असोज २०७८ | 17/09/2021

नेपाल र महाचीन

Share:
  
- डा. महेशराज पन्त
भारतीय लोकयात्रा अर्थात् सभ्यता फैलेका देशलाई एक थरी ऐतिहासिकहरुले ‘बृहत्तर भारत’ भने जस्तै चीनको राजकीय लेखमा आएको ‘महाचीन’ शब्दको अर्थ पनि खास चीन देश भन्ने नभई चीनको प्रभाव क्षेत्र हो।

चीनका बादशाह योङ्ल।

‘महाचीन’ शब्दको वास्तव अर्थका विषयमा विद्वान्‌हरूमा एक मत नहुँदा यस शब्दले चीन, भोट वा मङ्गोलियामध्ये कसलाई बुझाएको हो भनी ठम्याउन विद्वान्‌हरूले अझ सकेका छैनन् भन्ने उनीहरूको लेखाइबाट बुझिन्छ (उदाहरणार्थ, मारिअन माइसिग, ‘दि चीना-लेह्र देस् शक्तिस्मुस्. महाचीनाचारतन्त्र क्रितिश् एदिएर्त् नेब्स्त् ऊबेर्सेत्जुङ् उन्द् ग्लोसार्’, वीस्बादन : हर्रासोवित्ज, सन् १९८८)। यस कारण आफ्नो पहुँचमा भएका केही साधनका भरमा ‘महाचीन’ शब्दको अर्थ गर्ने कोशिश गरी यो सानो लेख कोरिएको छ।

थाङ (ताङ)वंशको शासन चल्दा चीन र
नेपालको बीच राजकीय सम्बन्ध बराबरको
हैसियतमा भए पनि मिङवंशको शासनमा
त्यो स्थिति कायम रहेन। मिङवंश उत्कट
विजिगीषु प्रकृतिको भएकोले आफ्नो
वरपरका देशलाई आफ्नो दबदबामा राख्ने
विचार उसले राखेको देखिन्छ।
‘महाचीन’ शब्दको सोझो अर्थ ‘ठूलो चीन’ भन्ने भएकाले र चीन देश विशाल पनि भएकाले नेपालका मसीजीवीहरूले चीनका पर्यायका रूपमा यो ‘महाचीन’ शब्द लिएका छन् भन्ने दृष्टान्तका लागि कविकेसरी चित्तधर ‘हृदय’ (विसं १९६३-२०३९) को ‘महाचीने नेपाल-संस्कृति’ (चित्तधर ‘हृदय’, काठमाडौं : नेसं १०८४) अघि सार्न सकिन्छ। नेपालका वज्रयानी बौद्धहरूको महनीय ग्रन्थ स्वयम्भूपुराणमा ‘महाचीन’ शब्द आएको र त्यही अर्थमा त्यहीं ‘चीन’ शब्द पनि आएकाले यी दुई शब्दको प्रयोग त्यहाँ पर्यायका रूपमा भएको देखिन्छ (उदाहरणार्थ, स्वयम्भूपुराण ४ अध्याय = हरप्रसाद शास्त्रीद्वारा सम्पादित बृहत् स्वयम्भूपुराणम्, कलकत्ता : एशियाटिक सोसाइटी, सन् १८९४, २४८ पृ.)। यसैले हाम्रा मसीजीवीहरूले गरेको ‘महाचीन’ को अर्थ स्वयम्भूपुराणको परम्परा अनुसारको छ भनी भन्न नसकिने होइन।

