असोज २०७८ | 17/09/2021

' लेखिरहेको छु, आनन्दमा छु ' - सागरशमशेर जबरा

Share:
  
- हिमालखबर
भविष्यको कुरा कसैले भन्न सक्दैन। जुन गतिले सरकारहरू चलिरहेका छन्, त्यसैले राजा आउँछन् भन्ने दृष्टिकोण निम्त्याएको हो। तर, यो मत राख्नेहरूसँग कुन चाहिं राजा ल्याउने भन्ने जवाफ छैन। ज्ञानेन्द्र ल्याउने हो वा उनका छोरा वा उनका पनि छोरा?

१९९४ सालको हिउँदमा बबरमहलमा जन्मिएका सागरशमशेर जबराका अनेक परिचय छन्। श्री ३ महाराज चन्द्रशमशेरका पनाति सागरशमशेर बुबा मृगेन्द्रशमशेर र दाजु भरतशमशेरद्वारा स्थापित गोरखा परिषद् हुँदै २०१७ सालको राजा महेन्द्रको ‘कू’ पछि परिषद्को नेपाली कांग्रेसमा विलयनसँगै नेपाली कांग्रेस पार्टीमा संलग्न रहँदै आएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कमिटी सदस्य र विदेश विभाग प्रमुख रहिसकेका राणा हिजोआज पार्टीमा सक्रिय नदेखिए पनि लेखन कार्यमा मग्न छन्।

नेपाल हस्तकला सङ्घका संस्थापक अध्यक्ष, विश्व पर्यटन बजारमा चर्चित टाइगर टप्सका संस्थापकदेखि टेनिस खेल र पुस्तक लेखनसम्म फैलिएका राणाको संलग्नताले उनलाई उनकै शब्दमा ‘ब्रोड स्पेक्ट्रम’ (व्यापकता) दिएको छ।

मृगेन्द्र-रुक्मिणीका सात सन्तानमध्ये कान्छा अनि एक मात्र जीवित सदस्य उनै सागरशमशेरले भदौको तेस्रो साता हिमालका लागि शेखर खरेलसँगको कुराकानीमा आफ्नो विगतको पोयो एक कुशल व्याख्याकारले झैं यसरी फुकाए।


कोभिड-१९ महाव्याधिको यस असाधारण परिवेशमा तपाईँको समय कसरी बित्दै छ?

मेरो ‘स्पेक्ट्रम’ अलि फराकिलो भएकाले दिन बिताउन गाह्रो परेको छैन। अहिले म लेखनमा लागेको छु। सिंहदरबार सन् १९५१ सम्मको इतिहास थियो। अलि रमाइलोपन, रोचक कुराहरू हालेर त्यो रूखो इतिहास नबनोस् भन्ने प्रयास थियो। अब १९५१ देखि २००८ सम्मको इतिहास अंग्रेजीमा तयार पारेको छु। कोभिड-१९ का कारण प्रकाशन एक वर्ष ढिलो भए पनि यस वर्षको अन्त्यसम्म निकाल्ने प्रकाशकको लक्ष्य छ।

तपाईंको सिंहदरबार राणाशाहीको उत्थान र पतनसँग सम्बन्धित छ। प्रकाशोन्मुख पुस्तक टुङ्गिएको समय सन् २००८ भन्नाले राजतन्त्रको पतनसम्मको अवधि प्रष्ट बुझ्‍न सकिन्छ। सिंहदरबारमा राणाशाहीको पतनका कारणहरू प्रशस्त केलाइएका छन्। राजतन्त्र पतनको मुख्य कारण चाहिं तपाईं के देख्नुहुन्छ?

