकहरूलाई नियमित कर मात्र बुझाउँथे। शासकहरूको थिचोमिचो सहन्थे। अनि आफूलाई विपत् पर्दाका बखत शासकका चरणमा लडीबुडी खेलेर केही निगाह हुन्छ कि भनेर आश मात्र गर्न सक्दथे।

आन्दोलनकारीको ठूलो भीडले बडाहाकिम
धनशमशेरको दरबार घेर्‍यो। सरकारी अड्डा
कब्जा गर्‍यो। राजनीतिक बन्दीलाई रिहा
गर्‍यो। बडाहाकिमलाई आन्दोलनकारीले
पक्रेर उनकै दरबारअघि चउरमा ल्याए।
आँखामा आँशु टिलपिल गर्दै बडाहाकिमले
आन्दोलनकारीलाई हात जोडेर माफी मागे।

शासकलाई दयामाया जागेमा निगाहमा केही पित्को मिल्न पनि सक्थ्यो। अथवा शासकको ‘मूड’ नचलेमा केही नमिल्न पनि सक्थ्यो। तर, यो अग्निकाण्डपछि उनीहरूले आफूलाई सङ्गठित गरे। र, क्षतिपूर्तिको मागदाबी गरे। एक हिसाबले अधिकार खोजे, र आफूलाई फगत रैती मात्र होइन कि थोरबहुत हकवाला नागरिक बनाउने चेष्टा गरे।

भनिसकियो, यो घटना एउटा विशिष्ट कालखण्डमा भएको थियो, र जतिखेर धनशमशेरको भाषण छापियो त्यतिखेर नेपालमा राणाशाहीको खिलाफमा आन्दोलन छेडिइसकेको थियो। पोखरामा पनि ढिलै सही र सुस्तै सही, राजनीतिक आन्दोलनले गति लियो- बडाहाकिमले खबरदारी गर्दागर्दै पनि, सचेत गराउँदा-गराउँदै पनि। अन्ततः ऋषिकेशव पराजुली, प्रेमबहादुर प्रधान, उत्तरकुमार श्रेष्ठ, खेमराज भारती लगायतका आन्दोलनकारीहरू सडकमा निस्किए। चारतारे झ्ण्डा बोके। गगनभेदी नारा उराले- ‘राणाशाही मूर्दावाद! नेपाली कांग्रेस जिन्दावाद! इन्कलाव जिन्दावाद!’ आमजनले उनीहरूलाई पछ्याए।

आन्दोलनकारीको ठूलो भीडले बडाहाकिम धनशमशेरको दरबार घेर्‍यो। सरकारी अड्डा कब्जा गर्‍यो। राजनीतिक बन्दीलाई रिहा गर्‍यो। बडाहाकिमलाई आन्दोलनकारीले पक्रेर उनकै दरबारअघि चउरमा ल्याए। आँखामा आँशु टिलपिल गर्दै बडाहाकिमले आन्दोलनकारीलाई हात जोडेर माफी मागे (हेर्नुहोसु तस्वीर)। ‘नेपाली कांग्रेस जिन्दावाद’ नारा लगाए। शासनसत्ता रैतीको कब्जामा आयो; बडाहाकिम पदच्युत भए। रैतीबाट नागरिक बन्ने मेलो खुल्यो। यद्यपि, सात दशक भन्दा अघिदेखिको पूर्ण नागरिक बन्ने लडाइँ अद्यापि जारी छ।

comments powered by Disqus

रमझम