मध्यकालमा लेखिएका, वाममार्ग परम्पराका केही तन्त्रहरूको नाउँ ‘महाचीन’ शब्दबाट उठेको कुराको सम्झना यस प्रसङ्गमा हुन्छ (उदाहरणार्थ, गोपीनाथ कविराज, तान्त्रिक साहित्य, लखनऊ : हिन्दी समिति, सन् १९७२, ४८९-४९० पृ., नरेन्द्रनाथ भट्टाचार्य, तन्त्राभिधान : अ ट्यान्ट्रिक् लेक्स्इक्न्, नयाँ दिल्ली : मनोहर, सन् २००२, ९० पृ.)। ‘महाचीन’ शब्दबाट नाउँ उठेका तन्त्रहरूको प्रसिद्धि भए जस्तै, महाचीनतारा नाउँ भएकी देवीको पनि त्यत्तिकै ख्याति छ। वज्रयान परम्पराकी ती देवी ध्यानी बुद्ध अक्षोभ्यद्वारा उत्पन्न भनी मानिन्छ (साधनमाला १०१ साधन = विनयतोष भट्टाचार्यद्वारा सम्पादित साधनमाला १ ठेली, बडोदाः सेन्ट्रल लाइब्रेरी, सन् १९२५ः२०९-२११ पृ.)। त्यो हेर्दा उग्रताराकै एक भेद महाचीनतारा हो भन्ने देखिन्छ।


थाङ (ताङ)वंशको शासन चल्दा चीन र नेपालको बीच राजकीय सम्बन्ध बराबरको हैसियतमा भए पनि मिङवंशको शासनमा त्यो स्थिति कायम रहेन। मिङवंश उत्कट विजिगीषु प्रकृतिको भएकोले आफ्नो वरपरका देशलाई आफ्नो दबदबामा राख्ने विचार उसले राखेको देखिन्छ। यसैले, खरो भाषामा भन्ने हो भने, त्यस समयमा चीन सेव्य र नेपाल सेवक भई सम्बन्ध भएको कुरा चिनियाँ अभिलेखहरूबाट देखिन्छ।

मिङवंशका पहिला बादशाह होङ्वु (विसं १३८५-१४५५, राज्यकाल विसं १४२४-१४५५) को पालामा विसं १४४० मा चक्वाँ भन्ने बौद्ध भिक्षुको मातहतमा चीनको दूतमण्डल नेपाल पठाएदेखि दुई देशको बीचमा दूतमण्डलको ओहोरोदोहोरो शुरू भयो। त्यो प्रथा होङ्वुका पनाति सुआङ्दी (विसं १४५५-१४९१, राज्यकाल विसं १४८२-१४९१) को पालामा विसं १४८४ सम्म कायम रह्यो। ४४ वर्ष जति कायम रहेको त्यस प्रथा अनुसार ११ पटकसम्म दूतमण्डलको ओहोरोदोहोरो हुँदा तीन पटक चिनियाँ दूत नेपाल आएको र आठ पटक नेपाली दूत चीन गएको प्रमाण भेट्टाइएको छ लूछ्याह्नो पेतेक, ‘मेड्इईभल् हिस्ट्रि अफ् नेपाल्’, रोम : इस्मेओ, सन् १९८४, २१३-२२३ पृ.)। पहिलो पटक चिनियाँ दूतमण्डल नेपाल आउँदा नेपाल स्वतन्त्र राज्य हो भन्ने थाहा नभएर हो कि किन हो, चिनियाँ अभिलेखमा नेपाललाई ‘भारतको’ भनी लेखिएको अनुसन्धेय छ।

बादशाह योङ्लले शक्तिसिंहरामला
पठाएको परवाना।

पहिलो पटक चिनियाँ दूतमण्डल यहाँ आउँदा नेपाल राज्यको मूल गद्दीमा स्थितिराज मल्ल (विसं ? - १४५२, राज्यकाल विसं १४३७-१४५२) भए पनि त्यो दूतमण्डल उनीकहाँ नगई पलाञ्चोकमा बसेर नेपालको मूल राज्यको पुस्तैनी सामन्तको हैसियतले बनेपा राज्यमा शासन गर्ने वर्धनवंशका मदनसिंहरामकहाँ गएको थियो। जति पटक चीनबाट दूतमण्डल यहाँ आयो, त्यति नै पटक त्यो दूतमण्डल मल्ल राजाकहाँ नआई वर्धन सामन्तलाई नेपालका राजा मानी उनीकहाँ जाने र नेपालबाट जाने दूतमण्डल पनि मल्ल राजाको तर्फबाट नगई वर्धनको तर्फबाट चीन जाने गर्थ्यो।