एउटा त समयको गति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारण पनि कुनै न कुनै वेला यो पतन हुन्छ भन्ने मेरो दिमागमा थियो। मुख्य कारण त दरबार हत्याकाण्ड नै हो। किनकि, त्यो वेलासम्म कतिपय नेपालीले राजालाई विष्णुको अवतार मान्थे। त्यो हत्याकाण्डपछि दरबारको जुन रोशनी थियो, त्यो गयो। त्यसपछि ज्ञानेन्द्र सरकारको सम्पूर्ण शासनको महत्त्वाकांक्षा आउँछ।

जुन वेला राजाले शक्ति हातमा लिएका थिए, त्यो वेला माओवादी गलिसकेका थिए। मैले आफ्नो किताबका लागि ‘सी-एन-सी’ (तत्कालीन प्रधानसेनापति प्यारजङ्ग थापा)सँग अन्तर्वार्ता लिएको छु। थापाका अनुसार, दुई महीनाभित्रै उनीहरू टेबलमा घिस्रिएर आउनुपर्ने थियो।

त्यो वेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजाले चाहेका ९९ प्रतिशत कुरा त मानिसकेको अवस्था थियो। त्यस्तो वेला राजाले शक्ति हातमा लिएपछि यता सात दल र उता माओवादी मिल्ने अवस्था आयो। राजतन्त्र जाने मुख्य दुई कुरा यिनै हुन्।

एकथरी मानिसहरू राजतन्त्र नेपाली जनताले चाहेर फालिएको होइन, यसलाई पुनःस्थापित गर्नुपर्छ भनेर लागिपरेका छन्। के तपाईंलाई पनि त्यस्तै लाग्छ?

भविष्यको कुरा कसैले पनि भन्न सक्दैन। तर, जुन गतिले हाम्रा सरकारहरू चलिरहेका छन्, त्यसैले राजा आउँछन् भन्ने दृष्टिकोण निम्त्याएको हो। तर, यो मत राख्नेहरूसँग कुन चाहिं राजा ल्याउने भन्नेबारे कुनै जवाफ छैन। ज्ञानेन्द्र ल्याउने हो वा उनका छोरा वा उनका पनि छोरा? राजा ल्याउनुपर्छ भन्ने एउटा जमात त छ, तर त्योभन्दा पनि ठूलो चाहिं हिन्दू राष्ट्र हुनुपर्छ भन्ने संख्या छ।

हिन्दू राष्ट्र हुनुपर्छ भन्नेहरू त तपाईं नै संलग्न पार्टी नेपाली कांग्रेसभित्रै पनि ठूलो संख्यामा छन्। धर्मनिरपेक्षता र गणतन्त्र कांग्रेसका मुद्दा होइनन् र अहिले कांग्रेसले बीपी कोइरालाको नीति त्यागिसक्यो भन्ने धारणा कांग्रेसजनबाटै सुनिन्छ। तपाईंको धारणा चाहिं के छ?

कांग्रेसको मौलिक नीति प्रजातन्त्र हो।
त्यसलाई कांग्रेसले कहिल्यै छाडेको छैन।
कहिले राजासँग मिल्यो भन्ला, कहिले
कम्युनिष्टसँग, तर कांग्रेसको धार निरन्तर
चलिरहेको छ, त्यसमा ‘डाइभर्सन’ भएको
छैन।

बीपीको अवधारणासँग म शतप्रतिशत सहमत छु, किनकि, म उहाँकै चेला हुँ। तर, बीपीले त्यो वेला जे भन्नुभयो, परिवर्तित स्थितिमा त्यही कुरा हुनुपर्छ भन्ने चाहिं छैन। खासमा बीपीको नीति त पहिलो जनआन्दोलनमै छाडिएको थियो, जुन वेला गणेशमानजीको नेतृत्वमा कांग्रेस र कम्युनिष्ट मिलेर आन्दोलन गर्ने निर्णयमा पुगे। बीपी रहनुभएको भए, त्यो आन्दोलन हुन्थ्यो वा हुँदैनथ्यो, एउटा प्रश्नचिह्न नै रहन्थ्यो।

अहिलेको कांग्रेस पूरै कम्युनिष्टको अजेन्डामा गइसक्यो भन्ने पनि एकथरीको आरोप छ। पार्टी महाधिवेशनमा होमिइसकेको वेला कांग्रेसको आगामी नीति के हुनुपर्छ भन्ने लाग्छ?

