१० कात्तिक २०७० | 27 October 2013

सोह्र वर्षमा पनि उस्तै

Share:
  
- गोपाल गड्तौला, झापा
सरकारले पुग्दो थैलोको व्यवस्था नगरुन्जेल जनस्तरबाट विकास अगाडि नबढ्ने उदाहरण दमक–चिसापानी–रवि सडक भएको छ ।

दूरी ४७ किलोमिटर, यात्रा अवधि पाँच घण्टा अनि भाडा प्रतिव्यक्ति आठसय रुपैयाँ ! पाँचथरको चिसापानी हुँदै रविलाई पूर्व–पश्चिम राजमार्गको दमक खण्डसँग जोड्ने यो सडकमा सवारी साधनले असुल्ने भाडा र यात्रा अवधि सडकको अवस्था झ्ल्काउन काफी छ । झपाको बेलडाँगीबाट घस्रने गाडीले १४ किलोमिटर सडक पार गर्दा एउटै रतुवा खोला ५४ ठाँउमा तर्नुपर्छ, इलाम बाँझोको घर्तीदोभान नपुगुन्जेल । त्यसपछि शुरु हुन्छ अक्करे भीरमा बन्दै गरेको साँघुरो बाटोको यात्रा ।\ पाँचथर, इलाम र झपाको पश्चिमी क्षेत्रलाई जोड्ने यो खतरनाक सडकमा असारदेखि असोजसम्म यातायात चल्दैन । यस क्षेत्रका वासिन्दाले चार महीनाका लागि नुन–भुटुन, मट्टितेल र कपडाको जोहो बर्खा नलाग्दै गरिसक्नुपर्ने बाँझे– ८ मांगसेबुङका राजेन्द्र खजुमले बताए । “यहाँका महिला त्यो बेला सुत्केरी हुने रहेछन् भने त फसादै पर्छ”, खजुम भन्छन्, “अघिल्लो वर्षामा दुईवटा त्यस्तै मलामी जानु पर्‍यो ।”

अस्पतालको अभावमा अकालमै ज्यान जाने भएपछि यस क्षेत्रका सक्नेहरूले गर्भवतीलाई अगाडि नै झपा झरेर राख्ने गरेका छन् । मांगसेबुङकी ममता सम्वाहाम्फेलाई गएको जेठ पहिलो साता आठ महीनाको गर्भ छँदा दमक झरेर आफन्तकहाँ राखियो । त्यसको एक महीनामा अस्पतालमा भर्ना भएर सुरक्षित सुत्केरी भएकी सम्वाहाम्फे भन्छिन्, “कतिपयले वर्षामा सुत्केरी नहुनेगरी परिवार नियोजनको अस्थायी विधि अपनाउने गरेका छन् ।”

उपचारदेखि हरेक अत्यावश्यक सामानसम्मका लागि मधेशको बजार धाउनुपर्ने यस क्षेत्रका बासिन्दाले वर्षा याममा कात्रो किन्न प¥यो भने पनि कम्तीमा सवासय किलोमिटर उकाली ओराली गरेर इलाम वा झपा पुग्नुपर्छ । यो क्षेत्रको अम्लिसो, इस्कुस, केरा, आलु, सागपात जस्ता कृषि उपज बारीमै नष्ट भइरहेको छ ।

१६ वर्षमा ११ करोड

२०५४ सालमा सरकारी योजनामा परेको दमक–चिसापानी–रवि सडकका लागि पहिलोपटक रु.१ करोड १५ लाख विनियोजन भएको थियो । २०६० पछिका दुईवर्ष बाहेक यो सडकमा हरेक साल रु.५० लाखदेखि डेड करोडसम्म सरकारी बजेट आइरहेको छ । चालू आर्थिक वर्षको बजेटमा पनि डेढ करोड रपैयाँ छुट्याइएको छ । सरकारी र स्थानीय समेत गरी अहिलेसम्म रु.११ करोड खर्च भइसकेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेश सुब्बा बताँउछन् ।

२०५० सालमा सडक विभागले गरेको सर्भेले रु.२६ करोड ९० लाखमा मोटरेबल बाटो बन्ने प्रतिवेदन दिए पनि एकमुष्ट बजेट नआँउदा टालटुले काम मात्र भइरहेको सुब्बाले बताए । यस बीचमा ३४ किलोमिटर पहाडी खण्डमा ट्रयाक खोल्ने र एउटा पुल बनाउने काम भएको छ । वर्षेनि आउने करोड हाराहारीको बजेट भेलले बिगारिदिएको ट्रयाक सफा गरेर अर्काे वर्षा नलागुन्जेल गाडी गुड्ने बनाउनमै खर्च भइरहेको छ ।

गोपाल गड्तौला, झापा

comments powered by Disqus

रमझम