असोज २०७८ | 17/09/2021

अनुवाद-वार्ता

Share:
  
- रोहन छेत्री
‘म उत्तर औपनिवेशिक शिक्षाको उत्पादन भएकाले मेरो भाषा-साहित्यको तालीम प्रायः अंग्रेजीमै भयो। त्यसै कारण नेपाली भाषामा लेख्ने आँट गरेको छैन।’

पेन अमेरिकाबाट अनुवाद विद्वत्वृत्ति पाएपछि चर्चामा आए, रोहन छेत्री (३३)। अविनाश श्रेष्ठका कविताको अंग्रेजी अनुवादका लागि सन् २०२१ को ‘पेन हाइम ग्रान्ट’ पाएका रोहन कवि पनि हुन्। रोहनका स्लो स्टाटल कविता सङ्ग्रह प्रकाशित छ भने अर्को सङ्ग्रह लस्ट, हर्ट अर इन ट्रान्जिट ब्युटिफुल प्रकाशोन्मुख छ।

रोहनले पहिलो सङ्ग्रहका लागि ‘इमर्जिङ पोयटस् प्राइज’ पाए भने दोस्रो सङ्ग्रहका लागि प्रकाशनपूर्व नै एशियन-अमेरिकन कविलाई दिइने ‘कुन्डिमन पोयट्री प्राइज’ पाइसकेका छन्। उनका कविता द पेरिस रिभ्यू, रेभ्यू युरोप, न्यू इङ्ल्यान्ड रिभ्यू आदिमा प्रकाशित छन्।

भारतको सीमावर्ती शहर डुवर्सको चियाबगान, दलसिंहपाडामा जन्मेका रोहनले स्कूले शिक्षा कालिम्पोङमा लिए। मुम्बईबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरे। नयाँदिल्लीमा फ्रेन्च प्रकाशन संस्था ह्याचेट इन्डिया लिमिटेडमा तीन वर्ष असिस्टेन्ट एडिटर भएर काम गरे।

पुस्तक सम्पादनपछि स्वलेखनमा केन्द्रित भएका रोहनले सन् २०१५ को अन्त्यतिर मास्टर अफ फाइन आर्टस् (एमएफए) इन क्रियटिभ राइटिङ प्रोग्रामका लागि छात्रवृत्ति पाए र सेराकस युनिभर्सिटीबाट दोस्रो स्नातकोत्तर उपाधि लिए। लगत्तै पूर्ण छात्रवृत्ति सहित विद्यावारिधिका लागि ह्युस्टन विश्वविद्यालयतिर लागे। रोहनसँग हिमालको संवादः


नेपाली कविता अंग्रेजी अनुवादका लागि पेन अमेरिकाको प्रतिष्ठित विद्वत्वृत्ति पाउनुभएको छ। यो कस्तो खाले पुरस्कार हो?

पेन अमेरिकाको अनुवाद ग्रान्ट बर्सेनि आठ-नौ जनाले पाउँछन्। विभिन्न भाषाका कविता अंग्रेजीमा अनुवादका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा हुन्छ। मैले अविनाश श्रेष्ठका केही अनुवाद कविता र अनुवादक परिचय प्रस्तुत गरेको थिएँ। यो ग्रान्ट पाउने म दोस्रो नेपालीभाषी रहेछु। यसअघि मञ्जुश्री थापाले इन्द्रबहादुर राईको आख्यान आज रमिता छ अनुवादका लागि सन् २०१७ मा पाउनुभएको रहेछ।

अनुवादका लागि अविनाश श्रेष्ठकै कविता किन छनोट गर्नुभयो?

चार वर्ष पहिले कुनै अनलाइनमा मैले अविनाशजीको कविता पढेको थिएँ। मूलधारका कविताभन्दा पृथक् लाग्यो। अविनाशजीको कवितामा भाषाको साँध ननाघी भाषाभन्दा बाहिर जाने प्रबल उत्कण्ठा छ। अनुभूति यात्रामा... को ‘नेपथ्य’ मा लेख्नुभएको छ, ‘त्यो सत्य जो भाषाभन्दा पर छ, कवितामा प्राप्त गर्नका लागि लीकमा गुडेर मात्र पुग्दैन...।’

उहाँको कवितामा धार्मिक/‘इको सर्रियालिज्म’ (पर्यावरणीय अतियथार्थवाद)को प्रयोग छ। असमी पृष्ठभूमिका कविले भारतीय क्षेत्रीय कविताका विभिन्न परम्पराहरूको प्रभाव प्रतीकात्मकता र संवेदनशीलता मुहावरा सहित नेपालीमा ल्याउनुभएको छ।

कवि हिन्दी, बंगाली, असमिया मात्र होइन, संस्कृत भाषाका पनि सुन्दर शब्द चयन गर्नुहुँदो रहेछ। उहाँको एकखाले ‘पोयटिक हाइब्रिडिटी’ छ। मैले परेवाः सेता-काला र करोडौं सूर्यहरूको अन्धकारको अनुवाद गरिसकें। करोडौं... मा बिछट्टको ‘इको-सर्रियल टच’ छ। उहाँका कविताले पाठकलाई सम्मोहित गर्छ।

बिस्तारै मलाई उहाँका कविताको अंग्रेजी ‘भर्सन’ बनाउन सक्छु या उहाँका काव्यानुभूतिलाई समात्न सक्छु भन्ने आत्मविश्वास बढ्यो। मेरो विचारमा कवितानुवाद ठूलो जिम्मेवारी पनि हो। भाषाको समकक्षता पनि निकाल्नैपर्छ। उहाँका कविता मार्फत अंग्रेजी कवितामा नेपाली भँगालो निकाल्न अझै सङ्घर्ष गर्नु छ।

कविता मन पराएपछि कविसँग सम्पर्क पनि भयो?