कांग्रेसको मौलिक नीति प्रजातन्त्र हो। त्यसलाई कांग्रेसले कहिल्यै छाडेको छैन। कहिले राजासँग मिल्यो भन्ला, कहिले कम्युनिष्टसँग, तर कांग्रेसको धार निरन्तर चलिरहेको छ, त्यसमा ‘डाइभर्सन’ भएको छैन। आंशिक रूपमा ‘कम्प्रोमाइज’ भएको होला। तर, धर्मको विषयमा भने शायद म पनि ती ६० प्रतिशतभित्र पर्छु। मेरो मत धार्मिक स्वतन्त्रताको हो।

कारण के भने, ठूलो-ठूलो प्रजातन्त्र भन्ने बेलायत र अमेरिकाले पनि आफ्नो धर्मलाई मौलिकता दिएका छन्। क्रिश्चियनहरू यहाँ आएर हामीलाई परिवर्तन गर्न ठूलो प्रयास गर्दै छन् र सफल पनि भएका छन्। हामीले हाम्रो सनातन धर्म जसमा व्यापक विचार छन्, त्यसलाई प्राथमिकता दिन के गाह्रो? अरूलाई पूरा स्वतन्त्रता दिऔँ, तर यो देश त हिन्दूहरूकै हो नि!

हिन्दूसँगै बुद्धिस्ट पनि आए, ओमकार परिवारभित्रका। हामी धर्मका नाममा एक-आपसमा जुधेका छैनौं। हाम्रो धर्मको एउटा त्रुटि चाहिं जातपातलाई लिएर भएको छ। तर पनि, हिंसामा त गएको छैन।

तपाईंको पूरै परिवार कांग्रेसमा लागेको, कांग्रेसका शीर्ष नेतृत्व तहसँग चाहिं तपाईंको सम्बन्ध कस्तो छ?

(हाँस्दै) एक-अर्काका कुरा बुझ्‍न अलि गाह्रो छ। बीपी, गणेशमानजी र किशुनजी भएसम्म मेरो खुलमखुला वार्ता हुन्थ्यो। उहाँहरू मेरो कुरा सुन्नुहुन्थ्यो, गाली पनि गर्नुहुन्थ्यो। सुवर्णजी त कलकत्ता हुनुहुन्थ्यो त्यसैले मेरो धेरै सङ्गत भएन। त्यसपछि गिरिजाबाबुले विभिन्न कारणले मलाई मन पराउनुभएन। शेरबहादुरजी (देउवा)सँग कुराकानी नभएको त होइन, तर उहाँको ‘डायलग’ गर्ने बानी छैन।

अहिले मेरो उमेर पनि हेर्नुस्। म सक्रिय
रूपमा पार्टीमा लाग्नु भनेको मुर्ख्याइँ हो।
छोरा उदयशमशेर अघि बढेको छ।
युवामाझ राम्रै चिनिएको छ। मेरो कुरा
उदयसँग हुन्छ, उसको पार्टीसँग।

तपाईं पाको पुस्ताको मान्छे, कांग्रेसका नेताहरू कतिको भेटघाट गर्न आउँछन्? राय-सल्लाह कतिको माग्छन्?

अहिले मेरो उमेर पनि हेर्नुस्। म सक्रिय रूपमा पार्टीमा लाग्नु भनेको मुर्ख्याइँ हो। छोरा उदयशमशेर अघि बढेको छ। ऊ अर्थ राज्यमन्त्री भइसकेको छ। ऊ पार्टीमा, युवामाझ राम्रै चिनिएको छ। मेरो कुरा उदयसँग हुन्छ, उसको पार्टीसँग।

यसरी पनि मेरो कुरा पुगिरहेको हुन्छ। त्यसैले म आनन्दमा बसेको छु। मेरो लेख्ने काम पनि राम्रो भइरहेको छ। यस (लेखन) लाई छाडेर फेरि म त्यो गन्जागोलमा लाग्न चाहन्नँ।

हामीकहाँ कुनै पनि राजनीतिक दलभित्र पुरानाले नयाँलाई नेतृत्व हस्तान्तरण गरेको उदाहरण छैन। कांग्रेसमा पनि नयाँ पुस्ता आउनुपर्छ भन्ने आवाज उठिरहेको छ। अबको महाधिवेशनबाट आउने नेतृत्व कस्तो हुनुपर्छ?