चीनले बादशाह होङ्वुको पालादेखि शुरू गरेको नेपालसँगको सम्बन्ध उनका पनाति सुआङ्दीको पालासम्म कायम भए जस्तै, मदनसिंहरामको पालामा शुरू भएको यस्तो सम्बन्ध उनका छोरा शक्तिसिंहरामको पालासम्म कायम रहेको थियो। वर्धनहरूले चीन पठाएका ती उपहारलाई एउटा मुलुकले अर्को मुलुकमा पठाइने कोसेलीको रूपमा नलिई आफ्नो वशवर्ती राज्यले तिरेको सिर्तोका रूपमा चीनले लिएको थियो भन्ने कुरा चीनका तात्कालिक राजकीय अभिलेखबाट बुझिन्छ।

चीनका बादशाहले नेपालका मुख्य राजासँग सम्बन्ध नजोडी किन उनका सामन्तसँग जोडे भन्ने प्रश्न यहाँनिर उठ्छ। भोट्टविष्टिको लागि बर्सेनि ५ जना भरिया लिनू भनी {मानदेव} संवत् ११९ तदनुसार विसं ७५२ को शिलालेखमा आएकाले भोटसँग विशेष सम्बन्ध थियो र सामान ओसारपसारको लागि बेठबेगार लगाइन्थ्यो भन्ने स्पष्ट हुन्छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, काठमाडौं : नेपाल र एशियाली अनुसन्धान संस्थान, २०३०, १३९ सङ्ख्याको अभिलेख)। नेवारीमा अहिलेसम्म पनि बनेपालाई भोंत भनिने र यस शब्दका पूर्वरूप भोत, भोन्त र भ्वन्त आदि नाम पुराना अभिलेखमा भेट्टाइएकाले भोट देशकै नामको अनुकृतिमा बनेपा बुझाउने शब्द नेवारीमा चल्न गएको देखिन्छ।

यताबाट पनि परापूर्व कालदेखि बनेपाको भोटसँग विशेष सम्बन्ध थियो र भोटकै जरिया चीनसँग पनि बनेपालीहरूको सम्बन्ध थियो कि भनी अनुमान गर्न मन लाग्छ। राजधानीमा बसी शासन गर्ने राजाका प्रतिनिधि भई पलाञ्चोकमा बसी सामन्तको हैसियतले शासन गर्ने वर्धनहरूले मूल नेपाल राज्यको शासनमा कमजोरी आएको मौका छोपेर चीनसँग सोझै सम्बन्ध राखेको र चिनियाँ बादशाहले पनि वर्धनवंशसँग सम्बन्ध जोडेको हुनसक्छ। अर्को कुरा, परापूर्व कालमा जस्तो चीन र नेपालको बीचमा समान स्तरको सम्बन्ध नराखी सेव्य र सेवकको जस्तो सम्बन्ध चीनले जोड्न खोजेकाले पनि नेपालको मूल गद्दीमा बसेका स्थितिराज मल्ल र उनका सन्तानहरू त्यस्तो सम्बन्ध जोड्न अनिच्छुक भएकाले वर्धनहरूसँग सम्बन्ध जोडिएको हुन नसक्ने होइन।


पन्ध्रौं शताब्दीमा चीन र नेपालको बीचको सम्बन्धको विषयमा माथि जे जति लेखियो, ती सबैको आधार चिनियाँ भाषामा लेखिएका तात्कालिक राजकीय अभिलेख हुन्। सौभाग्यवश हाम्रो राजकीय सङ्ग्रहमा सुरक्षित, चीनका बादशाहले बनेपाली सामन्तलाई रञ्जना लिपिमा संस्वृmत भाषामा लेखेको चिठीबाट अहिले हामीलाई खाँचो परेको ‘महाचीन’ शब्दको अर्थ गर्न मद्दत पुग्ने हुनाले त्यसको चर्चा अब गरिन्छ।