मैले सेराकस युनिभर्सिटीमा छँदा नै अविनाशजीको कविता अनुवाद शुरू गरे पनि ग्रान्टका लागि आवेदन गर्दासम्म सम्पर्क गरेको थिइनँ। मैले मञ्जुश्री थापा मार्फत उहाँको इमेल पाएको थिएँ। फेसबूकमा हाई-हेलोसम्म गरेको थिएँ। मसँग उहाँका सबै कविता किताब थिएनन्।

ग्रान्ट पाएपछि कविसँग बल्ल कुराकानी भयो। उहाँले एक भाइको हस्ते किताब पठाइदिनुभयो। मैले उहाँका ६ कविता सङ्ग्रहमध्ये परेवाः सेता-काला, संवेदना! ओ संवेदना!, अनुभूति यात्रामा... र करोडौं सूर्यहरूको अन्धकारका केही कविता अनुवादका लागि छानेको छु। यस वर्ष कविलाई भेट्ने इच्छा कोभिड-१९ को दोस्रो लहरका कारण पूरा भएन। उहाँलाई सोध्ने प्रश्नावली भने तयार गरिरहेको छु। चाँडै भिडिओ वार्तालाप गर्नेछु।

यो अनुवादले कवि विशेषलाई मात्र चिनाउँछ कि नेपाली कविताकै उन्नयन हुनेछ?

नेपाली कवितालाई अंग्रेजीमा सरलतासाथ लैजानु मात्र मेरो ध्येय होइन। म ‘इन्स्ट्रुमेन्टल ट्रान्सलेसन’ को पक्षमा छैन। जसले कविताका अपरिवर्तनीय अर्थलाई एउटा भाषाबाट अर्को भाषामा रूपान्तरण मात्र ठान्छ। एउटा कविताको अर्थका सम्भावना अनन्त हुन्छन्। अनुवाद त्यही सम्भावनाहरूमाझ अनुवादकले सोचेर-बुझेर तयार गरेको एउटा व्याख्या हो। यसलाई ‘हर्मेन्युटिक ट्रान्सलेसन’ भन्ने गरिएको छ।

संस्कृतिको वैभवलाई छुटाएर अनुवाद गर्न सकिँदैन। भाषा सँगसँगै बनेको हो संस्कृति। अनुवाद भाषाको मात्र नभएर संस्कृतिको पनि हो। म चाहन्छु, नेपाली कविताको अनुवाद अमेरिकीले लेखे जस्तो नहोस्, अर्थात् अविनाशजी नै एक अंग्रेजी कवि भएको भए यस्तो लेख्नुहुन्थ्यो होला जस्तो नलागोस्।

अझ भनौं, नेपाली कविताको असली प्रतिनिधित्व होस्। नेपाली कविताले अंग्रेजीलाई धेरथोर बङ्ग्याओस्, ‘कन्टामिनेट’ गरिदेओस्। अहिले म अविनाशजीका कवितामाथि काम गर्दै छु। यसले दैलो खोल्छ, त्यसपछि अरूको प्रवेश सजिलो हुन्छ भन्ने आशा गरेको छु।

नेपाली कविताको स्तर अनुवाद मार्फत विश्वलाई देखाउन लायक छ?

नेपाली आख्यानको तुलनामा कविताको अनुवाद खासै भएको छैन। हाम्रो ‘क्लासिक्स’ कै राम्रो अनुवाद भएको छैन। लक्ष्मीप्रसाद देवकोटाकै महाकाव्य अनुवाद हुन सकेका छैनन्। मलाई लाग्छ, नेपाली कविता विश्वस्तरका छन्। माइकल हटले धेरै काम गरेर विद्वत्ता देखाउनुभएको छ। तर, उहाँले पनि आफ्नो ‘एकेडेमिक’ क्षमतामा मात्र अनुवाद गर्नुभएको छ।

कविताको अनुवाद गर्न अलिक भिन्नै ध्यान/कौशल चाहिन्छ। अंग्रेजी विश्वव्यापी भाषा भएकाले त्यसको ‘करेन्सी’ छ। हालै सुलोचना मानन्धरको कविता सङ्ग्रह नाइट मुना गुरुङले अनुवाद गर्नुभएको छ, यूके प्रेसको ‘ट्रान्सलेटिङ फेमिनिज्म सेरिज’ मा। नेपाली साहित्यलाई बाहिर प्रसिद्ध गराउने काममा यो अर्को महत्त्वपूर्ण पाइला हो।

जर्मन, फ्रेन्च या स्पेनिस भाषाका कविता नेपालीमा अनुवाद भयो भने पनि नेपाली भाषा नै समृद्ध हुने हो। त्यसैले कवितानुवाद आवश्यक छ, स्रोत भाषाका साथै लक्षित भाषाका लागि पनि।

अनुवादकका चुनौती चाहिं के के हुन्?