हाँस्दै) म त बीपी आइदिऊन् भन्ने चाहन्छु। किशुनजी र गणेशमानजी आइदिऊन् भन्ने चाहन्छु, तर त्यो ल्याउन सक्दिनँ। आफ्नो पार्टीलाई एकरूपता दिन नसक्नु नेतृत्वको कमजोरी हो। शेरबहादुरजी पाँच चोटि प्रधानमन्त्री भइसक्नुभयो, त्यो उपलब्धि हो। शायद उहाँसँग गठबन्धन व्यवस्थापनमा सबैभन्दा बढी क्षमता होला।

हामीले चाहेको त उहाँको संवाद शक्ति, सैद्धान्तिक दृष्टिकोण, नीति र दूरदृष्टि हो। तर, उहाँ बत्तीस लक्षणले सम्पन्न त हुनुहुन्न। उमेर मात्रले नेतृत्व छाड्नुपर्छ भन्ने छैन। ‘मोबिलिटी’ (गतिशीलता) र दिमागको पनि कुरा हुन्छ। कतिपय देशमा उहाँभन्दा पनि बढी उमेरका व्यक्ति नेतृत्वमा छन् र राम्रै चलाइरहेका छन्।

पन्ध्र सालमा प्रधानमन्त्री हुँदा बीपी ४४ वर्षको हुनुहुन्थ्यो। अहिले गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल जस्ता युवा नेताहरूको उमेर त्योभन्दा पनि बढी छ। पार्टीमा उनीहरूलाई नेता त मानिन्छ, तर नेतृत्व दिइँदैन। समस्या कहाँनेर छ?

यदि बीपीलाई रोग नलागेको भए उहाँ पछिसम्म हुनुहुन्थ्यो। उहाँ आएको पो चाँडै, गएको त रोगले हो नि! अन्तिम दिनसम्म पार्टी उहाँको पूर्ण नियन्त्रणमा थियो, दिमागले भन्दा पनि विचार र आचरणले। गणेशमान, सुवर्णशमशेर, किशुनजी जस्ता मानिसलाई उहाँले नियन्त्रण गर्न सक्नुभएको थियो। त्यसैले उमेरको कुरा मात्र म मान्दिनँ।

युवा आफैंले क्षमता दर्शाउन कति सके सकेनन्, त्यो पनि छ। युवा आफैं विभाजित देखिन्छन्। योग्यहरू शेरबहादुरजी र उताको समूहमा पनि छन्। मलाई सम्झ्‍ना छ, बीपी, गणेशमानजीहरू हुँदा पनि हामी जस्ता अल्लारे केटाहरू तपाईंहरूले नेतृत्व छाडेर शेरबहादुर, शैलजा (आचार्य), रामचन्द्र (पौडेल)जीहरूलाई दिनुपर्छ भन्थ्यौं।

तपाईं श्री ३ महाराज चन्द्रशमशेरको खलक, त्यसैले हामी तपाईंको पारिवारिक पृष्ठभूमिबारे जान्न इच्छुक छौं। तपाईंको बाल्यकाल, हुर्काइ र शिक्षादीक्षा कस्तो रह्यो, संक्षिप्तमा बताइदिनुहुन्छ कि?