उल्‌रिख फन श्रोडरलिखित इन्डो टिबेटन ब्रोन्जेज
पुस्तकमा समाविष्ट महाचीन ताराको कलाकृति।
नेपालको परराष्ट्र मन्त्रालयबाट अहिले राष्ट्रिय अभिलेखालयमा ल्याई राखिएको यस पत्रको उल्था राणाकालमै भएको थियो। त्यही उल्था मूल पत्रको फोटो र पाठ सहित विसं २०४० मा शङ्करमान राजवंशी (विसं १९८१-२०५६) द्वारा प्रकाशित भयो (‘ऐतिहासिक पत्र- एक परिचय’, रोलम्ब ३ ठेली, २ अङ्क, नेपाली खण्ड, सन् १९८३, ४-७ पृ.)। त्यस लेखबाट त्यो उल्था शङ्करमान राजवंशीले नगरेको स्पष्ट भए पनि रञ्जना लिपिमा लेखिएको त्यस पत्रको देवनागरीमा उतार कसले गर्‍यो भन्ने चाहिं स्पष्ट हुँदैन। ‘युङलो १० सालका १० मैन्हाको संस्कृतमा रञ्जना अक्षर्ले लेखेको प्रमानको उल्था’ (७ पृ.) भनी उल्था दिइसकेपछि त्यहाँ लेखिएकोले यस पत्रको समयलाई बादशाह योङ्ल (विसं १४१७-१४८१, राज्यकाल विसं १४५९-१४८१) गद्दी चढेको दशौं वर्षसँग मिलान गरेको देखिन्छ।

शङ्करमान राजवंशीले यो पत्र छपाउनुभन्दा ११ वर्ष अगाडि नै धनवज्र वज्राचार्य (विसं १९८८-२०५१)ले यस पत्रको मूलपाठ र आफूले गरेको उल्था छपाएका थिए (‘चीनका मिङवंशी बादशाहले शक्तिसिंहरामलाई पठाएको पत्र,’ भोइस् अफ् हिस्ट्रि १ ठेली, २०३१, २४-२८ पृ.) राणाकालमा गरिएको यस पत्रको उल्थामा यसको संवत् १२५ पढिएकोमा धनवज्र वज्राचार्यले छपाएको पाठबाट यसको संवत् १३५ भन्ने पाठ आएपछि चीनको राजकीय अभिलेखसँग यसको मिलान बढी राम्रोसँग भयो।

‘आकाशादुत्पन्नगगनोपममहाराजाधिराजपरमेश्वरः श्रीश्रीमहाप्रकाशमहाराजा’ अर्थात् ‘आकाशबाट उत्पन्न, आकाश जस्ता, महाराजाधिराज, परमेश्वर, श्रीश्रीतायीमिङ ठूलो प्रकाश भएका महाराज’ले {चीनबाट} पश्चिमपट्टि आर्यावर्त नेपाल पल्लखचो (पलाञ्चोक) शहरमा बसेका शक्तिसिंहराम’ लाई पठाएको ‘पारमान’ हो भनी यस पत्रमा लेखिएको छ। फारसीको ‘परवानः’ लाई संस्कृत रूप दिइएको ‘पारमान’ को अर्थ ‘आदेशपत्र हुक्मनामा राजादेश हुन्छ (उदाहरणार्थ, मुहम्मद मुस्तफा खाँ ‘मद्दाह’, उर्दू-हिन्दी शब्दकोश २ संस्करण, लखनऊः हिन्दी समिति, सन् १९७२ मा ‘परवानः’)। यही ‘परवानः’ को तद्भव ‘फर्मान्’ शब्द ‘पूर्वका बादशाहको हुकुम, ‘प्रमाङ्गी’ भन्ने अर्थमा अंग्रेजी भाषामा चलेको छ।