आफ्नै कुरा सुनाउने हो भने अंग्रेजीमा मेरो जति पकड छ, नेपालीमा छैन। जुन भाषामा काम गरिँदै छ, त्यसमा पकड चाहिन्छ नै। स्रोत भाषामा पारङ्गत नभए पनि संस्कृति बुझेको हुनुपर्छ। अनुवादले साहित्यलाई बनाउन या बिगार्न सक्छ। म कविताको विद्यार्थी भएकाले अनुवादमा नेपाली भाषाको ‘इफेक्ट’ र ‘फिल’ को समकक्षता ल्याउन चाहन्छु। मेरो मुख्य चुनौती यही हुन्छ।

पेन विद्वत्वृत्तिले तपाईंको अनुवादक छविलाई कत्तिको उजिल्याएको छ?

सबैलाई थाहा छ, अनुवाद कविता प्रकाशकलाई बेच्न गाह्रो छ। अझ नेपाली त त्यति नसुनिएको/नचिनिएको भाषा हो। तर, पेनको नाम जोडिएकाले बेलायती प्रकाशनले चासो देखाउँदै छन्। मलाई हतार पनि छैन। फेरि, अनुवाद फटाफट हुने खालको काम पनि होइन। पेन एसोसिएसन अमेरिकाको ‘ग्रान्ट’लाई एकखाले स्वीकृति मानेको छु।

तपाईं नेपाली कवितालाई अंग्रेजीमा अनुवाद गरिरहनुभएको छ, नेपालीमा पनि कविता लेख्नुहुन्छ?

एउटा कुरा त कविता लेख्नका लागि भाषाको ‘डिफमिलियराइज’ गर्ने चेष्टा चाहिन्छ। दिनदिनै बोल्ने, बातचित गर्ने भाषाभन्दा माथिको ‘ब्यान्डविथ’ मा काम गर्नुपर्छ।

म उत्तर औपनिवेशिक शिक्षाको उत्पादन भएकाले मेरो भाषा-साहित्यको तालीम प्रायः अंग्रेजीमै भयो। त्यसै कारण नेपाली भाषामा लेख्ने आँट गरेको छैन। अहिलेसम्म म अनुवादमै खुशी छु। हेरौं, भविष्यमा नेपालीमै कविता लेख्न पनि सक्छु कि!

तपाईंका दुई कविता छन्, ‘इन्डियन रेलवे क्यान्टिकल’ र ‘बोर्डर सङ’। खासमा तपाईंलाई कवि बनाउने रेलवे हो कि बोर्डर?

१८-१९ वर्षको उमेरमा कलेज पढ्न मुम्बई जाँदा तीन दिन, दुई रातसम्म रेल यात्रा गर्नुपर्‍यो। त्यति वेलासम्म मैले देखेको ठूलो शहर सिलिगुडी मात्रै थियो। डुवर्स जस्तो सानो ठाउँबाट मुम्बई जस्तो विराट् महानगरमा पुग्दा अलमलिँदो रहेछ मानिस। त्यही अनुभूतिलाई अभिव्यक्ति दिने चेष्टास्वरूप कविता लेख्न थालें।

त्यति वेला कसैलाई नदेखाईकन लेखिरहें। साहित्यिक पत्रिका निकालें। भारतीय, अमेरिकी, इस्टर्न-यूरोपियन कविता पढ्दै जाँदा सौन्दर्य चेतना बढ्दै गयो। साँच्चै भन्ने हो भने मेरा कवितामा लामो रेलवे यात्राले इन्धन दिएका छन्।

तपाईंका आगामी साहित्यिक योजना के-के छन्?

दुई-तीन वर्षदेखि अविनाश श्रेष्ठका कविता अनुवाद गरिरहेको छु। अनुवाद लामो प्रक्रिया हो, पुनरावलोकन गरिरहनुपर्छ। विद्यावारिधि चौथो वर्षमा चलिरहेको छ। पाँच-छ महीनाभित्र अनुवादको काम सकिएला। कमन वेल्थ मुलुकका ग्लोबल एंग्लोफोन पोयट्री पनि मेरो ‘फोकस’ हो।

अमेरिकामा टुपेलो, भारतमा हार्परकोलिन्सबाट २४ सेप्टेम्बरमा लस्ट, हर्ट अर इन ट्रान्जिट ब्युटिफुल कविता सङ्ग्रह पनि आउँदै छ। बेलायत संस्करण पनि अर्को वर्ष आउँदै छ। काठमाडौंका बुकस्टोरमा पनि हार्परकोलिन्सको संस्करण मार्फत मेरा कवितासँग भेटघाट होला।

comments powered by Disqus

रमझम