पहिलो कुरा, म र बाँकी ६ दाजुदिदीहरूबीच एउटा कुरामा फरक थियो, त्यो हो उमेर। मेरा दुई दिदी र चार दाइहरू, अनि म सबैभन्दा कान्छो चार वर्षले। त्यस कारणले पनि अलि ‘जेनेरेसनल ग्याप’ जस्तो भएको थियो।

राणा खलकमा छोराछोरीहरू बाबुआमासँग बिहान र बेलुका दर्शन गर्न जाने चलन हुन्थ्यो। छोराछोरीको बाबुआमासँगको सम्बन्ध औपचारिक हुन्थ्यो। तर, म कान्छो भएकाले अलि नजिक हुन्थें। मुख्य कुरा चाहिं बबरमहलको शिक्षा हो।

राणा खलकमा छोराछोरीहरू
बाबुआमासँग बिहान र बेलुका दर्शन
गर्न जाने चलन हुन्थ्यो। छोराछोरीको
बाबुआमासँगको सम्बन्ध औपचारिक
हुन्थ्यो। तर, म कान्छो भएकाले
अलि नजिक हुन्थें।

हाम्रो जीवन ‘रेजिमेन्टेड’ (लौह-अनुशासनयुक्त) थियो। जस्तै, ठ्याक्क १० बजे खाना खान आउनुपर्ने। बबरशमशेर १० बजे माथिबाट टक-टक हिंडेर सवारी हुने। त्यति वेलासम्म पुगिएन भने बडो अप्ठ्यारो हुन्थ्यो। ठूलो चोकमा लहरै बसेर हामी खान्थ्यौं।

अरू राणा परिवारमा धेरै थरी गरिष्ठ खाना हुने गरे पनि हामीकहाँ आजकलको झैं ‘सेलेक्टिभ’, भुजा, दाल, दुई थरी तरकारी, अचार र दुई-चार टुक्रा मासु हुन्थ्यो। बच्चाहरूलाई मिठाई मन पर्ने, तर दिनको दुई वटा मात्र। हाम्रा हजुरबुबा (बबरशमशेर) त्यस मामिलामा असल भनौं वा कोही कोहीको शब्दमा खराब।

भरतशमशेरले त ‘मलाई यति मासु चाहिन्छ’ भनेर आन्दोलन नै गर्नुभयो। अनुशासनका साथ हामी हुर्कियौं। त्यही कारण हामी सातै जनालाई पछिसम्म पनि ऐश-आराम नभए पनि चल्ने भयो।

तपाईंका सबै दाजुभाइ बौद्धिक रूपमा स्थापित हुनुहुन्छ। तपाईंहरूको पहिचान विद्वान्, साहित्यकार, सिने निर्माता अनि सैनिक सेवाको उच्च पदाधिकारीका रूपमा छ। यसअघि तपाईंका दाइ जगदीशशमशेरलाई पनि मैले भेट्ने अवसर पाएको थिएँ। त्यो वेला उहाँलाई पनि सोधेको प्रश्न म दोहोर्‍याउन चाहन्छु- तपाईंहरू अरू राणाभन्दा शिक्षा र ज्ञानमा के कारणले अगाडि हुनुहुन्छ?

यो बुबा (मृगेन्द्रशमशेर)को देन हो। हजुरबुबा (बबरशमशेर)ले त हामीलाई पढाउनै नचाहेको। चन्द्रशमशेरले आफ्ना नाति मृगेन्द्रलाई पढ्न लगाएकाले उहाँ नेपालमा एमए गर्ने तेस्रो र राणा खलकमा पहिलो व्यक्ति हुनुहुन्थ्यो। उहाँले हाम्रा परिवारका हरेक सदस्य, दिदीहरू समेतलाई, सकेसम्म राम्रो पढाइमा लगाउनुभयो।

सन् १९५१ सम्म बबरमहलभित्रै एउटा सानो स्कूल बङ्गला थियो। तीन-चार कोठा भएको त्यो भवन अहिले पनि देख्न सकिन्छ। त्यहाँ त्यस वेलाका उत्कृष्ट शिक्षक ल्याएर हामीलाई शिक्षा दिइन्थ्यो। हाम्रो मात्र नभएर बुबाले देशको शिक्षाको स्तरमा बढोत्तरी गर्नुभएको थियो। उहाँ पच्चीस वर्षसम्म शिक्षाको डाइरेक्टर रहनुभयो। दरबार हाई स्कूलको स्तर त्यति वेला भारतको कुनै पनि नाम चलेको विद्यालयभन्दा कम थिएन। त्यसै गरी हामी सातैजना छुवाछूतको विरुद्ध थियौं।

तपाईं संसारकै प्रसिद्ध शैक्षिक प्रतिष्ठान अक्सफोर्ड युनिभर्सिटीबाट स्नातक गर्ने पहिलो नेपाली हुनुहुन्छ। अक्सफोर्ड यात्रा चाहिं कसरी तय गर्नुभयो?