चीनका बादशाहले आफूलाई ‘महाचीनेश्वर’
भनेकोमा त आपत्ति उठाउन सकिँदैन, तर
नेपाल संवत्लाई किन ‘महाचीनको संवत्’
भनियो भनी खोतल्न भने अझै बाँकी छ।
यस शब्दको मूल संस्कृतको ‘प्रमाणम्’ हो भनी अंग्रेजी कोषमा लेखिएको कुरा सम्झन योग्य छ (द शर्टर् अक्स्फोर्ड डिक्शन्अरि’ अक्स्फोर्ड : क्ल्यारेन्डन प्रेस, सन् १९८५ मा ‘फरमान्’)। ‘हामी महाचीनेश्वर अर्थात् महाचीनका बादशाहको आज्ञाको परिपालन तिमीले गर्‍यौ’ भनी यस पत्रमा लेखिएकाले चीनका बादशाहले आफूलाई ‘महाचीनको बादशाह’ भनेको र यस पत्रको मिति दिँदा ‘महाचीनाब्द ५३५ आषाढशुक्लदशम्याम्’ भनी लेखिएकाले नेपाल संवत्लाई ‘महाचीनको संवत्’ भनेकाले यसको अलिकति व्याख्या गर्नुपर्छ।

योङ्ल बादशाह भएको समयमा लेखिएको यस पत्रमा बादशाहको नाउँ ‘तायीमिङ’ लेखिएकाले त्यसको समाधान गरिहाल्नु आवश्यक छ। खास नाउँ, राजा भएपछि चलेको नाउँ, मृत्यु भएपछि चल्ती भएको नाउँ र देवस्थलमा चल्ने नाउँ गरी यी बादशाहहरूका चार थरी नाउँ हुन्थे। यिनै बादशाहको पनि योङ्ल भन्ने यो नाउँ राजा भएपछि चलेको हो, यिनको खास नाउँ चाहिं झूदि हो। यस पत्रमा दिइएको यिनको नाउँ ‘तायीमिङ’ चारै थरी नाउँँसँग नमिले पनि देवस्थलमा चल्ने, यिनको नाउँ ‘ताइजोङ’ सँग यसको पूर्वपद मिल्छ भन्नुभन्दा बढी बोल्न म सक्दिनँ।

चीनका बादशाहले आफूलाई ‘महाचीनेश्वर’ भनेकोमा त आपत्ति उठाउन सकिँदैन, तर नेपाल संवत्लाई किन ‘महाचीनको संवत्’ भनियो भनी खोतल्न भने अझै बाँकी छ।


नेपालमै लेखिएको सुमतिसिद्धान्त नाउँको ज्यौतिषग्रन्थमा ग्रहणका गणना दिँदा दुई पटक ‘महाचीन’ शब्द आएको छ (नयराज पन्त, देवीप्रसाद भण्डारी र दिनेशराज पन्तद्वारा सम्पादित सुमतितन्त्र, काठमाडौं : पाठ्यक्रम विकास केन्द्र २०३५, १ परिशिष्ट, ५९, ७४, ७९ पृ.)। नेसं ४५७ तदनुसार विसं १३९३ फाल्गुनकृष्णअमावास्याको दिन लागेको सूर्यग्रहणको विषयमा लेख्दा त्यहाँ ‘थ्व ग्रास श्रीसं सक्या महाचेन बिहंङा’ र नेसं ५१० तदनुसार विसं १४४७ आश्विनकृष्णअमावास्याको दिन लागेको सूर्यग्रहणको विषयमा लेख्दा ‘थ्व ग्रास श्रीसं सक्या महाचेन बिल्यं हंङा’ लेखिएकाले दुवैमा भोटको सक्या गुम्बाको र महाचीनको कुरा आएकोमा शङ्का छैन।

