असोज २०७८ | 17/09/2021

बाङ्देलको 'उच्छ्वास'

Share:
  
- राजन शाक्य

सन् १९७५मा बालकृष्ण समको मुहारचित्र बनाउँदै लैनसिंह बाङ्देल
कलाकारले आफ्नो जीवनको महत्वपूर्ण घडीमा आत्मचित्र (सेल्फ–पोर्ट्रेट)हरू बनाउन सक्छन् । तिनमा ठूलो बोझ् सल्टाउँदाको अपार खुशी, जीवन बदलिने घटना, पृथक् रोमाञ्चक अनुभूति वा शानदार जम्काभेटको दृश्यात्मक अभिव्यक्ति उतारिएको हुनसक्छ ।

सन् १९८९ को लैनसिंह बाङ्देलको सेल्फ–पोर्ट्रेटमा यस्तै अभिव्यक्ति पाइन्छ । यसमा कलाकारको यस्तो ‘सुस्केरा’ झ्ल्किएको छ जसले लामो समयपछि प्राप्त खुशीको भावना जगाउँदछ । यसमा बाङ्देलले आफूलाई तृप्त भावमा प्रस्तुत गरेका छन् । आत्मसन्तुष्टिले चिम्लिएका दुई आँखा, एक अप्रकट मुस्कान, कान हुनुपर्ने ठाउँमा खस्रा र अपूर्ण रेखाहरू, कुनै चिजबारे राहत अभिव्यक्त भएको मुहार–भाव, शालीन मुद्रा, श्रद्धाले ढाकिएको आडम्बररहित काँध । अन्तिममा एक सरो गाढा धर्का माथिबाट थपेर पेन्टिङ टुङ्ग्याइएको छ ।

हुनसक्छ, त्यो वेला बाङ्देल स्वतन्त्र महसूस गर्दै थिए किनभने जागीरबाट अवकाश पाएपछि उनको काँधबाट जिम्मेवारी हटेको थियो । निरन्तरको सरसल्लाह र कर्मचारी जीवनबाट उनी मुक्त भएका थिए । यो सेल्फ–पोर्ट्रेट म्यूजियम अफ नेपाली आर्टस्मा राखिएको छ ।

सन् १९७२ देखि १९८९ सम्म बाङ्देलले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नेतृत्व गरे, थुप्रै कलाकृति सिर्जना र संरक्षणको काम गरे, ऐतिहासिक रूपमा महत्वपूर्ण थुप्रै किताब लेखे । अवकाश पाएकै वर्ष उनले यो ‘सेल्फ–पोर्ट्रेट’ बनाएका थिए, यसमा सम्पूर्ण बोझ् र जिम्मेवारी प्रकट गरेका छन् ।

सन् १९१९ मा दार्जीलिङमा जन्मिएका थिए बाङ्देल । घरका भित्ताभरि देवी–देवताका चित्र कोर्दै हुर्किएका उनी आफ्ना बुबाका बेलायती साहुका घरमा रहेका चित्रहरूबाट प्रेरित थिए । सन् १९३९ मा कलकत्ता आर्ट कलेजमा पढ्दा उनले भारतीय फिल्म निर्देशक सत्यजित रेलाई भेटेका थिए र उनीहरू आजीवन साथी बने । १९५२ मा बाङ्देल पेरिसको फ्रेन्च नेशनल आर्ट स्कूलमा भर्ना भए जहाँ उनी पाब्लो पिकासो र जर्जेज ब्राकका कामबाट प्रभावित बने ।

चित्रकारका रूपमा पेरिसमा सङ्घर्ष गर्दा होस् वा सन् १९६० को सङ्कीर्ण नेपाली समाजमा बडो साहसिलो ढङ्गले कलाको नयाँ विधा थालनी गर्दा होस्, बाङ्देल सधैं आफ्नै शर्तमा बाँचे । डन मेसरस्मिट र बाङ्देलपुत्री डिनाले लेखेको अगेन्स्ट द करेन्ट पुस्तकमा बाङ्देल र राजा महेन्द्रबीचको संवाद समेटिएको छ । नेपालमै बसेर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नेतृत्व लिन भनिएपछि बाङ्देल विनयी हुँदै जवाफ दिन्छन्, “नेपाल कृषिप्रधान देश हो, म जस्तो कलाकारले यहाँ गर्न बाँकी केही छैन ।” बाङ्देलको ८३ वर्षको उमेरमा सन् २००२ मा निधन भयो ।

comments powered by Disqus

रमझम