म दिल्ली कलेज इन्दोरमा पढ्दै थिएँ, तर के पढ्ने भन्ने थाहा थिएन। जगदीश दाइले कानून पढ्नुभएकाले ‘चाहे राजनीति होस् वा व्यापार, कानूनको पढाइले तिमीलाई बेस गर्छ’ भन्नुभयो। सकेसम्म उत्कृष्ट ठाउँमै जानुपर्छ भन्ने धारणा थियो। अक्सफोर्डमा ल गर्न ल्याटिन भाषा अनिवार्य थियो। दिल्ली कलेज त के, कुनै पनि स्कूलमा ल्याटिनको पढाइ हुँदैनथ्यो।

सौभाग्यवश मेरो कलेजको ब्रिटिश हेडमास्टरकी पत्नी ल्याटिन शिक्षिका रहिछन्। उनले मलाई नौ महीना ल्याटिन पढाइन्। सिनियर केम्ब्रिजमा तीन विषय लिनुपर्थ्याे। मैले त्यसमा राम्रो गरें। क्रिश्चियन धर्मको क्‍वेकर मतको बेलायतको लिटन पार्क स्कूलमा ओ-लेभलबाट ए-लेभल दुई वर्ष पढेपछि अक्सफोर्डमा कोशिश गरें र ल विषयमा भर्ना हुन सफल भएँ। त्यहाँ तीन वर्ष रहेर कानूनमा स्नातक गरें।

राजनीतिमा चाहिं कसरी आइपुग्नुभयो?

बेलायतमा पढ्दा मानिसहरू कसरी संसदीय सर्वोच्चताका लागि शताब्दीयौंसम्म लडे भन्ने ज्ञान भयो। अक्सफोर्डको पहिलो वर्ष सन् १९५८ मै मैले नेपालका राजाले कसरी संविधानसभाको निर्वाचन गराएनन् भन्ने विषयमा सम्पादकलाई चिठी लेखेको थिएँ।

कांग्रेस, गोरखा परिषद् दुवैको निर्वाचन हुनुपर्छ भन्ने धारणा थियो। म नेपाल फर्किउन्जेल त निर्वाचन भइवरी राजाले सत्ता हातमा लिइसकेका थिए। भरतशमशेर जेलमा हुनुहुन्थ्यो। उहाँले ‘राजालाई छक्याएर कलकत्ता जान्छु’ भन्ने कुरा म बाहेक कसैलाई पनि बताउनुभएको थिएन।

शुरूका तीन वर्ष मैले दिल्लीको एउटा ठूलै फर्ममा ल प्राक्टिस गरें। त्यहाँबाट नेपाल फर्किएपछि, एक दिन हृषीकेश शाहले जेलबाटै मलाई चिठी पठाउनुभयो। उहाँले चिठीमा मलाई आफ्नो निम्ति बहस गरिदिन आग्रह गर्नुभएको रहेछ। मैले त्यो कुरा बुबा-मुमालाई सुनाएँ। मुमा त रुन थालिबक्सियो। किनकि, मुद्दा कानूनी भए पनि मामिला राजनीतिक थियो। आफ्ना एक छोरा पहिले नै (नेपाल) छाडेर गइसकेको, अर्को एक जना पटना र अर्को चाहिं सेनामा, अब त्यतिका सम्पत्ति कसले सम्हाल्ने भन्ने चिन्ता उहाँलाई थियो।