चीनका बादशाह योङ्लले शक्तिसिंहरामलाई लेखेको
परवानामा जम्बूद्वीपको परिभाषामा चीन नपर्ने
भए पनि आफूलाई ‘जम्बूद्वीपेश्वर’ अर्थात् ‘जम्बूद्वीपका
मालिक’ भने जस्तै, आफूलाई ‘महाचीनेश्वर’
अर्थात् ‘महाचीनका मालिक’ र नेवार राज्यमा
चलेको नेपाल संवत्लाई ‘महाचीनाब्द’ अर्थात्
‘महाचीनको संवत्’ भनी भनेकाले उनको परिभाषामा
‘महाचीन’ को अर्थ चीनको वास्तव सीमाभन्दा
परपरसम्म फैलिएको भूभाग बुझाउन
उनले खोजेको देखिन्छ।
पछिल्लो वाक्य सबभन्दा पहिले प्रकाशमा ल्याउने धनवज्र वज्राचार्यले त्यस वाक्यको अर्थ ‘यस ग्रहणमा श्रीभोटको शक्या (मठ) र महाचीनसँग सम्बन्ध जोडियो (‘शक्तिशाली भारादार रामवर्द्धनहरू र तात्कालिक नेपाल’, पूर्णिमा ७ पूर्णाङ्क, २०२२, ३३ पृ.) भनी गरेको आधारमा ‘अन् दिस् डे साक्य (स-क्य) यान्ड् चाइनीज् मेड् कनेक्शन् {विद् नेपाल्}’ (मेड्इईभल् हिस्ट्रि अफ् नेपाल्, २१५ पृ.) अर्थात् ‘यस दिन सक्य र चिनियाँले {नेपालसँग} सम्बन्ध जोडे’ भन्ने मात्र नलेखी चिनियाँ राजकीय अभिलेख अनुसार विसं १४४७ माघमा नेपालबाट आएको दूतमण्डलसँग यो घटना जोड्न लूछ्याह्नो पेतेक (विसं १९७१-२०६७) पुगे। ‘त्यो ग्रहण लागेको वेला भोटका शाक्य मठ र महाचीनसँग सम्बन्ध जोडियो’ (नेपाल र चीन-तिब्बत सम्बन्ध- समीक्षात्मक इतिहास, भृकुटी एकेडेमिक पब्लिकेसन्स, काठमाडौं, २०७३, ११५ पृ.) भनी ज्ञानमणि नेपाल (विसं १९८९ मा जन्म)ले लेखे।

सुमतिसिद्धान्तमा महाचीनको सन्दर्भ आएका ती दुवै वाक्यमध्ये अघिल्लोमा क्रियापद ‘बिहंङा’ र पछिल्लोमा ‘बिल्यं हङा’ भएकाले दुवै क्रियापद मूलतः एउटै भएको र पछिल्लोको संक्षिप्त रूप अघिल्लोमा देखियो। ‘प्रामाणिक’ भनी कहलिएका नेवारी कोषमा पनि नचढेको यस क्रियापदको वास्तव अर्थ मलाई नलागे पनि यसबाट ‘सम्बन्ध जोडियो’ भन्ने अर्थ कसरी आयो भन्ने कुरा मैले बुझ्न सकिनँ। यस कारण धनवज्र वज्राचार्यलाई जस्तै, लूछ्याह्नो पेतेक र ज्ञानमणि नेपाललाई पनि ‘बिल्यं हङा’ को अर्थले पिरोलेको देखिएन।

सुमतिसिद्धान्तमा आएको सक्या गुम्बा र महाचीनको पहिलो सन्दर्भ माथि लेखे जस्तै, विसं १३९३ को छ। यसको चर्चा इतिहास सम्बन्धी अरू कृतिमा आएको मैले देखेको छैन। यस वेला नेपालको मूल गद्दीमा {द्वितीय} अरिमल्ल (विसं १३३२-१४०१, राज्यकाल १३७६-१४०१) थिए त बनेपातिर मदनसिंहरामका बाबु अनेकरामको एक प्रकारको हैकम थियो। चीनमा चाहिं युआनवंशको शासन चलिरहेको थियो, मिङवंशको शासन शुरू हुनका लागि अझ ३१ वर्ष बाँकी थियो।


