कार्तिक २०७८ | 18/10/2021

पृथक पक्षको प्रवर्ध्दन्

Share:
  
- कृपेन्द्र अमत्य र स्वेता कार्की
नेपालको विगतदेखी देशका विशिष्ट पहिचानका रुपमा प्रचार गर्दै आएका चिज-वस्तुको विकल्प खोज्नुपर्ने वेला आएको छ।

२१औं शताब्दीसम्म आइपुग्दा विश्व परिस्थिति धेरै बद्लिएको छ । कूटनीतिका अभ्यास र एक देशले अर्कोलाई प्रभावित पार्ने तौरतरिका पनि फेरिएका छन् । आफ्नो राज्यबारे अन्तर्राष्ट्रिय धारणा निर्धारण गर्न अहिले अर्को राज्यसत्तालाई मात्रै प्रभावित गर्ने नभई बृहत् जनसंख्यालाई नै आकर्षित गर्ने चलन आएको छ ।

केही दशक अघिसम्म देशको ‘शक्ति’ भन्नासाथ आर्थिक र सैन्य बल तथा चलखेल बुझिन्थ्यो । दबाब र दमनको राजनीतिले अन्य देशमा वितृष्णा पैदा हुने भएकाले अमेरिकाका राजनीतिशास्त्री जोसेफ सामुएल नाईले सन् १९८० तिर ‘सफ्ट पावर’ (सौम्य शक्ति) सिद्धान्तको प्रतिपादन र प्रवद्र्धन गरे । दाम र दण्डको ठाउँमा मीठो र शालीन शैली तथा व्यवहारबाट अर्काको मन जितेर आफू अनुकूलको परिस्थति सिर्जना गर्ने भूराजनीतिक विद्या हो, सौम्य शक्ति । सौम्य शक्तिको मान्यता अनुसार नेपाल जस्ता साना देशलाई सैन्य बलले भन्दा देशको पृथक् पक्षको प्रवद्र्धनले धेरै फाइदा पुग्छ । साना देशले प्रविधि र डिजिटल माध्यम मार्फत आफ्ना वस्तु, सम्पदा, शक्तिको प्रचार विश्वसामु गरेर आकर्षण बढाउन सक्छन् ।

विकल्पको खोजी

नेपाल सरकारले प्रकाशन गरेको ‘परराष्ट्र नीति, २०७७’ मा ‘सफ्ट पावर’ भन्ने शब्दावली परेको छ । नेपालप्रति आकर्षण बढाउने वस्तुहरूमा राष्ट्रको सम्पदा, प्राकृतिक धरोहर, कला र संस्कृतिलाई सौम्य शक्तिका रूपमा उक्त नीतिमा उल्लेख गरिएको छ ।

नेपालीले सधैंभरि सगरमाथा, गौतम बुद्ध र गोर्खाली सैनिकलाई देशका विशिष्ट पहिचानका रूपमा प्रचार गर्दै आएको छ । विगतमा यी नै हाम्रा पृथक्ता भएकाले यिनको प्रचार भएको हुनसक्छ । बौद्ध धर्मलाई भारतले आफ्नो सौम्य शक्तिको अस्त्र बनाउँदै गर्दा, सगरमाथाको विषयमा चीन र नेपालबीच सीमाको विवाद उठ्दा र वीर गोर्खालीको अर्थलाई फेरि केलाउनुपर्दा के यो शक्ति नेपालको लागि सधैं पर्याप्त छ त भन्ने प्रश्न गरी नेपालले अन्य ठाउँमा पनि आफ्नो अस्तित्व खोज्नुपर्ने देखिन्छ ।

सन् १९९५ मा कर्निल जेस्टले भने अनुसार लुम्बिनी बाहेक काठमाडौं उपत्यका चौथो महत्वपूर्ण बौद्ध तीर्थस्थल थियो र शिवभक्तमाझ पशुपतिनाथ उत्तिकै चर्चित तीर्थस्थल थियो । यसले आजसम्म पनि आकर्षण र महत्व कायम राखेको छ । नेपालले पर्यटन क्षेत्रलाई अत्यधिक प्रभाव पार्न सक्ने ग्लोबल सप्लाई सक्स (विश्वव्यापी आपूर्ति झट्काहरू) बारे विचार गर्नुपर्छ ।