उहाँहरूको कुरा सुनेर म सात-आठ वर्ष राजनीतिमा सीधै लागिनँ। कहिलेकाहीं लेख लेख्ने गर्थें, छद्म नामबाट। बरू म हस्तकलाको प्रवर्द्धनतिर लागें। किनकि, मलाई राम्रो कुरा संरक्षण गर्न मन लाग्छ, अनि अर्को कारण चाहिं म आम मानिसको सम्पर्कमा रहिरहन चाहन्थें। सन् ७० को दशकपछि चाहिं बीपीबाबुसँग कुरा हुन थाल्यो। एक पल्ट अमेरिकामा पनि हाम्रो भेट भयो। जनमत सङ्ग्रहमा त म प्रचारमै हिंडें।

तपाईंका बुबा मृगेन्द्रशमशेर र जेठा दाजु भरतशमशेर बीचको सम्बन्धको कडी रमाइलो देखिन्छ। २०१५ सालको संसदीय निर्वाचनपछिको संसद्को प्रमुख प्रतिपक्षी दलको प्रमुखमा छोरा अनि बाबु चाहिं कार्यकर्ता झैं देखिन्छन् नि?

कुरा यसो हो, भरतशमशेर पहिलेदेखि नै बुबा विरुद्ध लाग्नुभएको थियो। उहाँहरूको आन्तरिक मामिलामा कुरा मिल्दैनथ्यो। पहिलो एक वर्ष प्रतिपक्षी दलको नेताको हैसियतमा बुबा रहनुभयो। किनकि, त्यतिन्जेल संविधानमा प्रमुख प्रतिपक्षी दलको नेता भन्ने व्यवस्था थिएन।

भरतशमशेरलाई किन थुने भनेर काँठतिर
हलचल भयो। काँठका मानिस,
आठपहरिया, क्षत्रीहरू आफसेआफ जेल
पुगे। उनीहरूले जेल फोडेर उहाँलाई
सीधै टुँडिखेल लगे। झण्डै ‘टेक-ओभर’
जस्तो भएको थियो।

भरतशमशेरको बीपीसँग बढी सङ्गत हुन थाल्यो। बीपीले नै बुबालाई मनाएर प्रतिपक्षी दलको नेता भन्ने पद दिलाउनुभएको हो। बुबा अलि तटस्थ रहन रुचाउनुभयो। राजाको विरोध गरेर जाने बुबाको अवस्था अनि मनस्थिति दुवै थिएन। बुबालाई पनि थुनिदिएको भए त्यत्रो सम्पत्ति कसले हेर्थ्याे? बबरमहल नै त्यही वेला जान्थ्यो नि!

भरत शमशेरमाथि खुकुरी दलको नेतृत्व गर्दै बीपीको हत्या प्रयासको आरोप छ। मैले यस प्रकरणबारे उहाँसँग कलकत्ताको बालिगञ्ज निवासमा प्रश्न गर्दा ‘त्यो हन्ड्रेड पर्सेन्ट झूट’ भन्दै निकै कड्किनुभएको थियो। त्यस प्रकरणको सत्यता के हो?

उहाँको कुरा सही हो। बिहान सबेरै पुलिस आएर उहाँलाई थुन्न लगे। पहिले उहाँलाई पुलिसथाना लगे, तर त्यहाँ उहाँका विरोधी धेरै थिए। त्यहाँ थाम्न नसक्ने भएपछि भद्रगोल लगियो। उहाँले गोरखा परिषद्को प्रचार शुरू गरिसक्नुभएको थियो र उहाँ काँठ क्षेत्रमा लोकप्रिय हुनुहुन्थ्यो।

भरतशमशेरलाई किन थुने भनेर काँठतिर हलचल भयो। उहाँमाथि लिखित आरोप पनि थिएन। त्यो वेला सुरक्षा कानून समेत थिएन, उहाँलाई थुनेकै कारण हडबड गरेर पास गरिएको हो। काँठका मानिस, आठपहरिया, क्षत्रीहरू आफसेआफ जेल पुगे।