अरू अरू पौराणिक ग्रन्थको जस्तै, स्वयम्भूपुराणको रचना कहिले भयो भनी भन्न नसकिए पनि त्यसको नजिक पुग्ने केही आधार नभएको भने होइन। खुलाएर भन्दा, स्वयम्भूपुराणमा एक ठाउँमा यक्ष मल्लको चर्चा आएको छ (बृहत् स्वयम्भूपुराणम्, ४९६ पृ., ९ पङ्क्ति)। विसं १४६५ मा जन्मेका यक्ष मल्ल २० वर्षको उमेरमा विसं १४८५ मा राजा भई राज्य गर्दा गर्दै ७३ वर्षको उमेरमा विसं १५३८ मा बितेकाले स्वयम्भूपूराणको रचना पन्ध्रौं-सोह्रौं शताब्दीभन्दा अगाडि भयो भनी मान्न सकिँदैन।

विजिगीषु चिनियाँ बादशाहहरूले आफ्नो
पूरा अधिकारमा भएको राज्यभन्दा
बाहेकका, तर आफ्नो भूभाग भनी आँकेका
राज्यलाई ‘महाचीन’ भन्ने गरेको र त्यसै
अनुसार ‘महाचीन’को अर्थ चल्दै आएको
भए पनि पछि गएर चीनकै पर्यायमा
‘महाचीन’ शब्द चल्न गएको देखिएको छ।
उन्नाइसौं शताब्दीमा नेपाली भाषामा लेखिएको वंशावलीको एक थरी पाठमा स्वयम्भूपुराणमा आए जस्तै महाचीनको कुरा (माणिक वज्राचार्य र अक्सल मिषायेल्सद्वारा सम्पादित नेपालिकभूपवंशावली, काठमाडौं : हिमाल किताब, सन् २०१६, १,२ पृ. इत्यादि) आए पनि त्यही सन्दर्भमा चीनको कुरा चाहिं अलग्गै आएको छैन। त्यस्तै खालको वंशावलीको अर्को पाठमा पनि महाचीनको चर्चा आएको छ। त्यो चर्चा मञ्जुश्रीकै प्रसङ्गमा आए पनि त्यहाँ महाचीनको बयान देशका रूपमा नगरी ठूलो देश चीनको महानगरका रूपमा गरेर महाचीन शहरको लम्बाइ-चौडाइ समेत दिई त्यस शहरको लोकोत्तर वर्णन गरिएको छ (विक्रमजित् हसरतद्वारा सम्पादित हिस्ट्रि अफ् नेपाल् याज् टोल्ड् बाइ इट्स् वोन् यान्ड् कन्टेम्पोरेरि क्रनिक्लर्ज, होशियारपुर, सन् १९७०, ५ पृ.)।


प्रताप मल्ल (विसं १६८०-१७३१, राज्यकाल विसं १६९८-१७३१)ले रानीपोखरी बनाउँदा तयार गरिएको पुस्तकको पनि ‘महाचीन’ को प्रसङ्गमा सम्झना आउँछ। व्याकरणको विचार नगरी लेखिएको त्यस पुस्तकमा भुतान्तदेश अर्थात् भोटान्तदेशका तीर्थको नाउँ लिँदा ब्रह्मपुत्र नदी र ह्लासाको छ्वासकामिनीसँगै काठमाडौंकै उत्तर भेगमा पर्ने सम्पनतीर्थ अर्थात् सपनतीर्थ, बालानीलकण्ठ अर्थात् बालाजु, बुद्धानीलकण्ठ अर्थात् बूढानीलकण्ठ आदि गरी १० वटा तीर्थको नाउँ दिइएको छ। भोटान्तदेशपछि ‘महाचिन्न’ अर्थात् ‘महाचीन’ का बुद्धको नाउँ लिई ‘चीन्देसतीर्थ’ अर्थात् ‘चीन देशको तीर्थ’ मा त्यही एउटा नाउँ परेको छ (महेशराज पन्त, ‘प्रताप मल्लको तीर्थजात्रा’, पूर्णिमा १३७ पूर्णाङ्क, २०६९, १०-११, ४१ पृ.)।