नहिँडिएको बाटो

देशले आत्मसात् गर्ने सौम्य शक्तिका उपायहरू यसका आफ्ना मौलिक स्रोत र क्षमताहरू हुन् । नेपालका आफ्नै केही पृथक् परम्परा छन्, जुन धेरै हदसम्म बाँकी विश्वबाट हराइसकेका छन् । बौद्ध र आर्य धर्म बाहेक नेपालको हिमाली क्षेत्रमा बोन धर्म, कर्णालीमा खसहरूको मष्ट संस्कृति, पूर्वमा किरात धर्मले नेपाललाई एक पृथक् देश साबित गर्छ ।

उत्तर–वैदिक कालदेखि विदेह राज्य अर्थात् मिथिला राज्यको व्याख्या गरिएको पाइन्छ, जुन नेपालकै एक अभिन्न अंग हो । प्रश्न यो मात्र रहन्छ, यो परिचयलाई नेपालले कसरी प्रस्तुत गर्न सक्छ र के–कस्तो लाभ प्राप्त गर्ने अवसर जुटाउन सक्छ । भारतले ‘रामायण सर्किट’ तीर्थस्थल घुमाउने उद्देश्यले बनाएको पूर्ण कार्यक्रम हो । नेपालले पनि बुद्ध सर्किट, मुन्धुम सर्किटको प्याकेज बनाएर प्रचार गर्नसक्छ ।

सन् २००२ देखि थाई रेस्टुरेन्टलाई सहयोग गरेर आफ्ना व्यवसायीलाई सहयोग गर्दै आएको थाई सरकारबाट पनि नेपालले सिक्न सक्छ । थाई कुजिनले ग्यास्ट्रोडिप्लोमेसी (व्यञ्जन कूटनीति) बढाएको थियो । अरूले जे गर्‍यो, हामीले त्यसकै नक्कल गर्नुपर्छ भनेको होइन । अरूलाई फाइदा गरेको नीतिले हामीलाई पनि राम्रै परिणाम दिन्छ भन्ने पनि छैन । तसर्थ, नेपालले आफूलाई सुहाउँदो समाधान खोज्न आफ्नो इतिहास, संस्कृति र मूल्य–मान्यताबाट पाठ सिक्न आवश्यक छ ।

नेपाली ललितकलाको सुनौलो इतिहास छ । मिथिला चित्रकलासँगै पौभा चित्रकला (जसलाई भोटमा ‘थान्का’ पनि भनिन्छ) को पनि धेरै सम्भावना छ । त्यसको उत्पत्ति नेपालमै भएको हो भन्ने जानकारी समेत नेपालीहरूमा छैन । यसर्थ नेपालको मौलिक चित्रकलाको विशेषताबारे हामीकहाँ सानै कक्षादेखि शिक्षा दिनुपर्छ ।

फोटोग्राफी, चलचित्र, विद्युतीय खेलहरू मार्फत नेपालको सुन्दर भूगोल, संस्कार र संस्कृति देखाउन, चिनाउन, बुझाउन सकिन्छ । नेपाल सरकारको पहलमा विदेशमा प्रदर्शनीहरूमा सहभागिता गराउन सकिन्छ । विदेशमा रहेका नेपालीहरूले पनि नेपाल र यहाँको कला, विशेषता आदि विश्वमा चिनाउन प्रमुख भूमिका निर्वाह गरिरहेका छन् । नेपालको पहिलो एनिमेशन चलचित्र ‘शंखधरको कथा’ (द लेजेन्ड अफ शंखधर) को निर्माण तथा निर्देशन बेलायतमा बस्दै आएका संयुक्त श्रेष्ठले गरेका हुन् ।

अध्ययन–अध्यापन तथा जागिर र व्यवसायका सिलसिलामा विदेशमा फैलिसकेका छन् लाखौं नेपालीहरूलाई उचित शिक्षा, ज्ञान, नीति प्रदान गरी नेपालको सांस्कृतिक रणनीति निर्माण गर्न सकिन्छ । नेपाली संस्कृतिको समग्र ‘पृथकता’ को उदाहरण दिनु मात्रै पर्याप्त हुँदैन । यिनको उत्थान र प्रवद्र्धनमा इमानदारीपूर्वक काम गरे मात्रै मानिसहरू आकर्षित हुन्छन् ।

सांस्कृतिक अभियन्ता अमात्यले सौम्य शक्ति विषयमा केन्द्रित रही देश–विदेशका विभिन्न प्रकाशनहरूमा लेखहरु लेख्ने गरेका छन् । कार्की त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिक्षण संकाय हुन् ।

comments powered by Disqus

रमझम