उनीहरूले जेल फोडेर उहाँलाई सीधै टुँडिखेल लगे। झण्डै ‘टेक-ओभर’ जस्तो भएको थियो। मानिसहरू उहाँलाई ‘कू’ गर्न उक्साइरहेका थिए। उहाँ बाठो मान्छे, मान्नुभएन। एक समूह उहाँलाई छाडेर बीपी निवासतिर लागेको हो। तर, यस मामिलामा उहाँ बिल्कुलै निर्दोष हुनुहुन्थ्यो।

दक्षिणएशियाको चेतना र परिवर्तनमा ‘एलिट’ परिवार अग्रणी देखिन्छन्। उदाहरणका लागि, भारतमा गान्धी, नेहरू, टैगोर आदिको परिवार, बाङ्लादेशमा शेख मुजिबुर रहमान, श्रीलङ्कामा भण्डारानायकेहरू र त्यसैगरी नेपालमा कोइराला, माथेमादेखि राणा खलकभित्रकै तपाईं, सुवर्णशमशेर, समजीका परिवार। एउटा अभिजात्य वर्ग कसरी विद्रोही हुने रहेछ?

भरतशमशेर बम्बईमा पढ्न जानुभयो। त्यहाँ उहाँलाई पढाउने शिक्षक कम्युनिष्ट थिए। त्यसकै प्रभावले उहाँ शुरूदेखि नै नास्तिक रहनुभयो। त्यसैगरी जगदीशशमशेर इलाहावाद पढ्न जानुभयो। त्यहाँ पनि आन्दोलन भइरहन्थ्यो। मेरो कुरा मैले भनिहालें। हामीमा विद्रोहको भावना त्यसरी आएको हो। म गोरखा परिषद्‍मा सदस्य नभए पनि त्योभन्दा बढी नै थिएँ।

त्यस जमाना पनि हामी सातै जना कसरी हो
कसरी, जातपात र छुवाछूत नमान्ने भयौं।
एक प्रकारले हाम्रो परिवार ‘नन्-कन्फर्मिस्ट’
(रीतिरिवाजभञ्जक) नै रह्यो नि। यसलाई म
परिवारको ‘लेगेसी’ नै त भन्दिनँ, तर
‘ट्रेट’ (विशेषता) चाहिं हो।

बुबा र दाइहरूलाई थुनामा राखिँदा मुमा रुक्मिणीदेवी राणाले नै गोरखा परिषद् चलाउनुभयो। यो कतै पनि लेखिएको छैन। त्यो वेला गोरखा परिषद्को भगिनी संस्था वीराङ्गना दल खोलिएको थियो, जसकी अध्यक्ष मुमा नै हुनुहुन्थ्यो। भरतशमशेर पनि भन्ने गर्नुहुन्थ्यो ‘मेरो डीएनए मुमाबाट आएको’ भनेर। उहाँ डराउने भनेको मुमासँग मात्र हो।

तपाईंको राजनीति छोरासम्म गइसकेको छ। फर्केर हेर्दा आफ्नो परिवारको ‘लेगेसी’ के हो भन्ने लाग्छ?

‘लेगेसी’ भनेको अरूले हेर्ने कुरा हो। सबैको भिन्नै प्रकारको योगदान छ। भरतशमशेरले राष्ट्रवादी राजनीति गर्नुभयो। नेपालमा भारतीय सैनिक मिशन आउँदा त्यसको विरोध गर्न उहाँ एअरपोर्ट नै पुग्नुभएको थियो। पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसको देशव्यापी सङ्गठन फैलिरहेको वेला गोर्खा परिषद्ले १९ सीट जित्नु ठूलो उपलब्धि थियो।

अर्को कुरा चाहिं, त्यस जमाना पनि हामी सातै जना कसरी हो कसरी, जातपात र छुवाछूत नमान्ने भयौं। एक प्रकारले हाम्रो परिवार ‘नन्-कन्फर्मिस्ट’ (रीतिरिवाजभञ्जक) नै रह्यो नि। यसलाई म परिवारको ‘लेगेसी’ नै त भन्दिनँ, तर ‘ट्रेट’ (विशेषता) चाहिं हो।

comments powered by Disqus

रमझम