‘महाचीन’ शब्दको अर्थ गर्न बस्दा स्वयम्भूको जीर्णोद्धार सम्बन्धी विस्तृत विवरण लेखिएको शिलापत्र पनि छोड्नु हुँदैन। नेवारी र तिब्बती भाषामा लेखिएको त्यस विशाल शिलालेखमा जीर्णोद्धारको काम शुरू भएको दिनको विषयमा यस्तो ‘नेपाल सम्वत् ८७१ आर्य्यादेश मध्येसया प्रजापति धायागुली दिनसं सदेशया भाषान केदा धायागु महाचीनयागु महाचीनभाषान शिमुउ वर्ष वर्ष दिन मेलय यानाव सुदिन कुन्हु धर्मया ज्या आरंभ याना बेलस’ अर्थात् नेपाल संवत् ८७१, आर्यदेश मधेशको प्रजापति भन्ने दिनमा संवत्सरमा, भोट देशको भाषाले केदा भन्ने, महाचीनको महाचीनभाषाले शिमुउ वर्ष, वर्ष र दिन मिलाएर राम्रो दिनमा धर्मको काम थालेको वेलामा’ लेखिएकाले नेपाल संवत्, षष्टिसंवत्सर, भोटको गणनापद्धति अनुसारको संवत् र महाचीनको गणनापद्धति अनुसारको संवत् गरी चारै थरी संवत्को मिलान गरी राम्रो साइतमा जीर्णोद्धारको काम थालेको बुझिन्छ। नेसं ८७१ तदनुसार विसं १८०८ मा ‘महाचीन’ शब्दले चीन देश बुझाएकोमा शङ्का छैन।


चीनका बादशाह योङ्लले शक्तिसिंहरामलाई लेखेको परवानामा जम्बूद्वीपको परिभाषामा चीन नपर्ने भए पनि आफूलाई ‘जम्बूद्वीपेश्वर’ अर्थात् ‘जम्बूद्वीपका मालिक’ भने जस्तै, आफूलाई ‘महाचीनेश्वर’ अर्थात् ‘महाचीनका मालिक’ र नेवार राज्यमा चलेको नेपाल संवत्लाई ‘महाचीनाब्द’ अर्थात् ‘महाचीनको संवत्’ भनी भनेकाले उनको परिभाषामा ‘महाचीन’ को अर्थ चीनको वास्तव सीमाभन्दा परपरसम्म फैलिएको भूभाग बुझाउन उनले खोजेको देखिन्छ। प्रकारान्तरले भन्दा, भारतवर्षको सीमाभन्दा बाहिरका, तर भारतीय लोकयात्रा अर्थात् सभ्यता फैलेका देशलाई एक थरी ऐतिहासिकहरूले ‘बृहत्तर भारत’ भने जस्तै चीनको राजकीय लेखमा आएको ‘महाचीन’ शब्दको अर्थ पनि खास चीन देश भन्ने नभई चीनको प्रभाव क्षेत्र भनी बुझ्नुपर्छ।

यी सबै कुराको निष्कर्ष के हो भने, विजिगीषु चिनियाँ बादशाहहरूले आफ्नो पूरा अधिकारमा भएको राज्यभन्दा बाहेकका, तर आफ्नो भूभाग भनी आँकेका राज्यलाई ‘महाचीन’ भन्ने गरेको र त्यसै अनुसार ‘महाचीन’को अर्थ चल्दै आएको भए पनि पछि गएर चीनकै पर्यायमा ‘महाचीन’ शब्द चल्न गएको देखिएको छ।

comments powered by Disqus

रमझम